काठमाडौं। एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ । करिब पाँच वर्षअघि भृकुटीमण्डपमा चौधौं महाधिवेशन गरेको कांग्रेसले यसपालि पन्ध्रौँ महाधिवेशन खुलामन्चमा गरेको छ । महाधिवेशनको उद्घाटन मात्रै नभई बन्दसत्र समेत खुलामन्चमै गर्दैछ कांग्रेसले ।
अघिल्ला महाधिवेशनहरूको तुलनामा पन्ध्रौं महाधिवेशन कांग्रेसका लागि विशेष छ । कांग्रेस महाधिवेशन किन विशेष छ ? यो महाधिवेशनले के के गर्छ ? यसबारे क्रमिक रुपमा चर्चा गर्नेछु ।
गत पुस अन्तिममा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेसँगै ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा तय गरेको कांग्रेसले फागुन २१ को चुनावबाट देश बदल्ने अवसर त पाएन, पार्टी भने बदलेको छ । कांग्रेसलाई तेस्रो पुस्ताका नेता गगन थापाको नेतृत्वमा बदलिएको छ । विशेष महाधिवेशनले तदर्थ रुपमा नेतृत्व बदल्यो । यो महाधिवेशनले कांग्रेसभित्रको त्यो परिवर्तनलाई औपचारिकता दिने छ– यसकारण यो महाधिवेशन विशेष छ ।
कांग्रेसको पन्ध्रौं महाधिवेशन विशेष महाधिवेशन हुनुको अर्को कारण हो– युवा सहभागिता । मैले अघिल्लो भिडियोमा पनि चर्चा गरेको थिएँ– कांग्रेसलाई वृद्धहरूको पार्टी भनेर चित्रण गरिन्थ्यो । यो महाधिवेशनले कांग्रेस लक्षित त्यो भाष्य पनि परिवर्तन गरिदिएको छ । इतिहासमै पहिलो पटक कांग्रेस महाधिवेशनमा उल्लेख्य रुपमा युवा प्रतिनिधिहरूको सहभागिता देखिएको छ ।
उमेरले पचास टेके पनि पनि गगन थापा कांग्रेसका युवा नेताका रुपमा परिचित छन् । कांग्रेसमा पुस्ताकै कुरा गर्ने हो भने उनी अझै पनि तेस्रो पुस्तामा पर्छन् । उनीभन्दा माथि दुई पुस्ताका नेताहरू अझै पार्टीमा सक्रिय छन् । आफूभन्दा दुई पुस्तामाथिका नेताहरूलाई ओभरटेक गरेर विशेष महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेका गगनले महाधिवेशनमा सबैभन्दा कनिष्ठ पुस्तालाई पनि सहभागी गराएका छन् । महाधिवेशनमा झण्डै एक हजार प्रतिनिधि ३५ वर्ष मुनिका छन् । वडातहदेखि नै युवाहरूको प्रतिनिधित्व सुनिश्चित गराएको कांग्रेसले केन्द्रीय समितिमा समेत २१ जनालाई सिट सुरक्षित गरेको छ ।
जेनजी आन्दोलनले कांग्रेसलाई हित गरेन । नयाँ पुस्ताको आकर्षण कांग्रेसमा देखिएन । त्यो आकर्षण रास्वपामा देखियो । नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको भरोसा गुमाएको कांग्रेसले त्यसलाई फर्काउने प्रयास गरेको छ । र, यसमा मुख्यगरी गगन नै सक्रिय छन् । क्रियाशील सदस्यता संख्याको हिसावले कांग्रेसलाई घाटा लागेको छैन । करिब ९ लाख क्रियाशील सदस्य अझै कांग्रेसमा छन् । तर, आकर्षण कति बढ्यो त्यो त आगामी चुनावले देखाउला ।
जेनजी आन्दोलनले सरकार ढाल्यो, चुनावले कांग्रेसको हैसियत ढल्यो । हालसम्मका भएका आम चुनावमा कांग्रेस दोस्रो पटक दोस्रो दल बन्यो । यसको अर्थ कांग्रेसले मतदाताको विश्वास जित्न सकेन । पछिल्ला दुई दशक सत्ता र शक्तिको केन्द्र बनेको कांग्रेस अहिले छेउमा पुगेको छ । २०८२ फागुनमा संसदीय चुनाव भयो । आगामी वर्ष स्थानीय तह र प्रदेशको चुनाव हुने छ । कांग्रेसको नेतृत्वको ध्येय छ– सकेसम्म आगामी चुनावबाटै आफूलाई रिभाइभ गर्ने, गुमाएको विश्वास रिटेन गर्ने । स्थानीय तह र प्रदेशको चुनाव नजिकिँदै गर्दा आयोजना गरिएकाले पनि यो महाधिवेशन कांग्रेसका लागि महत्त्वपूर्ण छ ।
गगन थापाले बारम्बार भन्ने गरेका छन्– बीपीले लगाएको जुत्तामा खुट्टा हालेको छु, बीपीले कल्पना गरेको जस्तै कांग्रेस बनाउँछु । गगनले बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनाउन सक्लान् वा सक्दैनन्, त्यो त समयले बताउला । तर, एउटा सत्य के हो भने नयाँ पुस्ताले आशा गरेका नेतामध्ये गगन पनि एक हुन् । जतिबेला उनी विद्यार्थी नेता थिए, त्यतिबेलादेखि नै उनी भविष्यका नेताका रुपमा हेरिएका थिए । महाधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एमाले महासचिव शंकर पोखरेलले गगनको पृष्ठभूमिलाई त्यसैगरी स्मरण गरे ।
कांग्रेसले विशेष महाधिवेशनबाट विधानलाई संशोधन गर्यो । कुनै पनि नेता पदेन महाधिवेशन प्रतिनिधि बन्ने र सधैं नेता बनिरहने पुराना प्रणालीलाई परिवर्तन गरिदियो । समावेशी र समानुपातिक सहभागितालाई अझ फराकिलो बनायो । महाधिवेशनमा देखिएका अनुहारले पनि त्यसलाई स्पष्ट पार्छ । योसँगै कांग्रेसले यही महाधिवेशनबाट नीतिगत समीक्षा पनि गर्दै छ । बीपीले प्रतिपादन गरेको कांग्रेसको मुल नीति लोकतान्त्रिक समाजवादलाई नेताहरूले फरक फरक व्याख्या र विश्लेषण गरिरहेका छन् । बीपीले सात दशकअघिको समाजलाई हेरेर बनाएको नीतिमा परिमार्जन आवश्यक छ भनेर बहस सुरु भएको निकै वर्ष भइसक्यो । कांग्रेसको गोदाबरी महासमिति बैठकमा तत्कालीन महामन्त्री गगन थापाले कांग्रेसले लोकतान्त्रिक समाजवादलाई थप परिस्कृत गर्दै सामाजिक लोकतन्त्रको अवधारणा स्वीकार गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यतिबेला उनी अल्पमतमा परे । अहिले उनी सभापतिको हैसियतमा महाधिवेशन गर्दैछन् र फेरि पनि सभापति हुने लाइनमा छन् । महाधिवेशनको बन्दसत्रमा २९ बुँदे राजनीतिक प्रस्ताव पेश गर्नेछन् । जसमा सामाजिक लोकतन्त्रका विषयहरू पनि समेटिने छन् । तर, ख्याल गर्नुपर्ने कुरा के छ भने, गत असारमा सम्पन्न आफ्नो पहिलो महाधिवेशनबाट रास्वपाले आफ्नो नीति सामाजिक लोकतन्त्र तय गरिसकेको छ । अब कांग्रेसले यसलाई कसरी परिभाषित गर्छ भन्ने सर्वत्र चासो छ । यस कारण पनि यो महाधिवेशन विशेष छ ।
रुपान्तरण र पुस्तान्तरणको प्रक्रियामा रहेको कांग्रेसका लागि यो महाधिवेशन अर्को कारणले पनि विशेष छ र त्यसको झल्को उद्घाटन समारोहमा पनि देखियो । शुभकामना दिन पुगेका सबै दलका नेताले गगन र उनले नेतृत्व गरेको कांग्रेसलाई बधाई र शुभकामना दिए । पूर्वप्रधानमन्त्री प्रचण्डले गगनलाई निरन्तरतामा क्रम भंगता गर्ने नेताको रुप्मा परिभाषित गरिदिए ।
प्रचण्डले भने झैं, जेनजीले देशमा विद्रोह गरे, गगनको नेतृत्वमा युवाहरूले कांग्रेसमा विद्रोह गरे । कांग्रेसलाई युवाहरूको पार्टी बनाउने अभियान थाले । त्यसलाई महाधिवेशनबाट औपचारिकता दिँदैछन् ।
महाधिवेशनमा आकर्षणको केन्द्र बने रास्वपा सभापति रवि लामिछाने । रवि लामिछाने मञ्चमा उक्लिँदै गर्दा कांग्रेस नेता तथा कार्यकर्ताहरूले गडगडाहट तालीले स्वागत गरे ।
जब रविले जय नेपाल भनेर आफ्नो भाषण सुरु गरे, कांग्रेस नेता तथा कार्यकर्ताले फेरि तालीले स्वागत गरे । कांग्रेसलाई शुभकामना दिएका रविले लोकतन्त्रको मूल्य र मान्यताबाट रास्वपा कहिल्यै अलग नहुने र हालसम्मका परिवर्तनलाई रास्वपाले सम्मान र संरक्षण गरिरहने प्रतिबद्धता दोहोर्याए । उनले त्यही मञ्चबाट जनमतलाई उपेक्षा नगर्न चेतावनी पनि दिए ।कांग्रेस सभामा रविको उपस्थिति यसकारणले पनि विशेष थियो कि, कुनै बेलाका नजिकका साथी रवि र गगनका बीचमा पछिल्ला केही वर्षयता समबन्ध राम्रो थिएन । विशेषगरी गगनले रविमाथि सहकारीको रकम अपचलनको आरोप जसरी लगाए, त्यसले उनीहरूको सम्बन्धमा खटपट ल्यायो । त्यतिबेला राजनीति कसैलाई जोगाउने र कसैलाई फसाउनेमा केन्द्रित भयो । जसको संकेत रविले पनि गरे । सभामै रविले भने– कसैलाई जोगाउने र कसैलाई फसाउनेमा लागेर लोकतन्त्र कमजोर नबनाऔं ।
तर, अहिले यी दुई नेता दुई दलका सभापति छन् । रवि नेतृत्वको रास्वपाले सत्ता सञ्चालन गरिरहेको छ, गगन नेतृत्वको कांग्रेस प्रतिपक्षमा छ । गत असारमा चितवनमा भएको रास्वपाको महाधिवेशनमा गगनले सम्बोधन गरे, आज खुलामन्चमा भएको कांग्रेस महाधिवेशनमा रविले सम्बोधन गरे । विगत चार पाँच महिनाको अवस्था हेर्दा लाग्छ– आशा गरिएका यी दुई नेता रवि र गगनबीचको सम्बन्ध राजनीतिक सम्बन्धमा परिणत भएको छ ।
यो महाधिवेशनबाट गगन थापा नै सभापतिमा निर्वाचित हुने करिब करिब निश्चित छ । त्यसैले त उनले अब कांग्रेस कस्तो हुन्छ भनेर उद्घाटन समारोहमा नै संक्षेपमा बोले ।
तर, यहाँ उल्लेख गर्नैपर्ने कुरा के छ भने, ऐतिहासिक स्थल खुलामन्चमा कांग्रेसको महाधिवेशन हुँदै गर्दा कांग्रेसकै निवर्तमान सभापतिसहित केही नेता त्यहाँ देखिएनन् । विशेष महाधिवेशनमा सहभागी नभएका थुप्रै नेता यो नियमित महाधिवेशनमा सहभागी हुँदा शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, एनपी साउद, प्रकाशशरण महत लगायत नेताहरू यो महाधिवेशनमा सहभागी भएनन् । निवर्तमान सभापति शेरबहादुर देउवा त आफै सभापति हुँ भन्दै छुट्टै महाधिवेशनको तयारीमा छन् । शेखर कोइरालासहितका केही नेता पार्टी फुट्नै लाग्यो भनेर कुनै पनि महाधिवेशनमा सहभागी नहुने भनेर अलग्गै बसेका छन् । कांग्रेसको मुलधार अहिले महाधिवेशनमा छ । देउवा पक्ष छुट्टै महाधिवेशनको तरखरमा छ । शेखर बहिष्कारमा छन् । समूह ठूला वा सानो जे जस्तो होला, तर, कांग्रेस तीन चिरामा विभाजित छ । सहभागी भएका वा नभएका, सबै कांग्रेस नै हुन् । यी सबै एकजुट नभएसम्म, कांग्रेस बलियो हुन मुस्किल पर्नसक्छ ।