नेभिगेशन
समाज

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

काठमाडौँ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०–६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०-१५ जनासम्म पर्यटक आउने गरेका उनले जानकारी दिए ।

Ncell
Extreme Energy

गुरुङका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि यही असार २५ गतेसम्म अन्नपूर्ण पदमार्गमा ४० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक हजार ५०० ले बढी हो ।

तर वर्षायाम सुरु भएसँगै पर्यटक आगमन भने घटेको उनको भनाइ छ । गत जेठमा दुई हजार ७७५ जना पर्यटक पदमार्गमा आएका थिए भने असार २५ गतेसम्म ८०० जना मात्रै आएका उनले जानकारी दिए ।

मस्र्याङ्दी गाउँपालिका–४ जगतका होटल व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार पर्यटक आगमन घटेसँगै होटल व्यवसायको आम्दानीमा पनि असर परेको छ । पर्यटकीय याममा महिनाको रु ५०–६० हजारसम्म आम्दानी हुने जनाउँदै उनले अहिले त्यसको एकतिहाइ बराबर कमाइ हुन नसकेको बताए ।

‘पहिले व्यापार धान्नै मुस्किल हुन्थ्यो, अहिले भने फुर्सदै फुर्सद छ’ उनले भने, ‘पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । आम्दानी निकै घटेको छ ।’
होटल व्यवसायी गुरुङका अनुसार पर्यटन व्यवसायबाट जीविकोपार्जन गर्ने व्यवसायील याममा कमाएको आम्दानीकै भरमा अहिलेको समय धानिरहेका छन् ।

पर्यटक घटेसँगै होटल, लज, रेष्टुरेण्ट, भरिया, पथप्रदर्शक तथा यातायात व्यवसायीसमेत प्रभावित भएका उनको भनाइ छ । बुङ झरना नजिकै होटल व्यवसाय सालन गरिरहेका खुसबहादुर तामाङले वर्षायाममा व्यवसाय सुस्ताएको बताए ।

सडकको अवस्था, बाढीपहिरोको जोखिम र यात्राको असहजताका कारण पर्यटकले यात्रा गर्न नचाहँदा आगमनसँगै कमाइ पनि घटेको उनको भनाइ छ ।

‘सडक सुरक्षित हुँदा समूह–समूहमा पर्यटक आइरहन्थे । अहिले वर्षाका कारण जोखिम बढेपछि पर्यटक आउन डराउने अवस्था छ’, उनले भने ।
बेँसीसहर–चामे सडकमा वर्षायाममा बाढीपहिरोको जोखिम बढ्ने भएकाले अन्नपूर्ण पदमार्गको यात्रा चुनौतीपूर्ण हुने गरेको छ ।

सडक डिभिजन कार्यालय लमजुङका सूचना अधिकारी नवीन विस्तारका अनुसार असारदेखि असोजको पहिलो सातासम्म सडकमा बाढीपहिरोको जोखिम बढी रहने गर्दछ । सडक अवरुद्ध हुन नदिन विभिन्न स्थानमा उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए ।

सामान्य अवस्थामा सडक सञ्चालनमा रहे पनि निरन्तर वर्षा वा ठूलो पहिरो खसेमा यात्रा प्रभावित हुनसक्ने सूचना अधिकारी विस्तारको भनाइ छ । विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटकले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने गर्दछन् ।

यस पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर हो । पर्यटन व्यवसायीले वर्षायाम समाप्त भई मौसममा सुधार आएपछि पर्यटक आगमन पुनः पुरानै अवस्थामा फर्किने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...