काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा हवाई सम्पर्क विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिममा महेन्द्रनगर हवाई प्रवेशमार्ग सञ्चालनको मुद्दा फेरि चर्चामा आएको छ।
भारतसँग महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेशको अनुमति दिने विषयमा सहमति जुटे पश्चिम नेपालका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ। यसबाट तत्काल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लाभान्वित हुने र भविष्यमा धनगढी विमानस्थलको स्तरोन्नतिपछि सुदूरपश्चिमले पनि प्रत्यक्ष लाभ लिन सक्ने सरोकारवालाको भनाइ छ।
नेपालले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन सहज बनाउन सन् २०१४ देखि नै भारतसँग थप हवाई प्रवेशमार्ग माग्दै आएको छ। उपयुक्त प्रवेशमार्ग नहुँदा दुवै विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन प्रभावित भइरहेको छ।
नेपालको माग भारतीय आकाश हुँदै महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेशको अनुमति दिनुपर्ने भन्ने हो। हाल एल–६२६ हवाई मार्गबाट अन्तर्राष्ट्रिय विमानलाई पश्चिमतर्फ हुँदै नेपालबाट बाहिरिन अनुमति भए पनि त्यही मार्गबाट नेपाल प्रवेश गर्न अनुमति छैन। नेपालले उक्त मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको छ।
हाल नेपाल आउने अन्तर्राष्ट्रिय उडानमध्ये करिब ८८ प्रतिशत सिमरा हुँदै प्रवेश गर्छन्। सीमित प्रवेशमार्गका कारण पश्चिमबाट भैरहवा र पोखरा आउने विमानले समेत सिमरा हुँदै नेपाल प्रवेश गरेर पुनः पश्चिमतर्फ फर्किनुपर्ने अवस्था छ।
जानकारहरूका अनुसार यसरी घुमेर आउँदा भैरहवा पुग्ने विमानले करिब १९० नटिकल माइल अर्थात् ३५२ किलोमिटर र पोखरा पुग्ने विमानले १४५ नटिकल माइल अर्थात् २६९ किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्छ।
महेन्द्रनगरबाट प्रवेश अनुमति पाएमा यी विमानको उडान दूरी र समय घट्नेछ। त्यसले इन्धन खपत, सञ्चालन खर्च र हवाई उडानबाट हुने वातावरणीय असरसमेत कम गर्ने अपेक्षा छ। साथै, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि भैरहवा र पोखरा विमानस्थल थप आकर्षक बन्न सक्नेछ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर महेन्द्रनगर हवाई प्रवेशमार्ग सञ्चालनको माग पुरानै भए पनि यसपटक प्रधानमन्त्री तहको वार्ताबाट निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताउँछन्।
‘यो मार्ग सञ्चालनको माग पुरानै हो, यसको सञ्चालनले पश्चिम नेपाल हवाई उडानको केन्द्र बन्नेछ। यसपटक त्यो माग निष्कर्षमा पुग्ने अपेक्षा छ,’ उनले भने, ‘यो निर्णय धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग पनि जोडेर हेर्नुपर्छ। यहाँ विमानस्थलको स्तरोन्नति भएमा देहरादुन, दिल्लीलगायत क्षेत्रमा छोटो दूरीमा हवाई उडान भई लाभ हुन्छ।’
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्ल पनि महेन्द्रनगर हवाई प्रवेशमार्ग सञ्चालनमा आए भैरहवा र पोखरा जाने अन्तर्राष्ट्रिय उडान छोटिने बताउँछन्। दूरी घट्दा समय र इन्धन बचत हुनुका साथै व्यवस्थापकीय खर्च र हवाई भाडासमेत घट्न सक्ने उनको भनाइ छ।
‘तत्काल विमान कम्पनी र यात्रुलाई सहज हुने भयो। भोलिका दिनमा नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति भएमा हामीलाई धेरै सहज हुन्छ भन्ने विश्वास हो,’ उनले भने, ‘त्यसैले पनि यसमा हाम्रो चासो हुने नै भयो। अब यो मुद्दालाई निष्कर्षमा पुर्याउन आवश्यक छ।’
धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंह पनि महेन्द्रनगर हवाईमार्ग हाल नेपालबाट बाहिरिने प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको बताउँछन्। नेपाल प्रवेशका लागि पनि अनुमति पाए काठमाडौँ हुँदै घुम्नुपर्ने बाध्यता घट्ने र भैरहवा तथा पोखरा आउने उडानको समय र खर्च बचत हुने उनको भनाइ छ।
धनगढी विमानस्थललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने गुरुयोजना तयार भए पनि बजेट र जग्गा अधिग्रहणको अभावमा कार्यान्वयन हुन सकेको छैन। स्थानीय तथा सरोकारवाला निकायले यसको स्तरोन्नतिका लागि संघीय सरकारसँग माग गर्दै आएका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्ट भने हवाई प्रवेशमार्गको अनुमति नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लिनुपर्ने बताउँछन्। महेन्द्रनगर मार्ग प्रयोग गर्न भारतले रणनीतिक महत्त्वको अर्को क्षेत्र प्रयोग गर्न दिनुपर्ने सर्त अघि सार्न सक्ने भएकाले त्यसको समेत समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
‘यो कुरा विगतदेखि नै उठिरहेको छ। सबै पक्षको विश्लेषण गरेर हाम्रो राष्ट्रिय स्वार्थअनुसार निर्णयमा पुग्नुपर्छ। सुदूरपश्चिमको हकमा यो विषयसँगै प्राथमिकतामा राख्नुपर्ने अन्य पूर्वाधार तथा विकासका मुद्दा पनि छन्,’ उनले भने, ‘गौरीफन्टा नाकाको स्तरोन्नति, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, झुलाघाट र परशुराममा मोटरेबल पुल निर्माणजस्ता विषयमा निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ।’
भारतसँग सीमा जोडिएको सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपि–सैपाल र रामारोशनलगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वका पर्यटकीय गन्तव्य छन्। कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकको आवागमन र व्यापारिक सम्बन्धसमेत छ। त्यसबाट लाभ लिन सडक तथा हवाई पहुँच विस्तारलाई महत्त्वपूर्ण मानिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा महेन्द्रनगर हवाई प्रवेशमार्गसँगै धनगढी विमानस्थलको स्तरोन्नति, गौरीफन्टा नाकाको सुधार र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई पनि प्राथमिकतामा राख्नुपर्ने सुदूरपश्चिमका सरोकारवालाको माग छ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उक्त वार्तामा हवाई सम्पर्क, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ। त्यसैले लामो समयदेखि उठ्दै आएको महेन्द्रनगर हवाई प्रवेशमार्गको माग यसपटक ठोस निष्कर्षमा पुग्ने सुदूरपश्चिमवासीको अपेक्षा छ।