नेभिगेशन

समाज

मोदीसँगै रेड कार्पेटमा प्रधानमन्त्री बालेन

काठमाडौं। सोमबार बिहान साढे १० बजे। राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बालेन शाहको प्रतीक्षा थिए। जसै बालेन शाह कारकेडबाट ओर्लिए। मोदीले उनको भव्य स्वागत सत्कार गरे। मोदीको आतिथ्यतामा दुई देशबीचको सदियौं पुरानो सम्बन्ध, भाइचार र आपसी सद्भाव प्रतिविम्बित भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवनमा बालेन शाहलाई ओछ्याइएको रेड कार्पेट र दुई प्रधानमन्त्रीको आलिंगनले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा पनि गरिएको छ।

सोमबार नै प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको टुकडीले गार्ड अफ अनर अर्थात् सम्मान गारत अर्पण गर्‍यो।

विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई राजकीय भ्रमणका क्रममा दिइने यस्तो सम्मानलाई सामान्य औपचारिक स्वागतका रूपमा मात्र लिइँदैन। यो आयोजक राष्ट्रले अतिथि राष्ट्र, त्यसको सरकार र द्विपक्षीय सम्बन्धलाई दिएको कूटनीतिक महत्त्वको प्रतीक रूपमा लिइने गरेको छ।

राष्ट्रपति भवनको विशेष प्रांगणमा आयोजित समारोहमा भारतीय सेनाको टुकडीले निर्धारित सैन्य पोसाकमा प्रधानमन्त्री शाहलाई सम्मान गारत अर्पण गरेको थियो। भारतीय प्रधानमन्त्री मोदी स्वयं स्वागतका लागि उपस्थित थिए। समारोहमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहित दुवै देशका उच्च सरकारी अधिकारी सहभागी थिए।

भारतको राष्ट्रपति भवनमा विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक स्वागत गर्ने परम्परा छ। राष्ट्रपति भवनको फोरकोर्ट यसै प्रयोजनका लागि प्रयोग गरिन्छ। राजकीय भ्रमणमा आउने विशिष्ट अतिथिलाई सैन्य सम्मान प्रदान गर्नु त्यसैको महत्त्वपूर्ण हिस्सा हो।

गार्ड अफ अनरमा सैनिक टुकडीले परेडसहित अतिथिलाई सलामी दिन्छ। कतिपय समारोहमा सैनिक ब्यान्डले राष्ट्रिय धुन बजाउँछ भने अतिथिले सैनिक टुकडीको निरीक्षणसमेत गर्छन्। यस्तो सम्मानले भ्रमणको औपचारिक स्तर र दुई देशबीचको सम्बन्धको महत्व झल्काउने गरेको छ।

प्रधानमन्त्री शाहले भारतमा पाएको सम्मानलाई नेपालको नयाँ राजनीतिक नेतृत्वसँग भारतले उच्चस्तरीय सम्बन्ध अघि बढाउन खोजेको संकेतका रूपमा पनि हेरिएको छ। प्रधानमन्त्री बनेपछि भारतको यो उनको पहिलो द्विपक्षीय भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भएको दुईदिने भ्रमणमा द्विपक्षीय सम्बन्धको समीक्षा, आर्थिक सहयोग, ऊर्जा, व्यापार, पूर्वाधार र कनेक्टिभिटीका विषयमा छलफल हुँदैछ।

नेपालका प्रधानमन्त्रीले भारतमा यस्तो सम्मान पाएको यो पहिलोपटक भने होइन। यसअघि सन् २०१८ अप्रिलमा भारतको राजकीय भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिएको थियो।

रोचक पक्ष के छ भने प्रधानमन्त्री शाहले भारत प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत औपचारिक बिदाइ समारोह र गार्ड अफ अनर लिएका थिएनन्। उनले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदासमेत त्यस्तो औपचारिकता अपनाएका थिएनन्।

तर भारतमा भने उनले राजकीय भ्रमणअनुसारको औपचारिक सैन्य सम्मान पाए। यसले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैलीभन्दा अलग राज्यहरूबीचको कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय प्रोटोकलको महत्त्व देखाउँछ।

हैदरावाद हाउसमा अहिले प्रधानमन्त्री मोदी र बालेनबीच दुई पक्षीय वार्ता भइरहेको छ। अर्को भिडिओमा हामी दुई पक्षीय भेटवार्तामा केके कुराकानी भयो भनेर विस्तृतमा बताउनेछौं।

गार्ड अफ अनर कुनै व्यक्तिको व्यक्तिगत लोकप्रियताको सम्मान होइन। यो पद, भ्रमणको प्रकृति र राज्यको कूटनीतिक मर्यादामा आधारित सैन्य सम्मान हो। त्यसैले राष्ट्रपति भवनमा शाहलाई दिइएको सम्मानलाई नेपाल र भारतबीचको औपचारिक सम्बन्धको महत्वपूर्ण कूटनीतिक संकेतका रूपमा बुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्