काठमाडौँ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् ।
केआईआईटी विश्वविद्यालयमा बीटेक प्रथम वर्षमा अध्ययनरत वीरगन्जकी प्रिशा साह होस्टेलको ‘क्वी सी ४’ स्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको उनका साथीहरूले बताएका छन् ।
बिहीबार साँझ करिब आठ बजे उनको ढोका नखुलेपछि साथीहरूले ढोका फोडेका थिए । सार्वजनिक भएका भिडियोमा उनी पङ्खामा झुन्डिएको अवस्थामा देखिन्छ । होस्टल प्रशासनका अनुसार नियमित हाजिरका क्रममा प्रिशा अनुपस्थित भएपछि उनको अवस्थाबारे खोजी भएको थियो ।
होस्टलमा रहेको अर्का एक नेपाली विद्यार्थीका अनुसार उनीहरुले देख्ने बेलामा उनको शरिर निलो देखिन थालेको थियो । प्रिशा एक वर्ष अघि मात्रै अध्ययनका लागि केआईआईटी पुगेकी थिइन् ।
ओडिसा प्रहरी के भन्छ ?
नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरी कमिस्नर एस देवदत्त सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताएका छन् । कमिस्नर सिंहका अनुसार फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ ।
प्रहरीका अनुसार प्रिशा मृत्यु प्रकरणमा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएर अनुसन्धान सुरु गरेको थियो ।
प्रिशाको शव अहिले अस्पतालमा राखिएकाले उनको परिवार पुगेपछि मात्रै पोस्टमार्टम प्रक्रिया अघि बढ्ने कमिस्नर सिंहले जानकारी दिए ।
दिउँसो घरमा फोन गरेर नेपाल आउने टिकट काट्न भनेकी थिइन् प्रिशाले
प्रिशा,सर्लाहीको मलंगवा घर भई हाल वीरगन्ज १५ बस्दै आएका श्याम साहकी छोरी हुन् । छोरीको मृत्युको खबर पाए लगत्तै श्याम सहित उनका परिवारका सदस्य राति नै भारत तर्फ लागेका छन् ।
प्रिशाका भाइ गौरव साहका अनुसार कलेजबाट बिहीबार साँझ ९ बजेतिर फोन गरेर प्रिशाको मृत्युको बारे जानकारी दिएको थियो ।
उनका अनुसार प्रिशाले बिहीबार दिउँसो तीन बजे घरमा फोन गरेर नेपाल फर्किने बताएकी थिइन् । उनले मे १८ तारिखमा नेपाल फर्किने टिकट काटिदिन आग्रह गरेकी थिइन् । तर साँझ उनको मृत्युको खबर आएपछि परिवार शोकमा डुबेका छन् ।
महिला हिंसा विरुद्ध सक्रिय थिइन् प्रिशा
शङ्कास्पद अवस्थामा मृत फेला परेकी प्रिशा एक महिना अघि नेपाल आएका बेला महिला हिंसाविरुद्धको प्रदर्शनमा समेत सहभागी भएकी थिइन् । सिरहा नवराजपुरकी बलात्कृत किशोरी रिंकु सदायको मृत्यु पछि दोषीलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा उनी सक्रिय भएकी थिइन् । प्रदर्शनका क्रममा अग्र भागमा रहेर न्यायका लागि लडिरहेका तस्बिर सार्वजनिक भएका छन् । र तीनै प्रिशाको शङ्कास्पद मृत्यु भएको छ ।
नेपाली दूतावास के भन्छ ?
प्रिशाको शंकास्पद् मृत्यु बारे ओडिसा प्रहरीले बिहीबार साँझै भारतस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माका अनुसार प्रहरीले जानकारी गराएपछि घटनाको अनुसन्धानका लागि उडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग समन्वय गरिरहेको छ ।
दूतावासको समन्वयमा प्रिशाका परिवारसँग सम्पर्क गरी घटनाको बारेमा जानकारी गराएको दूतावासले जनाएको छ ।
अहिले प्रिशाका परिवारलाई प्रिशा बसेका होस्टेलसम्म लैजान दूतावासले समन्वय गरिरहेको जनाएको छ । दूतावासले नै काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा घटनाका विषयमा जानकारी गराएको थियो ।
घटना छानबिनका लागि परराष्ट्र मन्त्रालयले सुरु गर्यो कूटनीतिक पहल
होस्टलेमै प्रिसा मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिइन् ।
परराष्ट्र मन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै घटनाले मर्माहत बनाएको बताएकी छिन् ।
उठ्न थाल्यो केआईआईटी विरुद्ध कडा कारबाहीको माग
२ महिनाभित्रै दुई नेपाली विद्यार्थीको शङ्कास्पद मृत्यु भएपछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विरुद्ध कडा कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले घटना संलग्नको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको हो ।
प्रकृति प्रकरणको अनुसन्धान अझै सकिएको छैन
गत फागुन ४ गते कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय क्याम्पसमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको अनुसन्धान अझै नसकिएको ओडिसा प्रहरीले जनाएको छ ।
प्रकृतिलाई उनका केटा साथी भनिएका भारतका आद्विक श्रीवास्तवले मानसिक यातना दिएका कारण उनको मृत्यु भएको भन्दै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीले छानबिन तथा कारबाहीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । केटासाथीले आफूलाई निकै मानसिक तनाव दिएको भन्दै प्रकृतीले पटक पटक विश्वविद्यालय प्रशासनमा उजुरी गरे पनि विश्वविद्यालयले चासो देखाएको थिएन । जसको परिणाम प्रकृतिको मृत्यु भएको नेपाली विद्यार्थीहरूले बताउँदै आएका छन् ।
तर केआईआईटीले घटना ढाकछोप गर्न नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाटै निष्कासन समेत गरेको थियो । तर पछि केआईआईटीका सर्वत्र आलोचना भएपछि भने विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाएको थियो ।
घटना भएको केही दिनपछि मात्रै यो घटनामा ओडिसा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रकृतिको घटनामा पनि अनुसन्धानमा ढिलाइ
ओडिसा पुलिस कमिस्नर एसदेव दत्त सिंहका अनुसार घटनाको भएको तेस्रो दिनबाट ओडिसा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रकृतिलाई मानसिक तनाव दिएको उनका प्रेमी आद्विक श्रीवास्तवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । ओडिसा प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्राप्त अडियो, भिडियो तथा तस्बिरहरूले आद्विकले प्रकृतिलाई निकै मानसिक तनाव दिएको पुष्टि भएको छ । साथै पहिले प्रेम सम्बन्धमा रहेको उनीहरू सम्बन्धमा दरार आएपछि छुटिएका थिए । तर आद्विक श्रीवास्तवले प्रकृतिको पिछा नछोडेको र उनलाई शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानले समेत देखाएको छ । साथै आद्विकको व्यवहार बारे प्रकृतिले विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा २ पटकसम्म उजुरी गरेको विवरण समेत प्रहरीले जम्मा गरेको छ ।
तर घटना भएको ७५ दिनसम्म पनि प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्याएको छैन ।
यस विषयमा कमिस्नर एसदेव सिंहले भने घटनालाई गम्भीरताको साथ अनुसन्धान गरिरहेकाले केही समय थप लागेको बताए । साथै प्रकृतिको घटनाको अनुसन्धान गरिरहेका अधिकारीको सरुवा भएकाले पनि केही ढिला भएको उनको दाबी छ ।
उनका अनुसार आरोपित आद्विक श्रीवास्तव भने अहिले पनि प्रहरी हिरासतमा नै छन् । उनको तल्लो अदालतबाट म्याद थप भइरहेको छ । साथै आरोपित आद्विक श्रीवास्तवले जमानताका लागि ३ पटकसम्म अदालतमा अपिल गरे पनि जमानत अस्वीकार भएको छ ।
यता प्रकृतिका परिवारले भने ओडिसा प्रहरीले बेला बेलामा सम्पर्क गरेर अनुसन्धान बारे जानकारी दिने गरेको भए पनि कलेज प्रशासनले शव नेपाल ल्याएपछि एक पटक पनि सम्पर्क नगरेको बताउँछन् ।
झडपका क्रममा ५० भन्दा बढि शिक्षकहरु घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका...आइतबार, वैशाख १४, २०८२
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.