काठमाडौँ । बिचौलिया इनम सापकोटा पक्राउ परेको दुई महिना पुग्नै लाग्यो । असोज १४ गते, नयाँ दिल्ली जानै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनममाथि सुरुमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु भयो, त्यसपछि राष्ट्र बैंक अन्तर्गतको कसुर हुँदै अहिले सम्पत्ति शुद्धीकरण ‘मनी लाउण्डरिङ’ कसुरमा अनुसन्धान सुरु गरियो । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि प्रहरीले ९० दिनसम्म हिरासतमा राख्न सक्छ । त्यसपछि अदालतमा मुद्दा दायर गर्नुपर्छ । यो कानुनी प्रावधानअनुसार प्रहरीले अझै कम्तीमा एक महिना इनमलाई अनुसन्धानका लागि हिरासतमा राख्न सक्छ ।
अनुसन्धानमा इनमसँगको कनेक्सन पाइएको भन्दै प्रहरीले लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट र कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ परेका छन् । प्रहरीले इनमसँगै जोडेर उनीहरुविरुद्ध पनि मुद्दा लैजानुपर्नेछ । इनमको कनेक्सन थुप्रै व्यक्तिहरुसँग देखिएको भनिए पनि अहिलेसम्म यो प्रकरणमा यी तीन जना मात्रै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३ जना मात्रै रहे पनि त उनको थुप्रै उच्च पदस्थ व्यक्तिहरुसँग कनेक्सनको चर्चा चलिरहेको छ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन, कांग्रेस सभापति गगनकुमार थापा, हरि फुयालसहित सर्वोच्चका आधा दर्जन न्यायाधीश, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, कारागारमा रहेका बिचौलिया दीपक भट्ट, प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका तत्कालीन एआईजी वंशीराज दाहाल लगायतका उच्च पदस्थ नेता र अधिकारीहरुसँग इनमको कनेक्सन रहेको चर्चा चलिरहेको छ । अब इनम कोसँग कसरी जोडिए रु पालैपालो चर्चा गरौं ।
इनमसँगको कनेक्सनमा कुमार बेनको मौनता
इनम सापकोटा असोज १४ गतेदेखि प्रहरी हिरासतमा छन् । तर, उनको मोबाइल, उनी हिरासतमा रहँदासमेत एक्टिभ भएको, प्रहरीको नियन्त्रणभन्दा बाहिर रहेको र कोही कसैले चलाएको समाचार आइरहेको छ । यतिसम्म कि प्रहरीले गरेको डिजिटल फरेन्सिक ल्याब– डीएफएल परीक्षणबाट पनि इनमको मोबाइल अरु कोही अनधिकृत व्यक्तिको पहुँचमा पुगेको र डेटा डिलिट गरेको जस्ता विषय अहिले मूलधारका मिडियादेखि सामाजिक सञ्जालसम्म छ्यापछ्याप्ती देखिन्छ । र, ती अनधिकृत व्यक्ति प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन हुन् भनिएको छ ।
‘लोकसन एनालिसिस’मा इनम थुनामा रहेकै समयमा उनको मोबाइल फोन प्रधानमन्त्री कार्यालय र ज्वागलसम्म पुगेको फरेन्सिक रिपोर्टमा देखिएको भन्दै प्रहरी अनुसन्धानको कागजात नै सार्वजनिक भएको छ ।
प्रहरीले पक्राउ परेका आरोपीको मोबाइलको स्विच अफ गरेर आफ्नो नियन्त्रणमा राख्ने गर्छ र आवश्यकता वा अपराधको शैलीको आधारमा फरेन्सिक परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको फरेन्सिक शाखामा पठाउँछ । इनमको हकमा पनि काठमाडौं प्रहरीको अनुसन्धान टोलीले मोबाइल अफ गरेर फरेन्सिक परीक्षणका लागि प्रहरी प्रधान कार्यालय पठायो । तर, प्रहरी प्रधान कार्यालयको ‘फरेन्सिक ल्याब’मा पुग्नुअघिनै सो मोबाइल ‘एक्टिभ’ भएको ‘फरेन्सिक रिपोर्ट’मै देखिएको हो ।
प्रहरीको अनुसन्धान रिपोर्ट भन्दै सार्वजनिक भएको विवरणमा– इनमको मोबाइल प्रहरीले नियन्त्रणमा लिएपछि पहिलो पटक असोज १६ गते नै एक्टिभ भएको देखिन्छ । सुरुमा सिंहदरबारभित्रै ‘एक्टिभ’ भयो । असोज १६ गते बिहान ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा पहिलो पटक नेपाल टेलिकमको ९बीटीएस० मा सम्पर्क भएको फरेन्सिक रिपोर्टले देखाउँछ । त्यो फोन त्यसबेला एकै ठाँउमा ५० मिनेट राखिएको हुन्छ । र, त्यो ठाउँ प्रधानमन्त्री कार्यालय सिंहदरबार हुन्छ ।
त्यहाँबाट त्यो फोन ललितपुर ज्वागल गणेश मन्दिर नजिकको एक घरमा एक्टिभ हुन्छ । त्यहाँ प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बनेको रहेको दाबी समाचारहरुमा गरिएको छ । त्यसपछि मोबाइल फेरि दरबारमार्ग क्षेत्र पुर्याइन्छ र त्यहाँबाट ज्वागल नै लगिन्छ अनि भोलिपल्ट अर्थात १७ असोजसम्म त्यहीँ रहन्छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार इनमको मोबाइल परीक्षण हुनु अगाडि नै प्रधानमन्त्री कार्यालयबाट झिकाइएको दाबी गरिएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीका सचिवालयका अधिकारी प्रहरी परिसर पुगेर अनुसन्धान अधिकृतसँग छलफल गरेको फोटो र भिडियो पनि सार्वजनिक भइसकेको छ । गृहमन्त्री गुरुङका सहयोगी जेम्स कार्की र प्रधानमन्त्री कार्यालयका आईटी सहयोगी चिराग श्रेष्ठ प्रहरी परिसर पुगेको फोटो भिडियोमा देखिन्छ ।
मोबाइलको लोकेसन ट्रेस एउटा कुरा भयो । त्योसँगै केही मेसेज इनमको मोबाइल र कुमार बेनको मोबाइलमा आदान प्रदान भएको दाबी सहितका स्क्रिनसट सार्वजनिक भएका छन् । अहिलेसम्म सार्वजनिक भएका स्क्रीनसट तथा विवरणहरुमा गरिएको दाबी अनुसार इनम र कुमार बेनबीच पहिला नै सम्पर्क रहेको भनिएको छ । त्यसलाई मेटाउन कुमारले दुई दिन उक्त मोबाइल आफ्नो नियन्त्रणमा राखेको गम्भिर आरोप उनीमाथी लागेको छ ।
अझ कुमार बेनले इनमको मोबाइल नियन्त्रणमा लिएपछि केही मेसेज डिलिट गरेको र ती मेसेज प्रहरीले ल्याबबाट ‘रिकभर’ गरेको प्रहरीको दाबी छ । यसरी सार्वजनीक भएका विवरणको आधिकारीकताका बारेमा प्रहरीले न हो भन्छ न होइन भन्छ । गम्भिर कुरा के छ भने प्रहरीको अनुसन्धनका गोप्य विवरण कसरी सार्वजनिक भयो ? यसबारेमा केहीबेरमा चर्चा गरौँला । तर, प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार, सचिवालय सहयोगी र गृहमन्त्रीका सहयोगीको नाम मुछिँदासमेत न प्रहरीले यसबारेमा कुनै प्रतिक्रिया दिएको छ न कुमार बेन र अन्य अधिकारीहरुले नै । कुमार बेनको मौनता किन ? भनेर पनि प्रश्न उब्जिएको छ ।
विशेषगरी कांग्रेस र एमालेका नेता कार्यकर्ताले यसमा प्रश्न उठाइरहेका छन् । हुन त कुनै पनि विषयमा प्रतिक्रिया नदिने र झ्याप्पै टिप्पणी नगर्ने प्रधानमन्त्री बालेन र उनका सल्लाहकार कुमार बेनको शैली हो । मौन रहनु उनीहरुको व्यक्तिगत विषय हो । तर, कतिपयले यो विषयमा देखिएको मौनतालाई लिएर आशंका बढेको बताइरहेका छन् ।
विवादमा न्यायाधीश, मुद्दा त्यसै सेलायो
हाम्रा न्यायमूर्तिहरुको चरित्र कस्तो छ भनेर इनम प्रकरणले छर्लंग पारिदिएको छ । जब इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयालका बीचमा अदालतमा विचाराधीन मुद्दामा छलफल भएको ह्वाट्स एप संवादको स्क्रिनसट सार्वजनिक भयो, त्यसले न्यायमूर्तिहरुको चरित्र उदांगो पारिदियो । इनमसँग संवाद भएको विषय दाबी मात्रै होइन, स्वयं न्यायाधीशले नै सार्वजनिक रुपमा स्वीकार गरे । बिचौलियासँग होटलमा भेटेको, आफूमात्रै नभएर अरु थुप्रै न्यायाधीश पनि सहभागी भएको फुयालले नै बताइसकेका छन् । न्यायाधीश हरि फुयाल र सारंगा सुवेदीको नाम सार्वजनिक भए पनि अरुको भएको छैन । स्रोतका अनुसार ६ सात जना न्यायाधीशसँग इनमको संवाद हुन्थ्यो ।
इनमसँगको संवाद सार्वजनिक भएपछि न्यायाधीश सुवेदी २ दिन इजलासमा बसिनन्, फुयाल केही दिन बिदामा बसे । सुवेदी दुई दिनपछि र फुयाल तिहारपछि इजलासमा बसे । यो प्रकरणमा छानबिन गर्नुपर्ने माग सर्वत्र उठ्यो । सत्तारुढ रास्वपाको त सचिवालय बैठक नै बस्यो । बिचौलियासँग सम्पर्क जोडिएका भनिएका न्यायाधीशहरुमाथि महाभियोग लगाउनेसम्मको चर्चा चल्यो । रास्वपा सचिवालयले यसबारे आवश्यक कदम चाल्न संसदीय दललाई निर्देशन दियो । तर, अहिले यो विषय सेलाएको छ । संसद अधिवेशन नभएर पनि हुनसक्छ, न्यायाधीशहरुमाथि छानबिनको कुनै प्रक्रिया अगाडि बढेको छैन ।
गगन थापामाथि अठार करोडको भारी
न्यायाधीश–इनम सम्बन्धबारे चर्चा चलिरहेकै बेला एउटा अडियो सार्वजनिक भयो । त्यो अडियो थियो– उनै इनम सापकोटाको । त्यो अडियोमा जोडिएका थिए– कांग्रेस सभापति गगनकुमार थापा । कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो । निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिए पनि सर्वोच्चले बोलिसकेको थिएन । गत वैशाख ४ मा मात्रै सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने फैसला गरेको थियो । हो, यही फैसला गराउन गगन थापाले इनममार्फत १८ करोडको डिल गरेको विषय इनमको भनिएको अडियोमा सुन्न सकिन्छ ।
यो अडियोले निकै ठूलो तरंग सिर्जना गर्यो । गगन थापाले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरे । केन्द्रीय समिति बैठकमा पनि यसबारे आफ्नो धारणा राखे र इनमले गरेको भनिएको दाबीलाई अस्वीकार गरे ।
तर, कांग्रेसको देउवा पक्षलाई भने त्यो अडियो राजनीतिक मसला बन्यो । विशेष अधिवेशनबाट अपदस्थ सभापति शेरबहादुर देउवाले त १८ करोडमा पार्टी किनबेच भएको सार्वजनिक भाषण नै गरे । यतिमात्रै होइन, देउवाले त गगनमाथि थप गम्भीर आरोप लगाएको भिडियोसमेत सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ ।
स्मरणीय कुरा के छ भने– गगन थापा पक्षले पार्टीको पन्ध्रौं महाधिवेशन गरिसकेको छ र थापा नै सभापति बनेका छन् । अर्कोतिर, देउवाले नेपाली कांग्रेसकै नाममा पन्ध्रौं महाधिवेशन गर्दैछन् । यहीबीचमा निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय समितिलाई अद्यावधिक गरिदिएको छ । र, कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा अहिले पनि विचाराधीन नै छ, सर्वोच्चले यसअघिको फैसला पुनरवलोकनका लागि निस्सा दिएको छ । दुई थरि महाधिवेशन अनि सर्वोच्चमा विचाराधीन मुद्दालाई समेत इनमसँग जोडेर राजनीतिक रुपमा टिप्पणी भइरहेको छ । गगन थापाले आफूलाई हतकडी लगाएर पक्राउ गर्न चुनौती दिइरहेका बेला उनीमाथि अनुसन्धान भइरहेको छ वा छैन, यसबारेमा आधिकारिक रुपमा कसैले बोलेको छैन ।
आईजीपी र एआईजीलाई हटाउने मुख्य मुद्दा
घटनाक्रम हेर्दा इनमको सम्बन्ध र सम्पर्क निकै बलियो देखिन्छ । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउनु र सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल बर्खास्त हुनुमा पनि इनम नै जोडिन्छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गत असोज १० गते राति पक्राउ परेपछि खुलेको हो– इनम र चोलेन्द्रबीचको सम्बन्ध । त्यही क्रममा खुल्यो– इनम र सशस्त्रका एआईजीको कनेक्सन । यतिसम्म कि, प्रधानमन्त्रीको गतिविधिको गोप्य सूचनासमेत दाहालले इनमलाई पठाउने गरेको खुल्यो । यो तथ्य खुलेपछि सरकारले सुरुमा उनलाई निलम्बन गर्यो, पछि बर्खास्त नै ।
त्यही फ्याक्टर देखियो– नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीमा पनि । सरकारलाई असहयोग गरेको, केही गोप्य विषय बाहिर पुर्याएको लगायतका विषयमा सरकारले कार्कीमाथि शंका व्यक्त गर्यो । अनि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार दरबन्दी सिर्जना गरी कार्कीलाई नियुक्त गरेर आईजीपीबाट हटायो, एआईजी मनोजकुमार केसी आईजीपी बने । कार्कीको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।
दाहाल र कार्की दुवैमा जोडिएको एउटा विषय हो– प्रहरीका आन्तरिक गतिविधि, अनुसन्धानका विषय र सुरक्षाका दृष्टिले महत्वपूर्ण सूचना लिन हुनु । अव प्रश्न उठ्छ– ती विषय कसरी सार्वजनिक भए ?
अनुसन्धानका गोप्य विषय छ्याप्छ्याप्ती
एउटा आम मान्यता छ– अदालतमा विचाराधीन विषयमा टीका टिप्पणी गर्नु हुँदैन अनि अनुसन्धानका क्रममा रहेका विषय पनि सार्वजनिक हुनु हुँदैन । तर, नेपालमा त्यस्तो हुँदैन । अदालतमा विचाराधीन विषयमा पनि सार्वजनिक बहस हुन्छ, प्रहरीमा जारी अनुसन्धानका विवरण पनि सार्वजनिक हुन्छन् ।
इनम प्रकरणमा पनि यस्तै भएको छ । सुरुमा, इनम र न्यायाधीशबीचको संवाद सार्वजनिक भयो । त्यसपछि इनमको अडियो आयो, इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दुई राखेर चलाएको विवरण सार्वजनिक भयो । यसमा त डीएफएलको रिपोर्ट नै आयो । जिल्ला प्रहरी परिसरमा गृहमन्त्री र प्रधानमन्त्रीका सहयोगी पुगेर अनुसन्धान अधिकृतहरुसँग छलफल गरेको फोटो र भिडियो पनि सार्वजनिक भयो ।
अनुसन्धानका दृष्टिले यी विवरण महत्वपूर्ण मात्रै होइन, गम्भीर हुन् । यी प्रमाण हुन् भने अनुसन्धान अधिकृत सरकारी वकिलमार्फत अदालतमा पेश गर्नुपर्ने हो । तर, अदालत नपुगी यी विवरण छताछुल्ल भए । कतिपय कुरामा राजनीतिक नेतृत्व अर्थात गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालयको संलग्नताको चर्चा भइरहेको छ भने कतिपय विषयमा प्रहरीकै कार्यशैलीमाथि प्रश्न उठेको छ । अनुसन्धानका विषय, संकलित प्रमाण प्रहरीको नियन्त्रणमा हुनुपर्ने हो । प्रहरीको सहयोगबिना ती विवरण सार्वजनिक हुन सम्भव नै हुँदैन । कसरी सार्वजनिक भयो त ? तर, प्रहरी केही बोल्दैन । लाग्छ– प्रहरी नै प्रतिशोधमा उत्रेको पो हो कि ?
गुमनाम चोलेन्द्र, एकछत्र इनम
इनम प्रकरणको उद्गम विन्दु पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ हो । चोलेन्द्रमाथि असुरक्षा बढेको नाममा सरकारले नियन्त्रणमा लिए पनि पछि खुल्यो– उनले अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजेका थिए र केही राजनीतिक चलखेल पनि गर्न खोजेका थिए । त्यही क्रममा जोडिए– झापाका इनम सापकोटा ।
झापाका इनम सापकोटा चोलेन्द्रसँग जोडिनुको कारण थियो– सम्पत्ति शुद्धीकरण कसुरमा जेलमा रहेका बिचौलिया दीपक भट्टको मुद्दा । दीपकलाई अदालतबाट सफाइ दिलाउन इनमले सम्पर्क बढाएका थिए ।
चोलेन्द्र त भोलिपल्टै छुटिहाले, तर, फन्दामा परे इनम । चोलेन्द्र छुटेको चौथो दिनमा पक्राउ परेका इनममाथि अझै अनुसन्धान जारी छ । अहिले चोलेन्द्रमाथि खासै अनुसन्धान भएको देखिँदैन र सबै अनुसन्धान इनममाथि केन्द्रित भएको छ । इनमसँग सम्बन्ध जोडिएको आधारमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट र कांग्रेस नेता उमेश श्रेष्ठका भाइ एवं विद्यालय सञ्चालक महेश श्रेष्ठ मात्रै तानिएका छन् । सुशील र महेशको संलग्नता कति हो भन्ने चाहिँ खुलिसकेको छैन ।
प्रहरीले इनममाथि अनुसन्धान गरिरहँदा इनमका तर्फबाट मानवअधिकार आयोगमा आफूमाथि प्रहरीले अन्याय गरेको भन्दै उजुरी दर्ता भएको छ । सार्वजनिक समाचार अनुसार, इनमले आफूलाई फसाउने प्रपञ्च रचेको दाबी गरेका छन् । आफूलाई दबाबमा पारेर बोल्न लगाइएकोसमेत उनको दाबी छ।
खासमा दुई वर्षअघिसम्म शिक्षक थिए । पछिल्ला दुई वर्षमा उनको आर्थिक हैसियत र जीवन शैलीमा यति ठूलो परिवर्तन आयो कि– उनी सम्भ्रान्त र शक्तिशाली बने । सर्वत्र पहुँच पुर्याए । पछिल्लो एक वर्षमा मात्रै उनको खातामा ६ करोडभन्दा बढीको कारोबार भएको देखियो । विदेशमा समेत उनको सम्पत्ति रहेको आशंका अनुसन्धान अधिकृतहरुले गरेका छन् ।
माने पनि नमाने पनि इनमको हैसियतमा आकाश जमिन परिवर्तन आएकै हो । उच्च पदस्थसँग उनको उठबस देखियो । तर, उनले यो हैसियत कसरी बनाए ? के शक्ति केन्द्रको साथ र संरक्षण बिना यो सम्भव थियो ? इनमसँग जोडिएर जो जसको नाम आएको छ, के उनीहरुले बोल्नु पर्दैन ? तपाईंलाई के लाग्छ ?