काठमाडाैँ । गत भदौ १० गतेको विनाशकारी बाढीले तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्यायो। झण्डै १५ सयको मुत्यु भयो। पाँच हजार जनाभन्दा बढी बेपत्ता भए। हजारौं रोपनी खेतीयोग्य जमिन। २० भन्दा बढी बजार क्षेत्र, हजारभन्दा बढी निजी आवास, विद्यालय, सरकारी तथा व्यावसायिक भवनहरू बाढीको निशानामा परे।
यो महाविनाश नसोचेको विपत्ति थियो। धेरै जना भाग्दा भाग्दै बगे भने धेरैले पत्तो नै पाएनन् । घटना कुनै रातिमा भएको थिएन, सबै ब्युझिसकेपछि झलमल्ल उज्यालोमा भएको थियो । तर पनि धेरै जनाले भेउ नै पाएनन् । बाढीले केही समयमै सबै तहसनहस बनायो ।
भोटेकोशी नदीको उर्लँदो भेल र त्यसले निम्त्याएको जनधनको अपूरणीय क्षति नेपालको विपद् व्यवस्थापन इतिहासमा कहिल्यै नमेटिने घाउ हो। हिमताल विस्फोटन होस् वा अविरल वर्षापछिको आकस्मिक बाढी, भोटेकोशी तटीय क्षेत्रका बासिन्दाका लागि बर्सेनि वर्षायाम त्रासको पर्याय बन्दै आएको छ। विगतका भयानक बाढीका घटनाहरूमा एउटा साझा कमजोरी सधैं खट्किरहन्थ्यो— त्यो हो, 'समयमै सूचना नपुग्नु'। माथिल्लो तटीय क्षेत्रमा बाढी आइसकेको सूचना तल्लो तटीय क्षेत्रका बासिन्दाको मोबाइलसम्म पुग्दा कि त नेटवर्क जाम भइसकेको हुन्थ्यो, कि त सामान्य एसएमएसको ढिलासुस्तीले मानिसहरूलाई सुरक्षित स्थानमा सर्ने समय नै मिल्दैनथ्यो। यही भोटेकोशीको त्रासदीपूर्ण पाठलाई आत्मसात् गर्दै अब भने नेपालले विपद् पूर्वसूचना प्रणालीमा ऐतिहासिक फड्को मारेको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले नेपालमै विकसित अत्याधुनिक ‘सेल ब्रोडकास्ट प्रणाली’ (सेल ब्रोडकास्ट सिस्टम) को प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। सोमबार साँझ काठमाडौंको बलम्बुस्थित नेपाल टेलिकमको प्राविधिक परीक्षण भवनमा गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको प्रत्यक्ष उपस्थितिमा यो प्रणालीको सफल परीक्षण गरिएको हो। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको संयुक्त समन्वयमा सम्पन्न यो परीक्षणलाई नेपालको विपद् जोखिम न्यूनीकरण अभियानमा 'गेम चेन्जर' मानिएको छ।
सूचना प्रणालीमा विगतको कमजोरी
नेपालजस्तो भूपरिवेष्टित र पहाडी भूगोल भएको मुलुकमा हिमनदी ताल विस्फोटन, आकस्मिक बाढी र पहिरोको जोखिम सधैं उच्च रहन्छ। विशेषगरी भोटेकोशी करिडोरमा विगतमा आएका श्रृंखलाबद्ध विनाशकारी बाढीले अर्बौंको भौतिक संरचना ध्वस्त पार्नुका साथै कैयौं नागरिकको ज्यान लियो। ती विपद्हरूको समीक्षा गर्दा विज्ञहरूले एउटै निष्कर्ष निकालेका थिए— यदि जोखिम क्षेत्रका नागरिकको हातमा रहेको मोबाइल फोनमा विपद् आउनुभन्दा १५–२० मिनेट अगाडि मात्रै पनि स्पष्ट चेतावनी सन्देश पुग्न सकेको भए मानवीय क्षति शून्यमा झार्न सकिन्थ्यो।
विगतमा प्रचलित सामान्य एसएमएस प्रणाली विपद्का बेला निकै कमजोर साबित हुने गरेको थियो। सामान्य एसएमएस पठाउँदा प्रत्येक व्यक्तिको मोबाइल नम्बर छनोट गरी पालैपालो सन्देश पठाउनुपर्छ। विपद्को समयमा एकैपटक लाखौं मानिसले फोन गर्दा नेटवर्क जाम हुने भएकाले एसएमएस घण्टौंपछि मात्र डेलिभर हुने वा कतिपय अवस्थामा पुग्दै नपुग्ने समस्या थियो। अझ सामान्य म्यासेज आउँदा मोबाइलमा सानो घण्टी मात्र बज्ने भएकाले रातिको समयमा सुतेका नागरिकले त्यो सूचना थाहा नै पाउँदैनथे।
के हो स्वदेशमै बनाइएको ‘सेल ब्रोडकास्ट प्रणाली’ ?
नेपाली दक्ष प्राविधिक जनशक्तिद्वारा स्वदेशमै विकास गरिएको सेल ब्रोडकास्ट प्रणालीले विगतका यी सबै प्राविधिक सीमाहरूलाई चिरेको छ। यो मोबाइल सञ्जालमा आधारित यस्तो प्रविधि हो, जसले व्यक्तिगत मोबाइल नम्बर नखोजीकनै निश्चित भौगोलिक क्षेत्र (मोबाइल टावरको कभरेज क्षेत्र) भित्र रहेका सबै मोबाइल फोनहरूमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्छ।
यस प्रविधिको सबैभन्दा सबल पक्ष भनेको यसका लागि इन्टरनेट डाटाको आवश्यकता पर्दैन। सामान्य टु जी नेटवर्कमा समेत यसले उत्तिकै प्रभावकारी रूपमा काम गर्छ। बलम्बुमा गरिएको प्रारम्भिक परीक्षणमा पनि टु जी नेटवर्ककै माध्यमबाट तोकिएका मोबाइल उपकरणहरूमा नेपाली र अंग्रेजी दुवै भाषामा "परीक्षण सन्देश/टेस्ट अलर्ट - यो परीक्षण सन्देश हो" भन्ने सूचना सफलतापूर्वक पठाइएको थियो।
यस प्रणालीमार्फत चेतावनी पठाउँदा मोबाइलको स्क्रिनमा स्वतः सूचना (पप-अप) देखिन्छ र फोन साइलेन्ट मोडमा भए पनि विशेष प्रकारको चर्को चेतावनी ध्वनि (अलार्म) तथा कम्पन (भाइब्रेसन) बज्छ। यसले गर्दा मध्यरातमा मस्त निद्रामा रहेका नागरिकसमेत तुरुन्तै ब्युँझिएर सुरक्षित स्थानतर्फ भाग्न सक्छन्। साथै, देशभर अनावश्यक त्रास नफैलाइकन जुन नदी वा पहाडको तटीय क्षेत्रमा जोखिम छ, त्यही क्षेत्रको टावरमा मात्र लक्षित गरी सन्देश पठाउन सकिने भएकाले यो अत्यन्तै वैज्ञानिक र भरपर्दो छ।
सरकारको सक्रियता र आगामी कार्ययोजना
भोटेकोशी र यस्तै अन्य ठूला विपद्बाट पाठ सिक्दै वर्तमान सरकारले प्रविधिमैत्री विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। विदेशी महँगो प्रविधि आयात गर्नुको साटो नेपाली इन्जिनियर र प्राविधिकहरूको सीपलाई प्रयोग गरेर स्वदेशमै यो प्रणाली विकास गरिनु आफैंमा गर्वको विषय हो। परीक्षण कार्यक्रममा उपस्थित गृहमन्त्री सुदन गुरुङ र सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै स्वदेशी प्रविधिको यो सफलताले विपद् व्यवस्थापनमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।
नेपाल टेलिकमको सञ्जालमा नियन्त्रित वातावरणमा गरिएको यो पहिलो चरणको परीक्षण सफल भएसँगै अब सरकारले यसको दायरा फराकिलो बनाउने तयारी थालेको छ। गृह मन्त्रालयका अनुसार आगामी चरणमा पर्यटकीय सहर पोखरामा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको सञ्जालमार्फत यसको परीक्षण गरिनेछ। त्यसपछि भोटेकोशी, कोशी, नारायणी, कर्णाली लगायतका बाढीको उच्च जोखिम रहेका नदी तटीय क्षेत्रहरूमा चरणबद्ध रूपमा परीक्षण र कार्यान्वयन गर्दै यसलाई देशव्यापी बनाउने लक्ष्य सरकारको छ।
यसको प्रयोगले हुने फाइदा
प्रकृतिले निम्त्याउने विपद्लाई रोक्न नसकिए पनि प्रविधिको सही उपयोगमार्फत त्यसबाट हुने मानवीय क्षतिलाई भने पक्कै रोक्न सकिन्छ। भोटेकोशीको भेलले बगाएका सपना र पीडाबाट सिकेर नेपालले विकास गरेको सेल ब्रोडकास्ट प्रणाली केवल एउटा प्राविधिक उपलब्धि मात्र होइन, यो लाखौं नेपालीको जीवनरक्षाको कवच हो। आगामी मनसुन र सम्भावित प्राकृतिक विपद्हरूमा अब नेपाली नागरिकले सूचनाको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने छैन; बरु आफ्नै खल्तीको मोबाइलले समयमै संकटको घण्टी बजाएर सुरक्षित स्थानतर्फ डोर्याउने सरकारी अधिकारीहरु बताउँछन्।
के भन्छ सञ्चार मन्त्रालय ?
सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्ताहरूलाई एकैपटक पूर्वसूचना सन्देश प्रवाह गर्न सकिने र यसले विशेषगरी बाढीपहिरोजस्ता विपद्को समयमा नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्याउने सञ्चार मन्त्रालयले जनाएको छ। आवश्यक थप प्राविधिक परीक्षण तथा तयारीपछि यस प्रणालीलाई बाढीको उच्च जोखिम रहेका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने योजना मन्त्रालयको छ। मन्त्रालयले विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा तथा जनधनको क्षति न्यूनीकरण गर्ने दिशामा यो परीक्षण महत्त्वपूर्ण प्रारम्भिक उपलब्धि भएको जनाएको छ।
अन्तर्राष्ट्रिय अभ्यास के छ?
अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार अन्तर्राष्ट्रिय स्तरमा सेल ब्रोडकास्ट प्रणाली विपद् पूर्वसूचना र सार्वजनिक सुरक्षाको एक स्थापित र प्रभावकारी प्रविधिका रूपमा व्यापक रूपमा प्रयोग भइरहेको छ। यो प्रविधि दुई दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहे पनि पछिल्लो समय संयुक्त राष्ट्रसंघको ‘सबैका लागि पूर्वसूचना’ पहल तथा विभिन्न देशका कानुनी व्यवस्थाका कारण यसको विश्वव्यापी विस्तार तीव्र बनेको छ।
संयुक्त राज्य अमेरिकामा वायरलेस इमरजेन्सी अलर्ट नामबाट सेल ब्रोडकास्ट प्रणाली सञ्चालनमा छ, जसले आँधी, बाढी, भूकम्प वा हराएका बालबालिकासम्बन्धी (अलर्ट) लक्षित चेतावनी तत्काल पठाउँछ । युरोपेली संघले सदस्य राष्ट्रहरूलाई सार्वजनिक चेतावनी प्रणाली लागू गर्न कानुनी समयसीमा तोकेपछि इयु-अलर्ट मापदण्डअन्तर्गत फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन, रोमानियालगायतका देशहरूले सेल ब्रोडकास्ट वा लोकेसन-आधारित प्रणाली सञ्चालन गरिरहेका छन्।
भूकम्प, सुनामी र चरम मौसमको उच्च जोखिम भएका जापान र दक्षिण कोरियालगायतदेशहरूमा सेल ब्रोडकास्ट निकै परिपक्व छ। जापानमा जे अलर्टले आपत्कालीन चेतावनी दिन्छ भने दक्षिण कोरियामा मौसम, जनस्वास्थ्य तथा सार्वजनिक सुरक्षाका सूचनाहरू मोबाइलमा छिटो पुर्याइन्छ।
एसिया प्रशान्त तथा अन्य क्षेत्रका फिलिपिन्स, न्युजिल्यान्ड, सिंगापुर, ताइवान, श्रीलंका तथा मध्यपूर्व र ल्याटिन अमेरिकाका थुप्रै देशमा यो प्रणाली प्रयोगमा छ। भारत, थाइल्यान्ड, ब्राजिल तथा प्रशान्त टापु राष्ट्रहरूमा पनि परीक्षण तथा चरणबद्ध विस्तारको क्रम अघि बढिरहेको छ।
अन्तर्राष्ट्रिय अनुभव हेर्दा सेल ब्रोडकास्ट लागू भएका देशहरूमा चेतावनी जारी भएको केही सेकेन्डमै उपयुक्त मोबाइल उपकरणहरूमा सन्देश पुग्ने र समग्र जनसंख्याको ठूलो हिस्सासम्म छिटो सूचना पुर्याउन सकिने देखिएको छ। यसैगरी प्रयोगकर्ताको व्यक्तिगत फोन नम्बर वा पूर्व-दर्ता आवश्यक नपर्ने भएकाले कुनै जोखिमयुक्त क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकको मोबाइलमा पनि स्वतः अलर्ट पुग्न सक्छ।
यसैगरी गोपनियताको लागि प्रयोगकर्ताको व्यक्तिगत नम्बर, लोकेसन ट्र्याकिङ वा गोप्य विवरण संकलन गरिरहनु पर्दैन; मोबाइल स्विच अन भई ब्रोडकास्ट अलर्ट स्वीकार गर्ने सेटिङमा रहे पुग्छ।
विपद् पूर्वसूचना प्रणाली बलियो बनाउन अरु के गर्दैछ सरकार ?
विपद् पूर्वसूचना प्रणाली निर्माण तथा विस्तारका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतको जल तथा मौसम विज्ञान विभागले सेल ब्रोडकास्टबाहेक अन्य विभिन्न प्राविधिक, संरचनागत र नीतिगत कामहरू अघि बढाएको छ।
सन् २०२२ देखि २०२८ सम्म सञ्चालन हुने ७.५४ मिलियन अमेरिकी डलर लागतको 'नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना' मार्फत ६ वटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली जडान र विस्तार गर्ने काम भइरहेको छ।
चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने योजना अघि सारिएको छ। बागमती सुधार आयोजनाअन्तर्गत २ करोड ६१ लाख रुपैयाँको लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली विकास गर्ने कार्यक्रम लागू गरिएको छ।
सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने 'ग्लोफ संजीवनी आयोजना' (लागत ४९.९ मिलियन अमेरिकी डलर) अन्तर्गत जोखिममा रहेका चारवटा ठूला हिमतालको पानीको सतह घटाउने र वैज्ञानिक अध्ययन गर्ने योजना अघि बढाइएको छ।
हिमताल तथा हिमनदीको नियमित अनुगमनका लागि स्वचालित हिमजल मापन केन्द्र, हिम मापन केन्द्र र हिमताल क्यामेरा सञ्जाल सञ्चालनमा ल्याइएको छ। साथै, झुन्डिएका हिमचट्टान र पग्लिँदो हिमनदी निगरानी गर्न वैज्ञानिक, विज्ञ र युवालाई जोड्ने कार्यक्रम समेत अघि सारिएको छ।
मनसुनको उच्च जोखिम हुने अवधि (जेठ १ देखि असोज मसान्तसम्म) नदीको बहाव र जलस्तर विश्लेषण गर्न २४ सै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। अब वर्षा वा बाढी आउँछ भन्ने जानकारी मात्र नभई त्यसले कुन क्षेत्र, बस्ती वा भौतिक पूर्वाधारमा कति क्षति पुर्याउन सक्छ भन्ने आकलनसहितको पूर्वसूचना दिने प्रणालीलाई प्राथमिकता दिइएको छ।
सर्वसाधारणले बाढीसम्बन्धी जानकारी लिन र दिन टोल-फ्री नम्बर ११५५ सञ्चालनमा छ भने विशेष बुलेटिन र सामाजिक सञ्जाल (नेपाल बाढी सूचना) मार्फत नियमित अपडेट प्रवाह गरिन्छ। काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा आकस्मिक बाढीको जोखिम घटाउन वर्षा मापन र सहरी बाढी मोडलिङ प्रणाली विकास गर्न लागिएको छ। यसअन्तर्गत स्थानीय तह (महानगर तथा नगरपालिकाहरू) सँग सहकार्य गरी बाढी आउनुअघि नै सिधै वडा र घरपरिवारसम्म सूचना पुर्याउने संयन्त्र बनाइँदै छ।
मन्त्रालयले जल तथा मौसम विज्ञान नीति लागू गर्नुका साथै जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्रहरू सार्वजनिक गरी बहुविपद् (बाढी, पहिरो, हिमपहिरो, गेग्रान बहाव र चक्रवातको प्रभाव) को एकीकृत पूर्वानुमान प्रणाली विकास गर्ने रणनीति लिएको छ।