नेभिगेशन
समाज

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे। प्रतिकूल मौसम, हिमपात र सडक अवरोधका कारण लामो यात्रा गर्नुपरेको उनीहरूलाई अब बजारमा समयमै भेडाच्याङ्ग्रा बिक्री गर्न पाइने हो कि होइन भन्ने चिन्ता छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा ल्याएको छ। तीमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन्। दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू भदौ १८ गते घरबाट हिँडेका थिए।

Ncell
Extreme Energy

“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ। घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ।”

शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ। तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग कस्तो होला र बिक्री गर्न पाइएला कि नपाइएला भन्ने चिन्ता उनीहरूलाई छ।

“ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने।

डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ अघि बढेका हुन्। घरबाट हिँडेको २२ दिन भइसकेको रोकायाको टोलीको मुख्य पेसा भेडाच्याङ्ग्रापालन हो। उनीहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्छन्। तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ।

डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन्। समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउनु सहज छैन।

“भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्‍याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” बुढाले भने।

सडक अवरुद्ध हुँदा बजार पुग्न ढिलाइ

दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ। डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ।

असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनाएको थियो। यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनबाट ढुवानी गर्ने दुवै काम प्रभावित भए। कतिपय किसानले लामो दूरी पैदल हिँड्नुपर्‍यो। सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको छ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौंलगायत सहरमा पठाउन थालिएको छ। तर, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ। जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ।

कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।

लागत बढ्यो, खरिदबिक्रीमा पनि समस्या

लामो यात्रा र सडक अवरोधका कारण किसान तथा व्यापारीको खर्च बढेको छ। मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्न र भेडाच्याङ्ग्रा खरिद गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ।

बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खरिदमा समस्या भएको थियो।

“किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने।

व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार भेडा प्रतिगोटा ३२ हजारदेखि ३५ हजार रुपैयाँ र च्याङ्ग्रा करिब ४० हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बेनीमा भने भेडाको मूल्य प्रतिगोटा करिब ३६ हजार र च्याङ्ग्राको ४५ हजार रुपैयाँ पुगेको बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाँले बताए।

“पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” बानियाँले भने, “महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ।”

मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौं हुन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए।

च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन त्यहाँका किसानको मुख्य आयस्रोत हो। उपल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्।

च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ। पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहार अभाव हुने समस्या छ। हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन्।

दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन्। तर, यसपालि प्रतिकूल मौसम, हिमपात र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ। बजारमा पुग्न ढिलाइ हुँदा बिक्री प्रभावित हुने जोखिमसँगै लामो यात्राको खर्चसमेत बढेको छ। दसैँको व्यापारबाट वर्षभरिको खर्च जुटाउने किसानलाई यसपालिको ढिलाइले थप चिन्तित बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।