नेभिगेशन
समाज

शिखका पहिरो प्रभावित भन्दछन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न  सहज भयो’

शिख (म्याग्दी), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्यो । केही दिन शिखको अस्थायी आश्रयस्थलमा बिताउनुभयो । अहिले उहाँ दिदी सुनमाया तिलिजाले उपलब्ध गराएको खाली घरमा बस्न थाल्नुभएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

    सुनमायाको परिवार बसाइँ सरेपछि घर खाली थियो । विपद्ले घरबारविहीन बनेकी भूमदेवीको परिवारका लागि त्यही घर अहिले आश्रय बनेको छ । “करिब १५–२० दिन शिखको आश्रयस्थलमा बसेपछि घरसल्लाह गरेर दिदीको खाली घरमा बस्ने निर्णय लिएका हौँ,” भूमदेवीले भन्नुभयो, “सरकारले पनि कति आश्रयस्थलमा राख्न सक्ला र भन्ने लाग्यो । आफ्नै घर नबनाउँदासम्मका लागि दिदीको खाली घरमा बस्न थालेका हौँ ।”

Ncell
Extreme Energy

    भूमदेवीको परिवारले आपत्का बेला आश्रय पाएको छ । सुनमायाको उपयोगविहीन घर पनि काममा आएको छ । भूमदेवीजस्तै किन्दु टोलका धेरैजसो विस्थापित परिवार आफन्तका खाली घरमा बस्न थालेका छन् । कतिपय शिख देउराली, शिख तल्लो र शिख उपल्लो गाउँमा व्यवस्थापन भएका छन् ।

    आश्रयस्थलबाट आफ्नै व्यवस्थापनतर्फ

    अन्नपूर्ण–५ का धोस्केखोर, किन्दु, झारवाङ र घिरवाङमा ४५ घर छन् । पोखरा, काठमाडौँलगायत सहरमा बसाइँ सरेका परिवारबाहेक ३५ घरपरिवार गाउँमै बसोबास गर्थे । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि यी बस्ती पहिरोले घेरिए । गाउँसँगको सम्पर्क विच्छेद भयो ।

    जोखिममा परेका ९१ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख देउरालीस्थित कान्छीबाराही युवा क्लबको खेलमैदानमा ल्याइएको थियो । त्यहाँ उनीहरूका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको थियो ।

    पहिरोले नारायण शेरपुञ्जा पुन, रुकबहादुर पुर्जा, खेमबहादुर पाइजा, रेकबहादुर पुर्जा, तमबहादुर पुर्जा र जुगमान चोचाङ्गीका घर भत्काएको थियो । अन्य धेरै घर नभत्किए पनि चर्किएर बस्न नमिल्ने भएका छन् ।

    आश्रयस्थलका टहरा र पालमा बस्दै आएका धेरैजसो परिवारले दसैँअघि नै आफ्नो बसोबासको व्यवस्था मिलाइसकेका छन् । टोल संयोजक दीपक तिलिजाका अनुसार विस्थापितहरू आफन्तका खाली घर र अन्य सुरक्षित स्थानमा सरेका छन् ।

    शनिबार दिउँसो आश्रयस्थलमा भेटिनुभएका नारायण शेरपुञ्जा पुनले पनि विस्थापितहरू आफैँ आफ्नो व्यवस्थापन गर्न थालेको बताउनुभयो । तर उहाँको परिवार भने अझै अन्योलमा छ ।

    घर, गोठ र खेतीयोग्य जमिन पहिरोमा

    पहिरोले नारायणको घर, गोठ र खेतीयोग्य जमिन बगाएको छ । घरमा भएको अन्नपात र अन्य सामान निकाल्ने मौका पनि मिलेन ।

    “२०–२१ मुरी आलु र दुई मुरी मकैसहित घरमा भएका सामान निकाल्न पाइनँ । सबै पहिरोले बगायो,” उहाँले भन्नुभयो, “पहिरो जाने दिन गोठबाट फुकाएर जङ्गलमा पठाएको भैँसी बाटो नभएकाले अझै ल्याउन सकेको छैन ।”

    उहाँकी श्रीमती पोखरामा रहेका छोराछोरीसँग जानुभएको छ । नारायण पनि कसैको खाली घरमा बसेर आफ्नै खेतबारीमा काम गर्ने सोचमा हुनुहुन्छ । तर, घर र जग्गा जमिन टाढा भएकाले निर्णय लिन सक्नुभएको छैन । 

    त्यसैले उहाँ अझै आश्रयस्थलमै बसिरहनुभएको छ । उहाँको घर चार वर्षअघि पहिरोले भत्काएको थियो । घर पुनःनिर्माणबापत सरकारले दिने रु पाँच लाखमध्ये पूरै अनुदान नपाउँदै उहाँले बनाएको नयाँ घर पनि भत्किएको हो । 

    वर्षा रोकिएपछि विस्थापितहरू दैनिक काममा फर्कन थालेका छन् । दिनभर गाउँमा पुगेर खेतबारी र घरायसी काम गर्छन् । कतिपयले घरका बाँकी सामान सुरक्षित ठाउँमा सारिरहेका छन् । साँझ खाना खान र सुत्नका लागि होल्डिङ सेन्टर फर्कने गरेका छन् ।

    “दसैँअघि आश्रयस्थलमा धेरै जना हुनुहुन्थ्यो । अहिले सङ्ख्या घट्दै गएको छ,” रेकबहादुर पुर्जाले भन्नुभयो, “विपद्का बेला सरकारको मुख ताकेर मात्र बस्दा दुःख पाइन्छ भन्ने लागेर सक्ने र सम्भव हुनेले आफैँ व्यवस्थापन गर्नुभएको छ ।”

    अस्थायी बसोबासको व्यवस्था मिलाउँदैमा सबै समस्या समाधान भएका छैनन् । घर भत्किएर सामान निकाल्न नपाएकाहरूलाई खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडाको अभाव छ । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता अझै छ । शिखका अगुवा गणेश गुरुङ (सुरेन)का अनुसार सरकारी निकाय र दाताको सहयोग जुटाएर प्रभावित परिवारको बसोबास सहज बनाउने प्रयास भइरहेको छ ।

    विद्युत् र खानेपानीसँगै पदमार्गको समस्या

    विपद्बाट सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ मा पुनःस्थापनाको चुनौती कायमै छ । वडाअध्यक्ष राजेश तिलिजा पुनका अनुसार विद्युत्, खानेपानी र पदमार्ग तत्काल सुधार गर्नुपर्ने अवस्था छ ।

    “सडक त अहिले धेरै टाढाको विषय भएको छ,” उहाँले भन्नुभयो, “धेरै प्रयासपछि विद्युत् सेवा सञ्चालन हुन थालेको छ । श्रमदान गरेर पदमार्ग निर्माण गरिरहेका छौँ । खानेपानीको व्यवस्था मिलाउने प्रयासमा पनि जुटेका छौँ ।”

    पहिरो प्रभावित बस्तीको भौगर्भिक अवस्था अध्ययन गर्न विज्ञ टोली आउन ढिलाइ हुँदा पुनःस्थापनासम्बन्धी निर्णय लिन कठिन भएको वडा अध्यक्ष तिलिजाले बताउनुभयो । कुन बस्तीमा बस्न सुरक्षित छ र कहाँबाट स्थानान्तरण गर्नुपर्छ भन्ने यकिन नहुँदा प्रभावित परिवार अन्योलमा छन् ।

    अन्य बस्तीका आश्रयस्थल पनि खाली हुँदै

    अन्नपूर्ण –५ को पाउद्धारबाट विस्थापित भएकाहरू बस्दै आएको घारस्थित वडा नम्बर ६ को अस्थायी आश्रयस्थल पनि यही कात्तिक १ गतेदेखि बन्द भएको छ ।

    घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार विस्थापितहरूले आफ्ना सामान आश्रयस्थलमै राखेर आफन्तकहाँ र गाउँमा फर्किएका छन् । वर्षा भएमा पुनः आश्रयस्थलमा आउने गरी उनीहरू गएका हुन् । घारको आश्रयस्थलमा पाउद्वारका ११५ जनासम्मले आश्रय लिएका थिए ।

    त्यस्तै, अन्नपूर्ण गाउँपालिका–८ महभिरबाट विस्थापित भएका ३० परिवार बस्दै आएको सिरुवारीको आश्रयस्थल पनि खाली भएको छ । वडाअध्यक्ष खमबहादुर गर्बुजाका अनुसार महभिरका प्रभावित परिवार खाली घर खोजेर आफैँ बसोबास मिलाउने प्रयासमा छन् । घर नपाएकाहरूका लागि व्यवस्थापनमा सहजीकरण भइरहेको छ ।

    यस वर्षको मनसुनजन्य विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा छ जनाको मृत्यु भएको छ । गाउँपालिकाका अनुसार ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विपद्पछि अस्थायी आश्रयस्थलमा सुरु भएको जीवन अब बिस्तारै आफ्नै व्यवस्थापनतर्फ अघि बढेको छ । 

    आफन्तका खाली घर, गाउँका सुरक्षित बस्ती र उपलब्ध स्रोत नै विस्थापितका लागि तत्कालको सहारा बनेका छन् । तर घर गुमाएका परिवारको सुरक्षित पुनःस्थापना र आधारभूत सेवा पुनःस्थापित नहुँदासम्म उनीहरूको सङ्घर्ष भने जारी रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्ष भयो, मर्मत गरिएन

अस्पतालमा सिटीस्क्यान सेवाको पनि अभाव छ । उक्त उपकरण बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, त्यसको मर्मत हुन सकेको छैन । मर्मत खर्च निकै महँगो भएकाले...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...
आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

आगामी साताको अन्त्यमा यी स्थानमा भारी वर्षा र हिमपातको पूर्वानुमान

“साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुने सम्भावना छ । ती प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी हिमपात...