काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागको अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ । यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ ।
बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ ।
कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ ।
सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेकार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।
विपद् प्राधिकरणले जारी गर्यो अलर्ट
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्नव चक्रपात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । प्राधिकरणले ८ बुँदे अलर्ट नै जारी गरेको छ ।
• धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य कार्तिक १२ गते, बिहीबार अगाडि नै गर्ने, गराउने।
• पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने।
• आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने, गराउने । सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पु-याउने व्यवस्था मिलाउने ।
• सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने ।
• सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने । प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
• जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचना/ चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने ।
• यस प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनी पालना गर्ने, गराउने।
• मौसमसम्बन्धी जानकारीका लागि ११५५. विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने ।