गोरखा। राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वतयारीअन्तर्गत कार्यालय, कर्मचारी आवास भवन र पक्की पुल निर्माण सुरु हुने भएको छ।
सभामुख डीपी अर्यालले बुधबार गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुने बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र बूढीगण्डकी नदीमाथिको पक्की पुलको शिलान्यास गरेका छन्।
सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने पुलसहित भवन निर्माणको कुल लागत ३७ करोड २८ लाख ५८ हजार ५३३ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
निर्माणका लागि एमएस विष्ट सिन्धुली जेभीसँग ठेक्का सम्झौता भएको छ। गत असोज ३१ गते भएको सम्झौताअनुसार २०८५ जेठ १७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाका अनुसार क्याम्प क्षेत्रमा प्रशासनिक कार्यालय, कर्मचारी आवास गृह, प्रवेशद्वारलगायत पूर्वाधार निर्माण गरिनेछ।
मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु गर्नुअघि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिलाई आयोजनास्थलमै व्यवस्थापन गर्न यी पूर्वाधार निर्माण गर्न लागिएको उनले बताए।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङलगायतको उपस्थिति थियो।
आयोजनाको मुख्य पूर्वाधार निर्माणअघि कार्यालय, आवास र पुल निर्माणलाई आवश्यक पूर्वतयारीका रूपमा लिइएको छ।