एजेन्सी। ईरानको न्युक्लियर साइटमा अमेरिकाले शनिबार बिहान भीषण हमला गरेको छ। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त हमलाको ह्वाइटहाउसमा रहेको सिचुएसन रुमबाट प्रत्यक्ष अवलोकन गरेका थिए । आइतबार बिहान भएको हमलापछि अमेरिकी जहाजहरू ईरानको आकाश क्षेत्रबाट सकुशल बाहिरिएको र तीन वटै न्युक्लियर साइट ध्वस्त पारिएको ट्रम्पले दाबी गरेका छन् ।
उनले उक्त हमला पछि देशवासीको नाममा सम्बोधन गर्दै अमेरिकी सेनाले सफल आक्रमण गरेको बताएका थिए । साथै, अब पनि शान्तिका लागि तयार नभए यो भन्दा पनि भयानक अवस्था समना गर्न उनले ईरानलाई चेतावनी दिए ।
ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् । तर, तेहरानबाट अलजजिराका लागि रिपोर्टिङ गरिरहेका संवाददाताले अमेरिकी आक्रमणबाट कुनै क्षति नभएको दाबी ईरानी अधिकारीहरूले गरेको उल्लेख छ । साथै आक्रमण भएको क्षेत्रबाट कुनै पनि बिकिरण नबारिएको पनि उल्लेख छ ।
बीबीसीले आफ्नो अमेरिकी साझेदारको समाचार संस्था सीबीसी न्युजसँगको सहकार्यमा तयार गरेको रिर्पोटअनुसार ईरानका न्युक्लियर साइटमाथि आक्रमण गर्न अमेरिकी सेनाले दुई वटा बमवर्षक विमान प्रयोग गरेको थियो र त्यसले ७८ हजार किलो तौलका ६ वटा बङ्कर बस्टर बम ईरानको न्युक्लियर साइटहरुमा खसालेको थियो । एउटा साइटमा कम्तिमा दुई वटा बम खसालिएको प्रारम्भिक अनुमान गरिएको छ । यसरी खसालिएको बमको नाम जीबीयुु ५७ एमओपी रहेको बताइएको छ । यद्यपि यसबारे अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने ट्रम्पले बताएका छन् ।
३७ घण्टा ननस्टप उडान भरेर आक्रमण
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुकाअनुसार ईरानका न्युक्लियर साइटमा आक्रमणको एक दिन अघि देखि अर्थात शुक्रबार साँझ देखि नै अमेरिकाले ईरानसँग कुटनीतिक सम्बन्ध बन्द गरेको थियो । यद्यपि त्यसअघि राष्ट्रपति ट्रम्पले दुई साता अघि ईरानमा कुनै आक्रमण नगर्ने सार्वजनिक रुपमा बताउँदै आएका थिए । तर, शनिबार राति एक्कासि ईरानी आकाश घुसेर अमेरिकी जहाजले आक्रमण गरेको छ ।
रिपोर्टहरुअनुसार अमेरिकाको मिसौरीस्थित हवाई अड्डाबाट ३७ घण्टा उडान भरेर दुई बीटु स्टेल्थ बमवर्षक विमान ईरानको आकाश पुगेका थिए ।
राडारमा डिटेक्ट नहुने ति जहाजहरुले आक्रमणका लागि जाँदा आकाशमै तेल भरिएको बताइएको छ । ति जहाज सफलतापूर्वक बम निसानामा खसालेर गुमस्थित प्यासेफिक सामुन्द्रिक तटमा सुरक्षित फर्किएका थिए । ति जहाजहरू अहिले सुरक्षित रहेको रोयटर्सले जनाएको छ ।
तीन निशानामा ७८ हजार किलोका ६ बम
विवरणअनुसार अमेरिकाले जमिनको गहिरो निसानामा पुुगेर बिस्फोट गराउन सक्ने ६ वटा बम आक्रमणमा प्रयोग गरेको दाबी गरेको छ। ति बमको नाम जीबीयु ५७ एमओपी बङ्कर बस्टर बम हो । एमओपीको अर्थ हुन्छ म्यासिभ अर्डियन्स पेनिटेटर । यि हरेक बमको तौल १३ हजार किलोका थिए ।
यसले १८ मिटरको कंक्रिड र ६१ मिटरको माटोलाई छेडेर जमिन मुनी पसेर बिस्फोट गराउन सक्ने दाबी गरिएको छ । आइतबार बिहान अमेरिकी जहाजले ईरानको न्यक्लियर केन्द्रको आकाशमाथि १२ किलोमिटर दुरीबाट बम खसालेको बताइएको छ । इन्जिन नहुने यो बममा जिपिएसबाट टार्गेट निश्चित गरिएको थियो । यसरी खसाइएको बमको गतिले सृजना गरेको काइनेट इनर्जीले बम टार्गेको ६० मिटर भित्र पसेको बीबीसीले उल्लेख गरेको छ । त्यसपछि जमिनमुनी पुुगेर २ हजार ४ सय किलो बिस्फोटक पदार्थ बिस्फोट हुन्छ।
के ईरानको न्युक्लियर क्षेत्र ध्वस्त भएको छ ?
इजरायलले आक्रमण गरेको ९ दिनपछि ईरानमा अमेरिकाले यो हमला गरेको हो । हमलाको एक घण्टामै राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको न्युक्लियर साइट ध्वस्त पारेको दाबी गरेका छन् । तर, ईरानले आक्रमण भएको बताए पनि क्षतिबारे खुलाएको छैन । त्यसो त विज्ञहरुले अमेरिकाले गरेको दाबी सत्य हुुन नसक्ने तर्क प्रस्तुत गरिहेका छन् । किनकी ईरानको सबै न्युक्लियर साइट जमिनबाट ८० देखि ९० मिटर भन्दा गहिरो भागमा छ ।
अमेरिकाले फोर्डो, नताञ्ज र इस्फाहानमा रहेका तीन आणविक साइटहरूमा आक्रमण गरेको जनाएको छ। फोर्डो तेहरानको दक्षिणतर्फ पहाडको भित्री भागमा लुकाइएको छ, र यसलाई बेलायत र फ्रान्सलाई जोड्ने च्यानल टनेलभन्दा गहिरो भूमिगत मानिन्छ।
फोर्डोको यस्तो गहिराइका कारण इसरायली हतियारहरूबाट आक्रमण गर्न कठिन मानिन्थ्यो । फोर्डो ध्वस्त पार्न सक्ने पर्याप्त शक्तिशाली बंकर बस्टर बम अमेरिकी सेनासँग मात्र रहेको विश्वास गरिन्थ्यो । हरेक साईटमा दुुईवटा बम खसालेको दाबी गरिएको छ ।
ईरानको अटोमिक अनुसन्धान केन्द्रले आक्रमण पछि कुनै पनि रेडिएसन लिक भएको नपाइएको बताएको छ । इजरायली सेनाले पनि अमेरिकाको आक्रमणबाट सामान्य बाहिरी बाहेक भुुभागमा बाहेक न्युक्लियर साइट भित्र कुनै क्षति नभएको दाबी गरेको छ ।
इरानको परमाणु ऊर्जा संगठनका उपमहानिर्देशक तथा राष्ट्रिय आणविक सुरक्षा प्रणाली केन्द्रका प्रमुख रेजा कार्डानले अमेरिकी हवाई आक्रमणबाट प्रभावित साइटहरू र पूर्वाधारहरूबाहिर कुनै पनि विकिरण प्रदूषण वा आणविक विकिरण नदेखिएको बताएका छन् ।
देशका जनातका लागि एक सन्देश सार्वजनिक गर्दै उनले भनेका छन् ‘देशका प्रिय जनताको सुरक्षाको लागि पूर्व योजना बनाइएको थियो र आवश्यक कदमहरू चालिएका थिए । आज बिहान आणविक स्थापनाहरूमाथि गरिएका आपराधिक हमलाका बाबजुद पनि, पहिल्यैबाट तयार पारिएको योजना र गरिएका उपायका कारण ती साइटहरूबाहिर कुनै विकिरण प्रदूषण वा आणविक विकिरण देखिएको छैन’ कार्डानले इरानको सरकारी समाचार संस्था आईआरएनएलाई बताए।