इरानको राजधानी तेहरान शनिबार झिसमिसेमै रणभूमि बन्यो । अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेई नै मारिए। आक्रमण–प्रत्याक्रमण जारी छ। तर, त्यसको असर करिव चार हजार किलोमिटर टाढा रहेको नेपालसम्म परिरहेको छ। खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई कतिबेला के होला, अन्योल छ, यहाँ रहेका उनीहरुका परिवारलाई उत्तिकै चिन्ता छ। समग्रमा सबै नेपालीमा चासो छ– अब खाडी क्षेत्रमा रहेका नेपालीहरुको अवस्था के हुन्छ ?
सुरुमै भनिहालौं– संसारका जुनसुकै ठाउँमा हुने युद्धको असर नेपालमा परिहाल्छ। करिव २८ महिनाअघि प्यालिस्टिनी लडाकुहरुले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गयो। केही घाइते भए। प्यालिस्टिनी लडाकुको अपहरणमा परेका कन्चनपुरका विपिन जोशी पनि मारिए। उनको शव पाउन मात्रै नेपालले दुई वर्षभन्दा बढी पर्खिनुपर्यो।
Watch On
इजरायल र प्यालेस्टिनबीच केही महिनाअघि शान्ति सम्झौता भएपछि त्यो क्षेत्र अलि शान्त थियो । तर, शनिबारदेखि पश्चिम एसिया अर्थात मध्यपूर्व फेरि अशान्त बनेको छ। भौतिक रुपमा इजरायल र अमेरिका इरानमाथि खनिएका छन्, इरानले पनि जवाफ फर्काइरहेको छ। युद्ध भइरहेको छ, त्यसको असर नेपालमा पनि परिरहेको छ। तरंग संसारभर फैलिएको छ।
२८ फेब्रुअरी २०२६, १६ फागुन २०८२, शनिबार । बिहान उज्यालो हुन नपाउँदै इजरायल र अमेरिकी सेनाले इरानको राजधानी तेहरानमा धाबा बोले। इरानी सर्वोच्च नेताको निवास र सैन्य अखडामा बम वर्षायो। इरान सरकारले सर्वोच्च नेता खामेनेई सुरक्षित रहेको र सुरक्षित ठाउँमा सारिएको पनि बतायो । त्यसको खण्डन गर्दै केहीबेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सन्जालमार्फत खामेनेई मारिएको दाबी गरे। इरानले होइन, होइन भनिरह्यो। तर, राति इरान सरकारले सर्वोच्च नेता मारिएको पुष्टि गर्यो र चालीस दिन राष्ट्रिय शोकको घोषणा गर्यो ।
सर्वोच्च नेता मात्रै होइन, आइतबार दिउँसोसम्म आइपुग्दा त इजरेली–अमेरिकी आक्रमणमा इरानी रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुलरहिम मौसाबीको पनि मृत्यु भएको इरान सरकारले नै बतायो। समग्रमा ४० भन्दा बढी इरानी उच्च अधिकारी मारिइसकेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले त सयौं मानिस मारिएको बताइरहेका छन्। कहाँ कति मारिए रु यसबारेमा इरान सरकार बोलिसकेको छैन।
इरान सरकारले भनिसकेको छ– अब इजरायल र अमेरिकाविरुद्ध भयानक जवाफी आक्रमण हुने छ। शनिबारदेखि नै इरानले आसपासका कतार, युएई, कुवेत र बहराइन लगायत अरब मुलुकमा रहेका अमेरिकी सेनाका एयरबेसमा आक्रमण गरिरहेको छ। इरानबाहेकका देशमा पनि मानिसहरु मारिएका छन् । तर, कहाँ कति मानिस मारिए, ती देशले पनि भनिसकेका छैनन्। अहिले इरानको राजधानी तेहरान रणभूमि बनेको छ। इरान आसपासका देशहरुमा पनि मिसाइल बज्रिरहेको छ।
मार्च १, २०२६ मा तेहरानमा क्षेप्यास्त्र आक्रमण पछि देखिएकाे धुवाँको मुस्लो । (तस्बिर: ATTA KENARE / AFP)
आखिर इजरायल र अमेरिका किन इरानमाथि खनिएका हुन् त ?
खासमा अमेरिका र इरानबीचको विवाद वर्षौं पुरानो हो । सन् १९७९ मा जब इरानमा खामेनेईको नेतृत्वमा इस्लामिक क्रान्ति सम्पन्न भयो र पश्चिमा समर्थक मोहम्मद रेजा पहलवीको सत्ता उल्टियो, त्यसयता अमेरिका र इरानबीच विवाद बढिरहेको छ। अमेरिकाले मात्रै होइन, इजरायलले समेत इरानलाई निशाना बनाइरहेको छ।
पश्चिमा मुलुकसहित इजरायललेसमेत इरानले आणविक हतियार बनाइरहेको दाबी गरिरहेका छन्। इरानमा खामेनेईको नेतृत्वमा इस्लामिक क्रान्ति सफल भएपछि राजा पलहवी भागेर अमेरिका पुगे। जब इरानी राजा अमेरिका पुगेको खबर सार्वजनिक भयो, सन् १९८० मा इरानी विद्यार्थीहरूले तेहरानको अमेरिकी दूतावासमा आक्रमण गरे, जुन आक्रमणमा ५२ जना अमेरिकी कूटनीतिज्ञ अपहरणमा परे।
इरानीहरुले पश्चिमा समर्थक शासन हटाएर इस्लामिक शासन सुरु गरेपछि बढ्दै गएको तनाव अहिले भीषण युद्धमा परिणत भएको हो। झट्ट हेर्दा राजनीतिक कारण देखिन्छ। तर, भित्र अरु पनि थुप्रै कारण लुकेका छन् । लुकेका कारण हुन्– इरानको तेल भण्डार अनि खनिज । इस्लामिक शासनमा मानवअधिकार हनन् भइरहेको र जनताको स्वतन्त्रतामाथि बन्देज लगाइएको भन्दै अमेरिकाले पटक पटक इरानलाई चेतावनी दिइरहेकै थियो । सरकार विरोधी विभिन्न समूहलाई आन्दोलनका लागि अमेरिकाले साथ र समर्थन पनि दिइरहेकै थियो ।
पछिल्लो पटक सन् २०२५ को मार्चमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता खामेनेईलाई चिठी पठाए र ६० दिनभित्र नयाँ आणविक सम्झौता गर्न प्रस्ताव गरे। खामेनेईले अस्वीकार गरिदिए । त्यसपछि इरान–अमेरिका तनाव थप बढ्न थाल्यो । अमेरिका र इरानबीच तनाव बढ्दै जाँदा केही महिनाअघि इजरायलले इरानमाथि आक्रमण गर्यो, त्यसमा अमेरिका पनि मिसियो, केही आणविक केन्द्रमा बम खसाल्यो। त्यसपछि द्वन्द्व केही मत्थर भयो।
तर, केही साताअघि ट्रम्पले नयाँ आणविक सन्धी गर्न इरानलाई पुनः पत्र पठाए, जसलाई खामेनेईले फेरि अस्वीकार गरिदिए। लगत्तै इरान नजिकका समुन्द्रमा अमेरिकाले युद्धपोत तैनाथ गर्यो। बम बर्षक विमान लग्यो अनि शनिबार उज्यालो नहुँदै बम खसाल्न थाल्यो।
तेहरानमा अमेरिकी र इजरायली आक्रमणको क्रममा इरानका सर्वोच्च नेताको हत्या भएको एक दिनपछि यमनका हुथी समर्थकहरूले आयोजना गरेको स्मृति र्यालीमा शोक मनाउनेहरू । (फोटो: मोहम्मद हुवाईस / एएफपी)
अमेरिकी आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिएपछि अब त्यहाँ के हुन्छ ? भनेर चासो बढेको छ।
इरानले छिट्टै अमेरिकाविरुद्ध भीषण र भयानक जवाफी आक्रमण गर्ने घोषणा गरिसकेको छ । राज्य सन्चालनको सम्पूर्ण नेतृत्व गरिरहेका खामेनेईको मृत्युपछि राज्य सञ्चालनका लागि तीन सदस्यीय परिषद् गठन गरिएको छ । समाचार एजेन्सीहरुका अनुसार उक्त परिषदमा राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक प्रतिनिधि रहने छन् । नयाँ सर्वोच्च नेता चयन नभएसम्म यही परिषद्ले जिम्मेवारी सम्हाल्ने छ । इरानमा सर्वोच्च नेताको चयन विज्ञहरुको सभा अर्थात ‘एसेम्ब्ली अफ एक्स्पर्टस्’ले गर्ने संवैधानिक व्यवस्था छ।
मध्यपूर्वमा युद्ध जसरी चर्किँदै छ, त्यसले हामी नेपालीहरुको मन उसैगरी पोल्दैछ। हरेक नेपालीलाई लागेको छ– अब त्यहाँ रहेका नेपालीहरुको अवस्था के हुन्छ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसोदेखि मध्यरातसम्म विदेश उड्न एयरपोर्ट पुगेका सयौं नेपाली मध्यराति त्यसै फर्किए । कारण थियो– मध्यपूर्वका सबै उडान बन्द थियो। आइतबार पनि विामनस्थलमा मानिसहरुको भीड लाग्यो, मध्यपूर्व हुँदै उड्ने कुनै जहाज चलेनन् ।
नेपालको तथ्यांकले नै भन्छ– दैनिक २–३ हजार नेपाली युवा वैदेशिक रोजगारीका लागि उड्छन् र उनीहरुको मुख्य गन्तव्य मध्यपूर्व नै हो, खाडी क्षेत्र नै हो। दुबई, कतार, साउदी, कुवेत, बहराइन, इराक ।
भौगोलिकरुपमा मध्यपूर्व नेपालबाट हजारौं किलोमिटर टाढा छ। तर, यो भूगोल नेपालीहरुसँग टाढा छैन। मध्यपूर्व त धेरै नेपालीहरुको परिवारसँग जोडिएको छ। अहिले पनि मध्यपूर्वका करिव आधा दर्जन मुलुकमा करिब २० लाख नेपाली छन्।
नेपाल वैदेशिक रोजगारी र रेमिट्यान्समा निर्भर मुलुक हो । खाडी मुलुकमा पसिना बगाएर पठाएको रेमिट्यान्सकै कारण राष्ट्र बैंकले विदेशी मुद्राको सन्चिति बढ्यो भनेर भनिरहेको छ। डलरले राज्यको ढुकुटी भरिदिने तिनै नेपाली युवाहरु अहिले त्रसित छन् । उता, उनीहरु त्रसित छन्, यता उनीहरुका परिवारका सदस्य ।
अमेरिकालाई जवाफ दिने क्रममा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी एयर बेसहरुमा आक्रमण गरिरहँदा त्यहाँ रहेका नेपालीहरुले असुरक्षित महसुस गरिरहेका छन् । कतिपय त शनिबार बिहानदेखि नै कार्यरत रहेकै स्थानमा थुनिएका छन्, जो डेरामा छन्, उनीहरु पनि बाहिर निस्कन सकेका छैनन् ।
यो अवस्था लम्बिँदै गयो भने के होला रु भनिरहनु नपर्ला । यसको प्रारम्भिक संकेत त हामीले कोभिड महामारीका बेला पाइसकेका छौं । त्यतिबेला एउटा रोगको महामारी थियो, सावधानी अपनाएमा र उपचार गरेमा निको हुने अवस्था थियो । तर, अहिले त युद्ध चलेको छ। युद्धमा कसको इहलीला कतिबेला समाप्त हुन्छ, यसैभन्न सकिँदैन।
नेपाल सरकारले इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि त्यसक्षेत्रमा उत्पन्न परिस्थितिलाई लिएर त्यहाँ रहेका नेपालीहरूका लागि ’एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका घटनाक्रमबारे आफूले अनुगमन गरिरहेको भन्दै सावधानीका उपाय अपनाउन सुझाव दिएको छ। ती देशमा यात्रा नगर्न र सम्बन्धित देशहरुले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।
युद्ध लम्बिँदै गयो भने के गर्ने रु परराष्ट्र मन्त्रालयले भनेको छ– आवश्यक परे ती देशहरुबाट नेपालीहरुलाई उद्धार गर्नेछौं । तर, मन्त्रालयले भने जसरी ती देशहरुबाट नेपालीहरुलाई उद्दार गर्न सजिलो छैन। पहिलो– अवस्थाका हिसाबले, दोस्रो संख्याका हिसाबले ।
नेपालीहरुका लागि वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य अनि रेमिट्यान्सको मुख्य स्रोत– खाडी क्षेत्र । यो क्षेत्रमा बढेको तनावले त्यहाँ रहेकाहरु त्रसित छन्, यहाँ रहेकाहरु चिन्तित छन्, जान खोजेकाहरु यतै रोकिएका छन्, फर्किन खोजेकाहरु उतै रोकिएका छन्। यतिमात्रै होइन, फागुन २१ को चुनावमा भोट हाल्न भनेर नेपाल आउन ठिक्क परेका हजारौं नेपाली आफ्नो मताधिकार प्रयोग गर्नबाट बन्चित भएका छन् ।
केही मतदाता अझै पनि कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने निर्णयमा पुगिसकेका छैनन् । यसरी निर्णयमा पुगिनसकेका मतदातालाई विवेकपूर्ण निर्णय लिनकै लागि मतदानअघि ४८ घण्टाको मौन अवधि...बुधबार, फागुन २०, २०८२
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.