नेभिगेशन

नेताका कुरा

नसुध्रेका दुई पात्रः देउवा र ओली

काठमाडौँ । सोमबार सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओली ‘बादशाह’का रुपमा प्रस्तुत भए । पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई स्वीकार नगरेका ओलीले पार्टीको विधिसमेत मिचेर बैठक आफै सञ्चालन गरे । आचारसंहिता आफै बनाए, एजेण्डा पनि आफै तोके । बैठकअघि र बैठकका दौरान ओली जसरी प्रस्तुत भए, त्यसले देखाउँथ्यो– ओली नै एमाले, एमाले नै ओली, अरु सबै ओलीका सहयोगी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएको साउन २८ यता, कांग्रेसका निवर्तमान सभापति एवम् पाँच पटक प्रधानमन्त्री भइसकेका नेता शेरबहादुर देउवाको गतिविधि पनि यस्तै छ । गएको पुसमै विशेष महाधिवेशनबाट अपदस्थ भइसकेका देउवा अहिले आफैलाई सभापति दाबी गरिरहेका छन् । उनको वरिपरि जो जो उपस्थित छन्, तिनलाई मात्रै पार्टीका कार्यकर्ता ठानिरहेका छन् । सानेपाबाट अपदस्थ सभापति देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट समानान्तर पार्टी चलाइरहेका छन् ।

एक वर्षअघिको जेनजी आन्दोलन र गत फागुनको चुनावपछि धेरैलाई लागेको थियो– अब त पुराना दल र तिनका नेता पनि पक्कै सुध्रिन्छन्, उनीहरूले पनि समयको गतिलाई बुझ्छन् । केही दल र नेतामा यसका संकेत पनि देखिए ।

तर, एमाले अध्यक्ष ओली र कांग्रेसका निवर्तमान सभापति देउवालाई भने जेनजी आन्दोलन र चुनावको परिणामले कुनै असर गरेन । जबकि राजनीतिक रुपमा जेनजी आन्दोलनले सबैभन्दा ठूलो धक्का यिनै दुई नेतालाई दिएको  थियो । 

kp-sher-1790056992.jpg
 

जेनजी आन्दोलनको दोस्रो दिन बालुवाटारबाट सेनाको हेलिकोप्टरमा भागेका तत्कालीन प्रधानमन्त्री ओली र बूढानीलकण्ठस्थित आफ्नै निवासमा रक्ताम्य पारिएका देउवा एक वर्ष बित्दा नबित्दै विजय भावमा प्रस्तुत हुन थालेका छन् ।

ओली सत्ताबाट अपदस्थ भए । केही दिन सेनाको सुरक्षा घेरामा रहेका ओली नयाँ सरकार बनेलगत्तै पक्राउ परे । जेनजी आन्दोलनमा नरसंहार मच्चाएको सबैभन्दा बढी दोष उनै ओलीलाई लाग्ने गरेको छ ।

कांग्रेसको समर्थन र सहभागितामा दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका ओलीले सम्भवतः त्यसरी भाग्नुपर्ला भनेर सोचेकै थिएनन् । अघिल्लो दिन सरकारले रक्तपात मच्चायो, दोस्रो दिन सर्वशक्तिमान सरकारका प्रधानमन्त्री नै भाग्नुपर्ने अवस्था आयो ।

यो त ओलीको कुरा भयो ।

ओलीले सिंहदरबार र बालुवाटारबाट शासन चलाउँदा कांग्रेसका तत्कालीन सभापति देउवा छैटौँ पटक प्रधानमन्त्री बनेर सिंहदरबार र बालुवाटार प्रवेशको मिति पर्खंदै थिए । जेनजी आन्दोलन नभएको भए यतिबेला देशको प्रधानमन्त्री देउवा नै हुने थिए । जेनजी आन्दोलनले ओलीलाई मात्रै अपदस्थ गरेन, फेरि प्रधानमन्त्री बन्ने देउवाको अभिलाषा पनि तुहाइदियो । न घर रह्यो, न पर्खिरहेको प्रधानमन्त्रीको पद नै हात लाग्यो । यतिमात्रै होइन, देशको तत्कालीन पहिलो दल कांग्रेसको सभापतिबाट पनि अपदस्थ हुनुपर्‍यो । ओली र देउवाले एकसाथ यति ठूलो हण्डर भोग्नु परेको पहिलो पटक नै थियो ।

२०८१ असार १७ गते राति, क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे ‘सत्ता सहमति’ गर्दा ओली र देउवालाई लागेको थियो– अब उनीहरूलाई कसैले ‘च्यालेञ्ज’ गर्न सक्ने छैनन् । पार्टीभित्र होस् वा बाहिर । सुरुका दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने गरी कार्यकाल बाँडेका उनीहरूले केबल सत्ता र शक्ति मात्रै देखे । सडकमा के भइरहेको छ, समाजमा गहिराइमा के छड्किइरहेको ? हेक्का गरेनन् ।

ओलीलाई देउवाको आड, देउवालाई ओलीको आस । सरकारमा दुवैका विश्वासपात्र । देउवापत्नी आरजु स्वयं ओली क्याबिनेटकी परराष्ट्रमन्त्री । सिंहदरबारदेखि बालुवाटारसम्म र बालुवाटारदेखि बूढानीलकण्ठसम्म, यत्ति ठाउँमा कुरा मिलेपछि ओली र देउवाले न आफ्नैभित्रको कुरा सुने, न सदनमा उठेका आवाजमा ध्यान दिए । सडकको त कुरै भएन ।

जब कोही आत्मरतिमा मात्रै रमाउँछ भने त्यसले सफलता पक्कै हासिल गर्न सक्दैन । ओली र देउवाको आत्मरतिको परिणाम ठ्याक्कै यस्तै देखियो ।

२०८२ भदौ २३ गते सडकमा उत्रेका नौजवानलाई ओली र देउवाले बैरी ठाने । पहिले सडकमा उत्रेका नौजवानलाई बैरी ठाने, पछि पार्टीभित्रै सुधार खोज्ने नेताहरूलाई बैरी ठाने । कांग्रेस र एमाले दुवै पार्टीमा सुधार चाहनेहरूको संख्या बढ्दो छ । तर, त्यसरी सुधार चाहनेप्रति देउवा र ओलीको बुझाइ समान छ ।

ओलीले सोमबारको केन्द्रीय कमिटी बैठकमा पार्टीमा पुनर्गठन चाहनेप्रति कटाक्ष गरे । आफ्नो चाहनाविपरीत कोही कसैले केही गर्न नसक्ने सन्देश प्रवाह गरे । कार्यदलले महिनौं लगाएर तयार पारेको प्रतिवेदनलाई फिस्स पारिदिए ।

चुनावको साता महिनापछि बसेको बैठकको मुख्य एजेण्डा चुनावी समीक्षा हुनुपर्ने हो । एक वर्षअघिसम्म सत्ता हाँकेको पार्टी गएको चुनावमा खुम्चिएर मरिचजस्तो बनेको छ । तर, ओलीको दम्भ र अहंकार अझै खुम्चिएको छैन । विजय भावमा प्रस्तुत भइरहेका छन् ।

ओली विशेषगरी पछिल्ला परिवर्तनप्रति रुष्ट छन् । बालेन सरकारप्रति रुष्ट छन् । भोटेकोशी बाढीले देशमा यति ठूलो विपत्ति ल्याउँदासमेत उनी सरकारलाई गाली गर्न उद्यत छन् । हुँदा हुँदा उनले सरकारले तादीमा निर्माण गरेको बेलिब्रिजलाई समेत एआईबाट बनाएर प्रचारबाजी गरिएको भनेर छुद्र टिप्पणी गरे ।

एक वर्षअघि, देउवाले पनि यसै भनेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन– बूढानीलकण्ठस्थित घर जल्दा पैसाका मुठा पनि जलेका थिए । भित्र–बाहिर नोट छरपस्ट थिए । कतिपयले त देउवा निवासमा भेटिएका पैसाका बिटासमेत उठाएर हिँडेका थिए । तर, उनै देउवाले २०८२ असोज २८ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो घरमा जलाइएको भनिएको पैसाको भिडियो एआईबाट बनाइएको दाबी गरे ।

ओलीको तुलनामा देउवामा बढी राजनीतिक चेत र लोकतान्त्रिक आचरण छ भनेर केही समय प्रशंसा नभएको पनि होइन । जेनजी आन्दोलनपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएपछि उनको प्रशंसा भयो । तर, त्यो प्रशंसा उनले धेरै समय जोगाउन सकेनन् । पार्टीभित्र विशेष महाधिवेशनको आवाज उठिरहँदा उनले देखाएको अनिच्छा र चुनावमा आफैले हस्ताक्षर गरेर टिकट दिने मोह देखाएपछि देउवा सुध्रेका रहेनछन् भन्ने प्रमाणित नै भयो ।

देशमा चुनाव आउनै लाग्दा उपचारका लागि विदेश हानिएका देउवा पाँच महिनापछि साउन अन्तिममा फर्किए । फर्केको भोलिपल्टै इतरपक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भए– सभापतिको रुपमा । भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन पक्षप्रति रोष प्रकट गरे । अहिले कांग्रेसमा महाधिवेशनको माहोल छ । देशका अधिकांश वडामा अधिवेशन भइसकेका छन् । पालिका र क्षेत्रको अधिवेशनपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा पन्ध्रौं महाधिवेशन गर्ने तयारी छ ।

तर, देउवाले विशेष महाधिवेशन पक्षधरले बोलाएको महाधिवेशनमा सहभागी नहुन सार्वजनिक रुपमा नै अपिल जारी गरेका छन् । सभापतिका रुपमा दुई कार्यकाल कांग्रेसको नेतृत्वको गरेका देउवा अहिले केही नेताहरूको साथ लिएर मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारीमा छन् ।

देउवा सभापति हुँदा सिंगो पार्टी उनको नेतृत्वमा थियो । देउवासँग फरक मत राख्ने नेताहरूसमेत उनकै नेतृत्व स्वीकार गरेर बसेका थिए । झण्डै ९ लाख क्रियाशील सदस्य रहेको पार्टीको नेतृत्व देउवाले गरेका थिए ।

तर, साउन २८ मा नेपाल फर्केका देउवाको हैसियत र अवस्था भदौ २८ गतेयता फेरिएको छ । जब संस्थापन पक्षले चौधौं महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य तथा पदाधिकारी स्वतः केन्द्रीय सदस्य हुने निर्णय गरिदियो, देउवाको पक्षमा रहेका ५१ जना नेताहरू लाइन लागेर, हाँस्दै रमाउँदै सानेपा पुगे, देउवालाई चुनदेवीमा छाडेर ।

अहिले देउवाको साथमा सीमित नेताहरू मात्रै छन् । जुन जुन नेताहरू देउवाको पक्षमा बसिरहेका छन्, उनीहरूकै वडामा अधिवेशन भइसकेको छ । असोज १६ गतेसम्म पुग्दा अहिले बचेखुचेका नेताहरू पनि देउवासँग कति जना बाँकी रहन्छन् भन्ने संशय छ ।

ओली र देउवाले देश, जनता र आफ्ना कार्यकर्ताबाट पाउन अब बाँकी छैन । पटक पटक प्रधानमन्त्री, पटक पटक पार्टीको नेतृत्व । पार्टीका कार्यकर्ता र देशबाटै यति धेरै अवसर र प्रतिष्ठा पाइसक्दा समेत उनीहरूमा कायम दम्भ, अहंकार र लोभले उनीहरू आफैलाई क्षति पुगिरहेको छ । तर पनि उनीहरूले त्यसलाई बुझेका छैनन् ।

उमेर, अनुभव र समयका आधारमा पनि उनीहरू अभिभावक बनेर बस्नुपर्ने थियो । समयको चाप, जनताको इच्छा र कार्यकर्ताको चाहना बुझ्नुपर्ने थियो । तर, सीमित नेताहरूको लहैलहैमा लाग्दा ओली र देउवाले पार्टीलाई मात्रै होइन, सिंगो देशलाई नै क्षति पुर्‍याइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
थप नेताका कुरा
कहाँ पुग्यो संविधान संशोधनको बहस ?

कहाँ पुग्यो संविधान संशोधनको बहस ?

रास्वपाले बालेनको नेतृत्वमा सरकार बनाएपछि फेरि संविधान संशोधनको मुद्दामा बहस हुन थालेको छ । बहस भइरहेको छ । सँगै आम अपेक्षा छ– अब रास्वपाले संविधान संशोधन गर्ने छ,...
अर्को प्रलयको सम्भावना

अर्को प्रलयको सम्भावना