काठमाडौँ । ‘रोजगारी र आय वृद्धिः काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाले ‘सीप मेला २०८२’ आयोजना गरेको छ। महानगरले सो आयोजनामार्फत २०८२ जनालाई रोजगारीमूलक तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। टुँडिखेलमा जेठ ७ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ।
उक्त मेलामा सूचना प्रविधि, इलेक्ट्रोनिक्स, निर्माण, स्वास्थ्य सेवा, गार्मेन्ट, होटेल तथा पर्यटन, पारंपरिक सीपजस्ता १० प्रमुख क्षेत्रका ३७ भन्दा बढी सिप तालिमहरू प्रदान गरिएको छ। तालिम सहभागीले ३० दिनसम्म, १०० घण्टा बराबरको कक्षा लिनेछन्, जसमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको ज्ञान दिइएको छ ।
महानगरका अनुसार तालिममा काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने १८ देखि ५८ वर्षसम्मका नेपाली नागरिक सहभागी भएका छन् । । ल्यान्डफिल प्रभावित क्षेत्रका बासिन्दा, सडक व्यापारी, भिन्न क्षमता भएका व्यक्ति (पीडब्ल्युडी) लगायतलाई प्राथमिकता दिइने जनाइएको छ।
गत वर्ष आयोजित ‘सीप मेला २०८१’ मा ६८ हजारभन्दा बढीले आवेदन दिएका थिए भने २,५७५ जना सहभागी भएका थिए। उनीहरूमध्ये आधाभन्दा बढीले तालिमपछि रोजगारी वा स्वरोजगार पाएका महानगरको दाबी छ।
मेयर बालेन्द्र साह (बालेन) ले यस कार्यक्रमलाई ‘शिक्षा–सिप–श्रम–उत्पादन’ चक्रमा एकीकृत गर्दै युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानका रूपमा अघि सारेका छन्।