नेभिगेशन
समाज

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

राँझा (बाँके) । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताए ।

Extreme Energy

“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन”, उनले भने, “यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पखाइमा बिताउन बाध्य भएका छौँ ।” सास वा लास केही फेला नपर्दा आफूहरु सामाजिक संस्कार गर्न नपाएको रोकायले बताए । 

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको दुई महिना पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताए । 

बुढेशकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । सासको आश मारिसके पनि लाससमेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताए ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ”, अनलालले भने, “डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असैह्य पीडाबीच विछोडको भारी थाम्न विवश छौँ ।”

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उनको भनाइ छ । 

अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका थिए । डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकेको बताउँदै उनले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिए ।

“सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौं”, अनलालले भने, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौं, सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोँच बनाएका छौँ ।”

रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुवा फर्किने बाटो हेरिरहन्छन् । डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसेको सुभासले बताए । 

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताए । उनले बेपत्ताको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजना जस्ता बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको बताए ।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनकाअनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । 

भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ जना हालसम्म बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना...
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।