गएको भदौ २३ दिउँसो- सुशासन माग्दै प्रदर्शनमा उत्रेका १९ युवा प्रहरीको गोली लागेर नयाँ बानेश्वरमा ढले। गोली कसले चलायो- प्रहरीले। स्पष्टै छ। तर, गोली हान्ने आदेश कसले दियो- यसको जवाफ छैन। जेनजी प्रदर्शनको करिब ६ महिनापछि बीबीसीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टले भनेको छ- ती नवयुवाहरुमाथि गोली चलाउन आदेश दिने अधिकारी तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ हुन्।
धेरैमा आशंका थियो- गोली चलाउन आदेश प्रहरी प्रमुखले दिए वा काठमाडौंका सिडिओले? बीबीसीको अनुसन्धानले भनेको छ- गोली चलाउन आदेश दिने पिटर वान हुन्। पिटर वान- प्रहरी महानिरीक्षकको कल साइन हो।
भदौ २३ र २४ गतेका घटना छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ र कार्की आयोग प्रतिवेदन लेखनको अन्तिम तयारीमा छ। तत्कालीन आईजीपी खापुङले कार्की आयोग सामु आफूले आदेश नदिएको दाबी गरे, सार्वजनिक सन्चारमाध्यममा पनि त्यही दाबी गरे। तर, बीबीसीले सार्वजनिक गरेको लग ले भने उनको त्यो दाबी मिथ्या सावित गरिदियो।
बीबीसीले लेखेको छ- सेप्टेम्बर ८ मा राजधानीमा मारिएका १९ जनामध्ये स्कुलको पोसाकमै रहेका एक किशोर पनि थिए, जसलाई भीडबाट टाढा जाँदै गर्दा टाउकोको पछाडि गोली हानिएको थियो ।
जेनजीहरु किन प्रदर्शनमा आए- बीबीसीले स्पष्ट भनेको छ- 'जेन जी' प्रदर्शनहरू राजनीतिक भ्रष्टाचार विरुद्धको हप्तौंदेखिको आक्रोशपछि सुरु भएका थिए। यी घटनाहरूले थप आन्दोलन निम्त्यायो, जसका कारण नेपालका प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो र त्यसको भोलिपल्टै सरकार ढल्यो ।
बीबीसी थुप्रै तथ्य र प्रमाण सार्वजनिक गरेको छ। ती कसरी प्राप्त भए-त्यो पनि खुलाएको छ। रिपोर्टमा भनिएको छ- बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ का घटनाहरू विवरण गरिएको एक आन्तरिक प्रहरी दस्ताबेज फेला पारेको छ। उक्त दस्ताबेज अनुसार, कर्फ्यु लागू भएको १० मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक बल प्रयोग गर्न बारम्बार अनुरोध गरेपछि 'पिटर १' (Peter 1) कल साइन प्रयोग गर्ने व्यक्तिले आफ्ना अधिकारीहरूलाई "आवश्यक बल तैनाथ गर्न" निर्देशन दिएका थिए । पिटर वान पुलिस आईजीपीको कल साइन हो र त्यतिबेला आईजीपी खापुङ थिए। बीबीसीले जाँच गरेको भिडियो प्रमाणले देखाउँछ कि १९ जना पीडितमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयाम चौलागाईं निशस्त्र थिए र मृत्युको समयमा घटनास्थलबाट बाहिर निस्कन खोजिरहेका थिए।

जेनजी आन्दोलनकै उपलब्धिका रुपमा फागुन २१ मा चुनाव हुँदैछ। भोट हाल्न अब केही दिनमात्रै बाँकी छ। चुनावको मुखैमा बीबीसीले प्राप्त गरेको प्रहरी लग र कार्यरत अधिकारीहरूको भित्री विवरणका आधारमा गोलीबारीसम्म पुर्याउने घटनाक्रमको शृङ्खला स्थापना गरेको छ। बीबीसीले आफ्नो अनुसन्धानलाई बलियो देखाउन ४,००० भन्दा बढी भिडियो र तस्बिरहरूको विश्लेषण गरेको छ, सडकमा रहेका मानिसहरू र कमान्ड सेन्टरका अधिकारीहरूबाट प्राप्त विवरणको पनि विश्लेषण गरेको छ।
दश वर्ष माओवादीले सशस्त्र युद्ध गर्यो, दोस्रो जनआन्दोलनले राजतन्त्र फाल्यो, नयाँ संविधान बन्यो। तर, युवाहरुको असन्तुष्टि मेटिएन। बीबीसीले भनेको छ- पाँचमध्ये एक युवा नेपाली बेरोजगार छन्, धेरैजसो युवाहरुमा असन्तुष्टि छ, विशेषगरी १४ देखि २९ वर्षका 'जेन जी' भनिने पुस्तामा देखिएको छ।
तिनै युवाहरुले साउनदेखि नेपाली कुलीन वर्गका सुविधाभोगी सन्तानहरूलाई बुझाउन "नेपो बेबी" (nepo baby) जस्ता शब्दहरू सामाजिक सञ्जालमा प्रयोग गर्न थालेका थिए। भदौ १९ (सेप्टेम्बर ४) मा सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता केही प्लेटफर्महरूमा प्रतिबन्ध लगायो। त्यसपछि युवाहरु 'डिस्कर्ड'मा सरे, जुन संगठनको केन्द्र बन्यो ।

'भ्रष्टाचार विरुद्ध युवा' (Youth Against Corruption) नामक एक फोरम नै बन्यो र भदौ २३ गते संसद बाहिर विरोध प्रदर्शन गर्ने योजना बन्यो । कलेजको पोशाकमै भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी श्रीयामले आफ्नी आमासँग भनेका थिए- "जेन जी युवाहरू हुनेछन्। म मेरो पोसाकमा हुनेछु। यो शान्तिपूर्ण हुनेछ।" सुशासन माग्दै नयाँ बानेश्वर पुगेका उनै श्रीयामले आफ्नी आमासँग प्रदर्शन सफल भएको खुसी साट्न भने पाएनन्।
भदौ २३ का दिन नयाँ बानेश्वरमा कसरी त्यस्तो भयो? बीबीसीले टाइमलाइन नै दिएको छ।
भदौ २३ को बिहान ९:०० बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा युवाहरू जम्मा हुन थाले । संसदभन्दा केही सय मिटर टाढा ब्यारिकेड राखिएको थियो। सुरक्षा अधिकारीहरूले भीडको संख्यालाई निकै कम आँकलन गरेका थिए। तर प्रहरीले अनुमान गरेको भन्दा १० गुणा बढी अर्थात् करिब ३०,००० मानिस प्रदर्शनमा आएका थिए।
बिहान ११:४७ मा प्रदर्शनकारीहरूको एक समूहले घेरा तोडेर अघि बढेपछि प्रहरीले ब्यारिकेड छोड्यो।
१२:१५ मा प्रदर्शनकारीहरूको एउटा समूहले संसद परिसरको पर्खाल नाघ्यो। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्यो, तर डिस्कर्डमा आयोजकहरूले पछि हट्न आग्रह गर्दा पनि भीड पछि हटेन। सरकारी कमान्ड सेन्टरमा नागरिक प्रहरी, सेना, सशस्त्र प्रहरी र गुप्तचर अधिकारीहरू उपस्थित थिए, जसको अध्यक्षता प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गरेका थिए । कमान्ड सेन्टरमा सीसीटीभी फिडहरू हेर्ने प्रयास गरिए पनि इन्टरनेट जडान स्थिर थिएन।
दिउँसो १२:३० मा कर्फ्यु लगाइयो र प्रदर्शनलाई अवैध घोषणा गरियो। केही प्रदर्शनकारीहरूले प्रहरी युनिटलाई घेरेर इँटा र ढुङ्गा प्रहार गरे र संसदको गेटहाउसमा आगो लगाए। प्रहरी स्रोत र लगका अनुसार आत्तिएका अधिकारीहरूले कमान्ड सेन्टरसँग सहयोग मागेका थिए । लाठी, पानीको फोहोरा र रबरको गोलीले भीडलाई तितरबितर पार्न नसकेपछि उनीहरूले बारम्बार गोली चलाउने अनुमति मागे ।
दिउँसो १२:४० मा 'पिटर १' बाट आदेश आयो: "कर्फ्यु लागू भइसक्यो। थप अनुमति लिनु पर्दैन। आवश्यक बल तैनाथ गर्नुहोस्।"।
दिउँसो १:१५ मा पहिलो मृत्यु रेकर्ड गरियो । दिउँसो २:०९ मा श्रीयाम शान्तिपूर्वक हिँडिरहेका बेला उनको टाउकोको पछाडि गोली लाग्यो।
भदौ २३ को हत्याबाट क्रुद्ध नेपालीहरू भोलिपल्ट सडकमा उत्रिए, जसले गर्दा हिंसा झनै बढ्यो । प्रहरी चौकीहरू जलाइए र तीन प्रहरीको मृत्यु भयो, समग्रमा ७७ जनाको ज्यान गयो।
भदौ २४ (सेप्टेम्बर ९) को दिउँसो २:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र सरकार ढल्यो।

बीबीसी आईले त्यतिबेलाको कमाण्डपोस्ट र ग्राउण्डको सिचुएसन एनालिसिस पनि गरेको छ र भनेको छ- भदौ २३ मा कमाण्ड सेन्टरको नेतृत्व काठमाडौंका सीडीओ छवि रिजालले गरेका थिए- उनले कर्फ्यू आदेश जारी गरे। त्यसपछि फिल्डमा खटिएका प्रहरी अधिकारीले संसद् भवनको सुरक्षाको नाममा प्रहरी आईजीपीसँग गोली चलाउने आदेश मागे।
त्यतिबेला उनले भनिदिए- गोली चलाउन आदेश मागिरहनु पर्दैन। यसको सिधा अर्थ हुन्छ- गोली चलाउ। खापुङले गोली नचलाउ भनेको भए पक्कै पनि फिल्डमा रहेका प्रहरीले गोली चलाउँदैनथे। गोली चलाउन आदेश मागिरहनु पर्दैन- खापुङको यो आदेश प्रहरी लगमै उल्लेख छ जसलाई बीबीसी आईले सबैभन्दा ठूलो प्रमाणका रुपमा देखाइदिएको छ।

जाँचबुझ आयोगलाई गोली चलाउने आदेश दिएको छैन भनेर पन्छिन खोज्ने खापुङसँग सम्बन्धित दस्तावेज बीबीसीले सार्वजनिक गरिदियो।
यो एउटा पाटो भयो। जाँचबुझ आयोगले भदौ २३ र २४ सँग सम्बन्धित सबै पक्षहरुसँग बयान लिइसकेको छ। प्रहरीका दस्तावेजदेखि सामाजिक सन्जालमा फैलिएका दश हजारभन्दा भिडियो र तस्वीर पनि आयोगले विश्लेषण गरिसकेको छ।
अब यहाँ प्रश्न आउँछ- त्यति ठूलो जनधनको क्षतिको असली जिम्मेवार को? राजनीतिक जिम्मेवारी कसको? तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको जिम्मेवारी कति देखिएला?
अनि यहीँ प्रश्न आउँछ- त्यो नरसंहार र विध्वंस संलग्नमध्ये कति जना कारबाहीमा तानिएलान् अनि उनीहरुलाई कारबाही के होला?
बीबीसी मा प्रकाशित समाचार बीबीसी विश्व सेवामा प्रसारित भिडियो
(बीबीसीमा प्रकाशित सुबिना श्रेष्ठ र दीपक खरेलको बीबीसी आई इन्भेस्टिगेशन्स रिपोर्ट)