नेभिगेशन
समाज

एमाले शुद्धीकरण अभियान चलाउने, स्थानीय निर्वाचनको तयारी अहिलेदेखि थाल्ने

काठमाडौं । नेकपा एमालेले पार्टीभित्रको अनुशासनहीनता, गुटबन्दी, आर्थिक अपारदर्शिता र नेतृत्व तथा कार्यकर्ताबीच बढ्दो दूरी अन्त्य गर्न शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक शुद्धीकरण, संगठन सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रस्तावमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताको आचरण, आर्थिक पारदर्शिता, जनसम्पर्क र संगठनात्मक सक्रियताको समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन्।

Marvel
Extreme Energy

पोखरेलले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचनपछि पार्टी रक्षात्मक अवस्थामा पुगेको विश्लेषण गर्दै विगतका कमजोरी सच्याएर पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

प्रस्तावमा निर्वाचनको अप्रत्याशित परिणामले पार्टीपंक्तिमा निराशा र चिन्ता बढाएको उल्लेख छ। पार्टीभित्र केही तहमा निष्क्रियता र पलायनको प्रवृत्तिसमेत देखिएको भन्दै त्यसलाई सुधार्न केन्द्रीय सचिवालयको आठौँ बैठकले अघि सारेको ‘मिसन पार्टी जागरण’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

१५ बुँदे कार्ययोजना प्रस्ताव

पोखरेलले पार्टी सुदृढीकरणका लागि १५ वटा प्रमुख काम अघि सारेका छन्। तीमध्ये:

भदौ २३ र २४ का घटनाक्रम, निर्वाचन र पार्टीका कमजोरीबारे जनतालाई जानकारी गराउन सत्य संवाद अभियान सञ्चालन गर्ने।

महँगी, बेरोजगारी, किसानका समस्या, मजदुरका अधिकार र सुशासनका विषयमा सशक्त प्रतिपक्षीय भूमिका खेल्ने।

गलत सूचना र भ्रमपूर्ण प्रचारको तत्काल खण्डन गर्न केन्द्रीय तथ्य–संवाद–प्रतिवाद संयन्त्र बनाउने।

सदस्य संख्या मात्र नभई संगठनको सक्रियता, जनसम्पर्क र कामको परिणामका आधारमा मूल्यांकन गर्ने।

युवालाई नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासको जिम्मेवारी दिने।

महिला तथा सामाजिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउने।

पार्टीभित्र आन्तरिक संवाद, बहस र अनुशासनको सन्तुलन कायम गर्ने।

शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग र भ्रष्टाचार नियन्त्रणमा वैकल्पिक शासनका कार्यक्रम प्रस्तुत गर्ने।

सरकारबाहिर रहे पनि जनसेवामूलक गतिविधि सञ्चालन गर्ने।

अध्ययन, अनुसन्धान र तथ्यमा आधारित पार्टी निर्माण गर्ने।

नेताहरूको नैतिक पुनर्निर्माण र सार्वजनिक जीवनमा पारदर्शिता कायम गर्ने।

स्थानीय मुद्दामा केन्द्रित संगठन निर्माण गर्ने।

प्रवासी नेपालीसँग ज्ञान, सीप, अनुभव र पुँजीका आधारमा नयाँ सम्बन्ध विकास गर्ने।

राष्ट्रिय स्वाधीनता र कूटनीतिक सन्तुलनलाई प्राथमिकता दिने।

कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु संकट, युवा पलायनलगायत नयाँ विषयमा पार्टीको वैचारिक दृष्टिकोण अद्यावधिक गर्ने।

आर्थिक पारदर्शिता र सम्पत्ति विवरण अनिवार्य

प्रस्तावमा पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरणमाथि समेत प्रश्न उठाइएको छ। केही नेता तथा कार्यकर्ताको आर्थिक जीवनशैली अस्वाभाविक बनेको र आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका आरोप सार्वजनिक हुँदा पार्टीले पर्याप्त संस्थागत जवाफ दिन नसकेको उल्लेख छ।

आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन र तथ्यमा आधारित निर्णय गर्नुपर्ने पोखरेलको प्रस्ताव छ। पार्टीका सबै तहका कमिटीको हिसाबकिताब वार्षिक रूपमा अडिट गर्नुपर्ने र राजनीतिक नियुक्ति तथा जनप्रतिनिधिमूलक संस्थामा उम्मेदवार बन्न आर्थिक पारदर्शिता र उच्च नैतिकतालाई अनिवार्य मापदण्ड बनाउनुपर्ने उल्लेख छ।

त्यस्तै, कमिटीका सदस्य तथा पदाधिकारी निर्वाचित भएर आउँदा र जिम्मेवारीबाट बाहिरिँदा आफ्नो आर्थिक अवस्थाको अनिवार्य स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

स्थानीय निर्वाचनका लागि अहिलेदेखि तयारी

एमालेले स्थानीय निर्वाचनलाई लक्षित गर्दै पालिका र वडा तहसम्म संगठन परिचालन गर्ने विस्तृत योजना पनि अघि सारेको छ।

प्रस्तावअनुसार प्रत्येक पालिकामा पार्टी जागरण अभियानको संयोजन गर्न केन्द्रीय प्रतिनिधि खटाइएको छ। केन्द्रीय प्रतिनिधिले समय दिन नसक्ने अवस्थामा नयाँ प्रतिनिधि तोक्ने अधिकार प्रदेश इन्चार्जलाई दिइएको छ।

स्थानीय निर्वाचनको तयारीका लागि १३ बुँदे कार्ययोजना प्रस्ताव गरिएको छ। त्यसमा वडा तथा पालिका कमिटी सुदृढीकरण, स्थानीय राजनीतिक शक्ति सन्तुलनको अध्ययन, जनमत सर्वेक्षण, सम्भावित उम्मेदवारको पहिचान, निर्वाचन परिचालन समिति गठन र प्रचार अभियान सञ्चालनलगायत विषय छन्।

प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रका मतदाता, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन र प्रभावशाली व्यक्तिको अद्यावधिक अभिलेख तयार गर्नुपर्ने प्रस्ताव छ। टोलस्तरमा कमिटी नभएका ठाउँमा सम्पर्क व्यक्ति तोकेर घरदैलो तथा मतदाता सम्पर्कको जिम्मेवारी दिने उल्लेख छ।

त्यस्तै, प्रत्येक पालिका र वडा तहमा निर्वाचन कार्यालय स्थापना गर्ने तथा पार्टी संगठन, मतदाता सम्पर्क, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आर्थिक स्रोत व्यवस्थापन र कानुनी सहायताका लागि छुट्टाछुट्टै उपसमिति गठन गर्ने प्रस्ताव गरिएको छ।

उम्मेदवार छनोटमा पहुँच र गुटगत प्रभाव निरुत्साहित गर्ने

उम्मेदवार छनोटमा सम्बन्धित क्षेत्रका वडा, पालिका र जिल्ला कमिटीको सिफारिसलाई मुख्य आधार बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ।

उम्मेदवारको पार्टीप्रतिको निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि र स्थानीय मुद्दाबारेको ज्ञानलाई छनोटको मापदण्ड बनाउनुपर्ने भनिएको छ।

उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयमा हुने अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गर्नुपर्ने प्रस्ताव छ। उम्मेदवार चयन भएपछि उनीहरूलाई स्थानीय शासन, पार्टी नीति, जनसम्पर्क, सञ्चार र निर्वाचन कानुनबारे प्रशिक्षण दिनुपर्ने पनि उल्लेख छ।

घरदैलो र मतदाता सर्वेक्षणलाई प्राथमिकता

निर्वाचन तयारीका क्रममा स्वतन्त्र, निष्पक्ष र नियमित जनमत सर्वेक्षण गर्ने प्रस्ताव गरिएको छ। सर्वेक्षणबाट पार्टीप्रतिको जनधारणा, उम्मेदवारको स्वीकार्यता, स्थानीय मुद्दा, विपक्षी दलको प्रभाव र मतदाताको अपेक्षाबारे जानकारी लिने भनिएको छ।

घरदैलो अभियानलाई निर्वाचन तयारीको मुख्य आधार बनाउने र प्रत्येक टोल तथा बस्तीमा जिम्मेवार कार्यकर्ता तोकेर मतदाता भेटघाटको योजना बनाउने प्रस्ताव छ।

युवा, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, किसान, मजदुर, साना व्यवसायी तथा प्रवासी परिवारसँग छुट्टाछुट्टै संवाद कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ।

प्रत्येक वडा तथा पालिकाले स्थानीय जनताको आवश्यकता र सरोकार पहिचान गरी कार्यान्वयन गर्न सकिने समयबद्ध प्रतिबद्धतापत्र तयार गर्नुपर्ने प्रस्तावमा भनिएको छ। त्यसमा खानेपानी, सडक, पुल, सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, पर्यटन र स्थानीय उद्योगलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

गुटबन्दी र अन्तर्घातविरुद्ध कारबाहीको प्रस्ताव

पोखरेलले पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता र अन्तर्घातलाई गम्भीर चुनौतीका रूपमा प्रस्तुत गरेका छन्।

महाधिवेशन वा अधिवेशनमा आन्तरिक लोकतन्त्रको माग गर्ने तर परिणाम सहज रूपमा स्वीकार नगर्ने प्रवृत्तिले स्थायी गुटबन्दी र अन्तरविरोध बढाएको प्रस्तावमा उल्लेख छ। निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेर हराउन खोज्ने प्रवृत्तिसमेत मौलाएको भन्दै त्यसलाई समयमै नियन्त्रण गर्नुपर्ने भनिएको छ।

आन्तरिक लोकतन्त्र, पार्टी अनुशासन र सामूहिक निर्णयको कार्यान्वयनलाई एकअर्काका परिपूरकका रूपमा स्थापित गर्नुपर्ने प्रस्ताव छ।

त्यस्तै, पार्टीको विचार र नीतिमा देखिएका कमजोरी सच्याउँदै कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र, युवा पलायन, सहरी गरिबी र लैंगिक न्यायजस्ता नयाँ विषयमा वैचारिक पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

पोखरेलले पार्टीको मार्गदर्शक लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई जनजीविका, सामाजिक न्याय, उत्पादन, रोजगारी, सुशासन र राष्ट्रिय स्वाधीनतासँग जोडेर व्यवहारमा उतार्नुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरेलले एमालेका १४ समस्या औँल्याए : जनतासँग सम्बन्ध कमजोरदेखि गुटबन्दी र अन्तर्घातसम्म

पोखरेलले एमालेका १४ समस्या औँल्याए : जनतासँग सम्बन्ध कमजोरदेखि गुटबन्दी र अन्तर्घातसम्म

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक जीवनमा १४ वटा प्रमुख समस्या रहेको औँल्याएका छन्। उनले ती समस्या समाधानका लागि १४ सूत्रीय सुझावसहितको कार्यपत्र बन्दसत्रमा प्रस्तुत गरेका छन्।
बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउ, ५ अर्ब ८८ करोड बिगो हिनामिनाको आरोप

बराह सहकारी ठगीका मुख्य योजनाकार पक्राउ, ५ अर्ब ८८ करोड बिगो हिनामिनाको आरोप

बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा मुख्य योजनाकार रहेको आरोप लागेका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सञ्चालनको जिम्मा

सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सञ्चालनको जिम्मा

सरकारले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको नाममा सञ्चालित बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ। मन्त्रालयले उनको ठाउँमा उदयराज उपाध्यायलाई खाता सञ्चालनको जिम्मेवारी दिएको...

भर्खरै