नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

यतिवेला विशेष परिस्थितिबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहेको छ। लोकतान्त्रिक व्यवस्थामा कुनै पनि दलको महाधिवेशन आफैँमा महत्वपूर्ण राजनीतिक परिघटनाका रूपमा हेरिन्छ। सामान्यतया महाधिवेशन चलिरहँदा कुनै दल विशेषका कार्यकर्ताको उत्सव वा विपक्षी दलको सरोकारको विषय मात्र नभएर प्रत्येक सचेत नागरिक, अझ भनौँ समग्र समाजले महाधिवेशनका गतिविधि र यसको परिणामलाई नजिकबाट चासोपूर्वक निहालिरहेको हुन्छ। त्यसमाथि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपश्चात् पार्टीभित्र सिर्जित विषम परिस्थितिका कारण पनि यसलाई थप चासोपूर्वक हेरिएको छ। विशेष अधिवेशनको वैधानिकताउपर उठेको प्रश्नमाथि सर्वोच्च अदालतको पुनरावलोकन तहमा मुद्दा विचाराधीन छ। जेनजी विद्रोह र २०८२ को आमनिर्वाचनपछि असामान्य रूपमा खुम्चिएको कांग्रेसको महाधिवेशनले तय गर्ने आगामी रणनीति र कार्यदिशा के-कस्तो हुनेछ भनेर दुनियाँले विशेष रूपमा निहालिरहेको छ। असोज १८ देखि महाधिवेशन चलिरहँदा देशभर कांग्रेसका नेता, कार्यकर्ता र प्रतिनिधिहरूबीच नेतृत्व चयन, नीति, संगठन र आगामी राजनीतिक दिशाबारे बहस हुनु स्वाभाविक नै हो। यस लेखमा महाधिवेशनको सिलसिलामा विशेषगरी नेतृत्व छनोट र नीतिगत रूपमा प्राथमिकतामा पर्नुपर्ने विषयमा चर्चा गर्न खोजिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रथमतः कांग्रेसका प्रतिनिधिले मनन गर्नुपर्ने विषय के हो भने महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै होइन, पार्टीको आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्ने अवसर पनि हो। त्यसैले प्रत्येक प्रतिनिधिले नेतृत्व चयन गर्दा आफ्नो मत अत्यन्त विवेकपूर्वक जाहेर गर्नु प्रमुख जिम्मेवारी हुन्छ। महाधिवेशन प्रक्रिया र यसको निर्णयले नै तहतहका सरकार वा राजनीतिक संयन्त्रहरूमा प्रतिनिधित्व गर्ने व्यक्तिहरू कस्ता आउन सक्छन् भन्ने विषयलाई प्रभाव पार्दछ। जस्तो, वडा अधिवेशनपछि छानिएको वडासमितिले नै भावी चुनावका लागि वडाध्यक्ष वा वडा पदाधिकारीका उम्मेदवार सिफारिस गर्ने दलीय अभ्यास भएकोले जनप्रतिनिधिका उम्मेदवार कस्ता देखापर्ने छन् भन्ने कुरा यसबाट निर्धारित हुन्छ। तहगत रूपमा संघसम्मै हुने प्रक्रिया यही हो। आम चुनावमा जनताले आफ्नो प्रतिनिधि छनोट गर्ने त दोस्रो विकल्प हो, पहिलो छनोट त पार्टीहरूले नै गर्ने हो। फेरि पार्टी भनेको कुनै अमूर्त कुरा होइन, यसका नेता/कार्यकर्ता नै हुन्। जनतालाई त पार्टीले पस्किएका सीमित व्यक्तिहरूमध्येबाट मात्र आफ्नो प्रतिनिधि छान्न पाउने अधिकार छ। यसरी दलहरूकै आधारभूत निर्णयले राज्य संयन्त्र चलेको हुनाले हामी दलीय प्रणालीमा छौँ भनिएको हो। हरेक क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छान्दा होस् वा महाधिवेशन प्रतिनिधिले केन्द्रीय तहको नेतृत्व छनोट गर्दा होस्—जिम्मेवारी र इमानदारीपूर्वक छान्न जरुरी छ। यसैबाट आन्तरिक लोकतन्त्र उन्नत हुँदै जाने हो। मतदाताहरूले आफूले मत दिने व्यक्तिलाई व्यक्ति, सम्बन्ध, समूह वा तत्कालीन प्रभावका आधारमा मात्र होइन, उसको राजनीतिक चरित्र, विचार, क्षमता र विगतको भूमिकाका आधारमा मूल्याङ्कन गर्न आवश्यक छ। नेतृत्व छनोट गर्ने सवालमा हामी जति स्थानीय, प्रदेश वा संघको सरकार निर्माण गर्न आम निर्वाचनमा चनाखो हुन्छौँ, दलको आन्तरिक चुनावमा पनि त्यति नै संवेदनशील हुन जरुरी छ।

Ncell
Extreme Energy

नेतृत्व छनोटको सवालमा चर्चा गर्दा पछिल्लो समय सबैतिर अनुहारमाथि चर्चा हुने तर विचारमाथि चर्चा नहुने वा कम हुने प्रवृत्ति हावी भएको छ। लोकप्रियतावाद र अल्गोरिद्मको प्रहारमा कांग्रेसको आफ्नै अनुहार पनि ख्याउटिएको छ। जसले धेरै गाली गर्न सक्छ, जसले ठूलो संरचना/सम्पत्ति जलाउन सक्छ, उही सबैभन्दा प्रिय र महान् हो भन्ने भाष्य स्थापित हुँदै गएको परिस्थिति छ। यस्तो अवस्थामा महाधिवेशनका मतदाता विशेष सचेत हुन जरुरी छ। आजका नागरिकलाई नेतृत्व कसरी छान्ने भनेर सिकाइरहनुपर्ने विषय त होइन, तथापि नेतृत्व छनोटका आधारका सन्दर्भमा केही राजनीतिशास्त्रीहरूको विचारलाई यहाँ दृष्टिगत गर्नु सान्दर्भिक हुन्छ।

प्लेटोका अनुसार कुशल राजनीतिक नेतृत्वसँग 'न्यायको बोध, ज्ञान र सत्यको खोज' को क्षमता हुनुपर्दछ। शासकमा व्यक्तिगत स्वार्थभन्दा न्यायपूर्ण समाजको हित बुझ्न सक्नुपर्छ भन्नेमा उनको जोड छ। अरस्तुले नेतामा नागरिकको राम्रो जीवन निर्माण गर्ने क्षमता हुनुपर्ने धारणा राखेका छन्। उनको आशय समग्र नागरिकको जीवनस्तर उकास्ने मूल उद्देश्यले नेतामा परिकल्पना, नीति र कार्यान्वयन क्षमता हुनुपर्दछ भन्ने हो।

पूर्वीय राजनीतिशास्त्री कौटिल्यका अनुसार नेतामा 'बौद्धिक क्षमता, सत्यनिष्ठा, अनुशासन, दूरदृष्टि, सक्रियता र संकट व्यवस्थापन क्षमता' आवश्यक मानिएको छ। खासमा हामीले आफ्नो नेतृत्व छनोट गर्दा यी बुँदालाई आधार मान्नु आजका दिनमा उत्तिकै सान्दर्भिक मानिन्छ। आफ्नो नेताले समयक्रममा देखाएको महत्वपूर्ण क्षमता, सक्रियता र दृष्टिकोणबाट पनि मतदानका आधार बन्दछन्।

म्याकियाभेलीका अनुसार 'शक्ति, परिस्थितिको परिवर्तन र व्यावहारिक निर्णय क्षमता' नै नेतृत्व छनोटको आधार बन्न सक्छ। उनका अनुसार नेताले वास्तविक समस्या बुझेर कठिन अवस्थामा निर्णय लिन सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण पक्ष हो। रूसोका अनुसार जनताको साझा हितको विचार गर्नु पर्दछ। त्यो भनेको अहिलेको सन्दर्भमा कार्यकर्ताको मनोभावना बुझ्न सक्ने नेताको खाँचो छ भन्न खोजिएको हो।

अर्का राजनीतिशास्त्री म्याक्स वेबरले 'उद्देश्यप्रतिको गम्भीर प्रतिबद्धता, जिम्मेवारीबोध, निर्णय-विवेक, परिस्थितिको विवेकपूर्ण मूल्याङ्कन गर्न सक्ने क्षमता' नेतृत्वमा हुनुपर्ने अनिवार्य शर्त हुन् भन्ने विचार प्रस्तुत गरेका छन्। महात्मा गान्धीका दृष्टिमा नेतृत्वको नैतिक सिद्धान्त, चरित्र र सार्वजनिक उत्तरदायित्वलाई महत्त्व दिनुपर्ने हुन्छ।

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर नेतृत्वको छनोट गर्दा यी बुँदालाई आधार बनाउनु महत्वपूर्ण छन्।

यसबाट हामी के बुझ्न सक्छौँ—नेतामा मूलभूत रूपमा सबै क्षमता विद्यमान हुनुपर्दछ। सर्वगुण नभेटिए पनि माथिका आधारमा कम्तीमा हाम्रा सामु उभिएको उम्मेदवारको विगत के हो? उसले पार्टी र सार्वजनिक जीवनमा के योगदान गरेको छ? उसको राजनीतिक दृष्टिकोण के हो? उसले जिम्मेवारी पाउँदा के गर्‍यो? उसको सार्वजनिक आचरण र जवाफदेहिता कस्तो रह्यो? नीति निर्माणमा उसको भूमिका के रह्यो? संकटको समयमा उसको निर्णय क्षमता र लोकतान्त्रिक संस्कार कस्तो देखियो? इत्यादि प्रश्नहरूको जवाफ खोज्नु अनिवार्य हुन्छ।

आफ्नो उम्मेदवारले व्यक्तिगत, पारिवारिक वा गुटगत हितभन्दा पार्टी, लोकतन्त्र र राष्ट्रहितलाई प्राथमिकता दिने राजनीतिक संस्कार राख्छ कि राख्दैन भन्ने विचार गर्नुपर्ने हुन्छ। राजनीतिमा विचार महत्वपूर्ण छ, तर विचारलाई व्यवहारमा उतार्ने आधार राजनीतिक चरित्र हो। इमानदारी, पारदर्शिता, नैतिकता, अनुशासन र सार्वजनिक जवाफदेहिता नेतृत्वका आधारभूत गुण हुन्। कार्यकर्तालाई सम्मान गर्ने, योग्य व्यक्तिलाई अवसर दिने, संगठनभित्र संवाद र अनुशासन कायम गर्ने तथा पार्टीलाई जनतासँग जोड्ने क्षमता पनि नेतृत्व छनोटको महत्वपूर्ण आधार हो। मत केवल अधिकार होइन, जिम्मेवारी पनि हो भन्ने ठानेर नेतृत्व छान्नु बुद्धिमानी हुनेछ। महाधिवेशनमा प्राप्त एउटा मत व्यक्तिगत रूपमा सानो देखिन सक्छ। तर हजारौँ मतले पार्टीको नेतृत्व र दिशालाई प्रभावित गर्छन्। त्यसैले महाधिवेशन प्रतिनिधिको मत केवल व्यक्तिलाई पदमा पुर्‍याउने मत होइन; कस्तो राजनीतिक संस्कार, कस्तो नेतृत्व र कस्तो संगठन निर्माण गर्ने भन्ने निर्णय पनि हो। यसैलाई मूलमन्त्र ठानेर महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नु उपयुक्त हुनेछ। प्रतिनिधिले जस्तो नेतृत्व छान्न सक्यो, आगामी कांग्रेस कति सबल वा दुर्बल हुने भन्ने निर्धारण हुनेछ।

नेपालमा प्रायः महाधिवेशनको सुरुवातमा सर्वसम्मत रूपमै नेतृत्व चयन गर्ने प्रयास हुने अभ्यास छ। विशेषगरी कम्युनिस्ट पार्टीहरूमा यसको प्रयास वा अभ्यास रहेको देखिन्छ। लोकतान्त्रिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत सहमतिमै महाधिवेशन टुङ्गिएको थियो। सहमति हुनु पक्कै राम्रो हो, तर सहमति सिन्डिकेट र गुट व्यवस्थापनको माध्यम हुनु हुँदैन। नेपाली कांग्रेसभित्र फरक विचारलाई सम्मान गर्ने परम्परा अलि बढी नै छ। विगतमा फरक मतसहित संस्थापन पक्षका विरुद्ध उभिएको इतिहास छ। नरहरि आचार्य, गगन थापा वा निवर्तमान सभापति देउवा नै पनि यसको उदाहरण हुन्। फरक विचारको सम्मान र सहिष्णुताबाट नै लोकतन्त्र थप उन्नत हुँदै जान्छ। त्यसैले स्वस्थ तथा स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चुन्ने कुरालाई बढी प्राथमिकता दिनु उपयुक्त हुनेछ।

अर्को कुरा, विशेष परिस्थितिमा चलिरहेको कांग्रेसको १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने एउटा नियमित राजनीतिक प्रक्रिया मात्र होइन। यो कांग्रेसले आफूलाई बदलिँदो नेपाली समाज, अर्थतन्त्र, प्रविधि, युवा पुस्ता र लोकतान्त्रिक अपेक्षासँग पुनः जोड्ने कि विगतकै अभ्यासमा सीमित रहने भन्ने प्रश्नसँग पनि जोडिएको छ। नेपाली कांग्रेसको राजनीतिक इतिहास लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको संघर्षसँग जोडिएको छ। राजनीतिक सिद्धान्त जीवित रहन त्यसको मूल सिद्धान्तलाई समयअनुकूल ढंगले व्याख्या गर्न सक्नु पर्दछ। देशमा आजसम्मका महत्वपूर्ण नागरिक, राजनीतिक तथा सामाजिक उपलब्धिहरू कांग्रेसकै नेतृत्वदायी भूमिकाबाट प्राप्त भएका हुन्। आज यिनै उपलब्धि देखाएर मात्र पार्टीले आफ्नो सबल उपस्थिति जनाइरहन सक्ने अवस्था छैन। आजको नेपाल २००७, २०१५, २०३६ वा २०४६ सालको होइन। आजको समय अकल्पनीय रूपमा बदलिएको छ, भोलि झन् बदलिरहनेछ। त्यसैले कांग्रेसले हिजोको मूलभूत राजनीतिक तथा नागरिक उपलब्धिको ब्याज हिसाब मात्र गर्नेभन्दा पनि आफूलाई जीवन्त राख्न आफैँमा समयानुकूल पुनर्जागरणको दिशामा अघि बढ्नु पर्दछ।

मूलतः कांग्रेसले लोकतान्त्रिक समाजवादलाई ऐतिहासिक सिद्धान्तका रूपमा स्वीकार गर्दै आएको छ। तर नेपालमा यसको समकालीन अर्थ के हो? समाजवादको मोडेल के हो? हाम्रा सार्वजनिक नीतिमा यसको प्रभाव के-कति परेको छ? हाम्रा प्राथमिकता समाजवादउन्मुख छन् त? कतै हामी वैचारिक दुविधामा पो छौँ कि? राज्य र बजारबीचको सम्बन्ध कस्तो हुने? निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सामाजिक न्याय कसरी सुनिश्चित गर्ने? आदि सवालमा घनीभूत छलफल हुन जरुरी छ। विश्वभरि नै सबैभन्दा बदनाम भएको शब्दमध्ये एक समाजवाद पनि हो। यसरी मनलाग्दो व्याख्या भइरहँदा आजको पुस्ताले बुझ्ने गरी कांग्रेसको समाजवादलाई सरलीकृत गर्न जरुरी छ। त्यसैगरी समय, विश्वसम्पर्क, सञ्चार र प्रविधिको अकल्पनीय विकाससँगै राष्ट्रियतालाई पनि पुनर्परिभाषित गर्न जरुरी छ। कांग्रेसको राष्ट्रियता केपी ओली, मोहनविक्रम सिंह वा चित्रबहादुर केसीको राष्ट्रियताभन्दा कसरी फरक छ? कांग्रेसका प्रत्येक नयाँ क्रियाशील युवा जमातले बुझ्न सक्नु पर्दछ।

सिद्धान्तलाई सरलीकृत र समयानुकूल बनाउनुका अलावा जनजीविकासँग सम्बन्धित तमाम प्रश्नको उत्तर खोजिनु पर्दछ। युवालाई रोजगारी दिन स्वदेशी अर्थतन्त्रको कुन क्षेत्रमा लगानी गर्ने? प्रविधि र कृत्रिम बुद्धिमत्ताले रोजगारीमा पार्ने प्रभावलाई कसरी सम्बोधन गर्ने? कृषि, पर्यटन, ऊर्जाका अलावा सूचना प्रविधिलाई कसरी अर्थतन्त्रको मुख्य आधार बनाउने? लगायतका सवालहरू बन्दसत्रभित्र सुनिने गरी छलफल हुनु पर्छ र यथोचित निदान खोजिनु पर्छ। यस्ता प्रश्नमाथि पार्टीभित्र गम्भीर बहस हुन सकेन भने पार्टीले समाजको परिवर्तनशील चेतनासँग आफ्नो सम्बन्ध कमजोर बनाउँदै जाने जोखिम रहन्छ। महाधिवेशन यसका लागि अत्यन्तै उपयुक्त अवसर हो। अबको राजनीतिक प्रतिस्पर्धा केवल राजनीतिक व्यवस्थाको विषयमा हुने छैन। नागरिकले प्रत्यक्ष रूपमा आम्दानी, रोजगारी, शिक्षा, जनस्वास्थ्य, खाद्य सुरक्षा, उद्यम र जीवनस्तरका विषयमा राजनीतिक दलको मूल्याङ्कन गर्नेछन्। त्यसैले कांग्रेसले आफ्नो आर्थिक दर्शनलाई व्यावहारिक रूपमा स्पष्ट बनाउनुपर्ने आवश्यकता छ। आजका दिनमा जलवायु परिवर्तन र पर्यावरणीय मुद्दा ओझेलमा परेको तर अहम् मुद्दा हो। विपद्का दृष्टिले नेपाल अत्यन्त जोखिमयुक्त स्थानमा छ, तर हाम्रो क्षमता भने 'जहिले पर्छ उहिले टर्छ' वाला छ। नेपाललाई विपद् व्यवस्थापनका दृष्टिकोणले कसरी उत्थानशील बनाउन सकिन्छ भनेर नीतिगत मन्थन गर्न जरुरी छ।

महाधिवेशनबाट यसका अलावा केही संरचनागत सुधारको पनि गुञ्जायस छ। युवाहरूमा राजनीतिक वितृष्णा छाइरहेको परिप्रेक्ष्यमा यस पटकबाट युवा लगायत विविध क्लस्टरको व्यवस्था गरिएको छ। यो आफैँमा रूपान्तरणको एउटा खुड्किलो हो। यसले हजारौँ युवालाई नेतृत्व छनोट गर्ने आधिकारिक तहमा पुर्‍याउनुले निश्चय पनि महाधिवेशनको परम्परागत छनोट विधिमा फरकपन ल्याउने नै छ। यी क्लस्टरहरूमध्ये विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरूलाई विशेष सुविधाबाट सीधै नेतृत्व तहमा पुर्‍याउन पार्श्व प्रवेश (Lateral Entry) को नीति अवलम्बनसमेत गरिएको छ। बौद्धिकहरू राजनीतिक दलप्रति खासै आकर्षित नभइरहेको परिप्रेक्ष्यमा यो व्यवस्था आफैँमा उपलब्धिमूलक छ। दलीय शुद्धीकरण र सुदृढीकरणको यात्रामा यो ऐतिहासिक कदम पनि हो। यो प्रावधान नमुनाका रूपमा अन्य दलहरूले सिक्न सक्नु पर्छ। तर अझै यो व्यवस्थामा सुधारको गुञ्जायस बाँकी नै छ। महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएर आउनै पर्ने प्रावधानको हकमा अझै परिमार्जन गर्न जरुरी छ। कम्तीमा एकैपटक केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न सक्ने प्रावधान बनाउन जरुरी छ। जीवनको लामो कालखण्ड कुनै क्षेत्र वा विषयमा विशिष्टता हासिल गरेको व्यक्ति निर्वाचन क्षेत्रमा गएर हात जोड्दै महाधिवेशन प्रतिनिधिका लागि भोट माग्नुपर्ने अवस्था निश्चय पनि शोभनीय छैन। यस्तो प्रावधानले योग्य र आत्मसम्मान भएको व्यक्ति आकर्षित हुने सम्भावना कमै रहन्छ। बरु यसको लागि कार्यविधि नै बनाएर कम्तीमा न्यूनतम मापदण्डका आधारमा कुन तहको विज्ञता वा अनुभव भएको व्यक्ति केन्द्र र कुन तहको महाधिवेशन प्रतिनिधिबाट चुनिनुपर्ने अलग्गै व्यवस्था गरिनु उपयुक्त हुन्छ। त्यसैगरी विषयगत विविधता समेट्नका लागि राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, कानुन, सार्वजनिक प्रशासन वा अन्य विषयसमेतबाट समेट्ने गरी कोटा छुट्याउन सके सुनमा सुगन्ध हुनेछ। यसबाट राजनीतिमा बौद्धिक व्यक्तित्वहरूको आकर्षण बढ्नेछ भने दलको नीति निर्माणमा समेत पर्याप्त इनपुट हुनेछ। किनभने दलको नीति राजनीतिक मात्र होइन, बहुआयामिक हुन्छ।

रूपान्तरणकै सवालमा बहस हुनुपर्ने अर्को एजेन्डा भनेको कांग्रेसमा उम्मेदवार छनोट र नेतृत्वको मूल्याङ्कनको प्रणालीलाई पनि हो। यसमा राजनीतिक जिम्मेवारीका नेता र कार्यकर्ताको सार्वजनिक राजनीतिक प्रोफाइल निर्माण गर्नु आवश्यक छ। यसले पार्टी शुद्धीकरणको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ। उम्मेदवारको राजनीतिक तथा संगठनात्मक अनुभव, सार्वजनिक जिम्मेवारी, नीति निर्माणमा योगदान, सामाजिक सहभागिता, सार्वजनिक आचरण, पारदर्शिता, जिम्मेवारी निर्वाहको अभिलेख, वैचारिक दृष्टिकोण र सम्बन्धित पदका लागि प्रस्तुत कार्यक्रम जस्ता विषयलाई व्यवस्थित अभिलेखमा राख्न सकिन्छ। यसले 'को कसको मान्छे?' भन्ने प्रश्नलाई मात्र निर्णायक बनाउने प्रवृत्तिभन्दा 'कोसँग के क्षमता, अनुभव र योजना छ?' भन्ने प्रश्नलाई पनि संस्थागत गर्न सक्छ। कुनै नेता मन्त्री हुँदा के काम गर्‍यो? सांसद हुँदा के भूमिका निर्वाह गर्‍यो? पार्टीमा जिम्मेवारी पाउँदा संगठनमा के परिवर्तन गर्‍यो? सार्वजनिक रूपमा व्यक्त गरेको विचार र व्यवहारबीच कति संगति रह्यो? यस्ता प्रश्न समेटेर प्रोफाइल बनाउँदा एकातिर संस्थागत अभिलेखीकरणसमेत सबल हुँदै जान्छ भने अर्कोतिर लोकतन्त्रमा जवाफदेहिता थप मजबुत हुँदै जान्छ।

यससँगै महत्वपूर्ण पदमा दलको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवारी घोषणा गर्दा समेत अनिवार्य व्यक्तिगत अवधारणापत्र, प्रतिबद्धतापत्र वा घोषणापत्र साथै राख्नुपर्ने व्यवस्था गरी यसको Performance Audit का लागि मूल्याङ्कन प्रणाली विकास गर्नु सान्दर्भिक हुन्छ। चुनावी प्रतिबद्धता, भूमिका, जनतासँगको सम्बन्ध, पार्टी संगठनमा योगदान लगायतका विषयमा निर्वाचित भएपछि ४ वर्षसम्म के गरे भन्ने मूल्याङ्कन गर्ने परिपाटीसमेत विकास गर्न जरुरी छ।

समग्रमा रूपान्तरण र परिवर्तनको मुद्दालाई टेकेर सम्पन्न भएको दोस्रो विशेष अधिवेशनपश्चात् विशेष कालखण्डमा आयोजित १५औँ महाधिवेशनले संवैधानिक बाध्यता पालन गर्न परम्परा धान्नेभन्दा पनि रूपान्तरणको वास्तविक मर्मलाई अङ्गाल्दै असल नेतृत्व, विचार र कार्यदिशालाई अगाडि बढाउन सक्नु पर्दछ। अन्यथा महाधिवेशनका नाममा प्रतिनिधिहरूले खुला मञ्चमा भेला भएर ताली पिट्ने, एआई सिर्जित पोस्टरले सामाजिक सञ्जाल प्रदूषित गर्ने, वरपरका होटलको व्यवसाय बढाउने, केही थान फोटो खिच्ने र ४/५ दिनपछि घर फर्कनेबाहेक नयाँ केही उपलब्धि हुने छैन।

(लेखक अधिवक्ता समेत हुनुहुन्छ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ...
बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

बिजुलीको बिलको डिजिटल पेमेन्टलाई सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले  विद्युत महसुसको विद्युतीय भुक्तानीको प्रणालीलाई व्यवस्थित रुपमा विस्तार गर्न नेपाल विद्यु्त प्राधिकरणलाई निर्देशन दिएका छन् ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।

भर्खरै