काठमाडौँ । नेपाल प्रहरीले नेपालका क्यासिनोमा चल्ने गरेको फिल्मी शैलीको खतरनाक ठगीको पर्दाफास गरेको छ । नेपालका क्यासिनोमा पैसा भएका र जुवाको लत लागेका धनाड्याहरु कसरी लुटिन्छन् भन्ने छर्लङ्ग नयाँ तथ्य खुलेको छ ।
मान्नुहोस् तपाई तपाईँ तीनपत्ती फ्लास खेल्दै हुनुहुन्छ । तर खेल्न बसेका एक जना व्यक्तिले पछाडिबाटै तपाईँलाई उसलाई के तास परेको छ भन्ने पहिल्यै थाहा हुन्छ । त्यसपछि त्यो खेल कस्तो होला ? नेपालको एक क्यासिनोमा यस्तै हुनेको गरेको पाइएको छ । बलिउड फिल्मलाई मात दिने गरी उच्चतम प्रविधिको प्रयोग गरी नेपालको क्यासिनोमा चल्ने गरेको ठगीधन्दा आजको द रिपोर्टरमा ।
पछाडीबाट चिन्नको लागि म्याग्नेटिक तास र विशेष आई लेन्स प्रयोग
यो क्यासिनोमा पहिले नै विशेष खालको म्याग्नेटिक तास प्रवेश भइसकेको हुन्छ । अनि त्यहाँ पहिले नै खेल्नको लागि केही खेलाडी बसेका हुन्छन् । उनीहरूले आँखामा विशेष खालको आइ लेन्स लगाएका हुन्छन् ।

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ खेल्ने गर्छन् । त्यसपछि त के चाहियो उनीहरूले सोझा धनाढ्य खेलाडीको सबै पैसा स्वाहा पारिदिन्छन् ।
इभेन्ट नै आयोजना गरी ठगी
उनीहरूले यसरी ठगी गर्नका लागि क्यासिनोमा इभेन्टको आयोजन गर्ने गरेका थिए । यसरी इभेन्ट आयोजना गर्नेमा महाकाय ग्रुपका सुरेश महाजन, बिपी ग्रुपका विनोद भन्ने जनार्दन उप्रेती, एनटी ग्रुपका नितेस ठाक्कर, नातिक ग्रुपका नातिक, आरजी ग्रुपका रजत गोयल, एसजी ग्रुपका सन्तोष गोयल र सेठी ग्रुपका अमित सेठी रहेका छन् ।
उनीहरूले काठमाडौँका बस्ने व्यवस्था गर्ने, पशुपतिनाथको दर्शन गराउने र साइट सिइङ गर्न पाइने भन्दै इभेन्टमा खेलाडीहरू ल्याउने गर्दथे । उनीहरूले मेरियट, एलफ्ट र र्याडिसन होटेलमा उनीहरूको बस्ने व्यवस्था गराएका हुन्थे । उनीहरूले डिसेम्बर ११ देखि १४ सम्म नेपालमा इभेन्ट गर्ने भन्दै विज्ञापन गरेका थिए ।

यो इभेन्टको मुख्य व्यवस्थापक महाकाय ग्रुपका सुरेश महाजन हुन् । उनले साथमा आफ्ना तर्फबाट खेल्ने डमी खेलाडीहरू पनि ल्याएका हुन्थे । ती खेलाडीहरूलाई भने होटेल एलफ्टमा राखिएको थियो ।
उनीहरूले होटेल एलफ्टमा ४० ओटा, होटेल मेरियटमा ५० ओटा र होटेल र्याडिसनमा २० ओटना रुम बुक गरेका थिए । त्यस्तै होटेल ह्यातमा सञ्चालित क्यासिनो प्राइडका सञ्चालक बिनय शाह र दावा सेट्टी भन्ने दावा शेर्पा लगायत अन्य केही नेपाली पनि यस ग्रुपको सम्पर्कमा रहेको पाइएको छ । यिनीहरूले विगत २ वर्षदेखि नेपालका क्यासिनोमा यसरी इभेन्टको आयोजना गर्दै आएका थिए ।
नेपालबाट भने बिपी ग्रुप र यसका खेलाडी यो इभेन्टमा सहभागी थिए । सो ग्रुपका बिनोद भन्ने जनार्दन उप्रेतीले इभेन्ट आयोजक, खेलाडीर कर्मचारीलाई होटेल,प्लेन टिकट, टेबल बुकिङको काम गर्दथे । उनले होटेल क्यासिनोको बिल भुक्तानी बिपी ग्रुपको नाममा गराउने गरेका थिए । त्यति मात्र होइन उनी नेपाली भए पनि सेटिङ मिलाएर आफै खेलमा समेत सहभागी भएको पाइएको छ ।
भारतबाट ल्याइन्थ्यो तास र लेन्स
क्यासिनोमा खेलाउनका लागि महाकाय ग्रुपका दिनेश वर्माले ५० प्याकेट म्याग्नेटिक तास र ४ सेट लेन्स भारतबाट खरिद गरेका थिए । बिपी ग्रुपका बिनोद भनिने जनार्दन उप्रेतीले १२ म्याग्नेटिक तास क्यासिनोमा प्रवेश गराएका थिए । ३८ प्याकेट सिल प्याक तास होटेलमा स्टक राखेका थिए ।
प्रहरीले २ सेट आई लेन्स र २ सेट आइलेन्सको खाली डब्बा बरामद गरेको छ । जसमा १ जोर आई लेन्स डमी खेलाडीले लगाइराखेको र खाली डब्बाको लेन्स गोरव खत्री र मोनु भन्ने निरज कुमार लगाएर फरार भएका थिए ।

ठगेको रकमको यसरी हुन्थ्यो बाँडफाँड
ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरि ईभेण्ट सञ्चालक सुरेश महाजन र दिनेश बर्मा बिच सहमति भएको समेत अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यसरी ठगी गर्ने गिरोहका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने ७ जना फरार रहेका छन् । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । त्यस्तै क्यासिनो सञ्चालक, विनोद भन्ने जनादैन उप्रेती, गौरब खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भन्ने फरार रहेका छन् ।
इभेन्टको नाममा स्क्याम चलाइएको वाल्डो क्यासिनोमा हङकङको एक कम्पनी र पेमा गुरुङको लगानी रहेको पाइएको छ । जसको पुँजी २ अर्ब बराबरको रहेको पाइएको छ ।
यो ठगीमा हुण्डीमर्फात कारोबार हुने गरेको पनि खुलेको छ । जसका लागि उनीहरूले विनोद नेपाल २ भन्ने वाट्एप ग्रुप सञ्चालन गरेको पाइएको छ । त्यो ग्रुपमा एउटा भारतीय १० रुपैयाँको नोटको फोटो छ । र त्यही फोटोमा भएको नम्बरलाई कोडका रुपमा प्रयोग गरेर उनीहरूले कहाँ कसरी पैसाको लेनदेन गर्ने भनेर कुरा गर्थे ।
जुन ग्रुपमा केजी भन्ने शब्द प्रयोग भएको छ । लाख भन्नको लागि उनीहरूले केजी भन्ने शब्द प्रयोग गर्दथे ।
यो धन्दाले नेपालको अर्थव्यवस्थामै ठूलो धक्का लागेको प्रहरीले जनाएको छ । यो प्रकरणमा क्यासिनो सञ्चालकको समेत कैफियत देखिएकाले सबै कोणबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
