काठमाडौँ । चितवनको गेस्ट हाउस चौरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’मा स्वागत मन्तव्यपछि पोर्डियममा आएका रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले सुरुमै सिंगापुरका ली क्वान युलाई सम्झिए।
उनले भने– सन् १९५५ मा पहिलो पटक निर्वाचनमा सहभागी लीको पार्टीले अपेक्षाकृत मत पाएन, चार वर्षपछि १९५९ मा भएको चुनावमा दुई तिहाइभन्दा बढी मत पाए, त्यसपछि सिंगापुरलाई संसारकै उत्कृष्ट बनाए।
गौतमले लीको पार्टीलाई रास्वपासँग तुलना गर्दै थिए। तीन वर्षअघि स्थापना भएको रास्वपालाई पहिलो चुनाव नयाँ थियो, त्यतिबेला नयाँ हुँदा पनि पुराना दलहरुलाई तर्साउने गरी भोट पायो। त्यही रास्वपाले अहिले दोस्रो चुनाव ‘फेस’ गर्दैछ। २०७९ सालको चुनाव रास्वपाका लागि पहिलो चुनाव, २०८२ सालको चुनाव दोस्रो चुनाव। फागुन २१ मा भोट हाल्ने दिन आउन अब केही दिनमात्रै बाँकी छ। तर, अहिले जे माहोल देखिएको छ, त्यसले गौतमले भने झै सिंगापुरमा लीको पक्षमा जुन लहर देखिएको छ, त्योभन्दा कम छैन।

चितवनमा रास्वपाको ‘क्रेज’ नयाँ हुँदै होइन, त्यसमाथि पनि रास्वपा सभापति रवि लामिछानेका लागि त चितवन क्रेजभन्दा पनि साथ हो। आजको आमसभामा जुन सहभागिता देखियो, त्यसले पनि देखाउँछ– चितवन रास्वपाका लागि क्रेज हो र रविका लागि साथ ।
चितवन–२, जसले रविलाई यसअघि नै ६ महिनाको अन्तरमा दुई दुई पटक भारी मत दिएर संसदमा पठायो। त्यही संकेत यसपालि पनि देखाउँदैछ।
उतिबेला रविका सारथि थोरै थिए, अहिले सारथि बढेका छन्। पहिले रास्वपा देशभर फैलिनै पाएको थिएन, अहिले घरघरसम्म पुगेको छ। रास्वपा जसरी फैलिएको छ, यसले घण्टीका समर्थकलाई उत्साहित बनाएको छ भने अन्य दल र तिनका नेताहरुलाई तर्साएको छ।
अघिल्लो चुनावमा रास्वपाले चितवनका २ क्षेत्र जित्यो। अहिले तेस्रो क्षेत्र पनि जित्ने दाउमा छ। चितवन मात्रै जितेर रास्वपालाई पुग्ने छैन, चितवन जसरी अन्य जिल्ला र क्षेत्रहरुमा पनि उसको जित विस्तार हुनुपर्नेछ।
रास्वपाले जित्ने किन? उसले बाचापत्र र करारनामा भनिसकेको छ। नेताहरुले भनिसकेका छन् । चितवनको सभामा पनि नेताहरुले त्यसलाई दोहोर्याए । उपसभापति स्वर्णीम वाग्लेले भने– राज्यको दोहोन गर्न बनाइएका संयन्त्र खारेज गरिने छ, विकासका लागि अवरोध पुग्ने सबै कानुन फेरिने छ। वाग्लेले नै रास्वपाको बाचापत्र लेखेका थिए।
वाग्लेले बाचापत्रमै उल्लेख गरिएका विषयलाई रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका वरिष्ठ नेता बालेन शाहले उठाए।

बालेन धेरै भाषण गर्दैनन्, जहाँ जान्छन्, त्यहीँका मुद्दा जोड्छन् । उनले किन यसो गरिरहेका छन् ? यसको कारण हो– जुन नेताले आफ्ना मुद्दा उठाउँछ, जनताले उसैलाई आफ्नो ठान्छन्। बालेनले चितवनका किसानका पीडा र पर्यटन व्यवसायीका मुद्दासँग आफूलाई जोड्ने प्रयत्न गरे।
बालेनपछि कुरा गरौं रास्वपा सभापति रवि लामिछानेको। रवि त्यहीँका अर्थात चितवन २ का उम्मेदवार हुन्। चितवनवासीले यसअघि नै २ पटक भारी मतका साथ रविलाई जिताए, अहिले तेस्रो पटक भोट हाल्दैछन्।

रवि यसपालि आफ्नो क्षेत्रमा कम र अन्य जिल्लामा बढी खटिएका छन्। त्यसैले सभामा उनले आफ्ना लागि भोट मागिदिन समर्थकहरुलाई आग्रह गरे। यसले उनको सामिप्यता अझ बढेको झल्काउँथ्यो।
चितवनको सभामा रविले केही महत्वपूर्ण कुरा उठाए।
पहिलो– उनीमाथि लागेको सहकारी ठगीको विषय। दोस्रो– जेनजी आन्दोलनका क्रममा भएको आगजनीको विषय।
आफ्नाविरुद्ध प्रमाण छ भन्नेहरुसँग रविले आज प्रमाण मागेनन्, आफूसँग अन्तिम इच्छा सोध्नेहरुलाई पनि जवाफ दिए र भने– मेरो अन्तिम इच्छा फागुन २१ मा घण्टीमा भोट हो ।
कतिपयले गत भदौ २४ को आगजनीमा रास्वपाको संलग्नता थियो भनेर प्रचार गरिरहेका छन्। त्यसको जवाफ पनि रविले दिए– ‘पहिले ताकी ताकी टाउकोमा गोली हानियो, त्यसपछि संरचना चलेको हो, सिंहदरबार त्यसैले जलाएको हो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै मानिसहरु हुन्, अरु कोही पनि होइनन्।’
चितवनको गेस्टहाउस चौरको इतिहास लामो छ। यो चौर मुलुकका हरेक आन्दोलन र क्रान्तिको साक्षी बनेको छ। त्यही चौरमा उभिएर आज रास्वपाले देश निर्माणको बाचा गरेको छ।
भाषण गर्नु र बाचा गर्नु फरक कुरा हुन्। सस्तो लोकप्रियताका लागि भाषण गर्न सकिएला। तर, बाचा गरेपछि पूरा गर्नुपर्छ। अहिले रास्वपाले भाषण गरेको होइन, बाचा गरेको हो। चुनावपछि त्यो बाचा कार्यान्वयन गर्नुपर्छ, यसमा रास्वपा नेताहरु इमान्दार बन्नुपर्छ ।