नेभिगेशन
मुख्य समाचार

रवि पत्नी निकिता भन्छिन :  गृहमन्त्री लेखकले मेरापछि प्रहरी लगाए, आफ्नै कार्यकक्षमा न्यायाधीश विरुद्ध उजुरी लेखाए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकले शक्तिको दुरुपयोग गर्दै न्यायालय नै प्रभावित पारेको गुनासो गरेकी छिन् । 

फेसबुकमा लामो स्टाटस राख्दै पौडेलले अदालतको आदेशलाई समेत गृहमन्त्री लेखकले निर्देशन दिएर रोक्ने गरेको, रविको मुद्दामा पेसी चढेपछि गृहमन्त्रीकै कार्यकक्षमा अदालत र न्यायाधीश विरुद्ध उजुरी तयार गरेको आरोप लगाएकी छिन् । 

साथै आफू कारागारमा श्रीमान् भेट्न घरबाट निस्किएपछि आफ्नापछि गृहमन्त्री रमेश लेखकले गृह प्रशासन मातहतका सङ्गठन तथा संरचना लगाएको गुनासो गरेकी छिन् । 

उनको स्टाटस् यस्तो छः

'गृहमन्त्री रमेश लेखकजी नमस्कार,

आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ?

अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ,

तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?

उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ? मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ? न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो ऑट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना ?

मैले केही सांसदहरूले भनेको सुनेको थिएँ न्यायाधीशहरूलाई प्रधानमन्त्रीको, कानुनमन्त्रीको, गृहमन्त्रीको सिधै फोन जान्छ तर, त्यति बेला मलाई त्यो कुरा विश्वास लागेको थिएन। आज मैले त्यो किन विश्वास नगर्ने?

सम्माननीय प्रधान न्यायाधीश ज्यू,

अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?

न्यायका दृष्टिकोणले,मानव अधिकारको दृष्टिकोणले जे भइरहेको छ के सही भइरहेको छ ?

आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौं। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ। कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्‍यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाईको सरकारसँग पंगा लिन आँट गर्ने को होला ? न्यायालयको यो हरिबिजोगले यो देश कसरी चलेको छ भन्ने कुराले म आश्चर्यचकित परेको छु। उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ। पेसी चढेकै दिन न्यायपरिषदमा उजुरी गएपछि अदालतमा स्वतन्त्र बहस गर्ने वातावरण कसरी बन्ला ? आम मान्छेले बुझेका छन् तर व्याख्या गर्न सक्दैनन् । व्याख्या गर्न सक्नेहरू रवि लामिछानेलाई राखेको काल कोठरीमा AC छ कि कुलर छ कि पंखा भनेर बहस गरिरहेका छन्।

हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ?

मेरो श्रीमान माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिका मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन् । उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।

सम्माननीय प्रधान न्यायाधीश ज्यू ,

तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन

समितिले भनेको छ, “देशका विभिन्न जिल्लामा अवस्थित कारागारहरूमा समयसमयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटना दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउने र कैदीबन्दीमध्येबाट नेतृत्व छनोट गरी...
प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नोे नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन्।
झुठ्ठा कथा सिर्जना गरेर सदनलाई सोसल मिडियाको लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाइयोः प्रधानमन्त्री ओली

झुठ्ठा कथा सिर्जना गरेर सदनलाई सोसल मिडियाको लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाइयोः प्रधानमन्त्री ओली

भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने उनले बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि...
राप्रपा निकट युवा संगठनको कार्यक्रममा लफडा, ज्योति लामाद्वारा समानान्तर समिति घोषणा (भिडियो)

राप्रपा निकट युवा संगठनको कार्यक्रममा लफडा, ज्योति लामाद्वारा समानान्तर समिति घोषणा (भिडियो)

बुधबार काठमाडौँमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको थियो । संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा...