नेभिगेशन
समाज

सिथि नखः पर्व मनाउँदै नेवार समुदाय (तस्विरहरु)

भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् ।  सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व छ । यो चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडका रूपमा मनाइन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

sithinkaha_9-1748756161.jpg
भगवान कुमारको जन्मदिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका पकवान बारा खाने प्रचलन छ । यस वर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन पनि रहेको छ ।

Ncell
Extreme Energy

sithinkaha_5-1748756160.jpg

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

sithinkaha_7-1748756160.jpg
सिथि नखःको दिन किसानले खेतबारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेका गाईवस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्छन् । त्यसपछि आफ्नो घर सफा गरी सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन् । यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यता छ ।

संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको बताउनुहुन्छ । पहिलो सिथि नखः महादेव पार्वतीका ज्येष्ठ सुपुत्र कुमारको जन्मदिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रूपमा लिइन्छ । गणेश देवताका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँजस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको उनले जानकारी दिए । 

sithinkaha_8-1748756160.jpg
नेवार समुदाय कला, संस्कृति र सांस्कृतिक मनोरञ्जनका पारखी हुन्छन् । उनीहरु वर्षभरि अनेकथरि कला, सांस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन् । 

नेवारीमा प्रचलित एउटा भनाइ छ, “मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः” अर्थात् “मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ”, भन्ने मान्यताले पनि धानखेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । 

यस्तो अवसरमा किसानलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले पनि तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन छ ।

धानखेती धेरै मेहेनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन छ । साथै नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलन पनि रहेको छ ।

यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायत पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । साथै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपीठहरूको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ । 

नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो 

सिथि नखः पर्वका अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीको दिन मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।

सिथि नखःको अवसरमा बिहानैदेखि सर्वसाधारण भक्तजनका लागि दर्शन गराउन बिहान ५ः०० बजेदेखि ढोका खुला गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिए ।

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा आरधना गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष प्रकारका बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठीपारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायत पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

sithinkaha_4-1748756159.jpg
भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गागणको पूजा गरी मास, मुगी, केराउलगायत दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढी (नयाँ गहुँले मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी)समेत खाने गरिन्छ । साथै चतामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने चलन छ ।

मल्लकालदेखि मान्दै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमि नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ ।

sithinkaha_3-1748756159.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन्।
बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटका सन्र्दभमा सुझाव लिएका हुन्।