काठमाडौं। गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।
नदीमा एक्कासि लेदो, ढुंगा र गेग्रानसहितको बाढी आएपछि नदी किनारका बस्ती तथा बजार क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। बाढीले घर, बजार, पुल र जलविद्युत् आयोजनाका संरचना बगाएको छ। पाँच जना गोठाला सम्पर्कविहीन छन्।
उत्तरी गोरखामा ठूलो वर्षा नभए पनि एकाबिहानै आएको बाढीले स्थानीयलाई त्रसित बनाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बुढीगण्डकीमा आएको बाढीले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको झल्को दिएको बताएकी छन्।
‘बुढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ। दर्जनौँ घर बगाएको छ। क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन,’ उनले भनेकी छन्।
कसरी आयो एक्कासि बाढी?
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ मा पर्ने लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बुढीगण्डकी नदीको बहाव रोकिएको थियो। चुम्चेत क्षेत्रको उङ्गिलुङ खोला र स्यार खोलातर्फबाट आएको बाढी तथा पहिरोका कारण पनि नदी थुनिएको हुन सक्ने आशंका गरिएको छ।
यसको पुष्टि हुन बाँकी छ। आइतबार बिहान बाढीको स्रोत खोज्दै हेलिकप्टर पठाइएको छ। त्यसले थप विवरण ल्याउने अपेक्षा गरिएको छ।
आइतबार बिहान करिब ४ बजेदेखि ४ः२५ बजेको बीचमा माथिल्लो क्षेत्रमा बाढी र पहिरोको घटना भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। नदी थुनिएर पानी जम्मा भएपछि एक्कासि बहाव खुलेको र त्यसले तल्लो तटीय क्षेत्रमा भीषण बाढी ल्याएको प्रारम्भिक अनुमान छ।
प्रहरीका अनुसार बिहान ५ः३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
नदी थुनिएको सूचना पाएपछि तटीय क्षेत्रका प्रहरी युनिट र स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो। बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार नदी थुनिँदा पानी र वाफको मुस्लो करिब २०० देखि ३०० मिटर माथिसम्म देखिएको थियो।
तर बाढीको वास्तविक कारणबारे विस्तृत प्राविधिक पुष्टि भइसकेको छैन। बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले पनि सुख्खा पहिरोका कारण नदी थुनिएको हुन सक्ने आशंका गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार सामागाउँ, नम्रुङ र सेतिबास–जगत क्षेत्रका वर्षा मापन केन्द्रमा उल्लेख्य वर्षा भएको देखिएको छैन। पछिल्लो २४ घण्टामा सामागाउँ र सेतिबास–जगतमा शून्य मिलिमिटर तथा नम्रुङमा ०.२ मिलिमिटर वर्षा रेकर्ड भएको विवरण छ।
यसले माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएर बाढी आएको भन्दा पहिरोले नदी थुनिएर एक्कासि खुलेपछि बाढी आएको हुन सक्ने आशंकालाई बल दिएको छ। यद्यपि यसको अन्तिम पुष्टि हुन बाँकी छ।
बिहान ४ बजेदेखि बस्तीमा बाढी
बिहानै आएको बाढीले चुमनुब्री गाउँपालिका–३ का विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ। पैयू र बगर गाउँका ३५ घर बगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्।
दोभान, घट्टेखोला, जगत् र सल्लेरी क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले सल्लेरी बजार बगाएको स्थानीयले बताएका छन्। जगत् बजारमा पनि ठूलो क्षति भएको छ।
बाढीले घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवनसमेत बगाएको छ। नदी किनारका घर, टहरा र अन्य संरचनामा क्षति पुगेको छ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बाढीको सूचना पाएपछि स्थानीय बासिन्दा भागाभाग गर्दै सुरक्षित स्थानतर्फ लागेका थिए। त्यसैले ठूलो भौतिक क्षति भए पनि तत्काल प्राप्त विवरणमा मानवीय क्षति भएको पुष्टि नभएको उनले बताएका छन्।
‘चुम्चेतको उग्युलुङ खोलाबाट आएको बाढीले बुढीगण्डकी केहीबेर थुनिएछ। बाढी फुट्दा धेरै क्षति भयो,’ अध्यक्ष लामाले भनेका छन्, ‘लेकमा पाँच जना गोठाला सम्पर्कविहीन छन्। धेरै घर र हाइड्रो बगाएको छ।’
बाढीका कारण सम्पर्कविहीन भएका पाँच गोठालाको अवस्था अझै थाहा हुन सकेको छैन। उनीहरू लेकमा रहेका बेला बाढी आएको बताइएको छ।
सल्लेरी बजार बगायो, जगत् क्षेत्रमा पनि ठूलो क्षति
बुढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरी बजारमा ठूलो क्षति पु¥याएको छ। स्थानीयका अनुसार बाढीले बजारका संरचना बगाएको छ।
जगत् बजार र आसपासका क्षेत्रमा पनि व्यापक क्षति पुगेको छ। स्थानीय जनप्रतिनिधिका अनुसार जगत् बगरको स्वरूप नै परिवर्तन हुने गरी बाढी आएको छ।
घट्टेखोला, पैयू, बगर, सल्लेरी र जगत् क्षेत्रका बस्तीमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीले बस्तीमा थुप्रिएको लेदो, ढुंगा र गेग्रानका कारण पनि क्षति बढेको अनुमान छ। तर कुन बस्तीमा कति घर पूर्ण रूपमा बगे, कति घरमा आंशिक क्षति भयो र कति परिवार विस्थापित भए भन्ने विवरण संकलन भइरहेको छ।
३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो
बाढीले बुढीगण्डकी नदीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्पसमेत बगाएको छ।
साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको साइटमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष निमा लामाले बताएका छन्।
निर्माण कार्यमा संलग्न सोवित निर्माण सेवाका सञ्चालक सोवित श्रेष्ठका अनुसार आयोजनाको साइट निर्माणको काम करिब ९६ प्रतिशत सकिएको थियो। यही असोजमा निर्माण सम्पन्न संरचना हस्तान्तरण गर्ने तयारी थियो।
‘बुढीगण्डकी हाइड्रोको हाम्रो पूरै साइट बगाएको छ,’ श्रेष्ठले भनेका छन्, ‘स्टाफलाई बिहान ४ बजे नै माथितिर भाग्न लगाएका थियौँ। मानवीय क्षति छैन। यही महिना हस्तान्तरणको तयारी थियो। पूरै संरचना बगायो।’
आयोजनाको क्याम्प र निर्माणस्थलमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। निर्माण सामग्री, उपकरण र अन्य संरचनामा भएको क्षतिबारे पनि यकिन विवरण सार्वजनिक भएको छैन।
सल्लेरीस्थित आयोजनाको निर्माण क्याम्प रहेको बस्ती भने सरकारले मुआब्जा दिएर पहिले नै हटाएको बताइएको छ।
सोती बजार पुग्यो बाढी, मोटरेबल पुल बगायो
माथिल्लो क्षेत्रमा आएको बाढी बुढीगण्डकीको बहावसँगै तल्लो तटीय क्षेत्रतर्फ बढ्दै गएको थियो। आइतबार बिहान करिब ७ः३० बजे बाढी आरुघाट गाउँपालिकास्थित सोती बजार पुगेको थियो।
बाढीले सोती बजार र मान्बू जोड्ने बुढीगण्डकी नदीमाथिको पक्की मोटरेबल पुल बगाएको छ। पुल बगेपछि त्यस क्षेत्रको सडक सम्पर्कमा असर परेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बाढीले सोती बजारका केही टहरा र पुल बगाएको जानकारी दिएका छन्।
यसअघि बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको सूचना पनि प्राप्त भएको थियो। विभिन्न स्थानमा घर तथा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
दोभानको बेलिब्रिज र केरौंजा जाने पुल पनि बगायो
बाढीले धार्चे गाउँपालिकास्थित दोभानको बेलिब्रिजसमेत बगाएको छ। धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घर बगाएको छ।
बुढीगण्डकीमा आएको बाढीले एकपछि अर्को पुल बगाएपछि उत्तरी गोरखाका विभिन्न बस्तीको आवागमन प्रभावित भएको छ।
मोटरेबल पुल र झोलुंगे पुलमा क्षति पुगेपछि उद्धार टोली परिचालन, राहत सामग्री ढुवानी र सम्पर्कविच्छेद भएका बस्तीको अवस्था बुझ्न चुनौती थपिन सक्ने देखिएको छ।
तर कुन–कुन बस्तीको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भन्ने विवरण आउन बाँकी छ।
माछाखोला बजारमा पनि क्षति
बाढीले धार्चे गाउँपालिकास्थित माछाखोला बजारमा समेत ठूलो क्षति पुर्याएको विवरण प्राप्त भएको छ। केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत् बजारमा पनि व्यापक क्षति भएको छ।
स्थानीयले नदीको बहाव कहिले रोकिने र कहिले एक्कासि बढ्ने गरेको बताएका छन्। नदीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तटीय क्षेत्रमा जोखिम कायम रहेको प्रशासनको भनाइ छ।
बाढीको जोखिमलाई ध्यानमा राखेर खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
फेरि थुनियो बुढीगण्डकी, नदीमा जलप्रवाह रोकिएको सूचना
बाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्याइरहेका बेला चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको सूचना प्राप्त भएको छ।
प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार नदीमा करिब १५ मिनेटसम्म जलप्रवाह देखिएको थिएन। नदी फेरि थुनिएको हो वा अन्य कारणले बहाव रोकिएको हो भन्नेबारे यकिन भइसकेको छैन।
नदीमा जलप्रवाह रोकिएर फेरि एक्कासि खुलेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहन्छ। त्यसैले नदी किनारमा रहेका बस्तीमा थप सतर्कता आवश्यक देखिएको छ।
यसअघि पनि पहिरोका कारण नदी थुनिएर पानी एक्कासि खुलेपछि बाढी आएको प्रारम्भिक विवरण छ। अहिलेको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
त्रिशूली दोभानसम्म सतर्क रहन आग्रह
बुढीगण्डकीमा पानीको बहाव एक्कासि बढेपछि प्रहरीले त्रिशूली नदीको दोभानसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त भएकाले नदी किनारमा नजान र सुरक्षित अग्लो स्थानमा बस्न आग्रह गरिएको हो।
सल्लेरी, जगत्, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटलगायत नदी आसपासका बस्तीमा जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन भनिएको छ।
नदीको बहावबारे निरन्तर सूचना लिने र जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ।
उद्धारका लागि हेलिकोप्टर परिचालन
बाढीले गोरखाका विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्।
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको बताएका छन्।
गृहमन्त्री गुरुङले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रहरी र स्थानीय प्रशासनले प्रभावित क्षेत्रको अवस्था बुझ्ने, उद्धार आवश्यक पर्ने स्थान पहिचान गर्ने र क्षतिको विवरण संकलन गर्ने काम गरिरहेका छन्।
मानवीय क्षति र सम्पूर्ण विवरण आउन बाँकी
बुढीगण्डकीको बाढीले घर, बजार, पुल, विद्यालय र जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ। पैयू र बगरका ३५ घर बगाएको पुष्टि गाउँपालिकाकी उपाध्यक्षले गरेकी छन्। पाँच जना गोठाला सम्पर्कविहीन छन्।
तर बाढीबाट भएको कुल क्षति, प्रभावित परिवारको संख्या, विस्थापित नागरिक र अन्य भौतिक संरचनामा पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
बाढीको वास्तविक कारणबारे पनि प्राविधिक अध्ययनबाट पुष्टि हुन बाँकी छ। प्रारम्भिक विवरणले पहिरोका कारण स्यार खोला वा त्यस क्षेत्रका सहायक खोलाको बहाव थुनिएको र एक्कासि खुलेपछि बुढीगण्डकीमा ठूलो बाढी आएको हुन सक्ने देखाउँछन्।
उत्तरी गोरखामा ठूलो वर्षा नभएको अवस्थामा आएको यो बाढीले नदी थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा कस्तो जोखिम निम्तिन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।
प्रशासनले बुढीगण्डकी र त्रिशूली नदी किनारका बासिन्दालाई नदीको बहाव हेर्न वा बाढीको अवस्था बुझ्न किनारमा नजान, सुरक्षित अग्लो स्थानमा बस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।