नेभिगेशन
समाज
कांग्रेस विवाद

एकताको नाममा विभाजनको धम्की

संस्थापनले भोलि के जवाफ देला ?

बीपी स्मृति दिवसमा कांग्रेसले नछुटाउने एउटा काम हो– वृक्षरोपण अर्थात् विभिन्न जातका बोटबिरुवा रोप्ने । कांग्रेसले यसो गर्दै आएको आज ४४ वर्ष भयो । अर्थात् कांग्रेसले आज (बुधबार, साउन ६ गते) ४४औं बीपी स्मृति दिवस मनायो । 

४४ औं बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बुधबार सभा र विचार गोष्ठी गर्‍यो, वृक्षरोपण गर्‍यो अनि गमलामा पानी पनि हाल्यो । सँगै विभाजनको बीउ पनि रोप्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुस अन्तिम सातायता कांग्रेस एउटा होइन दुइटा छ । त्यसैले बीपी स्मृति दिवस पनि फरक फरक मनाइएको छ । 

Ncell
Extreme Energy

गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले बुधबार बिहानै कुपण्डोलदेखि सानेपा हुँदै जाउलाखेलसम्म ‘ग्रिन रन’ गर्‍यो, जाउलाखेलमा जलवायु परिवर्तनका बारेमा विमर्श गर्‍यो । भोलि राष्ट्रिय सभागृहमा सभा गर्दैछ, नयाँ अभियानको घोषणा गर्दैछ । 

विशेष महाधिवेशनमा सहभागी नभएको कांग्रेसले आज दिउँसो कमलादीस्थित प्रज्ञा भवनमा ‘संवाद, सहमति र एकता आजको आवश्यकता’ विषयमा सभा गर्‍यो । जहाँ निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित आधा दर्जनभन्दा बढी पूर्वपदाधिकारीहरूले सम्बोधन गरे । 

बिहानको कार्यक्रममा एउटा समूह सहभागी भयो, दिउँसोको सभामा अर्को समूह । बिहानको कार्यक्रम सिर्जनात्मक थियो, दिउँसोको कार्यक्रम आरोप–प्रत्यारोपपूर्ण थियो । 

प्रज्ञा भवनमा आयोजित समारोहमा नेताहरूले विशेष महाधिवेशनअघि, विशेष महाधिवेशन, चुनाव र त्यसपछिका अवस्थाका बारेमा चर्चा गरे । बोल्ने सबैजसो नेताहरूले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको चर्को आलोचना गरे, आफूहरूलाई पाखा लगाइएको र पार्टी फुटाउन खोजिएको आरोप लगाए । यत्ति मात्रै होइन, कांग्रेसको आधिकारिताबारे निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णयमा पनि बदनियत देखे । 

केही नेताले त तत्कालै सानेपा (कांग्रेस केन्द्रीय कार्यालय) कब्जा गर्नुपर्ने बताए । केही नेताले भने अझै पनि नेतृत्वले (थापाले) एकताको पहल नगरे साउन अन्तिममा नयाँ पार्टी बन्ने चेतावनी दिए । 

कांग्रेसको इतर पक्ष (देउवा खेमा) ले पार्टी एकताका लागि दबाब दिन आयोजना गरिएको भनिएको सभामा सहभागी नेताहरूले एकताका लागि भन्दा विभाजनमा जोड दिए । ‘पार्टी आजै फोरौं, तत्कालै फोरौं, होइन भने देखाइदिन्छौं, केही दिन हेर्छौं’ जस्ता चेतावनी र धम्कीयुक्त भाषा बोले । 

कुन नेताले के भने ? संक्षेपमा बुझौं ।  

दुर्लभ थापा (भक्तपुर सभापति– ‘सानेपा कब्जा गरौं, सानेपा हाम्रो हो।’ 

कुन्दन काफ्ले (पूर्वप्रदेश मन्त्री)– ‘कांग्रेस फुट्नु हुँदैन । तर, सानेपामा बस्नेहरूसँग बीपीको विचार छैन । कांग्रेस नफुटी सुखै छैन ।’

जितजंग बस्नेत (राष्ट्रियसभा सदस्य)– पन्ध्रौं महाधिवेशनमा गगनलाई सर्वसम्मत पार्टी सभापति बनाउन हाम्रो बाटो छेक्न खोजियो । 

केदार कार्की (कोशीका पूर्वमुख्यमन्त्री)– ‘अग्रज नेताहरूलाई निकालेर पार्टी कब्जा गर्ने प्रयास गरियो । गगन थापा कहीँबाट परिचालित छन् भन्ने देखिँदैछ ।’

शंकर भण्डारी (पूर्वकेन्द्रीय सदस्य)– ‘पार्टी मिलाउने कुरा सानेपाको पार्टी सभापतिको कुर्चीमा बस्ने गगन थापाको हातमा छ ।’ 

उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री)– ‘गगनजी, पार्टीको सभापति बन्ने हो भने गुटको कुरा छाड्नुस्, पार्टी मिलाउनुस् । पद भनेको जुत्ता हो, आज लगायो, भोलि फुकाल्नुपर्छ ।’ 

प्रकाशशरण महत (पूर्वप्रवक्ता)– ‘गगनलाई एक्लै पार्टी चलाउँछु भन्ने लागेको छ, कांग्रेसको संस्कार यो होइन । पन्ध्रौं महाधिवेशन अगाडि बढाउन शक्तिशाली संयन्त्र बनाऔं । कांग्रेसको आत्मा विशेष महाधिवेशनमा छैन, यहाँ छ ।’ 

शशांक कोइराला (पूर्वमहामन्त्री)– ‘मलाई विश्वास गर्नुस्, म बीपीको बिचार कहिल्यै मर्न दिन्नँ । पार्टी विभाजन भयो भने त्यसको जिम्मेवारी वर्तमान नेतृत्व (गगन थापा) ले लिनुपर्छ ।’ 

कृष्णप्रसाद सिटौला (पूर्वमहामन्त्री)– ‘अझै पनि भन्न चाहन्छौं, तपाईं गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्, यति आँट छैन तपाईंमा ?’

विजयकुमार गच्छदार (पूर्वमहामन्त्री)– ‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ, कांग्रेसमा त्याग, बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन् गगनकुमार थापाजी ।’

विमलेन्द्र निधि (पूर्वमहामन्त्री)– ‘निर्वाचन आयोगको निर्णय नै पक्षपाती छ । जिम्मेवारी पदाधिकारीको नाममा गगन र विश्वलाई मान्यता दिइएको छ । उनीहरू अख्तियार प्राप्त पदाधिकारी हुन् वा होइनन् अदालत र आयोग दुवैले हेरेनन् । कांग्रेसलाई अदालत र आयोगको निर्णयबाट विभाजित गरिएको छ । पाँच बुँदे प्रस्ताव हाम्रो सामूहिक निर्णय हो । त्यसैलाई एकताको आधार बनाउनुपर्छ । त्यो भन्दा तल हुन सक्दैन । तिथि मिति तय गरिसकेका छौं, साउनको अन्तिम समयमा, त्यतिबेलासम्म सहमति नभए नयाँ कार्यदिशामा जानुपर्छ, त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ ।’ 

शेखर कोइराला (सभापतिमा पराजित)– नेपाली कांग्रेस २.० भनिएको छ, त्यो भनेको के हो ? बुझ्नु भएको छ ? सभापतिजीले आफ्नो भाषणमा सामाजिक लोकतन्त्र भन्नु भएको छ । के कांग्रेसले अब प्रजातान्त्रिक समाजवादलाई थाती राखेको हो ? यी सुन्दा उस्तै लाग्छ, तर, भिन्न हो । प्रजातान्त्रिक समाजवादलाई छोड्न सक्दैनौं । सभापतिजीले छिट्टै पहल गर्नु भएन र कथम्कदाचित दुर्भाग्यपूर्ण अवस्था आउँछ, त्यसको जिम्मेवारी सभापतिले लिनुपर्छ । कसैको इशारामा नहिँड्नुस् ।’ 

पूर्णबहादुर खड्का (निवर्तमान कार्यबाहक सभापति)– ‘अवैध तरिकाले चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिइयो । कोही पनि निष्क्रिय बस्नेवाला छैनौं । हामी युवालाई अघि सारेर युवाहरूको रक्षाकवच भएर हिँड्न तयार छौं । नेपाली कांग्रेस स्थापनाकालदेखि पहिलोपटक प्रतिकूल अवस्थामा पुगेको छ । सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौं । हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४औंको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’

सभामा बोल्ने सबै नेताले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको आलोचना गरे । अवैधानिक रुपमा विशेष महाधिवेशन गरेर पार्टीमा योगदान गरेका नेताहरूलाई अपमानजनक ढंगले बाहिर पारेर पार्टी कब्जा गरेको आरोप लगाए । 

त्यति हुँदा हुँदै पनि पार्टीलाई एकजुट बनाउन आफूहरू तयार रहेको र केही दिनअघि सार्वजनिक गरिएको पाँच बुँदे प्रस्ताव नेतृत्वले स्वीकार गर्नुपर्ने नेताहरूको भनाइ थियो । 

प्रज्ञा भवनमा इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई विभिन्न मिडियाबाट हेरिरहेका संस्थापनतर्फका नेताहरूले भने उक्त कार्यक्रमलाई ‘गगनलाई गाली सभा’को संज्ञा दिएका छन् । 

सिधाकुरासँग एक नेताले भने– ‘यो त एकताको नाममा आयोजना गरिएको गगनलाई गाली सभा रहेछ, उहाँहरूलाई अझै पनि गाली गरेर पार्टीमा आफूहरूले भनेको लागु हुन्छ भन्ने लागेको होला ?’

नेतापुत्रजति प्रज्ञा भवनमा 
इतरपक्षले प्रज्ञा भवनमा आयोजना गरेको सभामा सम्बोधन गर्ने अधिकांश नेता नेतापुत्र र यसअघि पटक पटक पार्टी र सरकारको जिम्मेवारीमा बसेका नेताहरू थिए । 

सभाको संयोजक थिए पूर्वउसभापति प्रकाशमान सिंह । उनी सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन् । त्यस्तै बीपी पुत्र एवम् पूर्वमहामन्त्री शशांक कोइराला, कोइराला परिवारकै सदस्य शेखर कोइराला र महेन्द्रनारायण निधि पुत्र एवम् पूर्वमहामन्त्री विमलेन्द्र निधि पनि प्रज्ञा भवनमा आयोजित सभामा सहभागी भए । 

सभामा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा सभापति हुँदा पटक पटक पदाधिकारी बनेका, मन्त्री–उपप्रधानमन्त्री बनेका अनि पार्टी र सरकारमा जिम्मेवार तहमा बसेका नेताहरूको बाहुल्यता देखिन्थ्यो । 

संस्थापनले भोलि जवाफ दिने 

४४औं बीपी स्मृति दिवसको अवसरमा बुधबार ग्रिन रन र जलवायु परिवर्तनबारे सचेतना कार्यक्रम गरेको कांग्रेसको संस्थापन पक्षले भोलि (विहीबार) प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सभा गर्दैछ । 

उपसभापति विश्वप्रकाश शर्मा अध्यक्ष रहेको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को आयोजनामा भोलि दिउँसो २ बजे कार्यक्रम गर्दै छ । कार्यक्रमको नाम दिइएको छ ‘नवीन परिस्थितिः नवीन संकल्प, नवीन अभियान’ ।

त्यही कार्यक्रममा गत वैशाख १ गतेदेखि सञ्चालित ‘जरा अभियान’ को विधिवत समापन र नयाँ अभियान घोषणा गरिने कांग्रेसले जनाएको छ । 

सँगै, इतरपक्षले आज (बुधबार) जुन जुन आरोप लगाएको छ, त्यसको जवाफ दिने नेतृत्वको तयारी छ । ‘आज आरोप लगाउनेहरूले भोलि जवाफ पाउने छन्’ एक पदाधिकारीले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्भर नचल्दा अस्तव्यस्त बन्यो यातायात कार्यालय (भिडिओ)

सर्भर नचल्दा अस्तव्यस्त बन्यो यातायात कार्यालय (भिडिओ)

काठमाडौँ कि सरस्वती पनेरू लाइसेन्स नवीकरणका लागि मंगलबार एकान्तकुना यातायात व्यवस्था कार्यालय पुगेकी थिइन् । तर कार्यालय पुगेर रित्तो हात फर्किनु परेको उनको पीडा छ । एक हप्तापछि...
संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

संविधान संशोधनका लागि जनताले पठाएका ४४ हजार सुझाव, प्रदेश खारेजदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्म

नेपालको संविधानको धारा २७४ को उपधार १ मा भएको व्यवस्था अनुसार यी चार विषय असंशाेधनीय छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता यी...
साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

साउन ६ : बीपी स्मृति दिवस कि कांग्रेस विभाजनको साइत ?

यसपालि कांग्रेसले फरक ढंगले बीपी स्मृति दिवस मनाउँदै छ। पार्टी एउटै छ, तर पुस अन्त्ययता कांग्रेसका नेताहरू घोषित रूपमा दुई समूहमा विभाजित छन्– नियमित महाधिवेशन पक्षधर समूह र...