पछिल्ला केही दिनयता राजनीतिक दलका नेतादेखि विश्लेषकसम्मले राष्ट्रियताको परिभाषा दिइरहेका छन् । मुलधारका मिडियादेखि सोसल मिडियासम्म राष्ट्रियताको बहस भइरहेको छ । राष्ट्रियता के हो भनेर लेखकहरुले धाराबाहिक रुपमा लेख लेखिरहेका छन् । आखिर अहिले अकस्मात राष्ट्रियताको मुद्दा किन बहसमा आयो त ?
Watch On
न कुनै युद्ध, न कुनै सन्धी सम्झौता, एकाएक राष्ट्रियताको बहस सतहमा आउनुको कारण हो– अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एक साताअघि भारतीय टेलिभिजन एनडीटीभीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्ति । कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा डाक्टर वाग्लेले भनेका थिए– नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भइसक्यो ।
उनको यही अभिव्यक्तिलाई लिएर धेरैखाले टिप्पणी भइरहेको छ । कसैले भारतलाई खुसी पार्न खोजेको भनिरहेका छन् त कसैले भारतको चाकडी गरेको भन्दै आलोचना गरिरहेका छन् । प्रसंग अहिले भारतको आयो होला, भोलि चीनको आउला, अमेरिकाको आउला, युरोपेली मुलुकको आउला । उनको अभिव्यक्तिको भाव आखिर एउटै हो । अर्थ उही हो– कसैलाई गाली गरेर र कसैको विरोध गरेर राष्ट्रवादी भइँदैन, देश प्रेमी भइँदैन ।
आखिर राष्ट्रियता भनेको के हो त ? साधारण अर्थमा राष्ट्रियता भनेको देशप्रतिको प्रेम हो, देशप्रतिको सम्मान हो, देशको रक्षा हो । तर, के राष्ट्रियता भनेको यत्ति हो त रु समयसँगै सिंगो संसार एउटा सानो गाउँमा परिणत भएको छ, राष्ट्रियताको आयतन फराकिलो हुँदै गएको छ, आयाम बढ्दै गएको छ ।
कुनै बेला नेपालको राजनीतिमा निरन्तर सुनिने नारा हो– भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद । विशेषगरी कम्युनिस्ट पार्टीहरुले भारत र अमेरिकाको नाम एक साथ लिएर गाली गर्थे र आफूलाई सच्चा राष्ट्रवादी सावित गर्न खोज्थे । अस्तित्वमा आएदेखि नै स्वाधीन रहनु राष्ट्रियताको सवालमा नेपालको सबैभन्दा ठूलो सम्पत्ति हो । इतिहासमा नेपाल कुनै पनि शक्तिको उपनिवेश बनेन, अहिले पनि छैन र भविष्यमा पनि कसैको उपनिवेश बन्ने छैन । किनभने हाम्रा बीर पुर्खाले ब्रिटिश इण्डियासँग बहादुरीका साथ लडेर जोगाएको भूमि हो यो । कुनै बेला उपनिवेशवादको विश्वव्यापी लहर थियो । अहिले त्यो लहर छैन । त्यसैले अब कुनै पनि देश कुनै पनि बाहिरी शक्ति वा मुलुकको उपनिवेश बन्नुपर्ने अवस्था टर्दै गएको छ । तर, पनि राष्ट्रियता वा राष्ट्रवादको नारा उठाएर राजनीति गर्ने प्रवृत्ति भने रोकिएको छैन ।
नेपालमा एउटा यस्तो रोग छ– यदि कुनै दल वा नेताले आफूलाई कमजोर महसुस गरे भने राष्ट्रवादको नारा उचालिहाल्छन् । आफू खाँटी राष्ट्रवादी हुँ भन्छ र अरु सबैलाई राष्ट्रघातीको ट्याग लगाइदिन्छन् । राष्ट्रवादी नेपालीको सेन्टिमेन्ट आफूमा केन्द्रित गर्न खोज्छन् । यस्तो प्रवृत्ति बारम्बार देखिएको छ । कहिले सत्तामा पुग्न राष्ट्रवादको नारा भजाउँछन्, कहिले सत्ताबाट बाहिरिनु पर्दाको पीडा पनि राष्ट्रवादमै लगेर मिसाउँछन् । उदाहरणका लागि २०६६ वैशाखमा सेनापति प्रकरणमा प्रचण्ड नेतृत्वको सरकार ढल्यो । त्यसपछि उनले सार्वजनिक रुपमै भाषण गरे– विदेशी प्रभुले आफ्नो सरकार ढालिदिए । उनको संकेत भारततर्फ थियो । नेपालमा भारतको चर्को आलोचना गर्ने र भारत जाँदा भारतीय नेतृत्वसँग मिल्ने चरित्र पनि हाम्रा नेताहरुमा देखिएकै हो, छिपेको छैन । यो त एउटा उदाहरण मात्रै हो । अब नेपालमा मौलाएको राष्ट्रवादको नारा र मुद्दाको चर्चा गरौं । सुरुमा यहाँहरुलाई केही घटनातर्फ लैजान चाहन्छु ।
पहिलो घटना– ऋतिक रोशन काण्ड
२०५७ साल पुस महिना । बलिउड अभिनेता ऋतिक रोशनले भारतीय टेलिभिजन च्यानल ‘स्टार प्लस’लाई दिएको अन्तर्वार्तामा ‘सबैभन्दा मन नपर्ने देश नेपाल र नेपाली हुन्’ भनेको भनेर काठमाडौँमा हल्ला चलाइयो । यही हल्लाका कारण काठमाडौँसहित देशका विभिन्न शहरमा दंगा फैलियो । राष्ट्रवादको नारामा फैलिएको दंगाको पहिलो दिन पुस ११ गते गोली लागेर चार जनाको मृत्यु भयो। पुस १२ गते दंगा झनै फैलियो। काठमाडौंमा रहेका भारतीय नागरिकमाथि आक्रमण हुन थाल्यो । त्यसको मारमा नेपाली मधेशी, मुस्लिम, मारवाडी समुदाय पनि परे । उनीहरुका घर, पसल, गाडी जले । केही सञ्चारमाध्यमका कार्यालयमा समेत आक्रमण गरियो ।
जुन विषयले नेपालमा दंगा फैलियो, त्यो विषय नै गलत थियो, ऋतिकको जुन अभिव्यक्ति भनिएको थियो, त्यो नै फेक थियो । नेपालमा दंगा फैलिएपछि ऋतिकले विज्ञप्ति जारी गरेर भने– ‘म नेपाल र यहाँका जनतालाई त्यति नै प्रेम गर्छु, जति भारत र यहाँका मानिसलाई गर्छु। वास्तवमा, म सानैदेखि काठमाडौँ घुम्न जान चाहन्थेँ।’
दोस्रो घटना– महाकाली सन्धि
राष्ट्रवादकै नाममा नेपालको राजनीति कसरी विभाजित हुन्छ भन्ने अर्को उदाहरण हो– महाकाली सन्धि । २०४८ को पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । २०४८ को मंसिरमा कोइराला भारत भ्रमणमा गए । त्यही भ्रमणमा उनले टनकपुर बाँध परियोजना सन्धिमा हस्ताक्षर गरे । देश फर्किएर भने उनले ‘सन्धि–सम्झौता’ नभएर ‘सहमति–समझदारी’ मात्र भएको तर्क गरे । पछि त्यो समझदारी नभई सन्धि नै भएको पुष्टि भयो । जब सन्धि भएको सार्वजनिक भयो, त्यसपछि यो निकै पेचिलो विषय बन्न पुग्यो । संविधानअनुसार दुई देशबीचको सन्धिलाई संसदको दुईतिहाइले अनुमोदन गर्नुपर्छ । तर, कोइरालाले दुई तिहाइ नपुग्ने देखेर त्यसलाई संसदमा लगेनन् ।
एमालेले यो सन्धिको विरोधमा संसददेखि सडकसम्म प्रदर्शन गर्यो। जुन दलले यो सन्धिको विरोध गर्यो– त्यसको सबैभन्दा ठूलो असर त्यही दललाई पर्यो, एमालेलाई पर्यो । सन्धिको विरोध भइरहँदा कांग्रेस सरकार ढल्यो, मध्यावधि चुनाव भयो । चुनावपछि एमालेको अल्पमतको सरकार बन्यो । नौ महिना सरकारमा रहँदा पनि एमालेले त्यो मुद्दा सुल्झाउन सकेन । पछि एमाले पनि सन्धि अनुमोदन गर्न तयार भयो र २०५३ असोज ४ गते मध्यराति २ बजे संसद्को संयुक्त बैठकको दुई तिहाइले ‘एकीकृत महाकाली’ सन्धि अनुमोदन भयो । एमालेकै सहमतिमा सन्धि त अनुमोदन भयो, तर, एमाले भने सग्लो रहेन । सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायत नेताहरुले एमाले विभाजन गरे । पहिले सन्धिमा राष्ट्रघात देखेको एमालेले पछि कसरी राष्ट्रवाद देख्यो ? यो एमाले नेताहरुले अहिलेसम्म खुलाएका छैनन् ।
र,
तेस्रो घटना– एमसीसी
झण्डै चार वर्षको कसरतपछि २०७८ फागुनमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भयो । एमसीसी सम्झौता अनुमोदन गर्न व्याख्यात्मक घोषणाको सहारा लिइयो । नेपालमा एमसीसीको अवधारणा प्रवेश गराउनेदेखि अमेरिकासँग सम्झौता गर्दासम्म पटक पटक सरकार फेरिए । एमाले, कांग्रेस, माओवादी जो जसको सरकार बन्यो, उनीहरु सबैको कार्यकालमा यो सम्झौताका लागि काम भएका थिए । तर, जब पारित गर्ने समय आयो– एमाले र माओवादी पन्छिन खोजे ।
२०७४ भदौ २९ गते नेपालको अर्थ मन्त्रालय र एमसीसीबीच यो सम्झौता भएको थियो । २०७५ साल माघ २५ मा केपी ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेश गर्ने निर्णय गरेको थियो । २०७६ माघ १९ मा तत्कालीन नेकपाले झलनाथ खनालको नेतृत्वमा सम्झौता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गर्यो । महाकाली सन्धिका कारण त्यतिबेला एमालेमा जुन विवाद थियो, त्यस्तै विवाद एमाले र माओवादी मिलेर बनेको नेकपामा एमसीसीले ल्याइदियो । कांग्रेस त एमसीसी सम्झौता अनुमोदन गर्नुपर्छ भनेर लागिरहेकै थियो । अन्तिममा व्याख्यात्मक घोषणाको सहारा लिएर संसदबाट अनुमोदन गरियो । यसमा अमेरिकी दबाब उत्तिकै देखिन्थ्यो । जब एमसीसी अनुमोदन भयो– त्यसपछि यो मुद्दा सेलाउन पुग्यो । एमसीसी अहिले कार्यान्वयनको चरणमा छ । अहिले कोही कसैले एमसीसीको विरोध गरेको सुनिँदैन । यहाँ पनि पहिले राष्ट्रघात देखियो, पछि राष्ट्रवाद ।
यी त मैले केही प्रतिनिधिमुलक घटनाको मात्रै चर्चा गरेको हुँ । राष्ट्रियता र राष्ट्रवादको नाममा नेपालमा पटक पटक आन्दोलन भएका छन् । जसले सबैभन्दा बढी विदेशी मुलुकलाई गाली गर्न सक्छ– त्यही सबैभन्दा बढी राष्ट्रवादी बन्ने र जसले अरु मुलुकलाई गाली गर्दैन– त्यसलाई राष्ट्रघाती करार गर्ने प्रवृत्ति चलिरह्यो ।
राष्ट्रियता र राष्ट्रवादको नारा यति शक्तिशाली हुन्छ कि यसले कुनै दल चिन्दैन, कुनै वर्ग चिन्दैन, कुनै समुदाय चिन्दैन । जब राष्ट्रियतामा आँच आउँछ– नेपाल मात्रै होइन, संसारका कुनै पनि देशका नागरिक चुप लाग्दैनन् । तर, जब राष्ट्रवादलाई दल विशेष वा नेता विशेषको मुद्दा बनाइन्छ– त्यसले नागरिकलाई विभाजित बनाउँछ । नेपालको राजनीतिमा पटक पटक यस्तो देखिएको छ ।
सम्भवतः महाकाली सन्धिको समयमा हुनसक्छ, तत्कालीन अर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यले भनेका थिए– राष्ट्रियता महाकालीको पानी र मेचीको बगरमा मात्र हुँदैन, यो त आम नेपालीको मन मनमा हुन्छ । खासमा राष्ट्रियताको केन्द्रमा नागरिक हुन्छन् । जनताको जीवनस्तर, उनीहरूको आत्मसम्मान, लोकतान्त्रिक अधिकार र आर्थिक सम्पन्नतामा राष्ट्रियता झल्किनुपर्छ । भूगोल वा सीमा रक्षा गर्नु जति महत्त्वपूर्ण हुन्छ, त्यत्ति नै महत्वपूर्ण देशभित्रका नागरिकलाई अधिकारसम्पन्न, शिक्षित र समृद्ध बनाउनु हुन्छ ।
नेपाल दुई भीमकाय छिमेकी चीन र भारतको बीचमा रहेको एउटा सानो देश हो । भारत र चीन दुवै भूगोल, जनसंख्या र अर्थतन्त्रका हिसाबले नेपालभन्दा निकै ठूला छन् । तर, बिर्सिन नहुने एउटा कुरा के हो भने स्वाधीनता, सार्वभौमिकता र आत्मसम्मानका हिसाबले नेपाल भारत र चीनसँग मात्रै होइन, संसारका कुनै पनि देशभन्दा सानो छैन ।
अब फेरि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अभिव्यक्ति र त्यसको अन्तर्यको विवेचना गरौं ।
केही महिनाअघि भारत भ्रमणका क्रममा रास्वपा सभापति रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धका केही नयाँ आधार सार्वजनिक गरेका थिए । उनको एउटा मुख्य आधार थियो– कनेक्टिभिटी । रविको स्पष्ट मान्यता छ– दुई देशका बीचमा रहेका विवाद संवादबाट सुल्झाउने र आर्थिक विकासका लागि सहकार्य गर्ने । रवि लामिछानेको जुन मान्यता छ– त्यही मान्यतासँग मिल्छ– डाक्टर वाग्लेको अभिव्यक्ति पनि । कुनै बेला भारतलाई गाली गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति मौलाएको थियो । अहिले अवस्था फेरिएको छ । मानिसहरुको चेतनाको लेभल पनि फेरिएको छ । र, नेपालको प्राथमिकता पनि फेरिएको छ ।
अहिले नेपालको आवश्यकता र प्राथमिकता आर्थिक विकास हो । राजनीतिक रुपमा नेपालले ठूलो फड्को मारिसक्यो । सात दशकको अन्तरालमा पटक पटक आन्दोलन भयो । पटक पटक व्यवस्था फेरियो । अब जनताको अवस्था फेर्नुपर्छ । आम नेपालको अपेक्षा पूरा गर्नुपर्ने छ । जब आर्थिक विकास हुन्छ तब मात्र जनताको स्तर फेरिन्छ । दुई छिमेकी मुलक भारत र चीनले जसरी द्रुत गतिमा आर्थिक विकास गरिरहेका छन्, यसमा नेपाललाई पनि जोड्नुपर्ने छ । भारत र चीनको आर्थिक विकासको लाभ नेपालले पनि लिन सक्नुपर्छ । प्रविधिमा जसरी उनीहरुले फड्को मारिरहेका छन्– नेपालले पनि सँगै कदम चाल्नुपर्ने छ । र, यो कसैको विरोध गरेर होइन, सहकार्य गरेर मात्र सम्भव छ । नेपाल आफैंमा असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको मुलुक हो । कसैको पक्षमा लाग्न आवश्यक छैन । यसको अर्थ कसैको विरोध गर्नु पनि आवश्यक छैन ।
सिधाकुराका समाचार सम्पादक नारायण अर्याल साढे २ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनीसँग हिमालय टाइम्स र गोरखापत्र दैनिक तथा नेपाल वान, च्यानल नेपाल, एभिन्युज, हिमालय, ग्यालेक्सी र कान्तिपुर टेलिभिजनमा समाचार सम्पादन तथा संयोजनको अनुभव छ।
तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...बिहीबार, कात्तिक १२, २०८३
महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...बिहीबार, कात्तिक १२, २०८३
लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दुई महिनाभित्र उक्त सडकखण्डमा कालोपत्रे सम्पन्न...बिहीबार, कात्तिक १२, २०८३
आज सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...बिहीबार, कात्तिक १२, २०८३