नेभिगेशन

समाज

जाँदाजाँदैका नियुक्तिले उदांगो पारेको सुशीलाको ‘आदर्श’

प्रधानमन्त्रीले आफ्नै पीएलाई शक्तिशाली नियुक्ति दिलाउनुले प्रधामन्त्री सुशीला कार्कीकै व्यक्तित्वमाथि प्रश्न उठाएको छ ।

काठमाडौँ । अमेरिकी अर्थशास्त्री मिल्टन फ्राइडम्यान भन्छन्: यदि तपाई सरकारलाई ५ वर्ष मरुभूमिमा छाडिदिनुहुन्छ भने ५ वर्षपछि त्यहाँ बालुवाको खडेरी पर्नेछ । 

यो विश्व प्रसिद्ध भनाइ नेपालको राजनीतिमा दुरुस्तै लागु हुन्छ । जस्तै नैतिकवान मान्छेलाई पनि नेपालको सत्तामा पुर्याउनु हुन्छ भने, त्यहाँ नैतिकताको खडेरी पर्छ । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार अहिले त्यस्तै नैतिक खडेरीबाट गुज्रिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलनको म्याण्डेटअनुसार ६ महिनाभित्र सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको छ । संसारभर आन्दोलनलगत्तै चुनावी सरकारको नेतृत्व गरेकाहरुले वर्षौसम्म चुनाव गराउन नसकेका खराब उदाहरणहरु थुप्रै छन् । यस्तोमा सुशीला कार्की नेतृत्वको सरकारले सबै पक्षलाई सहभागी गराएर शान्तिपूर्ण निर्वाचन गराउँदै देशलाई संवैधानिक घेराभित्र राख्न गरेको प्रयत्न प्रशंसनीय नै छ । निर्वाचन गराउन अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाह गरेको भूमिका पनि कम छैन ।

आन्दोनलको बलमा मन्त्री बनेका समकक्षीहरु नै चुनाव लड्न हिड्दासमेत धैर्य गरी बसेका अर्यालले आकलन गरेभन्दा सहज रुपमा गृहप्रशासनको नेतृत्व गरेकै हुन् । यी सबै सकारात्मक पक्ष हुँदाहुँदै पनि सरकारको पछिल्ला निर्णयहरु ठीकठाक देखिएनन् ।  

सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबारको मन्त्रिपरिषद बैठकका निर्णयहरु आफै मिडियामाझ सार्वजनिक गरे । जहाँ आफैं सम्मिलित मन्त्रिपरिषद बैठकले आफैंलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरेको जानकारी दिए । उनले अर्को पनि सूचना दिए, जुन अझ अनैतिक थियो । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

निर्वाचन सम्पन्न भएर जनताले ताजा जनादेश व्यक्त गरिसकेको अवस्थामा सत्ता हस्तान्तरण बाहेकको जिम्मेवारी नलिनुपर्ने सरकारले यसरी नियुक्ति बाँड्नु उपयुक्त होइन, थिएन । त्यसमाथि प्रधानमन्त्रीले आफ्नै पीएलाई शक्तिशाली नियुक्ति दिलाउनुले प्रधामन्त्री सुशीला कार्कीकै व्यक्तित्वमाथि प्रश्न उठाएको छ । मुलुकलाई शान्तिपूर्ण रुपान्तरणमा लैजान अन्तरिम सरकारलाई नेतृत्व गरेर आर्जन गरेको जनताको विश्वास, माया र भरोसालाई एउटा नियुक्तिले नै रसातलमा पुर्याइदिएको छ । प्रधानमन्त्री कार्कीको यस कदमको चौतर्फी विरोध भइरहेको छ भने यसले ‘सत्तामा पुग्ने सबै अनैतिक हुन्’ भन्ने भाष्यलाई बढावा दिएको छ । 

प्रधानमन्त्री कार्कीलाई धेरैले ‘सुशीला आमा’ भनेर सम्बोधन गर्छन् । सर्वोच्च अदालतको प्रधानन्यायाशीध भइसकेकी कार्कीलाई उनको हठी स्वभाव, प्रष्ट वक्ता र इमन्दारिताका कारण धेरैले प्रशंसा गर्थे । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्वका लागि दर्जनौं नाम चर्चामा भएपनि कार्कीले नै अवसर पाउनुको मुख्य कारण उनको व्यक्तित्व नै थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आदर्श श्रेष्ठको नियुक्तिपछि भने कार्की आलोचनाको पात्र बन्न पुगेकी छन् । 

केही समयअघि पनि सुशीलाका प्रमुख स्वकीय सचिव आदर्श विवादमा आएका थिए । प्रधानमन्त्रीको सचिवालयमा आदर्शले श्रीमतीसहित आफन्तलाई जागिर खुवाएपछि प्रधानमन्त्री स्वयंले स्पष्टीकरण दिनुपरेको थियो । त्यतिबेला सुशीलाले आदर्श आफ्ना अति विश्वासपात्र रहेको आफूले भरोसा गर्नसक्ने व्यक्ति रहेको भन्दै बचाउ गरेकी थिइन् । ताजा जनादेशका आधारमा केही दिनमै नयाँ सरकार बन्दैछ । एकल बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । तर आफ्नो पदसँगै प्रिय पात्र आदर्शको जागिर जाने कुरा प्रधानमन्त्री कार्कीलाई उचित लागेन । त्यसैले उनले तजबिजी अधिकार प्रयोग गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठलाई नियुक्ति दिइन् । 


प्रधानमन्त्री हुनुअघि र भएपछि इमान र आदर्शको कुरा गरेर नथाक्ने कार्कीको ‘आर्दश’ यस प्रकणरणबाट प्रष्ट भएको छ । विगतमा सत्तामा हुनेहरुलाई आफ्नालाई अवसर दिन अपनाउने हतकण्डा सुशीलाले पनि बाँकी राखिनन् । जाँदाजाँदै आफ्नै व्यक्तित्वलाई विवादमा पार्ने काम सुशीला आफैले गरेकी छन् । लामो समय न्याय क्षेत्रमा रहँदा सुशीलाले कमाएको छवि भनेकै इमन्दारिता र सुशासनप्रतिको प्रतिबद्धता थियो । त्यो छवि क्षणभरमै धुमिल भएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘आफ्नै हात जगन्नाथ’ गरेको आरोप लगाएका छन् ।

 
कुनैबेला सर्वोच्च अदालतमा कम्प्युटर अपरेटरका रुपमा छिरेका थिए, आदर्श श्रेष्ठ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको सचिवालयमा काम गरेका आदर्शले निकट सम्बन्ध मात्रै बनाएनन्, त्यसको भरपुर उपयोग पनि गरे । छोटोसमयै आदर्शले गरेको प्रगतिमा कल्याण र सुशीला दुवैको आशीर्वाद मुख्य कारक रहेको जानकारहरु बताउँछन् ।

कार्की नेतृत्वको सरकार यसै पनि कामचलाउ थियो । निर्वाचन सम्पन्न भएपछि दीर्घकालीन महत्वका निर्णय र नियुक्ति नगर्ने परम्परा नै छ । तर आफ्नो पीएलाई नियुक्ति दिलाउन कार्कीले आफ्नो इज्जत नै दाउमा लगाएकी छन्  । पूर्वमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका महावीर पुनले आदर्शको लोभले प्रधानमन्त्रीले कमाएको ऐतिहासिक इज्जत धुलोमा मिसाउने भन्दै नियुक्ति अस्वीकार गर्न सुझाव दिएका छन् । तर, अहिलेसम्म सरकारले गल्ती सच्याउने छाँटकाँट देखाएको छैन । बालेन नेतृत्वमा सरकार बन्न अझै केही समय लाग्ने हुँदा सरकारसँग सन्देह बढ्न थालेको छ । सत्ता हस्तान्तरण नगर्दै सरकारले अझ दूरगामी प्रभावका निर्णय गर्ने हो कि भन्ने चासो व्यक्त हुन थालेको छ । 

नयाँ जनमतलाई निषेध नगरौं 
यतिबेला जनताले आफ्नो फैसला सुनाइसकेका छन् । पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेटसहित रास्वपा संसदको ठूलो शक्ति बनिसकेको छ । ऊसँग संसदमा करिब दुई तिहाइको समर्थन छ । जनताले व्यक्त गरेको यो अभिभारालाई परम्परागत राजनीतिक दलका कार्यकर्ताहरुले त खिसिटिउरी गरेकै थिए, सुशीलाकै समर्थकहरुले समेत राम्रो मानेका छैनन् । राष्ट्रियसभामा रिक्त एक सदस्य नयाँ जनादेशसहित आउने सरकारका लागि बाँकी राखिदिएको भए पनि हुने नै थियो । कम्तीमा सधैं अरुलाई नैतिकता सिकाउने गृहमन्त्री अर्यालले आफ्नो नियुक्तिको निर्णय आफैं नगरेको भए हुन्थ्यो । तर सत्ताको विशेषता नै निर्लज्ज हुने रहेछ । सरकारका पछिल्ला दुई निर्णयले नेपाली राजनीतिमा फेरि आशंकालाई बढावा दिएको छ । नयाँ सरकारले पनि यसैगरी आफ्नालाई मात्रै पोस्ने त होइन ? भनेर प्रश्न गर्न थालिएको छ । जिम्मेवारी नसम्हाल्दै रास्वपामाथि प्रश्न तेस्र्याउन थालिएको छ । अरु त अरु राजनीतिक नियुक्तिदेखि चुनावका टिकटसम्म आफ्ना आसेपासे र आफन्तहरुलाई बाँड्दै आएका कांग्रेस एमालेका कार्यकर्ताले पनि नैतिकताको पाठ पढाउन थालेका छन् । 

जेनजी आन्दोलनदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा नेपालले धेरै उतारचढाव व्यहोरेको छ । जनताले परिवर्तनको आशासहित आफ्नो मत व्यक्त गरिसकेका छन् । जनादेश स्वीकार्न पुराना दलहरुलाई गाह्रो परिरहेको छ । विगतमा पटक पटक सत्तामा पुग्दा पनि जनताका सवालहरुलाई बेवास्ता गर्नेहरुले अहिले सरकार नबन्दै भावी नेतृत्वलाई गाली गर्न सुरु गरिसकेका छन् । जनताको मतलाई कतिपयले ‘नयाँको लहर’, ‘चौसठ्ठी सालको माओवादी’, ‘खहरे खोला’ जस्ता अमर्यादित टिप्पणी गर्न थालेका छन् । यस्तो अमर्यादित कर्मलाई सुशीला कार्की नेतृत्वको पछिल्ला निर्णयले मलजल गरेको छ । 
नेपाली राजनीतिमा बितेको ३ दशकबारे जनताको मनमा फरक भाष्य बनिसकेको छ । कांग्रेस, एमाले र माओवादीले नातावाद र कृपावादलाई संस्थागत गरे । यसपटक जनताले त्यही प्रवृत्तिविरुद्ध मत दिएका हुन् । त्यसैले नयाँ बन्ने रास्वपा सरकारले निकै सुझबुझका साथ काम गरोस् भन्ने आम अपेक्षा छ । यस्तो अपेक्षाबीच भावी सरकारलाई नै अप्ठ्यारो पर्ने गरी सुशीला सरकारले जथाभावी निर्णय नगरोस् । सरकारमा बस्नेहरुले मरुभूमिमा माटोकै अभाव गराइदिन्छन् भन्ने बुझाइलाई पुष्टि गर्नेगरी नैतिकतालाई तिलाञ्जलि नदिन सुशीला कार्की सचेत रहनुपर्छ । चुनाव सम्पन्न गराउने जस पाइसकेपछि, इतिहासमा महत्वपूर्ण जिम्मेवारी हासिल गरेपछि झिना स्वार्थहरुमा अल्मलिनु हुँदैन । भइसकेको गल्ती सच्याउने र नयाँ गल्ती नगर्ने प्रतिबद्धता गर्नु सुशीलाका लागि उचित हुन्छ । जनताको मत र माया बोकेर सिंहदरबार प्रवेश गर्न लागेका बालेनलाई बाधा हुने गरी कुनै अप्रिय काम कसैले नगरोस् । 

प्रतिक्रिया दिनुहोस्
थप समाज
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
विश्वकपको रोमाञ्चक १० क्षण

विश्वकपको रोमाञ्चक १० क्षण