काठमाडौँ । २०८१ चैत १७ गते ५ दिन । चैत २० गते ६ दिन । चैत २६ गते १५ दिन । २०८२ वैशाख १० गते ३ दिन । वैशाख १४ गते ७ दिन । वैशाख २१ गते ५ दिन । वैशाख २५ गते ५ दिन । यो रविन्द्र मिश्रलाई थुन्नका लागि ७ पटक सम्म अदालतले आदेश गरेको मिति र दिन हो ।
बिबिसीमा मुसुक्क हाँस्दै नेताहरूलाई प्रश्नले हायलकायल पार्ने रविन्द्र मिश्रले अहिले आफैँ हायलकायल भएका छन् । पहिले नेताहरूलाई प्रश्नबाट उम्कनै नदिने मिश्र अहिले आफैँ प्रहरीको पञ्जाबाट उम्कन सकेका छैनन् । उनलाई नमस्कार भन्ने समेत अनुमति छैन अहिले त ।
वैशाख १४ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालत पेश गरिएको थियाे । मिश्रको हातमा हतकडी थियो । उनी हात जोडेर नमस्कार गर्न खोज्दै थिए । तर प्रहरीले यसरी ठेले कि मानौँ उनको नमस्कारले देशमा ठुलै हलचल आउन सक्छ ।
यो दिन मात्रै होइन हरेक दिन मिश्रलाई हातमा हतकडी लगाएर अदालत लगिन्छ र सकेसम्म उनलाई छेक्ने काम गरिन्छ ।
रविन्द्र मिश्रलाई थुन्नका लागि अदालतले अहिलेसम्म ७ पटक म्याद थप गरेको छ । उनी ४० दिनभन्दा बढी समय हिरासतमा बसिसकेका छन् । यो सबै भइरहँदा जति सकिन्छ धेरै दिन थुन्नकै लागि यस्तो गरेको हुनसक्ने आरोप लाग्न थालेको छ ।
उनीमाथि लागेको आरोप के हो भने उनी चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सहभागी थिए । त्यो दिन भएको हिंसामा उनी जिम्मेवार रहेकाे सरकारकाे ठहर छ।
तर राप्रपा र राजावादी सङ्गठनहरूले उक्त दिनको हिंसा भड्काउनमा आफूहरूको भन्दा पनि राज्यका निकायको ठुलो भूमिका रहँदै आएका बताउँदै आएका छन् । उनीहरूले बिच बाटोमा गोली ठोकेर मान्छे मार्नेलाई कारबाही गर्नुपर्दैन भन्दै प्रश्न गर्दै आएका छन् । उनीहरूले निष्पक्ष छानबिनको लागि न्यायिक छानबिनको माग गर्दै आएका छन् ।
तर राज्यले सुनेको छैन । सरकारले न्यायिक छानबिनको आवश्यकता नरहेको बताउँदै आएको छ । र राज्यले हिंसा भड्काएको भन्ने आरोप लाग्दै सार्वजनिक भएका भिडियोलाई प्रहरीले डिपफेक भन्दै टार्दै आएको छ ।
२०८१ चैत १५ गते तीनकुनेमा गरिएको प्रदर्शनमा के भयो हामी सबैलाई थाहा छ । उक्त दिन कसले के के गरे भन्नेबारे हामीले यसअघि नै भिडियो मार्फत गराइसकेका छौँ ।
त्यो दिन राजसंस्था पुनर्स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिको आयोजनामा प्रदर्शन गरिएको थियो । राजावादीहरूले राजसंस्था पुन स्थापनाका लागि हुने आन्दोलनको कमान्डर तोकेका थिए दुर्गा प्रसाईँलाई । उक्त प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि समर्थन गरेको थियो । सोही कारण उक्त प्रदर्शनमा पुगेका थिए राप्रपाका महामन्त्री धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ।
उनले सोही दिन आफ्नो आधिकारिक फेसबुकमा उनी त्यहाँ हुँदाका बखत भएका गतिविधिहरुहरु सार्वजनिक गरेका छन् ।
उनले साँझ आफ्नो फेसबुकबाटै नवराज सुवेदीको वक्तव्य पनि सार्वजनिक गरेका थिए ।
तर त्यसको केही समयमै उनी पक्राउ परे । अर्थात् उनलाई चैत १५ गते राति प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै राप्रपाका महामन्त्री धवल शमशेर जबरा तथा अधिवक्ता स्वागत नेपाल लगायत सय भन्दा बढीलाई पक्राउ गरिएको थियो । उक्त दिन शुक्रवार थियो ।
स्वागत नेपाललाई भोलिपल्टै छोडियो । मिश्र र जबरा सहित पक्राउ परेका दजनौँलाई आइतबार अर्थात् १७ गते अदालत पेश गरियो । सो दिन उनीहरूमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप दिइयो । १५ गते पक्राउ गरिएकोले अगाडीको २ दिन समेत जोड्दा २० गते अदालतले दिएको ५ दिन सकियो । २० गते पुन अदालत उपस्थित गराइयो । सो दिन ६ दिनको म्याद थप भयो ।
त्यसपछि २६ गते पुनः अदालत उपस्थित गराइयो । सो दिन १५ दिन म्याद थप भयो । २०८१ चैत २८ गते उक्त प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईँ भारतमा पक्राउ परे । प्रहरीले २९ गते मात्रै झापाबाट पक्राउ परेको जनायो । उनलाई सोही दिन काठमाडौँ ल्याएर अदालत पेश गरियो र अदालतले रविन्द्र मिश्रसँगै म्याद मिलान हुने गरी १२ दिनको म्याद दिइयो । यो बिचमा वैशाख ७ गते धवलशम्शेर जबरा छुटे । उनलाई स्वास्थ्य उपचारको लागि हाजिरी जमानीमा छोडियो ।
वैशाख १० गते मिश्र, प्रसाईँ सहित नेता कार्यकर्ताहरूलाई अर्को तीन दिनको म्याद थप गरियो । त्यसै गरी वैशाख १४ गते ६ दिन, वैशाख २१ गते ५ दिन र २५ गते फेरि ५ दिनको म्याद थप भएको छ ।
कुन कुन कसुरमा हुँदै छ अनुसन्धान ?
वैशाख २५ गते अघि रविन्द्र मिश्र विरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको थियो । यी दुई कसुरमा उनको बयान पनि भइसकेको थियो । तर २५ गते अदालत पेश गर्दा प्रहरीले अर्को कसुर पनि थप गरेको छ । त्यो हो, आपराधिक उपद्रव पनि थप गरेको छ । अर्को कसुर पनि थप गरिएपछि रविन्द्र मिश्रले इजलासमा न्यायाधीशकै अगाडी आफ्नो निधारमा राज्यले अर्को एउटा कालो टिका लगाइदिएको भन्दै दुखेसो पोखेको उनका कानुन व्यवसायीले सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् । उनले न्यायाधीशसामु आफूले कुनै अपराध नगरेको र सरकारको यस्तै खालको नियत रहिरह्यो भने नेपालमा कोही पनि बस्न नचाहने बताएका थिए ।
उनले यसअघि पनि आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका थिए ।
२५ गते तीनकुने प्रकरणमा पक्राउ परेर राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र आपराधिक उपद्रव तीन ओटै कसुरमा अनुसन्धान भइरहेका २७ जनामाथि ५ दिनको म्याद थप भएको छ भने आपराधिक उपद्रव कसुरमा मात्रै अनुसन्धान भइरहेका २७ जनालाई भने ७ दिनको म्याद थप गरिएको छ ।
२५ गते नै काठमाडौँ प्रहरी परिसरले तीनकुने प्रदर्शनपछि पक्राउ परेका ३६ जनालाई हाजिरी जमानीमा छोडेको छ । प्रहरीले आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जनालाई छोडेको हो । यी दुई कसुरमा अनुसन्धान भइहरेका ५२ अझै पनि प्रहरीको हिरासतमै छन् । आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका २१ जनालाई यसअघि नै रिहा गरिएको थियो ।
राजनीति प्रतिशोध साँधेको आरोप
यी सबै भइरहँदा रविन्द्र मिश्रमाथि राज्यले प्रतिशोध साँधेको आवाजहरू चर्किन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले त आफ्नो सभापति रवि लामिछाने र रविन्द्र मिश्रमाथि राज्यले गरेको व्यवहार उस्तै भएको बताएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले त सार्वजनिक रूपमै रविन्द्रलाई रिहा गर्न माग गरेका छन् ।
राप्रपाले त पटक पटक आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै सरकारलाई चेतावनी दिँदै आएको छ । राप्रपाले आफ्ना नेताको रिहाइका लागि विभिन्न प्रदर्शन, तथा कार्यक्रमहरु गर्दै आएको छ ।
२५ गते नै राजावादी दल तथा सङ्गठनहरूले जेठ १५ गतेबाट अर्को जनआन्दोलन घोषणा गरेको छ । उनीहरु राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गरेरै छाड्ने पक्षमा देखिएका छन् । तर राज्य राजतन्त्रको पक्षमा उठेको आवाजलाई दबाएरै छोड्ने पक्षमा देखिएको छ । मिश्रको राज्यसँगको लडाइँ कति लामो चल्ने हो अदालतको हातमा छ ।||