नेभिगेशन
समाज

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

काठमाडौँ । गत भदौ गते नेपाल–चीन सीमाको रसुवा क्षेत्रमा अचानक ठूलो आवाज आयो। सुरुमा यसलाई भूकम्प ठानियो। तर पछि गरिएको अध्ययनले त्यो भूकम्प नभई समुद्र सतहबाट करिब ५ हजार १५० मिटर उचाइमा रहेको लाङटाङ लिरुङ क्षेत्रको ठूलो चट्टानी पर्खाल र त्यससँग जोडिएको हिमनदीको भाग खसेको घटना भएको देखायो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब २ वर्ग किलोमिटर क्षेत्रको चट्टान र बरफ करिब १ हजार ४ सय मिटर तल खसेपछि त्यसबाट ठूलो ऊर्जा निस्कियो। यो ऊर्जा करिब ५.५ म्याग्निच्युडको भूकम्पसँग तुलनीय थियो।

Ncell
Extreme Energy

तर पहाड खस्नु नै विपद्को अन्तिम घटना थिएन।

चट्टान, बरफ र लेदो माटो तल झर्दै जाँदा घर्षण तथा यान्त्रिक ऊर्जाका कारण बरफ पग्लिएको हुन सक्छ। तल दबिएर रहेको पुराना बरफका ढिक्का, हिमनदीको पानी, हिउँले जमेर बनेको सिमेन्टेड जमिन तथा नदीको पानीसमेत मिसिएपछि त्यो प्रवाह प्रलयकारी बाढीमा परिणत भयो।

हिमपहिरो झरेको स्थानबाट करिब २२ किलोमिटर तल रहेको रसुवागढी सीमासम्म बाढी करिब सात मिनेटमै पुग्यो। यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर थियो। त्यसपछि रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै त्रिशूली उपत्यकामा महाविनाश भयो। 

बाढी करिब २०० किलोमिटर तल देवघाटसम्म सात घण्टाभन्दा कम समयमा पुग्यो। तर वैज्ञानिकहरूको मुख्य प्रश्न छ—यस्तो ठूलो चट्टान–हिमपहिरोको आधार हिमालमा पहिले नै तयार हुँदै थियो किर ? यसको आधार २०६६–०६७ सालमै तयार भइसकेको वैज्ञानिहरूको दाबी छ।

यो भिडिओमा हामी मुख्यरूपमा चर्चा गर्नेछौं– आखिर सन् २०१० यता हिमालयमा के बदलियो तरु जसले महाविनासको निम्तिो दियोरु १४०० बढीको ज्यान लियो१ झण्डै ६ हजार अझै बेपत्ता बनायो। त्रिशूली सभ्यता खण्डहर तुल्यायो। अनि आधुनिक पूर्वाधार विकास क्षतविक्षत बन्यो।

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।

उनीहरूका अनुसार ललाङटाङ–लिरुङ क्षेत्रका हिमनदी दशकौँदेखि पग्लिरहेका छन्। तिनीहरू प्रतिवर्ष आधा मिटरभन्दा बढी पातलिँदै गएको देखिन्छ। सन् २०१० यता हिमनदीको विस्तार घट्ने दरसमेत अझ तीव्र बनेको छ।

हिमनदी पातलिँदा चट्टानी पर्खालले पाउने यान्त्रिक वा प्राकृतिक सहारा घट्न सक्छ। यसले चट्टानभित्रको तनाव परिवर्तन गरेर पहिले नै रहेका दरारलाई अझ कमजोर तुल्याउन सक्छन्।

त्यसैगरी, तापक्रम बढ्दा उच्च हिमाली क्षेत्रमा जमेको चट्टान अर्थात् पर्माफ्रोस्ट पग्लिन सक्छ। चट्टानका दरारमा जमेको बरफ पग्लिएपछि चट्टानबीचको पकड क्षमता घट्छ र पानी अझ गहिरो तहसम्म पस्न सक्छ। पग्लिएको पानी दरारभित्र जम्मा हुँदा पानीको दबाब बढ्छ र चट्टानका सतहबीचको घर्षण घट्न सक्छ। यसले अस्थिर ढलानलाई थप कमजोर बनाउन सक्छ।

हिमपातको ठाउँमा बढ्दैछ वर्षा

वैज्ञानिकहरूको अध्ययनले तापक्रम वृद्धिसँगै शून्य डिग्री सेल्सियस रहने उचाइ पनि क्रमशः माथि सर्दै गएको छ। जहाँजहाँ हिजो हिउँ पर्थ्यो, त्यहाँ अब वर्षाले ठाउँ लिँदै गएको छ। हिउँ पर्न छाडेपछि त्यस ठाउँका जमिन नांगा भएका छन्। अलिकति पानी पर्नासाथ कमलो र खुकुलो जमिन क्षय भइहाल्छ। भेलबाढीको रूप लिन कहाँ बेर लाग्छ र ! 

अर्को समस्या पनि हुन्छ– हिमपातले पानीलाई केही समय बरफका रूपमा भण्डारण गर्छ। तर वर्षाको पानी तत्कालै तरल रूपमा चट्टानका दरारमा पस्न सक्छ। यसले भित्री पानीको दबाब बढाउन सक्छ। अध्ययनअनुसार पछिल्ला दशकमा विशेषगरी मनसुन र मनसुनपछिको समयमा यो सीमा प्रतिदशक करिब १०० मिटरका दरले माथि सरेको छ।

लाङटाङ लिरूङ क्षेत्रमा सन् २०२५ को अक्टोबरमा असाधारण वर्षा भएको थियो। त्यसपछि आएको गर्मी मौसमसँग मिलेर उक्त पानीले पछिल्ला महिनामा पग्लिने पानीको स्रोतका रूपमा भूमिका खेलेको हुन सक्ने अध्ययनले अनुमान गरेको छ।

२०७२ वैशाख १२ र २९ को भूकम्पको सम्भावित प्रभावको रूपमा पनि यसलाई लिन सकिन्छ कि सकिँदैन भनेर पनि अध्यन गरेका थिए। उनीहरू साझा निष्कर्षमा पुगे– भदौ १० को घटनाको अर्को सम्भावित पृष्ठभूमि सन् २०७२ वैशाखको गोरखा भूकम्प हो।

७।८ म्याग्निच्युडको उक्त भूकम्पले लाङटाङ क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। भूकम्पपछि उच्च हिमाली क्षेत्रमा पहिराका गतिविधि लामो समयसम्म अविच्छिन्न रहेको देखिएको छ। लाङटाङ लिरूङ क्षेत्रमा मात्रै होइन, त्यसभन्दा पूर्व र पश्चिम दुवैतर्फ यो क्रम तीव्र थियो। यसले भूकम्पले चट्टानका संरचना पहिल्यै कमजोर बनाएको हुन सक्ने सम्भावना देखाउँछ। तर गत भदौ १० को घटनामा २०७२ वैशाख १२ र २९ को भूकम्पको योगदान कति थियो भन्ने अझै निश्चित भएको छैन। 

त्यसैले वैज्ञानिकहरूले यसलाई प्रत्यक्ष कारण नभई सम्भावित पूर्व–कमजोरी का रूपमा हेरेका छन्। अब अर्को प्रश्न उठ्छ– भोटेकोशी महाप्रलयमा जलवायु परिवर्तनको भूमिका कति ? वैज्ञानिकहरूको साझा अध्ययनले मानवसिर्जित जलवायु परिवर्तनको प्रभाव पनि छुट्टै विश्लेषण गरेको छ। 

औद्योगिक युगअघिको तुलनामा अहिलेको जलवायु करिब १।४ डिग्री सेल्सियस बढी छ। अध्ययनअनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण ल्हेन्दे जलाधार क्षेत्रमा जुलाई–अगस्टको तापक्रम करिब १।५ डिग्री सेल्सियस बढेको देखिन्छ। वार्षिक हिसाबमा यस्तो वृद्धि करिब २ डिग्री सेल्सियससम्म पुगेको हुनसक्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ।

तर जलवायु परिवर्तन नभएको भए भदौ १० यही पहिरो हुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्नको प्रत्यक्ष अध्ययन भने नगरिएको प्रतिवेदनमा उल्लेख छ। त्यसका लागि वायुमण्डलीय तापक्रम, चट्टानभित्रको तापक्रम, पर्माफ्रोस्ट अर्थात् हिमढिक्का, दरारभित्रको पानीको दबाब र ढलानको यान्त्रिक अवस्थाबीच थप प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने अध्ययनमा उल्लेख छ।

तथापि तापक्रम बढ्दै जाँदा हिमनदी पातलिने, हिमढिक्का पग्लिने र उच्च क्षेत्रमा वर्षा बढ्ने अवस्थाले यस्ता भू–विपद्को जोखिम र सम्भावित तीव्रता बढाउन सक्ने अध्ययनको निष्कर्ष छ। यही तथ्यमा टेकेरै भदौ १० को घटनामा जलवायु परिवर्तनलाई आधार मान्नुपर्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका हुन्। उनीहरूको अध्ययनमा पूर्वसूचना प्रणालीको सीमाबारे पनि उल्लेख छ। 

नेपालमा नदीजन्य अथवा वर्षाजन्य बाढीका लागि पूर्वसूचना प्रणाली छन्, १० वटै ठूला नदीप्रणालीमा । तर २६ अगस्टको घटना सामान्य नदी बाढीभन्दा फरक थियो।  पहाड भत्कियो, चट्टान र बरफ मिसियो, विध्वंसकारी भेलबाढी बन्यो र त्यसले नदीमा ठूलो परिमाणको पानी तथा गेग्रान थप्यो। प्रलय अत्यन्त तीव्र र बहु–प्रकोपीय भएकाले सबैभन्दा प्रभावित क्षेत्रमा विद्यमान प्रणालीले पर्याप्त पूर्वसूचना समय दिन कठिन थियो।

यसले उच्च हिमाली क्षेत्रमा पूर्वसूचना मात्र होइन, जोखिमको स्रोतसम्म निगरानी पुर्‍याउनुपर्ने आवश्यकता देखाएको वैज्ञानिकहरूको साझा निष्कर्ष छ। 

अब प्रश्न उठ्छ– अब के गर्ने ? 

वैज्ञानिकहरूले उच्च हिमालयमा पृथ्वी अवलोकन, हिमनदी तथा हिमोढ तथा हिमढिक्काहरूको निरन्तर अनुगमन, चट्टानी ढलानको निगरानी, नदीको वास्तविक समयको बहाव मापन र जोखिम सञ्चार प्रणाली बलियो बनाउनुपर्ने बताएका छन्। नेपाल, चीन र अन्य हिमाली देश तथा वैज्ञानिक संस्थाबीच सीमापार तथ्यांक र ज्ञान आदानप्रदान पनि आवश्यक छ। तर सबै जोखिम पूर्वसूचनाबाट रोक्न सकिँदैन। उच्च हिमाली क्षेत्रमा बस्ती, सडक, जलविद्युत् र आर्थिक गतिविधि नदी उपत्यकासँग जोडिएका कारण मानिसलाई जोखिम क्षेत्रबाट पूर्ण रूपमा हटाउनु सामाजिक र आर्थिक रूपमा कठिन छ।

त्यसैले भविष्यको रणनीतिमा पूर्वतयारीसँगै विस्थापितको पुनःस्थापना, पूर्वाधार पुनर्निर्माण तथा जलवायुजन्य क्षति र नोक्सानी सम्बोधनलाई पनि समेट्नुपर्ने हुन्छ।  २६ अगस्टको रसुवा घटनाले यही एउटा ठूलो प्रश्न छोडेर गएको छ—
हिमालयमा विपद् सुरु भएको ठाउँ हामीले देखेको नदी किनार होइन, त्यसको हजारौँ मिटर माथि बदलिँदै गएको चट्टान, बरफ र पानीको सम्बन्ध हुन सक्छ।

२०६६ यता बढिरहेको तापक्रम, पातलिँदै गरेका हिमनदी, पग्लिँदो पर्माफ्रोस्ट र उच्च क्षेत्रमा बदलिँदो वर्षा–हिमपातको स्वरूपले हिमालयको जोखिमको आधार नै परिवर्तन गरिरहेको छ।

र भदौ १० ले त्यो परिवर्तन कति विनाशकारी शृंखलामा परिणत हुन सक्छ भन्ने देखाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...
बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोले ३१८ मेगावाटभन्दा बढी जलविद्युत् प्रभावित, प्रसारण संरचना पुनःस्थापनामा प्राधिकरण

बाढीपहिरोका कारण जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा पुगेको क्षति मर्मत गरी विद्युत् आपूर्ति व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापनाको काम तीव्र पारेको छ।

भर्खरै