नेभिगेशन
समाज

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ। भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामलाई रेलमार्गले जोड्ने यो सेवाले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणामा उल्लेख छ।

Marvel
Extreme Energy

भारतीय रेल्वेले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। उनका अनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुटेर मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।

रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्नेछन्।

उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ। कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाह भिडियो कन्फरेन्समार्फत सहभागी हुने कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताए।

होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताए। रामनगरी अयोध्यालाई माता सीतासँग जोडिएको जनकपुरधामसँग जोड्दा रामायण सर्किट प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ।

यो सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक र व्यवसायी लाभान्वित हुने तथा धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको गौतमले बताए।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार होटल, रेस्टुराँ, यातायात, हस्तकला र धार्मिक सामग्रीको व्यापार विस्तार हुनुका साथै रोजगारीका अवसर सिर्जना हुन सक्छन्।

अयोध्यामा राममन्दिर निर्माणपछि धार्मिक पर्यटकको आकर्षण बढिरहेको अवस्थामा जनकपुरधामलाई रेलमार्गबाट जोड्न सके भारतीय तीर्थयात्रीका लागि नेपाल भ्रमणको महत्वपूर्ण गन्तव्य बन्न सक्ने भण्डारीको भनाइ छ।

“जनकपुरधाम आउने नेपाली तथा भारतीय भक्तजनले अयोध्यासम्मको धार्मिक यात्रा सहज रूपमा गर्न पाउनेछन्। यसबाट जनकपुरधाममा पर्यटकको बसाइ अवधि लम्ब्याउन र आर्थिक गतिविधि थप चलायमान बनाउन सकिन्छ,” उनले भने।

त्यसका लागि जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा जोड दिनुपर्ने उनले बताए। स्तरीय होटल, यातायात सेवा र पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके रेल सेवाबाट प्राप्त हुने अवसरलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उनको भनाइ छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सञ्चालनपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिक स्थलको भ्रमण सहज हुने बताए। “यहाँका अधिकांश मानिसले अयोध्या भ्रमण गर्ने अवसर पाउनेछन्। अहिलेसम्म धेरैले अयोध्याको नाम सुने पनि त्यहाँ पुग्न सकेका छैनन्। सिधा रेल सेवा सुरु भएपछि आवतजावत सहज हुनेछ,” उनले भने।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले अयोध्या जाने सिधा रेल सेवा सञ्चालन हुने जानकारीले आफूहरू उत्साहित भएको बताए। यसअघि विभिन्न यातायातका साधन प्रयोग गरेर लामो समय खर्चिनुपर्ने अवस्था रहेकामा रेल सेवा सुरु भएपछि यात्रा सहज हुने उनको भनाइ छ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका अध्यक्ष रूपेश सिंहले विशेष रेल सेवाले दुवै देशका पर्यटकको आवागमन सहज बनाउने विश्वास व्यक्त गरे। विशेषगरी भारतका विभिन्न प्रान्तबाट अयोध्या आउने पर्यटकलाई जनकपुरधाम भ्रमण गर्न सहज हुने उनले बताए।

जनकपुरधाम र अयोध्याबीच प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। त्रेतायुगमा भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्दा धार्मिक आस्थासँगै सांस्कृतिक आदानप्रदान बढ्ने अपेक्षा गरिएको छ। यसले मिथिलाको कला, संस्कृति, परम्परा, खानपान र स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास छ।

पर्यटकलाई जानकी मन्दिर र राममन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल र स्थानीय उत्पादनसँग परिचित गराउन सके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने पर्यटन व्यवसायीको धारणा छ।

जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी र जानकी नवमीलगायत धार्मिक उत्सवलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न पनि रेल सेवाले भूमिका खेल्न सक्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले बताए। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक सहकार्यसँग जोड्ने यो पहलले मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी र व्यापार विस्तारमा योगदान पुर्‍याउने उनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंमा चोरी भएको माइक्रोसहित दुई जना पक्राउ

काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन्।
बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

बालेन शाहलाई नयाँ दिल्लीमा यसरी भयो स्वागत (तस्बिर)

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...
प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भव्य स्वागत

प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भव्य स्वागत

प्रधानमन्त्री बालेन शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा केही बेरअघि नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले सांस्कृतिक झाँकीसहित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...