कञ्चनपुर । सामान्य नागरिकलाई जनप्रतिनिधि किन चाहिन्छ ? जनप्रतिनिधिले चाहेमा सुधारको थालनी कसरी हुन सक्छ ? अनि जनप्रतिनिधिले राज्यको सुविधा जनतासम्म पुर्याउन कसरी सहजीकरण गर्न सक्छन् ? यसको सूची तयार पार्ने हो भने लामो हुनसक्छ । सांसदको मुख्य जिम्मेवारी ऐन कानुन बनाउने हो, देशका लागि नीति नियम बनाउने हो ।
योसँगै आम नागरिकले दैनन्दिन भोगेका समस्या समाधानमा सहयोग पुर्याउने पनि हो । एक जना सांसदले समन्वय गरिदिँदा मात्रै पनि नागरिकलाई कति सहज हुन्छ भन्ने उदाहरण कन्चनपुरमा देखिएको छ र त्यो उदाहरण पेश गरेका छन्– कञ्चनपुर २ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद दीपक बोहराले ।
रास्वपा नेता बोहराको पृष्ठभूमिका पत्रकारिता हो । पत्रकारिता गर्दागर्दै उनी राजनीतिमा होमिएका हुन् । हिजो सिधाकुरा जनतासँग कार्यक्रमको प्रोड्यसर समेत रहेका बोहराले नागरिका समस्या समाधानका लागि कुन निकायमा, कसरी पहल गर्नुपर्छ भन्ने राम्रो ज्ञान राख्छन् । उनले समस्या देखेका छन्, समाधान पनि जानेका छन् ।
कञ्चनपुर २ मा निर्वाचनको मतपरिणाम आउँदा नआउँदै उनलाई मलेसियाबाट आफ्नै निर्वाचन क्षेत्रका एक नागरिकले सामाजिक सञ्जालमा एउटा समस्या पठाए । समस्या थियो, कञ्चनपुर बेदकोट नगरपालिका ४ वैतडा एक बालकको । हिमोफेलिया, रोगबाट ग्रसित ती बालकलाई नियमित औषधि उपचार चाहिन्थ्यो । तर, ती बालक त्यसबाट बञ्चित थिए । यही समस्या बोहरासम्म आयो ।
यो समस्या थाहा पाएपछि बोहरा ती बालकको खोजी गर्दै उनको घरमा पुगे । घरमा वृद्ध हजुरबुवासँग थिए, जन्मजात हिमोफोलिया रोगबाट ग्रसित १२ वर्षीय अर्नब बोहरा । अर्नब एक वर्षका हुँदा भारतमा गरिएको परीक्षणमा हिमोफोलिया पहिचान भएको थियो । त्यसपछि उनका बाबु आमाले अर्नबलाई कञ्चनपुर ४ स्थित घरमा हजुरबुवासँग राखे । केही वर्षदेखि त अर्नबका बाबुआमा दुवै सम्पर्कमा छैनन् ।
अर्नबका ठुलोबुवा र हजुरबुवाले केही समयसम्म भारतको बरौनी पुगेर त्यहाँको अस्पतालबाट औषधि ल्याएर खुवाए । बोहरा परिवारको आर्थिक अवस्था कमजोर थियो । बरौनी टाढा थियो । भारतमा सरकारले हिमोफोलियाको औषधि निशुल्क दिन्छ । त्यसैले अर्नबका ठूलो बुवा निशुल्क औषधि लिन भारतको बरौनी पुग्थे । तर जब भारतको अस्पतालले अर्नब नेपाली भएको थाहा पायो, त्यसपछि निशुल्क औषधि दिन छाड्यो ।
त्यसपछि अर्नबका ठूलोबुवा उमेश बोहरा औषधि लिन काठमाडौँको वीर अस्पताल आउन थाले । काठमाडौंबाट औषधि लगेर अर्नबलाई खुवाउन थाले । कन्चनपुरदेखि काठमाडौंसम्म । सधैं आउजाउ गर्न सहज थिएन । पछि नेपाल सरकारकाले सेती प्रादेशिक अस्पतालसम्म औषधि पुर्याउन थाल्यो । कञ्चपनुरमै पनि अन्य १० जना हिमोफोलियाका बिरामी थिए । उनीहरु सबै धनगढी आएर औषधि लिन्थे ।
तर विरामीको अवस्था बिग्रिँदै जाँदा वा कहिलेकाँही सामान्य चोट पटक लाग्यो भने पनि औषधि लिन कन्चनपुरका गाउँबाट धनगढी आउन टाढा हुन्थ्यो, बिरामीलाई औषधि खुवाउन ढिला हुन्थ्यो ।
घरको आर्थिक अवस्थाले पनि भनेको समयमा औषधि लिन जान समस्या थियो । अर्नब जस्तै धेरै विरामीले भागेको यो समस्या सांसद बोहरालाई स्थानीयले सुनाए । बोहराले तत्कालै महाकाली अस्पतालमा औषधि नपाइनुको कारण पत्ता लगाए, अहिले औषधि वितरण गरिरहेको सेती प्रादेशिक अस्पतालसँग समन्वय गरे । प्रदेश सरकार तथा संघीय स्वास्थ्य मन्त्रालयमा समेत पहल गरेपछि सरकारले नै हिमोफोलियाको औषधि कञ्चनपुरकै जिल्ला अस्पताल महकाली अस्पतालमा पुर्याउने भयो ।
महाकाली अस्पतालका चिकित्सक डा प्रशान्त भट्टका अनुसार सांसद बोहराले पहल गरेपछि अहिले १० जना विरामीका लागि महाकाली अस्पतालमै हिमोफोलियाको औषधि पुगेको छ ।
यस अघि हिमोफोलियाको औषधि खोज्न कहिले भारत, कहिले काठमाडौँ त कहिले सेती अस्पताल धाउँदै आएका उमेश बोहराले अहिले अर्नबका लागि महाकाली अस्पतालमै औषधि पाउन थालेका छन् । अर्नबको परिवारलाई मात्रै होइन, त्यस क्षेत्रका अन्य पनि सहज भएको छ ।
चुनावअघि बोहराले घरदैलो पुगेर आम नागरिकका समस्या देखे, डायरीमा टिपे । चुनावमा उनै बोहरा निर्वाचित भए । नागरिकले कहिले भेटेर, कहिले फोनबाट त कहिले सामाजिक सन्जालमार्फत आफ्ना समस्या सुनाइरहेका छन्। बोहराले पनि तत्काल रेस्पोन्स गर्छन्। स्थानीयलाई लागेको छ– खोजेजस्तै जनप्रतिनिधि पाइयो । बोहरा तिनै नेता हुन्, जसले आफू निर्वाचित नहुँदै पनि नागरिकको सेवाका लागि सरकारी निकायको ढोका ढकढक्याएका थिए । फागुन २२ मा मतगणना जारी थियो ।
आफ्नै निर्वाचन क्षेत्रका एक विरामीले डायलसिस गर्न नपाएर मृत्यु भएको खबर पाएपछि उनी तत्काल अस्पताल पुगे । स्थानीय अस्पतालदेखि केन्द्रीय तहसम्मै पहल गरे । दीपक बोहरा तिनै व्यक्ति हुन्, जो हिजो मिडियामा रहँदा लाखौं जनताको समस्या सुने, देखे । समाधानका लागि पहल पनि गरे । अब उनी जनप्रतिनिधि बनेका छन् । उनकै दल रास्वपाले सरकार बनाउँदै छ। अब जनताको समस्या समाधानका लागि दीपकले राज्यको साथ पाउने छन्, जनताले दीपकको साथ पाउने छन् ।