काठमाडौँ तराई मधेस जोड्ने फास्ट ट्र्याक अर्थात दु्रत मार्ग । ७१ किलोमिटर स्थलमार्ग हुँदै सवा घण्टामा काठमाडौँ मधेस यात्रा गराउने राष्ट्रिय गौरवको आयोजना । नेपाली सेनाले निमार्ण गरिरहेको यो आयोजना सम्पन्न हुँदा काठमाडौँ र तराई मधेसका जिल्लाहरु निकै नजिक हुनेछन् । केही घण्टामा नै तराई मधेसबाट काठमाडौँ उक्लीन र काठमाडौँमा मधेस झर्न सकिने छ ।
देशको केन्द्रीय राजधानी काठमाडौँलाई करिब सवा घण्टामै जोड्ने फास्ट ट्रयाक निर्माण हुँदा तराईवासीले प्रचुर लाभ उठाउन सक्छन् । कृषि उत्पादनको लागि उर्बर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषासम्मका जिल्लाहरूले काठमाडौँलाई सहजै आफ्नो बजार बनाउन सक्छन् ।
२०७४ सालमा नेपाली सेनाले निमार्णको जिम्मा पाएर काम सुरु भएको आयोजनाको ८ वर्षमा भौतिक प्रगति ४२.१३ प्रतिशत मात्रै पुगेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला घोषणा गर्दा यसको लागत ७५ अर्ब लाग्ने अनुमान गरिएपनि लागत बढेर झण्डै २ खर्ब ११ अर्ब लगानी पुगेको छ । २०७६ भदौ १ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरिएको फास्ट ट्रयाक आव ०८०÷८१ भित्र सक्ने सम्झौता थियो । तर, कोभिड– १९ लगायतका कारण अपेक्षाकृत प्रगति हुन सकेन । सेनाले निर्माण म्याद तीन वर्ष थपेर ०८३ को चैत मसान्त र्पुयाएको छ ।
निर्धारित समयमा काम भएको भए आयोजना ०७८ को वैशाखमै निर्माण भइसक्थ्यो । सुरुमै पनि डिपिआर अनुसार १ खर्ब ७५ अर्ब लागन अनुमान गरिएको थियो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यस आयोजनामा हालसम्म ७७ अर्ब ९७ करोड रुपैयाँ बराबर खर्च भएको छ । अर्थात यो खर्च कुल लागतको ४४ प्रतिशत हो । नेपाली सेनाका अनुसार खोकना क्षेत्रको जग्गा विवाद समाधान हुन नसक्दा आयोजनाको काम प्रभावित बनेको छ भने फास्ट ट्रयाकको सुरु विन्दुमै निर्माण अघि बढ्न सकेको छैन । सुरु विन्दुमा विवाद भएपनि अन्यत्रको काम भने दु्रत गतिमै भएको नेपाली सेनाको भनाई छ ।
आयोजना अन्तर्गत सुरुङ, पुल र सडक निर्माणको काम जारी छ । ७ वटा सुरुङमध्ये २ वटा धेद्रे र लेनडाँडाको ‘ब्रेकथ्रु’ भइसकेको छ भने अन्यमा काम भइरहेको छ । ती सुरुङहरूको कुल लम्बाइ १० किमि ९७९ मिटर पर्छ । अहिले ८९ वटा पुल निर्माणाधीन छन् ।
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।
प्याकेज नं ११ अन्तर्गत पर्ने खोकना डुकुछाप खण्डमा जग्गा अधिग्रहण र दु्रतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय गर्ने कार्य भइरहेको छ ।
काठमाडौँ तराईरमधेश द्रुतमार्ग अर्थात फास्ट ट्रयाक सडक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य ६१ प्रतिशत सम्पन्न भएको छ । सो खण्ड अन्तर्गत ६ वटा पुल जसको कुल लम्बाई ११०७ मिटर रहेको छ भने २ वटा डबल ट्यूब सुरुङमार्गको ब्रेक थ्रु भई फिनिसिङ काम भईरहेको छ । त्यस्तै गरी ५ वटा कलभल्र्ट पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।
सो सडक खण्डमा ८१ मिटरका अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपरस्ट्रक्चर निर्माणको काम थालिएको छ भने फास्ट ट्रयाक सडक पहिलो पुल पुल नं ३५, ३३३ मिटर लम्बाईको पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालन गरिएको छ ।
आयोजनाका लागि हालसम्म ५९ हजारभन्दा बढी रूखहरू कटान गरिएको छ । सेनाका अनुुसार दु्रतमार्ग ‘अलाइनमेन्ट’मा पर्ने ४२७ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा अझै वितरण हुन सकेको छैन । जसमध्ये अधिकांश ललितपुरको खोकनामा पर्छ । मुआब्जासम्बन्धी सम्पूर्ण काम २०७८ को वैशाखभित्र सकिने भनिएको थियो । तर, अझै सल्टिन सकेको छैन । नेपाली सेनाले १३ वटा क्लस्टर बनाएर फास्ट ट्र्याकलाई निर्माण गरिरहेको छ।