नेभिगेशन
समाज

संघीय निजामती अध्यादेश ल्याउँदै सरकार, कुन कुन ओहोदाका कर्मचारी घर जाँदैछन् ?

काठमाडौँ । सरकारले संघीय निजामती अध्यादेश ल्याउने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार दशैँलगत्तै अध्यादेश जारी गर्नेगरी मस्यौदा तयार भएको छ । 

Extreme Energy

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १५ गते प्रतिनिधि सभामा सङ्‍घीय निजामती सेवा विधेयक २०८३ दर्ता गरेको थियो । भोलिपल्टै असोज १६ गते राति १२:०० बजेदेखि संसद अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशमार्फत फास्ट ट्रयाकमा अध्यादेश ल्याउन लागेको हो । 

'अधिवेशन अन्त्य भएपछि विधेयकलाई ऐन बन्न धेरै समय लाग्ने भयो । निजामती ऐन तत्कालै आवश्यक छ । त्यसैले अध्यादेश ल्याउने तयारी भइरहेको छ । अध्यादेशको मस्यौदा तयार भइसकेको छ । दशैँ विदालगत्तै तिहारको अगाडि अध्यादेश जारी हुन्छ,' प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । 

स्रोतकाअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको स्पिरिटअनुसार काम गर्न अहिलेको कर्मचारी प्रशासनबाट अपेक्षित सहयोग नभएपछि तत्कालै ३०/५५ लागु गरेर कर्मचारीतन्त्रको माथिल्लो लेयरलाई तत्कालै अवकाश दिने योजनामा सरकार अगाडि बढेको हो । 

अध्यादेशमा के के आउँदैछ ? 

अध्यादेशमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा व्यवस्था आउँदै छ ।  अर्थात ३० वर्ष सेवा अवधि पूरा गरेका तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिएर नयाँ र दक्ष जनशक्ति भित्र्याउने योजना सरकारले अगाडि बढाएको छ । ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ ।

अहिले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष कायम छ । प्रस्तावित कानुनमा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरको प्रावधान राखिएको छ ।

यो प्रावधानअनुसार कुनै पनि कर्मचारीको ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर जुन पहिले पुग्छ, त्यही आधारमा अवकाश दिने सरकारको तयारी छ । जस्तै कुनै कर्मचारीको उमेर ५५ वर्ष नपुगे पनि उसले सेवामा ३० वर्ष पुरा गरिसकेको छ भने उसले अनिवार्य अवकाश पाउने छ । 

यो व्यवस्था विशेषगरी माथिल्लो तहका अनुभवी तर परम्परागत कार्यशैली भएका कर्मचारीहरूलाई लक्षित गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो प्रावधान राष्ट्र बैंकमा पनि कार्यान्वयनमा छ । ३० वर्षे सेवा अवधिको प्रावधानले माथिल्लो तहमा रहेका पुराना कर्मचारीहरू बाहिरिने र तल्लो तहमा रहेका तर दक्षता र प्रविधिमैत्री युवा कर्मचारीहरूले नेतृत्व गर्ने अवसर पाउँदा प्रशासनमा रिफर्म र रुपान्तरण हुने बुझाइ सरकारको छ । 

कर्मचारीको तथ्यांक राख्ने राष्ट्रिय किताबखानाकाअनुसार ३०/५५ को कानुनी व्यवस्थाले अहिलेकै अवस्थामा ८ देखि १० हजार कर्मचारी अनिवार्य अवकाशमा जानेछन् ।

उनीहरुको ठाउँ प्रविधि फ्रेण्ड्ली युवा कर्मचारीले ओगट्ने र सरकारको स्पिरिटअनुसार डेलिभरी दिन सकिने अपेक्षा सरकारको छ । किताबखानाको तथ्यांकअनुसार हाल निजामती सेवामा ८६ हजार ४२४ कर्मचारी कार्यरत छ ।

विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारीहरू यो प्रावधानले अवकाशमा जानेछन् । यो व्यवस्था लागु हुँदा साथ ५० भन्दा सचिव स्वत अवकाशमा जाने छन् भने ६० प्रतिशतबढी सहसचिवहरु पनि स्वत अवकाश पाउने छन् । तल्लो पदका पनि केहीले अवकाश पाउनेछन् । यो व्यवस्था लागु भएमा तत्काल पाँच हजारभन्दा बढी निजामती कर्मचारी अवकाशमा जानेछन् । प्रस्तावित प्रावधान लागु भएमा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) २८, राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) २१४, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) ६३५ र शाखा अधिकृत ७५३ जना एकै पटकमा अनिवार्य अवकाशमा जाने मन्त्रालयले जनाएको छ । 

यसै गरी राजपत्र अनङ्कित (खरिदार र नायब सुब्बा) एक हजार ३५० र श्रेणीविहीन (कार्यालय सहयोगी, ड्राइभर र वनपाले) गरी दुई हजार ७७० जना कर्मचारी अवकाशमा जाने छन् । सङ्घमा अहिले कार्यालय सहयोगीदेखि सचिवसम्म गरी ३८ हजार ६०५ जना कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखानाले जनाएको छ । 

३० वर्षको मात्रै पेन्सन, बढी पाइरहेको सुविधा कटौती 

सरकारले प्रस्तावित कानुनमार्फत कर्मचारीको पेन्सन पनि कटौती गरेको छ । कर्मचारीले सेवा गरेको वर्षअनुसार पेन्सन सुविधा पाउने हालको व्यवस्थाले राज्यकोषमा भार परेको भन्दै सरकारले अब ३० वर्ष सेवाअवधिलाई आधार मानेर पेन्सन प्रदान गर्ने भएको छ । 

यसअघि ३० वर्षभन्दा बढी सेवा गर्दा बढी पेन्सन पाउने अवस्थालाई सच्याएर ३० वर्षकै आधारमा पेन्सन दिने र बढी पाइरहेको सुविधा कटौती गर्ने प्रस्ताव गरिएको छ । 

प्रस्तावित अध्यादेशमा छड्के सचिव र सहसचिवको प्रस्ताव गरिएको भए पनि उक्त पदमा करार सेवामा कर्मचारी नियुक्त गर्दा आयोगको परामर्शमा मात्र गर्न सकिने प्रावधान राखिएको छ । सरकारलाई कुनै विशिष्ट प्रकृतिको काम गर्नुपर्दा निजामती सेवाभित्र योग्य व्यक्ति उपलब्ध नभएमा त्यस्ता पदमा आयोगको परामर्शमा मात्र बाहिरबाट सचिव र सहसचिवस्तरको पदपूर्ति गर्न सकिने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

एनपिएल देशको सामूहिक आत्मविश्वास र युवा प्रतिभाको सुन्दर प्रतिविम्ब: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको सामूहिक आत्मविश्वास र युवाको प्रतिभालाई उजागर गरेको बताएकी छिन् ।
भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि समस्या समाधान गर्न मन्त्री प्रतिभा रावल चितवनमा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।