काठमाडाैँ । बन्द कोठामा लुकेर बस्यो । जनतासँग भेटेन । नागरिकसँग नजिक भएन । यसले कसरी नागरिकको समस्यालाई सम्बोधन गर्नसक्छ ? यस्तो मान्छेलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर के गर्न खोजेको ? यस्तो पनि नेता हुन्छ ?
यो बालेनको आलोचकहरुले उनीमाथि तेर्स्याउने आक्षेपहरु थिए । बालेनसँग आशातित नागरिकहरु बालेनले यसको जवाफ दिएहुन्थ्यो भन्ने चाहन्थे । तर उनले कुनै प्रतिक्रिया जनाएनन् ।
बालेन रास्वपाको बरिष्ठ नेता बन्ने भएपछि उनलाई पार्टीमा स्वागत गर्ने मिति तोकियो माघ ४ गतेलाई । त्यसपछि पार्टीले जनकपुरमा पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्ने बतायो ।
बालेनले माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए । राजीनामा दिएलगत्तै उनी सिधै रास्वपा पार्टी कार्यालय पुगे । उनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टीमा स्वागत गरे । उनका लागि पार्टी कार्यालयमा कार्यकक्ष पनि तयार भयो ।
उनले पार्टी कार्यालयबाट आफ्ना शुभचिन्तकलाई केही भन्छन् भन्ने लागेको थियो । तर त्यहाँ पनि उनले केही बोलेनन् । जोडले घण्टी मात्रै बजाए । रविसँग अंकमाल गरे ।

उनका आलोचकका लागि फेरि अर्को मसला भयो । अब सबैको प्रतिक्षा रह्यो जनकपुरको कार्यक्रमको । जनकपुरको कार्यक्रमबारे मधेशमा फरक उत्साह थियो । रास्वपाले मधेशको व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा अघि सारेपछि अबकी बार बालेन सरकारको नारा घन्किन थालिसकेको थियो । ५ गते जनकपुरको कार्यक्रम सानोतिनो नहुने स्पष्ट थियो ।
कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने भनिएको थियो । तर बिहान ११ बजेदेखि नै मानिसहरुको चहलपहल सुरु भइसकेको थियो । १ बजेभित्र हजारौँको संख्यामा मानिसहरु उपस्थित थिए । सबैलाई पर्खाइ थियो रवि र बालेनको ।
बालेनले त्यसअघि त्यतिठूलो मञ्च र दर्शकसामू राजनीतिक भाषण गरेका थिएनन् । त्यो दिन प्रतिक्षा उनकै भाषणको थियो । मधेशका नागरिकसँगै सिंगो देश उनको बोली सुन्न आतुर थिए । करिब २ बजे हजारौँको भिड छिचोल्दै रवि र बालेन स्टेजमा पुगे ।

रवि लामिछानेभन्दा अघि बालेनले भाषण गरे । उनले भने ‘म काम गर्ने मान्छे हो । भाषण गर्ने मान्छे होइन । मेयरको काम गर्दागर्दै भाषण गर्ने समय नै मिलेन । मेयर छोडेपछि बल्ल भाषण गर्ने समय मिल्यो ।’ मैथली भाषामा बालेनको भाषणले त्यो कार्यक्रममा बेग्लै उत्साह देखिन्थ्यो । उनले जनकपुरमा गरेको भाषणबाट उनका आलोचकहरुले सबै जवाफ एकैचोटी पाए ।
उनले जनकपुरमा गरेको मैथली भाषाको भाषणले नेताहरुले गर्ने भाषणमा भिन्दै मानक स्थापित गरिदिएको छ । अहिलेसम्म पनि सामाजिक सञ्जालमा उनको भाषणको चौतर्फी चर्चा भईरहेको छ । किनकी उनले विगतमा के गरे भनेर भने । भविष्यमा के गर्ने पनि भने तर कसैलाई गाली गरेनन् ।

उनीपछि भाषण गरेका रास्वपा सभापति रवि लामिछानेले बालेनले देश बनाउनेमा आफूहरु ढुक्क भएको सन्देश मात्रै दिएनन् घुमाउरो भाषामा रास्वपाको उत्तराधिकारी र चुनावी कमाण्डर पनि बालेन नै भएको घोषणा गरिदिए । त्यसपछि त के चाहियो । मधेश बालेनमय बन्यो । अधिकांस युवा समूहका मानिसहरुको उपस्थिति रहेको त्यो सभामा उपस्थित सबै नागरिकहरु यति उत्साहित थिए कि उनीहरुले चुनाबअघि नै बालेनलाई प्रधानमन्त्री मानिसकेका छन् ।

मधेशमा घण्टीमय माहोल बनाएर बालेन झापातर्फ लागे । रवि लामिछाने चितवनतर्फ ।
६ गते मनोनयन दर्ताको दिन थियो । बालेन बिहान फस्ट आवरमै मनोनयन दर्ताको लागि निर्वाचन कार्यालयतर्फ अघि बढे ।
पूर्व प्रधानमन्त्री केपी ओलीको गढ मानिने झापा ५ मा उनलाई त्यति राम्रो सत्कार नहुने आँलन गरिएको थियो । तर, मनोनय दर्ताको दिन झापा ५ मा बालेनले जुन आतिथ्यता र स्वागत पाए त्यो अनपेक्षित, अविश्वसनीय थियो ।

झापा ५ मा जम्मा भएको त्यो भिडले एमालेजनमा केही न केही चस्का पस्यो । मनोनयन दर्तापछि पनि उनी रोकिएनन् । सामान्यतः चुनाबको समयमा नेताहरु मतदाताको घरमा पुगेर ढोगभेट गर्ने गर्छन् ।
तर, यहाँ उल्टो भयो । बालेनलाई भेट्न उनी बसेको अस्थायी निवासमा मतदाताहरुको लर्को नै लाग्यो । बालकदेखि बृद्धसम्म उनलाई भेट्न पुगे । उनले सबैलाई भेटेर उनीहरुको कुरा सुने र आफ्ना कुरा पनि सुनाए ।
८ गते बालेन पूर्वका पहाडी जिल्ला उक्लिए । पाँचथरको फिदिम बजारमा उनको न्यानो स्वागत भयो । उनी इलाम, तेरथुम हुँदै ताप्लेजुङ पुगे । पाथीभरा दर्शन गरे । जहाँ जहाँ बालेन पुुगे त्यहाँका मानिसहरुमा छुट्टै आशा र भरोसाका साथ बालेनसँग साक्षत्कारमा रमाए । आफ्नो दुुःख बिसाए । उनी संखुवासभा, धनकुटा, धरान, इटहरी हुँदै काठमाडौँ फर्किए ।

उनी जहाँ जहाँ पुगे त्यहाँत्यहाँ उनको स्वागतमा ठूलो भिड जम्मा हुनेको थियो । उनी आउँदैछन् रे भन्ने सुनेर उनलाई भेट्न मानिसहरु घन्टौँ बाटोमा कुरेर बसेका हुन्थे । बालेनले गाडी रोकेर उनीहरुले ल्याएको फूल, माला र खादा ग्रहण गरिदिदा उनीहरु संसारै जितेको महसुस गर्थे ।
पूर्वमा ६ दिन बिताएर बालेन माघ १० गते काठमाडौँ फर्किए । यो बिचमा उनले कसको, कति मूल्य पर्ने गाडी चढे भन्ने विवाद नआएको होइन । तर, पनि उनको क्रेजमा कुनै कमी आएको छैन । २ दिन काठमाडौँ आफ्ना नेताहरुलाई भेटेर बालेन शाह १२ गते फेरि सूदुरपश्चिम दौडामामा निस्किएका छन् ।
सोमबार बालेन काठमाडौँबाट नेपालगञ्ज पुगे । त्यहाँ पनि उनलाई थामिनक्नु भिडले स्वागत गरेको थियो । उनी बर्दिया सदरमुकाम गुलरिया पुग्दा माहोल झनै विशाल बन्यो । त्यहाँबाट उनी कैलाली पुगे । मंगलबार पनि बिहानैदेखि कैलाली र कञ्चनपुरका जिल्लाहरुमा भेटघाट गरे । कैलालीको राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चौमाला, अत्तरिया, धनगढी तथा कञ्चनपुरको पुनर्वास, झलारी, महेन्द्रनगर लगायत स्थानमा बालेनले न्यायो आतिथ्यता पाए ।

बालेन देशका ७५३ ओटा स्थानीय तहमध्येको एक काठमाडौँका प्रमुख हुन् । उनीजस्तै यो देशमा ७५२ जना अन्य स्थानीय सरकारका प्रमुखहरु छन् । उनी मेयर हुँदा ठूला भाषण नगरी बलियो आन्तरिक रणनीति बनाएर चुनाब जितेका थिए ।
त्यसपछि न उनी मिडियामा बोले न त खुलेर मञ्चमा भाषण नै । उनले मौन बसेर काम गरिरहे । उनको मौनतालाई कमजोरी ठानेर आलोचना गर्नेहरुलाई उनले कामबाट जवाफ दिईरहे ।
त्यो मौन बसेर एउटा महानगरमा गरेको कामको शक्ति अहिले देखिन थालेको छ । जनकपुरको भाषणपछि अहिले पनि उनी मौन छन् । आफूलाई भेट्ने मतदातालाई मुस्कानसहित नमस्कार फर्काउँछन्, सञ्चो बिसन्जो, खाना खाए नखाएको सोध्छन् । घण्टी बजाउँछन्, हात मिलाउँछन्, नचाहिँदो सपना नबाँडीकन आफ्नो बाटो लाग्छन् । उनी मौन छन् । र त्यही मौनताले देशभरी निर्वाचनमा रास्वपाको पक्षमा आँधी ल्याइरहेको छ ।
बालेनले ल्याएको यहि मौन आँधीले अन्य दललाई असह्य भएको छ । बालेनका प्रतिद्धन्दी उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देखि श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङसम्मलाई असह्य भएको छ ।
केपी ओलीले त बालेनलाई डोजर चलाउने मान्छे आयो भनेर झापाका सुकुम्बास डराएका छन् मात्रै होइन, महोत्तरीमा जस्तो झापामा फोहोर छैन, यहाँ गुँइठा बाल्दैनन् भन्दै गैरजिम्मेवार र तुच्छ अभिव्यक्ती दिएका छन् ।

काठमाडौँ ४ छाडेर सर्लाही ४ मा उम्मेदवार हुन पुगेका नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू दुई दिन आएर हात हल्लाएर जाने नेता नभएको भन्दै बालेनलाई व्याङ्ग्य गरेका छन् ।

नेपाली कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ‘घण्टी बजाएर मात्रै हुनेवाला केही छैन भन्दै व्यांग्य गरे ।

उता श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङ समेत निरन्तर रास्वपा र बालेनको आलोचनामा छन् ।
कांग्रेस एमालेका नेताहरुले बालेन र रास्वपाका आलोचना गर्नुका पछि अर्को कारण पनि छ । सामाजिक सञ्जालमा बालेन, केपी ओली र गगन थापालाई राखेर पब्लीक डिबेट गराउने चर्चा भएपछि केपी ओलीले उक्त चर्चा क्याच गर्ने प्रयास गरे ।
उनले आफूलाई देश बनाउने व्यक्तिका रुपमा प्रस्तुत गर्दै डिबेटमा सहभागी हुने भन्दै देश जलाउनेका तर्फबाट नयाँ दलबाट प्रधानमन्त्रीमा प्रस्तावित भएका बालेनलाई इंगित गर्दै च्यालेन्ज गरेका थिए ।
यसको जवाफ बालेन शाहले तत्कालै दिएका थिए । उनले केपी ओलीलाई देश जलाउनेका रुपमा स्विकार गरेको ठिक भएको उल्लेख गर्दै २३ गते बच्चाहरु मारेका आतङ्वाद लुकाउन २४ गते जलाएको आरोप लगाएका थिए । साथै उनले स्टाटसमा नै ७६ जना बच्चाको हत्यार भन्दै तत्कालिन सरकार र सरकार प्रमुख ओलीलाई इंगित गरे भने उक्त घटनाको मतियार भन्दै गगन थापालाई इंगित गरे । यी दुुबैसँग एउटै मञ्चमा उभिदा आफू पनि सोही घटनामा सामेल भएको बुझिने भन्दै डिबेट अस्वीकार गरिदिए ।
अहिले यो विषय निर्वाचन आचारसंहित विपरित भएको भन्दै आयोगमा उजुरी परेको छ । आयोगले नेताहरुलाई स्पष्टीकरण समेत सोधेको छ ।
जे होस्, अहिले चर्चा बालेनकै छ । महानगरबाट राजीनामा दिएको दिन देखि उनी एकदिन पनि क्यामेराको फ्रेम भन्दा बाहिरि छैनन् । राजनीतिमा खासै चासो नभएका नागरिक समेत अहिले बालेन शाहका पक्ष खुलेका छन् ।
चर्चा धेरै भएका तर सार्वजनिकरुपमा कम देखिएका बालेनलाई हेर्नकै लागि पनि अहिले ठाउँ ठाउँमा ठुलो मेला लाग्ने गरेको छ । अहिले सडकमा जनलहर देखिएपनि निर्वाचनसम्म यो हावा कता बहन्छ र कुन दल बलियो शक्तिकारुपमा उदाँछन् त्यो हेर्न भने फागुन २१ नै कुर्नुपर्छ ।