नेभिगेशन

सिधाकुरा विशेष

के के छन् बालेनका दिल्ली एजेण्डा ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक विदेश भ्रमणका क्रममा आगामी साता नयाँ दिल्ली जाँदैछन् । बालेनको भारत भ्रमणको मिति नजिकिँदै गर्दा दुवै देशका सरकारले तयारी अन्तिम चरणमा पुर्याएका छन् । योसँगै बालेनले भारतसँग कसरी कुरा गर्छन् अनि के के विषयमा सहमति हुन्छ भनेर चर्चा र चासो बढेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

औपचारिक रुपमा भ्रमणको मिति घोषणा नगरिए पनि यही मंसिर ६ र ७ गते बालेनले भारतको भ्रमण गर्ने पक्कापक्की जस्तै छ । सम्भवतः अब एक दुई दिनमै दुवै देशले भ्रमणको घोषणा गर्नेछन् । सरकार प्रमुखको औपचारिक भ्रमणको घोषणा गेस्ट र होस्ट कन्ट्रीले एकसाथ गर्ने प्रचलन छ । 

औपचारिक रुपमा मिति घोषणा नभए पनि बालेनको नयाँ दिल्ली भ्रमणका दौरान के के विषयमा सहमति र समझदारी हुन्छ भनेर चाहिँ करिव करिव निश्चित भइसकेको छ । दुवै देशका संयन्त्रले सहमतिका खाकासहितको एजेण्डा तय गरिसकेका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा प्रधानमन्त्री बालेन नयाँ दिल्ली जान लागेका हुन् । सो क्रममा दुई देशका प्रधानमन्त्रीबीच एक्ला एक्लै वार्ता अर्थात वान अन वान डाइलग हुने निश्चित भइसकेको छ । उनीहरुका बीचमा कम्तीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने छ । उनीहरुका बीचमा के के कुरा होला भनेर यसै अनुमान त गर्न सकिँदैन । तर, यत्ति चाहिँ भन्न सकिन्छ कि– गत चैत १३ मा बालेन प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिएका थिए र आफू नयाँ दिल्लीमा स्वागत गर्न आतुर रहेको भन्दै भ्रमणका लागि निम्तो दिएका थिए । मोदीले अहिले बधाई सँगै सहयोगका लागि हात फैलाउने छन् । 
बालेनको भ्रमणका क्रममा भारतले हालसम्मकै ठूलो सहयोगको घोषणा गर्ने तयारी छ । भारतले यसको संकेत गरिसकेको छ । यत्ति भनिसकेपछि अब भ्रमणका मुख्य एजेण्डा के के हुन् भनेर चर्चा गरौं । 
पहिलो एजेण्डा– करिव २ अर्ब डलरको सहयोग घोषणा 
दोस्रो एजेण्डा– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट 
तेस्रो एजेण्डा– केही विकास आयोजना निर्माणमा भारतको सहयोग 
चौथो एजेण्डा– सीमा विवाद समाधानबारे छलफल 
र, 
पाँचौं एजेण्डा– द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा छलफल

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, विशेषगरी दुई देशबीच आर्थिक सहकार्य, हवाई सम्पर्क तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई प्राथमिकतामा राखिएको छ । पछिल्लो पटक सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच  यसबारेमा छलफल भएको छ । प्रधानमन्त्रीको भ्रमण तालिका, कार्यसूची र समझदारीका विषयबारे छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीकै लागि भारतीय विदेश सचिव विक्रम मिश्री दुई साताअघि नेपालको दुई दिने भ्रमणका लागि काठमाडौँ आएका थिए । उनी आउनुभन्दा दुई दिनअघि मात्रै नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका थिए । 

दुवै देशबीच प्रधानमन्त्री बालेनको भ्रमणका बारेमा चर्चा चले पनि मिश्री आएपछि मात्रै भ्रमण निश्चित भएको हो । उनले प्रधानमन्त्री बालेनसँग पनि भेटवार्ता गरेका थिए भने उनकै भ्रमणका क्रममा मुख्य एजेण्डा तय गरिएको थियो । अब यसैसाता, बालेनको भ्रमणअघि परराष्ट्रका अधिकारी र सुरक्षा अधिकारीले नयाँ दिल्ली पुगेर भ्रमणको तयारी र सुरक्षा प्रवन्ध निश्चित गर्नेछन् । 

भारत विकास र विश्व अर्थतन्त्रमा फड्को मारिरहेको मुलुक हो । स्वाभाविक रुपमा नेपालका प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा भारतले नेपाललाई सहयोगको घोषणा गर्ने गर्छ । यो अभ्यास र परम्परा जस्तै बनिसकेको छ । तर, यसपालि बालेनको भ्रमण त्यो अभ्यास र परम्परामा मात्रै सीमित नहुने अपेक्षा गरिएको छ । वर्षौंदेखि अल्झेर बसेका गाँठो यही भ्रमणमा फुकाउने तयारी दुवै देशबाट गरिएको छ । 

जस्तो कि– भारतले विगत लामो समयदेखि हवाई प्रवेशमार्ग उपलब्ध नगराउँदा विशेषगरी भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सन्चालनमा नआउँदा विमानस्थलसँगै भैरहवादेखि बुटवलसम्म र आसपासका क्षेत्रमा गरिएका लगानी निरर्थक सावित भएको छ । तर, यसपालि बालेनको भ्रमणमा भारतले भारतीय आकाश हुँदै महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने तयारी छ । यही विषयमा परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले नयाँ दिल्ली पुगेर भारतीय पक्षसँग छलफल गरिसकेका छन् । छलफलका क्रममा अपेक्षित प्रगति भएको सरकारी स्रोतको दाबी छ । 

नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतलाई पटक–पटक आग्रह गर्दै आएको छ । भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै थप हवाईमार्ग उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । तर, पछिल्लो समय भैरहवा र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन तयार देखिएको दिल्ली पुगेर फर्केका नेपाली अधिकारीहरूको दाबी छ । यही विषयमा छलफल गर्नकै लागि शुक्रबार पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल नयाँदिल्ली गएका थिए । 

सरकारी अधिकारीहरुको दाबी छ– हवाई रुटमा ब्रेक थ्रु हुने छ । विगत तेह्र वर्षदेखि यही विषयमा नेपालले भारतसँग छलफल र वार्ता गरिरह्यो । यसअघिका सबैजसो प्रधानमन्त्रीले हवाई रुट मागिरहे । मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषयमा छलफल भयो । तर, भारतले मानेकै थिएन । अहिले आएर बल्ल भारत सकारात्मक देखिएको दिल्ली पुगेर फर्केका अधिकारीहरुको दाबी छ । 

१३ वर्षसम्म हवाई रुट अड्काएको भारत अहिले किन एकाएक लचिलो बन्यो रु यसको पनि कारण छ । भारतले रक्सौलमा नयाँ विमानस्थल निर्माण गरिरहेको छ र त्यो विमानस्थल सञ्चालन गर्न नेपालको हवाई क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । पश्चिम बंगालस्थित बागडोग्राका लागि पनि भारतले नेपाली हवाई क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । भारतलाई नेपाली हवाई क्षेत्रको आवश्यकता परेपछि अहिले उसले पनि नेपाललाई आफ्नो हवाई क्षेत्र दिन राजी भएको हो । तर, नेपालले कुन कुन हवाई रुट दिने भन्ने विषयमा भने सहमति भइसकेको छैन । यो विषयमा दुवै देशका पर्यटनमन्त्री तहमा पनि छलफल हुँदैछ । बालेनको भ्रमणअघि पर्यटनमन्त्री गनेश पौडेल नयाँ दिल्ली जाँदैछन् । 

नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन पनि आग्रह गर्दै आएको छ । नेपालको यो आग्रहलाई भारतले स्वीकार गरिसकेको र बालेनको भ्रमणका क्रममा सहयोग घोषणा गर्ने तयारी छ । नेपाल र भारतका तीन सहरबीच सिधा हवाई सम्पर्क, सीमापार पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण र विस्तार तथा धार्मिक र पर्यटकीय सर्किट विकासका विषयमा छलफल हुने छ । 

भारतले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउन चाहेको छ । भारतको सरकारी कम्पनी एनएचपीसीले नै नेपालका केही परियोजनामा लगानी गर्न चाहेको संकेत गरेको छ । भारतीय कम्पनीले यसअघि नै ठेक्का लिएका आयोजना र नयाँ आयोजनाबारे पनि छलफल हुनसक्ने अधिकारीहरुले बताएका छन् । योसँगै विद्युत व्यापार, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्नेलगायत विषयमा पनि छलफल हुने अधिकारीहरुले बताएका छन् ।

बालेनको भ्रमणका क्रममा अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) को दुवै देशका प्रधानमन्त्री संयुक्त रुपमा भर्चुअल उद्घाटन गर्ने कार्यसूची तय भएको छ । भ्रमणकै क्रममा प्रधानमन्त्री बालेनले मंसिर ७ गते बिहान नयाँ दिल्लीमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि राखिएको छ ।

तुलनात्मक रुपमा, प्रधानमन्त्री बालेनको भारत भ्रमण छोटो हुँदैछ । प्रधानमन्त्री बालेन नयाँ दिल्लीभन्दा बाहिर जाने छैनन् । काठमाडौँबाट सिधै नयाँ दिल्ली जाने र नयाँ दिल्लीबाटै काठमाडौँ फर्किने बालेनको तयारी छ । बालेनकै चाहनामा भ्रमण तालिका तय गरिएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

छोटै सही, प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक होस् भन्ने आम नेपालीको चाहना छ । भ्रमणका क्रममा सहमति हुने तर कार्यान्वयन नहुने प्रवृत्ति पनि हटोस् भन्ने नेपालीको चाहना छ । सम्भवतः यो चाहना यसपालि पूरा हुने छ ।

प्रतिक्रिया दिनुहोस्