ईपीजीको प्रतिवेदनबाट भारत किन तर्सियो ?
काठमाडौँ। आठ वर्षदेखि एउटा दस्तावेज नेपालको दराजमा थन्किएको छ। आठ वर्षमा धेरै सरकार फेरिए। ९ जना प्रधानमन्त्री नियुक्त भए। उत्तिकै संख्यामा परराष्ट्र मन्त्री बने ।
नेपाल–भारतबीच थाती रहेका पुराना विषय समाधान गर्ने भन्दै दुवै देशले विज्ञ समूह बनाए। त्यो समूहले लामो अध्ययन र व्यापक छलफलपछि प्रतिवेदन तयार पार्यो। प्रतिवेदन बनेपछि भारतले नै बुझ्न आनाकानी गर्यो ।
यी पृष्ठभूमि बताइरहँदा यहाँहरूले अनुमान गरिसक्नुभयो, हामी परराष्ट्र मन्त्रालयको दराजमा थन्केर बसेको इपिजी प्रतिवेदनबारे कुरा गरिरहेका छौं।
सन् १९५० को सन्धि पुनरवलोकनदेखि खुला सीमा व्यवस्थापनसम्मका विषय समेटिएको प्रतिवेदन बुझ्न भारतलाई किन सकस परिरहेको छरु दुवै देशका विज्ञले सहमतिमा तयार पारेको प्रतिवेदनमाथि भारतीय पक्षको असहजता केमा छरु नेपालले यसलाई किन महत्त्व दिइरहेको छरु भारतीय विश्लेषकहरूका फरक मत के छन्रु यो भिडिओमा हामीले यिनै विषयमा विस्तारमा चर्चा गरेका छौं। भिडिओ अन्तिमसम्म हेरेर यहाँहरूले पनि आफ्ना धारणा राख्न सक्नुहुनेछ।
नेपालका युवा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट पूर्वाधार, ऊर्जा, व्यापार र आर्थिक सहयोगका क्षेत्रमा केही महत्त्वपूर्ण सहमति भए। हवाई रूटका विषयमा त ब्रेक थ्रु नै भयो। नेपाली पक्षले १० वर्षदेखि प्रयत्न गर्दै आएको गौतम बुद्ध विमानस्थलका लागि हवाई रूट दिन यसपटक भारत तयार देखिएको छ।
दुवै देशका प्राविधिक टोलीले आवश्यक प्रक्रिया र सञ्चालनको मोडालिटी टुंग्याएपछि सहमतिले थप पूर्णता पाउने छ। दुई देशबीच हवाई सम्पर्क विस्तार तथा द्विपक्षीय आर्थिक गतिविधि बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने सहमति भएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि पश्चिमतर्फको हवाई प्रवेश मार्ग महत्त्वपूर्ण मानिँदै आएको छ। रुट दुईतर्फी बनेमा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि थप सहजता हुनेछ।
नेपाल–भारतबीच यस्तो महत्त्वपूर्ण विषयमा ब्रेक थ्रु भइरहँदा दुई दनेशबीचको सम्बन्धका पुराना र संवेदनशील एउटा विषय फेरि पनि ओझेलमा प¥यो। ओझेलमा परेको त्यो विषय हो– नेपाल र भारतका विज्ञले संयुक्त रूपमा तयार पारेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन।
सन् २०१८ मै तयार भएको यो प्रतिवेदन आठ वर्ष बितिसक्दा पनि दुवै देशका सरकारलाई औपचारिक रूपमा हस्तान्तरण हुन सकेको छैन। अझ प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रतिवेदनलाई ‘विगतको विषय’ र अहिलेका लागि ‘सान्दर्भिक नरहेको’ भन्दै औचित्यमाथि नै प्रश्न उठाएपछि इपिजी अब रद्दिको टोकरीमै पुग्ने जोखिममा छ।
यो सँगै एउटा महत्त्वपूर्ण प्रश्न उब्जिएको छ– नेपाल र भारतबीचका पुराना असमझदारी हटाउन दुवै देशका सरकारले नै गठन गरेको समूहको प्रतिवेदन भारतले किन स्वीकार गर्न चाहेन ? इपिजीका अन्तरवस्तुमध्ये केके कुराले भारतलाई बिझाइरहेको छ ?
यसको जवाफ खोज्नुपूर्व इपिजी भनेको के हो, किन गठन गरिएको थियो भन्नेबारे थोरै चर्चा गरौं।
इपिजी अर्थात् Eminent Persons Group लाई नेपालीमा प्रबुद्ध व्यक्ति समूह भनिन्छ। नेपाल र भारतबीचका पुराना सन्धि, सम्झौता र समग्र द्विपक्षीय सम्बन्धको बृहद् समीक्षा गरी बदलिँदो समय र परिस्थितिअनुसार सम्बन्धलाई नयाँ आधारमा अघि बढाउन सुझाव दिने उद्देश्यले दुवै देशका विज्ञ सम्मिलित यो समूह गठन गरिएको थियो।
यसको अवधारणा सन् २०११ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अघि सारेका थिए। भारत भ्रमणका क्रममा उनले तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग नेपाल–भारत सम्बन्धका पुराना सन्धि तथा सम्झौताको समग्र पुनरवलोकन गर्न दुवै देशका विज्ञ सम्मिलित समूह गठन गर्नुपर्ने धारणा राखेका थिए।
त्यतिबेला नेपालमा एउटा बहस केन्द्रमा थियो– दुई देशबीच समस्या देखिएपछि एउटा विषयमा तत्कालीन समाधान खोज्ने तर सम्बन्धका आधारभूत समस्या भने यथावत् राख्ने प्रवृत्तिले कहिलेसम्म काम गर्छ ?
सीमा विवाद, व्यापार तथा पारवहनका समस्या, सुरक्षा चासो, नदीको उपयोग र सन् १९५० को शान्ति तथा मैत्री सन्धिजस्ता विषयमा पटकपटक विवाद भइरहन्थ्यो। राजनीतिक दोषारोपण गर्ने, एकले अर्कालाई देशघातीको आरोप लगाउने विषय बनेको थियो।
एउटा समस्या समाधान गर्ने प्रयास गर्दा अर्को विषय विवादमा आउने अवस्था थियो। वार्तामा स्वाभाविक हिसाबले आपसी हितको कुरा प्रधान हुन्छ। दुई देशबीचको सम्बन्ध र चासो पारस्परिक हितमा आधारित हुने नै भयो। जब दुई देशका साझा हितको उपयोगबारेको बहस चुलिन्छ र समाधानको उपाय खोज्नुपर्ने हुन्छ, त्यतिबेला राष्ट्रघात गरेको, लेनदेन गरेको जस्ता आरोप व्यहोर्नुपर्ने, त्यसको मूल्य राजनीतिक नेतृत्वले मात्र नभई पार्टी आन्दोलनले नै चुकाउनुपर्ने भय नेपालका सत्तासीन र राजनीतिकर्मीहरूलाई हुन्थ्यो।
त्यसैले कुनै एउटा समस्यामा मात्रै केन्द्रित नभई समग्र सम्बन्धको समीक्षा गरेर भविष्यका लागि साझा आधार तयार गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग भएको छलफलपछि जारी संयुक्त वक्तव्यमा सन् १९५० को सन्धि र अन्य द्विपक्षीय सम्झौता पुनरवलोकन गर्ने सहमति उल्लेख भयो। प्रबुद्ध व्यक्ति समूह गठन गर्ने विषयलाई पनि त्यसै क्रममा औपचारिक समर्थन प्राप्त भयो।
अन्ततः सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आठ सदस्यीय इपिजी गठन भयो। नेपाल र भारतबाट चार–चार जना सदस्य राखिएका थिए।
नेपालका तर्फबाट
– भेषबहादुर थापा – संयोजक तथा पूर्वपरराष्ट्रमन्त्री
– नीलाम्बर आचार्य – पूर्वराजदूत
– सूर्यनाथ उपाध्याय – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त
– राजन भट्टराई – परराष्ट्र मामिलाका जानकार तथा पूर्वप्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार
भारतका तर्फबाट
– भगतसिंह कोशियारी – संयोजक तथा भारतीय जनता पार्टीका नेता
– जयन्त प्रसाद – नेपालका लागि भारतका पूर्वराजदूत
– महेन्द्र पी लामा – जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक
– बीसी उप्रेती – नेपाल मामिलाका जानकार तथा विद्वान्
समूहले सन् २०१६ देखि २०१८ सम्म मिहिन ढंगले काम ग¥यो। काठमाडौं र नयाँदिल्लीमा गरी नौवटा बैठक बसे। दुवै देशका विभिन्न क्षेत्रका जानकार, सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल तथा अध्ययन गरियो।
अन्ततः सन् २०१८ जुन ३० मा समूहले साझा प्रतिवेदन तयार भएको घोषणा गर्यो। त्यसको अन्तिम रूपलाई दुवै पक्षले सहमति दिएका थिए।
प्रतिवेदन बुझाउने प्रक्रिया पनि तय भएको थियो। पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने सहमति थियो।
तर यहीँबाट प्रतिवेदनको यात्रा टक्क रोकियो। घडीको सुई नै रोकिएजसरी।
भारतीय प्रधानमन्त्रीले प्रतिवेदन बुझ्न समय नदिएपछि त्यो औपचारिक रूपमा दुवै सरकारसम्म पुग्न सकेन। त्यसयता प्रतिवेदन परराष्ट्र मन्त्रालयमा सुरक्षित छ। यसको पूर्णपाठ अहिलेसम्म सार्वजनिक गरिएको छैन।
यसरी नेपालको दराजभित्र थन्किएको इपिजी प्रतिवेदनमा के छ?
अब त्यसबारे संक्षेपमा चर्चा गरौं।
इपिजीको पूर्ण प्रतिवेदन सार्वजनिक नभएकाले त्यसमा समेटिएका सबै सिफारिस यकिन रूपमा सार्वजनिक विवरणमा छैनन्। तर समूहका सदस्यसँग भएका कुराकानी, प्रतिवेदनका सार्वजनिक भएका अंश र विभिन्न सञ्चारमाध्यमले स्रोतका आधारमा सार्वजनिक गरेका विवरणबाट यसका मुख्य विषय हामीले पहिल्याएका छौं।
यसको मुख्य उद्देश्य नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर समयानुकूल बनाउनु थियो। विशेषगरी निम्न विषयमा प्रतिवेदनले सुझाव दिएको बताइन्छ।
१ सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन
इपिजी प्रतिवेदनको सबैभन्दा महत्त्ववपूर्ण र संवेदनशील विषय यही हो। नेपाल र भारतबीच सन् १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धि भएको थियो। नेपालमा राणा शासन कायम रहेको र भारत स्वतन्त्र भएको तीन वर्ष मात्रै पुगेको अवस्थामा यो सन्धि भएको थियो।
त्यतिबेलाको राजनीतिक, आर्थिक र सुरक्षा परिस्थिति अहिलेको भन्दा जमिनआकासको फरक थियो। तर दुई देशबीचको सम्बन्धको एउटा प्रमुख कानुनी आधारका रूपमा रहेको सन्धि अहिलेसम्म मौजुद छ।
नेपालमा यो सन्धि असमान भएको र नेपालको सार्वभौमिकता तथा स्वतन्त्र निर्णय क्षमतामा असर पार्ने खालका प्रावधान रहेको भन्दै लामो समयदेखि पुनरवलोकन गरिनुपर्ने माग हुँदै आएको छ। विशेषगरी सन्धिका धारा २, ५, ६ र ७ विवादका विषय मानिँदै आएको छ।
अब हामी ती धारामा केके छन् भनेर संक्षेपमा चर्चा गर्छौं।
– धारा २ ( एकअर्काको सुरक्षामा असर पार्ने खालका गतिविधिबारे जानकारी आदानप्रदान गर्ने व्यवस्था।
– धारा ५ ( नेपालले हतियार तथा सैन्य सामग्री आयात गर्दा भारतसँग परामर्श गर्ने व्यवस्थासँग सम्बन्धित प्रावधान।
– धारा ६ ( दुवै देशका नागरिकलाई औद्योगिक तथा आर्थिक गतिविधिमा राष्ट्रिय व्यवहारसरह सुविधा दिने व्यवस्था।
– धारा ७ ( एकअर्काका नागरिकलाई आवास, सम्पत्ति, व्यापार तथा आवागमनलगायत विषयमा पारस्परिक सुविधा दिने व्यवस्था।
नेपालको मुख्य चासो के हो भने दुई देशको जनसंख्या, अर्थतन्त्र, भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय हैसियत समान छैन। तर सन्धिले कतिपय विषयमा दुवै देशका नागरिकलाई समान व्यवहारको व्यवस्था गरेको छ। नेपाली पक्षले यसलाई ‘व्यहोर्न नसकिने प्रावधान’ भन्दै आएको छ।
उदाहरणका लागि, भारतीय नागरिकलाई नेपालमा आर्थिक गतिविधि, व्यवसाय तथा सम्पत्तिसम्बन्धी क्षेत्रमा दिइने सुविधा र नेपाली नागरिकले भारतमा पाउने सुविधाबीच व्यवहारिक समानता छ कि छैन भन्ने प्रश्नबाट पनि यसलाई हेर्न सकिन्छ।
त्यसैले इपिजीले पुरानो सन्धिका केही शब्द वा धारा संशोधन गर्ने मात्रै होइन, त्यसलाई विस्थापित गरेर बदलिएको समय र परिस्थितिअनुकूल नयाँ सन्धि ल्याउने प्रस्ताव गरेको समूहका सदस्य तथा वार्ता प्रक्रियासँग सम्बन्धित अधिकारीहरूले बताएका छन्।
यसको अर्थ नेपाल–भारत सम्बन्ध तोड्ने वा पुरानो मित्रता समाप्त गर्ने होइन। दुई देशबीचको सम्बन्धलाई अहिलेको राजनीतिक तथा आर्थिक वास्तविकता र आयामअनुसार नयाँ कानुनी आधार दिइनुपर्छ भन्ने हो।
२ खुला सीमा व्यवस्थापन
नेपाल र भारतबीचको खुला सीमा दुई देशको सम्बन्धको विशिष्ट विशेषता हो। नेपाली र भारतीय नागरिक भिसा वा राहदानीबिना एकअर्काको देशमा आवतजावत गर्न सक्छन्। सदियौंदेखि यो चलिआएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि यो दैनिक जीवनकै हिस्सा हो। कतिपय परिवारका सदस्य नेपाल र भारत दुवैतर्फ छन्। रोजगारी, व्यापार, उपचार, शिक्षा र पारिवारिक सम्बन्धका कारण दैनिक हजारौँ मानिस सीमा वारपार गर्छन्। तर खुला सीमाको फाइदासँगै यसबाट उत्पन्न हुने सुरक्षा चुनौती पनि उत्तिकै छन्।
मानव बेचबिखन, लागुऔषध ओसारपसार, तस्करी, आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न सीमा व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने आवश्यकता दुवै देशले महसुस गर्दै आएका छन्।
इपिजीले खुला सीमा बन्द गर्नेभन्दा पनि त्यसलाई व्यवस्थित र नियमन गर्ने प्रस्ताव गरेको बताइएको छ। यसअन्तर्गत सार्वजनिक भएका विवरणमा मुख्यतः दुईवटा उपाय उल्लेख छन्।
– सीमा पार गर्दा विद्युतीय परिचयपत्र वा परिचय खुल्ने कागजातको व्यवस्था गर्ने।
– आवागमनलाई निश्चित नाकाबाट व्यवस्थित गर्ने र सीमा पार गर्ने व्यक्तिको अभिलेख राख्ने।
यसको उद्देश्य मानिसको आवतजावत रोक्नु नभई सीमा पार गर्ने व्यक्तिको पहिचान तथा अभिलेख राखेर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनु हो।
तर यसले अहिलेको खुला सीमाको स्वरूप परिवर्तन गर्न सक्ने भएकाले यो अत्यन्त संवेदनशील प्रस्ताव हो।
सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको सहज आवागमन कसरी कायम राख्नेरु दैनिक ज्यालादारी गर्न भारत जाने नेपाली र नेपाल आउने भारतीयलाई कस्तो सुविधा दिनेरु सीमामा परिचयपत्र जाँचको खर्च र व्यवस्थापन कसले गर्नेरु यी प्रश्नको व्यावहारिक समाधान खोज्नुपर्ने हुन्छ। इपिजीले इंगित गर्न खोजेको पनि यही हो।
यो विषय भारतका लागि पनि असहज बनेको भारतीय पूर्वकूटनीतिज्ञहरूको भनाइबाट बुझ्न सकिन्छ।
३ सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण
नेपाल र भारतबीच खुला सीमा भएकाले दुवै देशको सुरक्षा चासो एकअर्कासँग गाँसिएको छ। आतंकवाद, अतिवाद, संगठित अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार र अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशबीच सहकार्य आवश्यक छ। इपिजीले साझा सुरक्षा चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेको बताइएको छ।
यसको अर्थ नेपालले आफ्नो सुरक्षा नीति भारतको अधीनमा राख्नुपर्ने वा भारतले नेपालको आन्तरिक सुरक्षा व्यवस्थामा हस्तक्षेप गर्नुपर्ने होइन। दुवै देशको सार्वभौमिकता र सुरक्षा चासोलाई सम्मान गर्दै सूचना आदानप्रदान तथा सहकार्यको विश्वसनीय व्यवस्था विकास गर्नु हो।
नेपालको दृष्टिकोणबाट यो विषय महत्त्वपूर्ण छ। किनभने नेपालले आफ्नो भौगोलिक अवस्थाका कारण भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने हुन्छ। आफ्नो सुरक्षा नीति र विदेश नीतिमा स्वतन्त्र निर्णय गर्न पाउने अधिकार नेपालको प्रमुख चासो हो।
४ व्यापार तथा पारवहन सुविधा
नेपाल भूपरिवेष्टित देश भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि भारतका बन्दरगाह र पारवहन मार्गमा निर्भर छ। नेपालबाट तेस्रो मुलुकमा सामान निर्यात गर्न तथा आयातित वस्तु ल्याउन भारतको बाटो प्रयोग गर्नुपर्ने हुन्छ। यस क्रममा बन्दरगाहमा हुने ढिलाइ, भन्सार प्रक्रिया, ढुवानी लागत, नाकामा हुने अवरोध र पारवहन सुविधासम्बन्धी समस्या बारम्बार उठ्ने गरेका छन्। नेपालको चासो व्यापार तथा पारवहनलाई सहज, नियमित र अनुमानयोग्य बनाउनु हो।
इपिजीले व्यापार, वाणिज्य र पारवहन व्यवस्थालाई समयानुकूल बनाउने विषय समेटेको थियो। यसमा दुई देशबीच व्यापार विस्तार, अवरोध हटाउने र आर्थिक सम्बन्धलाई थप सहज बनाउने उपायहरू समेटिएका छन्।
नेपालका लागि पारवहन सुविधा केवल व्यापारको विषय होइन। यो त आर्थिक स्वतन्त्रता र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँचसँग पनि जोडिएको विषय हो।
५ जलस्रोत र ऊर्जा सहकार्य
नेपाल र भारतबीच जलस्रोत तथा ऊर्जा क्षेत्रमा सहकार्यको ठूलो सम्भावना छ। तर सम्भावनाअनुसार आयोजना अघि बढ्न नसकेको, लाभ बाँडफाँटमा मतभेद रहेको र सम्झौता कार्यान्वयनमा ढिलाइ भएको विषय लामो समयदेखि उठ्दै आएको छ।
महाकाली सन्धि, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, कोसी र गण्डक सम्झौतालगायत विषय यस सन्दर्भमा महत्त्वपूर्ण छन्। नेपालको चासो जलस्रोतको उपयोग गर्दा आफ्नो राष्ट्रिय हित, पानीको उपयोग, सिँचाइ, बाढी नियन्त्रण, विद्युत् उत्पादन र आर्थिक लाभको न्यायोचित बाँडफाँट सुनिश्चित गर्नु हो।
इपिजीले जलस्रोतलाई पनि द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण क्षेत्रका रूपमा समेटेको थियो।
६ नागरिकबीचको सम्बन्ध, संस्कृति र सामाजिक सहकार्य
नेपाल र भारतबीचको सम्बन्ध सरकार र कूटनीतिक तहमा मात्रै सीमित छैन। धर्म, संस्कृति, भाषा, परिवार, व्यापार र सामाजिक सम्बन्धले दुवै देशका नागरिकलाई आपसमा जोडेको छ। सीमावर्ती क्षेत्रमा मात्रै होइन, भारतका विभिन्न सहरमा नेपाली नागरिक रोजगारी, शिक्षा र व्यवसायका लागि बसोबास गर्छन्। नेपालमा पनि भारतीय नागरिकको उपस्थिति छ। यस्तो सम्बन्धलाई व्यवस्थित, सुरक्षित र पारस्परिक हितअनुकूल बनाउनुपर्ने विषय इपिजी मुख्य अन्तरवस्तुको रूपमा थियो।
सन् २०१८ मा प्रतिवेदन तयार भएपछि सार्वजनिक गरिएको जानकारीमा व्यापार, वाणिज्य, जलस्रोत, नागरिकबीचको सम्पर्क र सांस्कृतिक सम्बन्धलाई प्रमुख सिफारिसका क्षेत्रका रूपमा उल्लेख गरिएको थियो।
नेपालले इपिजी प्रतिवेदनलाई किन यति महत्त्व दिएको छ?
नेपालको दृष्टिकोणबाट इपिजी प्रतिवेदन एउटा सामान्य अध्ययन प्रतिवेदन होइन। यो दुई देशबीचको सम्बन्धमा रहेको संरचनागत असमानता र पुराना असमझदारीलाई छलफलमार्फत सम्बोधन गर्ने साझा माध्यम हो।नेपालले लामो समयदेखि उठाउँदै आएका केही प्रमुख प्रश्न यससँग जोडिएका छन्।
पहिलो, नेपाल–भारत सम्बन्ध बराबरीको आधारमा अघि बढ्नुपर्छ। नेपाल र भारतबीच भौगोलिक, आर्थिक र जनसंख्यागत ठूलो अन्तर छ। भारत ठूलो अर्थतन्त्र र क्षेत्रीय शक्ति हो भने नेपाल तुलनात्मक रूपमा सानो अर्थतन्त्र भएको भूपरिवेष्टित मुलुक हो।
यस्तो अवस्थामा दुवै देशलाई समान व्यवहार गर्ने पुराना व्यवस्थाले व्यवहारमा समान लाभ दिन्छन् कि दिँदैनन्, आजको सन्दर्भमा यो देश हितमा हुन्छ कि हुँदैन भन्ने नेपालको चासो हो।
नेपालले भारतसँगको सम्बन्धमा मित्रता र सहकार्य चाहेको छ। तर त्यो सम्बन्ध नेपालको सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र राष्ट्रिय हितलाई कमजोर बनाउने प्रकृतिको हुनु हुँदैन भन्ने मान्यता राख्दै आएको छ।
दोस्रो, पुराना सन्धि र सम्झौता समयानुकूल हुनुपर्छ।
सन् १९५० मा भएको सन्धि त्यतिबेलाको राजनीतिक र भूराजनीतिक परिस्थितिमा आधारित थियो। अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको छ। भारत पनि विश्वको प्रमुख अर्थतन्त्रमध्ये एक बनेको छ। चौथो ठूलो अर्थतन्त्र बन्ने दौडमा पनि छ।
दुवै देशको राजनीतिक प्रणाली, आर्थिक क्षमता, अन्तर्राष्ट्रिय भूमिका र सुरक्षा चुनौती बदलिएका छन्। यस्तो अवस्थामा सात दशकभन्दा पुरानो सन्धिलाई जस्ताको तस्तै राख्नुको सट्टा नयाँ परिस्थितिअनुसार पुनरवलोकन गर्नुपर्ने, त्यसलाई आजको समय सुहाउँदो बनाउनुपर्ने नेपालको तर्क छ।
तेस्रो, खुला सीमालाई सुरक्षित र व्यवस्थित बनाउनुपर्छ।
नेपाल खुला सीमा कायम राख्न चाहन्छ। तर खुला सीमाको नाममा हुने आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रभावकारी संयन्त्र पनि उत्तिकै जरूरी छ। यसमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको परम्परागत एवम् पारिवारिक सम्बन्ध र आवागमन प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने नेपालको बुझाइ छ।
चौथो, द्विपक्षीय सम्बन्धमा देखिने समस्या समाधान गर्ने स्थायी संयन्त्र चाहिन्छ।
नेपाल–भारत सम्बन्धमा समस्या आउँदा उच्चस्तरीय राजनीतिक संवादबाट समाधान खोज्ने प्रयास हुन्छ। तर धेरै विषयमा लामो समयसम्म निर्णय हुन सक्दैन। निर्णय भए पनि फेरिइरहने राजनीतिक नेतृत्वले कार्यान्वयनमा उल्झन ल्याउन सक्छ। कूटनीतिकजस्तो संवेदनशील विषयमा पनि मतैक्य हुन नसक्ने परिपाटीले पनि यसलाई प्रभावित बनाउन सक्छ।
त्यसैले, सीमा विवाद, व्यापार तथा पारवहन, जलस्रोतको उपयोग, विद्युत् व्यापार र सुरक्षा सहकार्यजस्ता विषयमा निरन्तर संवाद तथा संस्थागत व्यवस्था आवश्यक छ।
इपिजीले यी सबै विषयलाई एकै ठाउँमा राखेर सम्बन्धको समग्र समीक्षा गर्ने प्रयास गरेको थियो।
नेपालका लागि प्रतिवेदनको महत्त्व त्यसमा लेखिएका हरेक सुझाव कार्यान्वयनको चरणमा लैजानैपर्छ भन्ने होइन। कम्तीमा दुवै देशका सरकारले त्यसलाई ग्रहण गरेर छलफल गर्ने र असहमति भएका विषयमा वार्ता गर्ने वातावरण बनाउनु हो।
नेपालका तर्फबाट इपिजीका संयोजक रहेका पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले पनि प्रतिवेदनलाई दुवै देशका विज्ञले सहमतिमा तयार पारेको साझा दस्तावेजका रूपमा व्याख्या गर्दै आएका छन्।
उनको भनाइमा यो कुनै एक देशले अर्को देशमाथि थोपरेको प्रस्ताव होइन। दुवै देशका सरकारले नियुक्त गरेका विज्ञले छलफल गरेर तयार पारेको साझा अवधारणा हो।
त्यसैले भारतले प्रतिवेदन बुझ्नै नचाहनु आफैमा अनौठो अवस्था भएको उनको बुझाइ छ।
भारत किन असहज छ त ?
इपिजी प्रतिवेदनको सबैभन्दा पेचिलो पक्ष भारतको असहजता हो। भारतले औपचारिक रूपमा प्रतिवेदन अस्वीकार गरेको घोषणा गरेको छैन। पहिले प्रतिवेदन बुझ्न मानेन । आठ वर्षसम्म ग्रहण नगर्नु र अहिले त्यसलाई अप्रासंगिक भन्नुले भारतीय संस्थापनको प्राथमिकता स्पष्ट पार्छ। भारतीय विश्लेषक तथा पूर्वकूटनीतिज्ञहरूका धारणा पनि एउटै छैनन्।
भारतका पूर्वविदेश सचिव श्यामशरणले इपिजी प्रतिवेदनप्रति भारतीय सरकारको असहजता सार्वजनिक रूपमै व्यक्त गरेका थिए।
उनले सन् २०२३ जुन १३ मा द इन्डियन एक्सप्रेसमा लेख लेख्दै प्रतिवेदनका केही सिफारिसप्रति भारत सरकार उत्साहित नरहेको उल्लेख गरेका थिए। उनले उदाहरणका रूपमा नेपाल र भारतबीचको खुला सीमा नियमन गर्ने प्रस्तावलाई प्रस्तुत गरेका थिए।
उनको भनाइको आशय थियो– खुला सीमामा परिचयपत्र र अन्य नियमनको व्यवस्था लागू गर्ने प्रस्तावप्रति भारत सरकार सकारात्मक छैन।
यो भनाइ महत्त्वपूर्ण छ। किनभने श्यामशरण भारतको विदेश नीतिमा लामो अनुभव भएका पूर्वकूटनीतिज्ञ हुन्। उनको टिप्पणीबाट प्रतिवेदनका केही विषय भारतीय सुरक्षा तथा रणनीतिक सोचसँग मेल नखाएको बुझ्न कठिन छैन।
भारतका लागि नेपालसँगको खुला सीमा केवल दुई देशका नागरिकको आवतजावतको विषय होइन। यसमा सुरक्षा, सीमावर्ती क्षेत्रको व्यवस्थापन र रणनीतिक चासो पनि जोडिएको छ। त्यसैले खुला सीमा व्यवस्थित गर्ने प्रस्तावमा भारतको आफ्नै सुरक्षा दृष्टिकोण र प्राथमिकता हुन सक्छ।
अब रणजित रायको धारणा पनि सुनौं।
नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले त प्रतिवेदनको सान्दर्भिकतामाथि नै प्रश्न उठाएका थिए।
उनले सन् २०२३ मे २५ मा काठमाडौं पोस्टसँग कुरा गर्दै इपिजी प्रतिवेदन अब मृत भइसकेको धारणा राखेका थिए। उनको तर्क थियो– प्रतिवेदन बुझ्नुको सान्दर्भिकता थियो भने धेरै पहिल्यै बुझिसक्नुपथ्र्यो। अब सन् १९५० को सन्धिजस्ता विषयमा दुवै देशका परराष्ट्र सचिवले छलफल गरेर समाधान खोज्न सक्छन्।
रायको दृष्टिकोणमा इपिजीले उठाएका विषयलाई छुट्टै प्रतिवेदनमार्फत अघि बढाउनुभन्दा नियमित कूटनीतिक संयन्त्रबाट सम्बोधन गर्नु व्यावहारिक हुन सक्छ।
उनले एउटा अर्को चिन्ता पनि व्यक्त गरेका थिए। एउटा पक्षले बारम्बार अर्को पक्षलाई असहज बनाउने र विवादास्पद विषय उठाइरहँदा द्विपक्षीय सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ।
यसबाट भारतीय कूटनीतिक वृत्तको एउटा दृष्टिकोण बुझ्न सकिन्छ– इपिजी प्रतिवेदनलाई पुनः अघि बढाउँदा पुराना र संवेदनशील विवाद एकैपटक सतहमा आउन सक्छन्। त्यसको सट्टा परराष्ट्र सचिवस्तरको वार्ताबाट प्राथमिकताअनुसार विषय टुंग्याउनु उचित हुन्छ भन्ने उनीहरूको सोच हुन सक्छ।
भारतको नयाँदिल्लीस्थित मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिसका रणनीतिक विश्लेषक निहार नायकले पनि इपिजी प्रतिवेदनप्रति भारतीय पक्षको ‘रिजर्भेसन’ रहेको बताएका थिए।
सन् २०२२ मा काठमाडौं पोस्टसँग कुरा गर्दै उनले भारतले इपिजीलाई सामान्य अध्ययन समूहका रूपमा बुझेको तर नेपालले यसलाई द्विपक्षीय सम्बन्धको पुनरवलोकन गर्ने अवसरका रूपमा अपेक्षा गरेको बताएका थिए। उनको विश्लेषणमा दुई देशले इपिजी गठन गर्नुको उद्देश्य र त्यसको भूमिकालाई फरक ढंगले बुझेका थिए। उनले प्रतिवेदनमा नेपाल र भारतबीच मतभेद रहेको र त्यसलाई संशोधन नगरेसम्म भारतले ग्रहण गर्ने सम्भावना कम रहेको बताएका थिए।
यो विश्लेषणले प्रतिवेदनको समस्या केवल सन् १९५० को सन्धि वा खुला सीमा मात्र नभई दुई देशबीच इपिजीको भूमिकाबारे रहेको बुझाइको भिन्नता पनि हो भन्ने देखाउँछ।
नेपालले यसलाई सम्बन्धको समग्र पुनरवलोकन गर्ने राजनीतिक अवसरका रूपमा हेरेको थियो। भारतीय पक्षका केही विश्लेषकले भने यसलाई सामान्य अध्ययन समूहको प्रतिवेदनका रूपमा लिएका थिए।
तर भारतीय पक्षका सबै विश्लेषक प्रतिवेदनप्रति नकारात्मक छैनन्। इपिजीका भारतीय सदस्य तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक महेन्द्र पी लामाले नोभेम्बर २४ मा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै प्रतिवेदनलाई भारत र नेपाल दुवैका लागि सकारात्मक दस्तावेज बताएका छन्। उनका अनुसार समूहले व्यापक अध्ययन गरेको थियो। विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गरिएको थियो। नेपालको व्यापार तथा पारवहनका लागि महत्त्वपूर्ण बन्दरगाहलगायत विषयमा अध्ययन र सरोकारवालासँग छलफल गरिएको थियो।
लामाले प्रतिवेदनमा भारत र नेपाल दुवैका लागि उपयोगी हुन सक्ने रोचक सिफारिस रहेको बताएका छन्।
उनको भनाइमा प्रतिवेदन दिल्लीमा प्रस्तुत गर्ने अवसर नै नपाउनु अनौठो हो।
उनले अर्को महत्त्वपूर्ण कुरा पनि उठाएका छन्। प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति गर्नु गल्ती भएको हुन सक्ने उनको विश्लेषण छ। उनका अनुसार नेपालले पहिले नै प्रतिवेदन सार्वजनिक गर्न सक्ने विकल्प पनि थियो।
भारतीय पक्षको अर्को तर्क पनि छ– अब पुरानो प्रतिवेदन होइन, नयाँ संयन्त्र आवश्य छ।
भारतका पूर्वविदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री शाहको भ्रमणपछि भनेका छन्– अहिले दुवै देश भविष्यतर्फ हेरेर अघि बढ्न चाहन्छन्। त्यसैले आठ वर्ष पुरानो इपिजी प्रतिवेदनमा फर्किनुभन्दा नयाँ समझदारी र विद्यमान संयन्त्रबाट समस्या समाधान गर्नुपर्ने भारतको सोच देखिन्छ। उनका अनुसार सीमा व्यवस्थापनका लागि दुवै देशबीच पहिले नै विभिन्न संयन्त्र छन्। सीमा कार्यदल, उच्च अधिकारीहरूको समिति र स्थलगत सर्वेक्षण टोलीमार्फत प्राविधिक काम भइरहेको छ।
भारतीय पक्षले सीमा स्तम्भको मर्मत, अतिक्रमणसम्बन्धी उजुरीको अनुसन्धान र सहमत भएका सीमाक्षेत्रमा प्राविधिक काममा प्रगति भएको दाबी गर्दै आएको छ। यसको अर्थ भारत सीमा व्यवस्थापनका विषयमा छलफल गर्न तयार छ, तर इपिजी प्रतिवेदनलाई त्यसको आधार बनाउन किमार्थ पनि इच्छुक छैन।
यहीँ नेपाल र भारतको बुझाइमा फरक छ।
नेपालले इपिजीलाई समग्र सम्बन्धको पुनरवलोकन गर्ने साझा प्रक्रिया ठानेको छ भने भारत अहिलेको राजनीतिक सहमतिअनुसार नयाँ प्रक्रियाबाट अघि बढ्न चाहेको देखिन्छ।
अब प्रश्न आउँछ, नेपालले प्रतिवेदन सार्वजनिक किन गर्न सकेन ?
भारतले प्रतिवेदन ग्रहण नगरेपछि नेपालभित्र यसलाई एकतर्फी रूपमा सार्वजनिक गर्नुपर्ने आवाज पनि उठेको थियो। तर नेपाल पक्षले त्यसो गर्न सकेन। यसको पछाडि केही व्यावहारिक र कूटनीतिक कारण थिए।
पहिलो, प्रतिवेदन दुवै देशका सरकारले नियुक्त गरेका विज्ञले संयुक्त रूपमा तयार पारेका थिए। त्यसैले यसलाई दुई देशको साझा दस्तावेजका रूपमा बुझिएको थियो।
दोस्रो, प्रतिवेदनका विषय संवेदनशील थिए। विशेषगरी सन् १९५० को सन्धि, खुला सीमा र सुरक्षा व्यवस्थासम्बन्धी सिफारिस सार्वजनिक हुँदा दुई देशबीच थप राजनीतिक विवाद उत्पन्न हुन सक्ने आशंका थियो।
तेस्रो, नेपालले एकतर्फी रूपमा सार्वजनिक गर्दा भारतसँगको सम्बन्ध थप असहज हुन सक्ने कूटनीतिक चिन्ता थियो।
इपिजीका नेपाल संयोजक भेषबहादुर थापाले सन् २०२२ मा प्रतिवेदन एकतर्फी सार्वजनिक गर्ने तयारी गरे पनि पछि स्थगित गरेका थिए। उनको भनाइमा प्रतिवेदन दुवै पक्षको सहमतिमा तयार भएको भएकाले त्यसलाई दुवै देशले ग्रहण गर्ने वातावरण बनाउनुपर्ने थियो।
त्यसपछि पनि प्रतिवेदन ग्रहण गर्न भारतले चासो नदेखाएपछि यसको जिम्मेवारी लामो समयसम्म थापाले नै सम्हालिरहे।
यसै वर्ष जेठमा उनले प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्र सचिव अमृतबहादुर राईलाई हस्तान्तरण गरे। यो प्रतीकात्मक परिघटना थियो। आठ वर्षदेखि एक पूर्वपरराष्ट्रमन्त्रीको जिम्मामा रहेको प्रतिवेदन अब औपचारिक रूपमा सरकारको जिम्मामा पुगेको थियो।
तर साँचो हस्तान्तरण हुनु र प्रतिवेदन औपचारिक रूपमा ग्रहण हुनु फरक विषय हुन्।
परराष्ट्रमन्त्री खनालले पनि आफूलाई व्यक्तिगत रूपमा प्रतिवेदन ग्रहण गर्ने वा सार्वजनिक गर्ने अधिकार नभएको र त्यसबारे दुई देशका नेतृत्वले निर्णय गर्नुपर्ने धारणा राखेका थिए।
यसले नेपाल पनि प्रतिवेदनबारे एक्लै निर्णय गर्न सहज अवस्थामा नरहेको बुझ्न गाह्रो छैन।
बालेनको भारत भ्रमणपछि इपिजीको भविष्य के हुन्छ ?
प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भारत भ्रमणले इपिजी प्रतिवेदनको भविष्यबारे नयाँ बहसको बिजारोपण गरेको छ। नोभेम्बर २३ मा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि जारी संयुक्त भिजन दस्तावेजमा दुवै देशबीचको साझेदारीलाई समसामयिक राजनीतिक, आर्थिक र प्राविधिक वास्तविकताअनुसार अघि बढाउने उल्लेख छ।
त्यसमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौता आपसी सहमतिका आधारमा पुनरवलोकन गर्न सकिने उल्लेख गरिएको छ। त्यस्तै, जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी बाँकी विषय आपसी छलफल र संवादबाट समाधान गर्ने प्रतिबद्धता जनाइएको छ। यो महत्त्वपूर्ण कुरा हो। किनभने इपिजी प्रतिवेदन भारतले असान्दर्भिक भने पनि त्यसले उठाएको एउटा प्रमुख विषय अर्थात् सन् १९५० को सन्धि पुनरवलोकन गर्ने विषयलाई दुवै देशले फेरि आफ्नो साझा दस्तावेजमा समेटेका छन्। तर यसको अर्थ इपिजी प्रतिवेदन स्वीकार गरिएको भन्ने कोणबाट बुझ्नु भने हुँदैन।
भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर २३ मा पत्रकारहरूसँग कुरा गर्दै इपिजी प्रतिवेदनलाई विगतको विषय बताएका थिए।
उनले भनेका थिए–‘हामी अगाडिको बाटो हेर्दैछौँ, पछाडि फर्केर होइन। त्यसैले तपाईंले उल्लेख गर्नुभएको प्रतिवेदन अहिले सान्दर्भिक छैन। त्यो विगतसँग सम्बन्धित छ।’
उनले दुई देशबीच सीमा व्यवस्थापनका लागि पहिलेदेखि नै विभिन्न संयन्त्र रहेको उल्लेख गर्दै अब तिनै संयन्त्रलाई सक्रिय बनाएर अघि बढ्न सकिने बताएका थिए।
सन् १९५० को सन्धि पुनरवलोकन गर्ने विषयमा भने उनले दुवै देशले पहिले आफ्ना प्राथमिकता पहिचान गर्नुपर्ने र त्यसपछि उपयुक्त संयन्त्र तय गर्न सकिने बताएका छन्। अर्थात् भारतले इपिजी प्रतिवेदनलाई अघि बढाउन अस्वीकार गरे पनि त्यसमा उठेका कतिपय विषयमा छुट्टै प्रक्रियाबाट छलफल गर्न सकिने संकेत गरेको छ।
अब नेपालको अगाडिको बाटो के ?
इपिजी प्रतिवेदनलाई लिएर नेपालको अगाडि मुख्यतः तीनवटा विकल्प रहेको विश्लेषकहरूको बुझाइ देखिन्छ।
पहिलो, प्रतिवेदन औपचारिक रूपमा ग्रहण गर्न भारतसँग आग्रह जारी राख्ने।
यो नेपालको पुरानै अडान हो। दुवै देशका सरकारले गठन गरेको समूहले सहमतिमा तयार पारेको प्रतिवेदन भएकाले त्यसलाई औपचारिक रूपमा ग्रहण गर्नु भारतको पनि जिम्मेवारी हो भन्ने नेपालको तर्क छ। प्रतिवेदन ग्रहण गर्नु भनेको त्यसका सबै सुझाव स्वीकार गर्नु होइन। दुवै पक्षलाई असहमतिका विषयमा छलफल गर्ने नयाँ वातावरण दिनु हो।
दोस्रो, इपिजीले उठाएका विषयलाई नयाँ द्विपक्षीय संयन्त्रमा लैजाने।
भारतले अहिले यही बाटो रोज्न खोजेको देखिन्छ। सन् १९५० को सन्धि पुनरवलोकन, सीमा व्यवस्थापन र अन्य विषयमा परराष्ट्र सचिव तथा परराष्ट्रमन्त्रीस्तरका संयन्त्रबाट छलफल गर्ने विकल्प छ। तर यसका लागि नेपालले आफ्ना प्राथमिकता स्पष्ट गर्नुपर्छ। कुन सन्धि वा धारा संशोधन गर्नेरु खुला सीमा कसरी व्यवस्थित गर्नेरु व्यापार तथा पारवहनका समस्या कसरी हटाउनेरु जलस्रोतको लाभ कसरी बाँडफाँट गर्नेरु यी विषयमा नेपालको स्पष्ट धारणा आवश्यक हुन्छ।
तेस्रो, प्रतिवेदन सार्वजनिक गर्ने वा कम्तीमा त्यसका सिफारिसबारे राष्ट्रिय छलफल अघि बढाउने। आठ वर्षसम्म प्रतिवेदन गोप्य राख्दा त्यसबारे अनेक आशंका र अनुमान पैदा भएका छन्। पूर्णपाठ सार्वजनिक नभएकाले सर्वसाधारणले यसमा के छ भन्ने बुझ्न पाएका छैनन्। अनेक अड्कल भइरहेका छन्।
तर प्रतिवेदन सार्वजनिक गर्ने विषयमा दुवै देशको सहमति र त्यसको कूटनीतिक असरलाई पनि ध्यान दिनुपर्ने हुन्छ। नेपालले कम्तीमा आफ्ना तर्फबाट प्रतिवेदनमा समेटिएका विषय, राष्ट्रिय हित र भावी वार्ताका प्राथमिकताबारे सार्वजनिक बहस चलाउन सक्छ।
इपिजी प्रतिवेदनको वास्तविक महत्त्व चाहिँ के छ ? अब यसबारे पनि चर्चा गरौं।
इपिजी प्रतिवेदनलाई केवल सन् १९५० को सन्धि वा खुला सीमा व्यवस्थापनसँग जोडेर हेर्नु पर्याप्त हुँदैन। यसको मूल महत्त्व नेपाल र भारतबीचको सम्बन्धलाई पुराना सन्धि र राजनीतिक परिस्थितिको आधारबाट निकालेर बदलिएको समयअनुसार नयाँ आधारमा अघि बढाउने प्रयासमा छ। नेपाल र भारतबीचको सम्बन्धमा निकटता छ। खुला सीमा छ। सांस्कृतिक तथा पारिवारिक सम्बन्ध छ। हामी त्यसलाई रोटीबेटीको सम्बन्ध पनि भन्छौं। व्यापार, रोजगारी, ऊर्जा र पारवहनमा एकअर्कामाथि निर्भरता पनि छ।
तर यही निकट सम्बन्धभित्र कतिपय असमझदारी दशकौँदेखि मुल्तवीमा छन्।
नेपालले सन् १९५० को सन्धि असमान भन्दै पुनरवलोकन गर्न चाहेको छ। सीमा विवाद समाधान गर्न चाहेको छ। जलस्रोतको उपयोगमा न्यायोचित लाभ खोजेको छ। व्यापार तथा पारवहनमा सहजता चाहेको छ।
यी विषय नेपालले मात्रै उठाएका होइनन्। भारतले पनि द्विपक्षीय सम्बन्धलाई समयानुकूल बनाउनुपर्ने आवश्यकता स्वीकार गरेको छ। सन् २०१४ मा इपिजी गठन गर्न सहमत हुनु र अहिले सन् १९५० को सन्धि पुनरवलोकन गर्न सकिने संयुक्त प्रतिबद्धता जनाउनु त्यसका उदाहरण हुन्। तर एउटा आधारभूत प्रश्न बाँकी छ– दुवै देशले साझा रूपमा समस्या पहिचान गरेर गठन गरेको संयन्त्रको प्रतिवेदन नै स्वीकार गर्न नसक्ने हो भने सम्बन्धका जटिल विषय कसरी समाधान हुन्छन् ?
भारतले इपिजी प्रतिवेदनलाई विगतको विषय भनेको छ। तर प्रतिवेदनले उठाएका समस्या विगतमा सीमित छैनन्। सन् १९५० को सन्धि अझै कार्यान्वयनमा छ। खुला सीमा अझै दुवै देशको सम्बन्धको आधार हो। सीमा विवाद अझै समाधान भएको छैन। जलस्रोत र व्यापारका विषय पनि उत्तिकै महत्त्वपूर्ण छन्।
त्यसैले प्रतिवेदन पुरानो भयो भन्दैमा त्यसले उठाएका प्रश्न पनि पुराना भए भन्न मिल्दैन।
इपिजी प्रतिवेदनका सबै सुझाव नेपालका लागि स्वीकार्य वा सबै भारतका लागि अस्वीकार्य हुनुपर्छ भन्ने पनि छैन। दुवै देशले आफ्नो राष्ट्रिय हितअनुसार छलफल गर्न, असहमति राख्न र आवश्यक संशोधन गर्न सक्छन्।
तर त्यसका लागि प्रतिवेदन ग्रहण गरेर छलफलको ढोका खोल्नुपर्छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणपछि दुई देशले नयाँ भिजन दस्तावेजमार्फत भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। यो सकारात्मक पक्ष हो। तर नयाँ सहकार्यको आधार तयार गर्दा पुराना असमझदारीलाई बेवास्ता कोटिमा राख्न मिल्दैन।
इपिजी प्रतिवेदनको सार पनि यही हो– नेपाल र भारतबीचको सम्बन्ध केवल ऐतिहासिक निकटतामा आधारित भएर होइन, समानता, पारस्परिक सम्मान, राष्ट्रिय हित र बदलिएको समयको वास्तविकतामा आधारित भएर अघि बढ्नुपर्छ।
आठ वर्षदेखि दराजमा थन्किएको प्रतिवेदनको भविष्य जे भए पनि त्यसले उठाएका प्रश्नको समाधान खोज्नु दुवै देशका लागि हितकर छ।
भोटेकोशी बाढीबाट पाठ सिकेर पूर्वसूचनामा सरकारले मार्दैछ फड्को, के हाे 'सेल ब्रोडकास्ट सिस्टम' ?
यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो ।... बुधबार, मंसिर ९, २०८३
बूढीगण्डकी आयोजनाको कार्यालय, आवास भवन र पुल निर्माण सुरु हुँदै
राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वतयारीअन्तर्गत कार्यालय, कर्मचारी आवास भवन र पक्की पुल निर्माण सुरु हुने भएको छ। बुधबार, मंसिर ९, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के भयो ?
सोमबार, मंसिर ७, २०८३




