नेभिगेशन
समाज

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

बाढी पूर्वानुमान महाशाखाले बेनीघाटसम्मका बस्ती खाली गर्न बिहानै गरेको थियो आग्रह, दुई लाख एसएमएस पठाइएको दाबी

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी पूर्वानुमान महाशाखाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नदेखिएको जनाएको छ। प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर फुट्दा एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।

Ncell
Extreme Energy

महाशाखाका अनुसार आइतबार बिहान ६ बजे बाढीबारे प्रारम्भिक जानकारी प्राप्त भएको थियो। बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ।

बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतराको तहभन्दा माथि हो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र गतिमा बढ्दै बिहान ८ः३० बजे ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको थियो। त्यसलगत्तै बाढीले पुलसहित मापन केन्द्र बगाएकाले थप विवरण प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

दुई लाख एसएमएस पठाएको दाबी

महाशाखाका अनुसार बाढीको प्रारम्भिक सूचना प्राप्त हुनासाथ बूढीगण्डकी नदीको तटीय क्षेत्रदेखि धादिङको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।

बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत अद्यावधिक जानकारी सार्वजनिक गर्दै जोखिमयुक्त बस्ती खाली गर्न र आवश्यकताअनुसार राजमार्ग तथा करिडोरमा आवागमन बन्द गर्न आग्रह गरिएको थियो। मुग्लिङसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा सावधानी अपनाउन पनि अपिल गरिएको महाशाखाले जनाएको छ।

बिहान ९ः२५ बजे पुनः एसएमएस पठाएर सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन अनुरोध गरिएको थियो। यस अवधिमा दुई पटक गरी करिब दुई लाख एसएमएस पठाइएको महाशाखाको दाबी छ।

साँझसम्मै सुरक्षित स्थानमा रहन आग्रह

महाशाखाले बूढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदीको बहाव घटेको देखिए पनि जोखिम नटरेको भन्दै पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न महाशाखाले अनुरोध गरेको छ।

घटनाको थप प्राविधिक विश्लेषणबाट प्राप्त निष्कर्ष र बाढीको अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।