पोखरा । पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्यो’ भनेपछि उनी जुरुक्क उठे। सामुदायिक प्रहरी कालिकाका पूर्वअध्यक्षसमेत रहेका केसी दुई जना साथीलाई लिएर दुर्घटनास्थल ओख्लेको भिरतर्फ दौडिए।
घटनास्थल पुग्दा कोही विद्यार्थी भिरमा अड्किएका थिए भने कोही बससँगै तल खसेका थिए। घाइते विद्यार्थीको चित्कारले वातावरण स्तब्ध थियो। ‘दाइ, अङ्कल, मलाई बचाउनुहोस्’ भन्दै उनीहरू गुहार मागिरहेका थिए।
अप्ठ्यारो भिरको बाटो हुँदै केसी र उनका साथी तल ओर्लिए। बसका पार्टपुर्जा छरिएका थिए। विद्यार्थी यत्रतत्र थिए। उद्धारका लागि आवश्यक सामग्री थिएन। तर, घाइतेको चित्कार सुनेपछि उनीहरू पछि हट्न सकेनन्। घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेर सडकसम्म ल्याउन थाले।
“हामीसँग उद्धारका लागि केही पनि सामान थिएन। सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ,” केसीले उद्धार गर्दाको अनुभव सुनाउँदै भने।
स्थानीय करिब १०–१२ जना उद्धारमा जुटिरहेका बेला सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा आइपुग्यो। पोखरा बजारबाट करिब १५ किलोमिटर टाढा रहेको माझठानामा शुक्रबार बिहान भएको दुर्घटनाले सिङ्गो गाउँलाई शोकमा डुबाएको छ।
पुरानो बस नचलाउन आग्रह गरेको स्थानीयको भनाइ
सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान ६ः३३ बजे सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने १३ विद्यार्थी र चालक घाइते भएका छन्।
कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए। विद्यालय पुग्न केही समय मात्र बाँकी रहँदा बस दुर्घटनामा परेको थियो।
दुर्घटनाको वास्तविक कारण खुलिसकेको छैन। सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने ठाउँबाट सिधै भीरतर्फ खसेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार सडक फराकिलो भएकाले सवारी चलाउन कठिन हुने अवस्था थिएन।
स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो। विद्यार्थीले समेत उक्त बसमा चढ्न आनाकानी गर्ने गरेका थिए। बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक–पटक आग्रह गरिएको केसीले बताए।
“गाडी पुरानो भएको थियो। पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ। तर, आज यस्तो दुःखद घटना भोग्नुपर्यो,” उनले दुःख व्यक्त गर्दै भने।
स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का गरे पनि प्राविधिक परीक्षण र अनुसन्धानबाट यसको पुष्टि हुन बाँकी छ। दुर्घटनामा चालकसमेत घाइते भएका छन्। उद्धारका क्रममा सामान्य कुराकानी हुँदा चालकले दुर्घटनाअघि एक्कासि अँध्यारो देखेको बताएको केसीले सुनाए।
एउटै गाउँका चार विद्यार्थीको मृत्यु
विद्यालय जाने क्रममा भएको दुर्घटनामा एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना शोकमा डुबेको छ। आफन्त र छिमेकीका आँखाबाट आँसु रोकिएका छैनन्।
दुर्घटनाको खबर फैलिएपछि घाइतेलाई उपचारका लागि लगिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त र स्थानीयको भीड लागेको थियो। बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिका दुर्घटनामा परेको खबरले परिवार र गाउँले स्तब्ध बनेका छन्।
पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताए।
“एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन्। बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उनले भने।
वडाध्यक्ष लामिछानेका अनुसार दुर्घटनाको कारण पुष्टि नभए पनि स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको कारण पहिचान गर्नुपर्नेमा जोड दिए।
दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्ने, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्ने र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको छ। बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताए।
दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।