काठमाडौँ । युवराज कंडेल । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बिचौलियासँग घुस बुझाउन जाने महिला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ भएको खुलेको छ ।
पूर्व भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी रञ्जिताले कास्कीको काम नभएकाले आफूलाई तनाव भएकाले मन्त्रीले जसरी पनि गराइदिनुपर्ने भन्दै दबाब दिएको सुनिन्छ ।
सिधाकुराले यस अघि सामान्य प्रशासन मन्त्री गुप्तालाई बिचौलिया सुजन लामाले भूमि आयोग कास्की अध्यक्षको नियुक्तिका लागि भन्दै २५ लाख रुपैयाँ घुस डिल गरेका थिए । मालपोतका कर्मचारीको सरुवा रोक्नका लागि समेत काम गर्न मन्त्रीलाई दबाब दिएका थिए । उक्त अडियोमा मन्त्रीले काम नगरिदिँदा आफूलाई तनाव भएको भन्दै सुजन लामा र पूर्व मन्त्री रञ्जिताले दबाब दिएको अडियोमा सुनिन्छ ।
व्यापारीः मैले.....
महिलाः...हाम्रो मन्त्रीज्यूले एक पटक भन्दिनुपर्यो के बलरामलाई तपाईँ भनिस्यो न, केही पनि नमाने पनि भनिस्यो
व्यापारीः (मन्त्रीसँग) मेरो एउटा मान्छे पनि नबनाइदिने ? भन्नुस् त
मन्त्रीः मान्दैन,
सामान्य प्रशाासन मन्त्री गुप्ताले अर्का भूमिसुधार मन्त्री बलराम अधिकारीको नाम लिँदै उनले पैसा खाइसकेकाले आफूले भनेको नमान्ने उल्लेख गर्छन् । त्यसपछि रञ्जिताले कुन मन्त्रीले भनेको मान्छन् भनेर सोध्छिन् ।
साथै रञ्जिताले पुस २९ गते काम हुनुपर्ने र आफू उक्त दिन साह्रै व्यस्त भएको समेत सुनाउँछिन् । उनले बिचौलिया सुजन लामासँग आफूलाई निकै तनाव भएको सुनाउँछिन् । बिचौलिया लामाले भोलि तपाईँको काम भैहाल्छ नी ! भन्दै मन्त्री राजकुमार गुप्तालाई ‘मन्त्री ज्यू तपाईँले भन्दिनु पर्यो के' भन्दै दबाब दिएको सुनिन्छ ।
व्यापारीः (सोही स्थानमा भएकी अर्की महिलासँग कुराकानी गर्न थाल्छ) तपाईँलाई देख्दै हाँसो उठ्छ मलाई ।
महिलाः मलाई कति टेन्सन छ तपाईँलाई थाहा छैन ।
व्यापारीः तपाईँ टेन्सन नलिनु त । भोली समस्या हल भैहाल्छ त मन्त्रीज्यूले गरेर ।
महिलाः छोराको तिथिको जन्मदिन छ, उसलाई मन्दिर जानु छ । तिथि होइन त स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, ममिकोमा सगुन लिन जानु छ । भोली २९ गते अन्तिम दिन ।
व्यापारीः भोलिको दिन हुन्छ, सपथ ग्रहण अनि तपाई चुप लागेर बस्नुस् त....
महिलाः तपाईँकै अघि छ त...
व्यापारीले महिलासँग ः नकराउनु न तपाईँ, भोली गराउँला क्या । तपाईँको पनि समस्या उता... केही हुन्न बनाम् । मलाई पोखरा ... २५ मै ढुक्क भएको छ । तपाईँलाई थाहा छ कि नार्इँ ?
महिला : बुझ्या छु त, तपाईँको...
व्यापारी: म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ रे ।
महिला: चित्त दुखिहाल्छ नि बिचरा (फोन भाइब्रेसन...)
व्यापारी:छलफल चलिरा छ यहाँ ।
महिलाः कास्की जिल्ला....(फोन भाइब्रेसन...)
साथै उक्त अडियोमा रञ्जिताले डिल के गराैँ भनेको सुनिन्छ ।
महिलाः डिल कै गरौँ,
व्यापारीः भन्नु, डिल गरेर भन्नु त
व्यापारीः मन्त्रीज्यु, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको
व्यापारीः यसो हो,... पर्सी उहाँले सामान्यबाटै गर्दिनुहुन्छ
महिलाः मन्त्रीज्युका हातमा...
व्यापारी : मन्जुरी एस र नो भनेर आउँछ रे, उहाँहरूलाई केही आउँदैन (हाँस्दै)
यस विषयमा हामीले पूर्व मन्त्री समेत रहेकी सांसद रञ्जितालाई सोधेका थियौँ । उनले सुरुमा यस्तो डीलहरुमा आफू कतै सहभागी नै नभएको, आफूले मन्त्रीलाई नभेटेको भन्दै घुस डीलमा आफ्नो संलग्नता अस्वीकार गरिन् । आफूलाई थाहा नै नभएको बताइन् । फेरी हामीले घटनाक्रम सहित विवरण बताएपछि आफू व्यक्ति उपस्थित भएको हुनसक्ने, कुराकानी गरेको हुन सक्ने बताइन् । साथै उनले आफूले नियुक्त नगर्ने, आफ्नो जिल्लाको पनि नभएको भएपनि आफू उपस्थित भएर कुराकानी गरेको हुन सक्ने भन्दै स्वीकार गरिन् । उनले बारम्बार आफू उपस्थित भएको हुनसक्ने, कुराकानी गरेको हुन सक्ने बताइन् ।
पूर्व मन्त्री समेत रहेकी रञ्जिताले सुजनलाई समस्या परेका बेला सामान्य प्रशासन मन्त्री तथा सुजनका बिचमा आफू साक्षी रहेको स्वीकार गरेको अडियो पनि सार्वजनिक भएको छ । साथै उनले मन्त्रीलाई घुस खुवाउने सुजन लामाका विषयमा भने उनले नै थप विवरण दिइन् । हामीले सुजनलाई सहयोग गरेको त स्वीकार गर्नु भएको रहेछ नी ? भन्ने प्रश्नमा ‘दुनियाँलाई थाहा छ’ भन्ने जवाफ दिइन् ।
अनि हामीले उनलाई सुजनको बारेमा थप जिज्ञासा राख्यौँ । उनले उनी कर्मचारी नभएको, उनी पोखराको भएको बताइन् । उनले बुझ्नुहोला नी भन्दै टारिरहिन् ।
साथै उनले आफू सार्वजनिकरुपमा बस्दा, सदनमा माननीयहरुसँग भएका कुराकानी पनि रेकर्ड गरेर हाल्छन् भने आफूलाई मतलब नै नभएको बताइन् ।
हामीले छोराको जन्मदिनको प्रसंग पनि रहेछ, यौ अनौपचारिक कुराकानी भएर त भन्नु भएको होला नि ? भन्दा उनले जवाफ फर्काइन्, ‘अब त्यस्तै त होलानी ।’ र अन्तमा उनले तपार्इँले मेरै आवाज सुनेपछि त अब बुझ्नु न तपाईँले आफैँ भन्ने जवाफ दिइन् । साथै हामीले उनलाई २९ गते तपाईको छोराका जन्मदिन हो भनेर सोध्दा पनि मलाई थाहा भएन भन्ने जवाफ दिइन् । त्यसपछि फोन काटिन् । हामीले बिचौलिया सुजन लामालाई निरन्तर सम्पर्कको प्रयास गर्दा पनि उपलब्ध कुनै पनि नम्बरमा सम्पर्क हुन सकेन ।
मन्त्रीले बुझेको घुस पठाउने ठाउँ कहाँ हो ?
अडियो रेकर्डमा मन्त्री गुप्ताले जिल्ला भूमिसुधार कार्यालय कास्कीमा प्रमुखको थमौतीका लागि लिने रकम अर्को दिन सम्बन्धित ठाउँमा पुर्याउने भनेर अर्को शक्तिकेन्द्र पनि जोडेका छन् ।
अडियोमा बिचौलिया सुजन लामाले ‘सत्यनारायण हाम्रो गुरुजी हो । मन्त्रीज्यू म मगाइदिन्छु । र तपाईँ राख्नू’ भनेका छन् । जवाफमा मन्त्री गुप्ताले भनेका छन्, ‘राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ । सम्बन्धित ठाउँमा पुर्याईदिन्छु ।’
उनले सम्बन्धित ठाउँ कहाँ भने चाहिँ खुलाउँदैनन् । बरु बिचौलिया सुजनले बलराम अधिकारीले काम गर्दै गरेको भन्ने प्रसङ्गमा सामान्य प्रशासन मन्त्रीलाई नै ‘तपाईँसँग सय वटा काम पर्छ त्यसको भनेको, तपाईँको एउटा काम नगर्दिएर हुन्छ ? त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । ‘बा’ ले समेत भने होलान् उस्तै परे’ भन्दै दबाब दिएको सुनिन्छ ।
मन्त्रीले भनेको सम्बन्धित ठाउँ कहाँ हो रहस्यमय नै छ । तर मन्त्रीले घुस डील गरेको अडियो रेकर्ड सार्वजनिक मात्रै होइन, बहालवाला मन्त्री विरुद्ध उनलाई बुझाएको नगदको नम्बर र अडियो रेर्कड सहित अख्तियारमा उजुरी दर्ता भएको ३ सातासम्म पनि प्रधानमन्त्रीले कुनै कदम चालेका छैनन् ।