नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनको पहिलो राजकीय भ्रमण

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको बहुप्रतीक्षित भारत भ्रमण सुरु भएको छ । आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि बालेन आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युवा प्रधानमन्त्री बालेनको यो पहिलो राजकीय विदेश भ्रमण हो।

आइतबार अपरान्ह बालेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरे ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री बालेनको भव्य स्वागत गरे ।

बालेनको राजकीय भ्रमण हो, अर्थात स्टेट भिजिट हो । स्टेट भिजिट भनिनुले नै भारतले यो भ्रमणलाई कति महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ ।

प्रधानमन्त्री बालेनको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ। उनको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधामन्त्री शाह र मोदीको तस्बिर समेत राखिएको छ।

३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन आइतबार दिउँसो नयाँ दिल्ली पुगेका छन् । उनीसँगै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल छन् । त्यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकारसमेत भ्रमणमा सहभागी छन् ।

बालेनले आफ्नो दुई दिने भ्रमणमा के के गर्छन् रु हामीले क्रमिक रुपमा बताउने छौं, देखाउने छौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको बालेनको यो भ्रमणमा व्यापार, लगानी, ऊर्जा, पारवहन, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुने तयारी छ।

भ्रमणलाई नेपाल–भारत सम्बन्धको समीक्षा, आर्थिक सहकार्य विस्तार र नयाँ सरकारको कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। भारतीय सञ्चारमाध्यमले पनि भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई आर्थिक तथा पूर्वाधार साझेदारीमा केन्द्रित गर्दै अघि बढाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको छुट्टै टोली पनि निजी खर्चमा भ्रमणमा सहभागी छ। भ्रमणका क्रममा नेपाल–भारत व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका विषयमा निजी क्षेत्रको सहभागितामा कार्यक्रमसमेत हुनेछ।

बालेन– मोदी वार्ता सोमबार

प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।

विमानस्थलबाट सिधै होटल ताजमहल पुगेका प्रधानमन्त्री बालेनले त्यही होटलबाट भेटवार्ता थाल्ने छन् र भेटको पहिलो सूचीमा छन् भने भारतीय विदेशमन्त्री एस जयशंकर ।

प्रधानमन्त्री बालेनले उच्चस्तरीय भेटवार्ता भने मंसिर ७ गते सोमबार मात्र गर्नेछन् । बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्तासँगै छुट्टै भेटवार्ता पनि हुनेछ। दुई देशका प्रधानमन्त्रीबीच हैदरावाद हाउमै करिव आधा घण्टा एक्लाएक्लै अर्थात वान अन वन वार्ता हुने छ ।

प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने तयारी छ।

भारतीय विदेश मन्त्रालयका अनुसार वार्तापछि दुई देशबीच सहमति तथा समझदारी आदानप्रदान, संयुक्त परियोजना उद्घाटन र संयुक्त पत्रकार सम्मेलन हुनेछ। ऊर्जा सहकार्यसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।


प्रधानमन्त्री शाहले सोमबार दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन्। राष्ट्रपति भवनमा हुने भेटपछि अपराह्न पौने पाँच बजे उनी नेपाल फर्कने कार्यक्रम छ।

बालेनको भ्रमणमा भारतीय मिडियाको चासो

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले केवल औपचारिक कूटनीतिक भेटघाटभन्दा बढी आर्थिक सहकार्य, पुनर्निर्माण सहायता, ऊर्जा र दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्।

विशेषगरी हिन्दुस्तान टाइम्सले भारतले भ्रमणका क्रममा व्यापार, लगानी, पारवहन, ऊर्जा, डिजिटल कनेक्टिभिटी, स्वास्थ्य र शिक्षासहितका विषय समेटिएको दीर्घकालीन संयुक्त दृष्टिपत्र प्रस्ताव गरेको समाचार प्रकाशित गरेको छ। उक्त दस्तावेजले दुई देशबीच जारी सहकार्यलाई समेट्दै भविष्यका परियोजना र लक्ष्य निर्धारण गर्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ।

उक्त समाचारअनुसार नेपालले विकास परियोजना र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रस्ताव भारतसमक्ष राखेको छ। त्यसमा एक अर्ब डलर अनुदानसहितको प्रस्ताव रहेको समाचारमा उल्लेख छ। तर, यो प्रस्ताव र सहयोगको स्वरूपबारे दुवै सरकारबाट अन्तिम निर्णय सार्वजनिक भइसकेको छैन।

द इन्डियन एक्सप्रेसले भ्रमणको एजेन्डामा व्यापार, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, प्रविधि तथा नवप्रवर्तन र खेलकुदलाई समेटेको जनाएको छ। भारतको विदेश मन्त्रालयले पनि मोदीसँगको वार्तामा दुई देशको समग्र सम्बन्ध समीक्षा गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा विचार आदानप्रदान हुने जनाएको छ।

टाइम्स अफ इन्डिया, इन्डिया टुडे र अन्य भारतीय सञ्चारमाध्यमले पनि शाहको पहिलो भारत भ्रमण, मोदीसँगको वार्ता र दुई देशबीच व्यापार तथा सहकार्य विस्तारलाई मुख्य समाचार बनाएका छन्। भारतीय समाचारको साझा जोड नेपालसँगको सम्बन्धलाई आर्थिक, ऊर्जा र सम्पर्क सञ्जालका क्षेत्रमा थप विस्तार गर्नुमा देखिन्छ।

भारतको चासोमा बाढीपछिको पुनर्निर्माण र हवाई रुट

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले प्रधानमन्त्री शाहको भ्रमणमा अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतको सहयोगबारे छलफल हुने जनाएको छ।

बाढीले नेपालमा ठूलो जनधनको क्षति पु¥याउनुका साथै सडक, पुल, विद्युत् आयोजना, खेतीयोग्य जमिन र घरहरूमा क्षति गरेको थियो। त्यसपछि भारतले उद्धार तथा राहत सामग्री उपलब्ध गराएको थियो। पुनर्निर्माणका लागि थप सहयोग, व्यापार तथा पूर्वाधार विकास र ऊर्जा सहकार्य भ्रमणका प्रमुख विषय हुने रोयटर्सको समाचारमा उल्लेख छ।

नेपालले भारतसँग पश्चिमतर्फबाट थप व्यावसायिक हवाई रुट उपलब्ध गराउन पनि आग्रह गर्दै आएको छ। भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि भारततर्फको हवाई प्रवेश मार्ग महत्त्वपूर्ण मानिएको छ। रोयटर्सले यसलाई पनि शाहको भ्रमणका क्रममा नेपालले उठाउन सक्ने विषयका रूपमा उल्लेख गरेको छ।

भारतीय सञ्चारमाध्यमका समाचारमा ऊर्जा सहकार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ। नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार, भारतमा विद्युत् निर्यात, सीमापार प्रसारण पूर्वाधार र ऊर्जा परियोजनामा भारतीय लगानी बढाउने विषय दुई देशको आर्थिक सम्बन्धका महत्त्वपूर्ण आधार हुन्।

आर्थिक सहकार्यका विषयमा सकारात्मक वातावरण बनाउन खोजिए पनि नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाका मुद्दा समाधान भएका छैनन्। कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद दुवै देशको सम्बन्धमा संवेदनशील विषय रहँदै आएको छ।

भारतको इन्डिया सेन्टिनल्सले प्रधानमन्त्री शाहको भ्रमणलाई सीमाविवाद, बाढीपछिको सहायता र कनेक्टिभिटीका विषयले दुई देशको सम्बन्धलाई परीक्षण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ। उक्त समाचारमा कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादलाई भ्रमणका क्रममा चासोका साथ हेरिने विषय भनिएको छ।

नेपालले यी भूभाग आफ्नो भएको बताउँदै आएको छ भने भारतले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ। सन् २०२० मा नेपालको नयाँ नक्सा जारी भएपछि विवाद थप चर्चामा आएको थियो। यस वर्ष पनि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीनको सहमतिप्रति नेपालले आपत्ति जनाएको थियो। त्यसमा भारतले नेपालको भनाइ अस्वीकार गरेको थियो।

सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्ने प्रयास

भारतीय सञ्चारमाध्यमको समग्र समाचार विश्लेषण गर्दा शाहको भ्रमणलाई नेपालसँगको सम्बन्धमा नयाँ आर्थिक प्राथमिकता स्थापित गर्ने अवसरका रूपमा हेरिएको देखिन्छ। भारतका लागि नेपाल व्यापार, ऊर्जा, सुरक्षा, पारवहन र क्षेत्रीय सम्पर्कका दृष्टिले महत्त्वपूर्ण छ। नेपालका लागि भारत ठूलो व्यापारिक साझेदार, पारवहनको मुख्य माध्यम, ऊर्जा बजार र विकास सहायता उपलब्ध गराउने प्रमुख देश हो।

त्यसैले मोदी र शाहबीचको वार्तामा पुराना सहमति तथा परियोजनाको कार्यान्वयन, नयाँ लगानी, विद्युत् व्यापार, पूर्वाधार निर्माण र विपद्पछिको पुनर्निर्माणले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

बालेनको भ्रमणलाई भारतले उच्च महत्व दिएको छ । जेनजी आन्दोलनपछि नेपालको राजनीतिक वातावरण फेरिएको छ । राजनीतिक समीकरण बदलिएको छ । सम्बन्धका केही मानक पनि फेरिएका छन् । नेपालको राजनीतिलाई सधैं नजिकबाट नियाल्ने भारतले पछिल्लो परिवर्तनलाई दिलदेखि नै स्वागत गरेको छ ।

केही महिनाअघि भारतीय सत्तारुढ दल भाजपाको निम्तोमा नेपालको सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले भारतको भ्रमण गरे । भारतले रास्वपा सभापति रवि लामिछानेलाई पनि भव्य स्वागत गर्यो । सोही क्रममा दुई देशको सम्बन्ध र सहकार्यका नयाँ आयामबारे पनि खुलेर छलफल भएको थियो । नेपाल र भारतबीच अब कसरी र कुनकुन मुद्दामा सहकार्य हुनसक्छ भन्ने त रविको भ्रमणमै छलफल भएको थियो । रविको भारत भ्रमणको पृष्ठभूमिमा भएको यो भ्रमण पक्कै पनि नेपाल र नेपालका लागि उपलब्धिमूलक हुने छ भनेर अपेक्षा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्