नेभिगेशन
मुख्य समाचार

भाद्रकृष्ण अष्टमी: देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।
 
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।
 
राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।
 
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।
 
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रूपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिएका थिए  ।
 
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका (भाष्य) लेख्ने पनि धेरै छन् ।
 
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । 

कति ठाउँमा आजै त कति ठाउँमा भोलि रथयात्रा निकालिन्छ । अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुशियालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...