नेभिगेशन
समाज

काभ्रेका अवैध क्रसर र खानीलाई मापदण्डमा आउन मङ्सिर ७ सम्मको समय

काभ्रेपलाञ्चोक । मापदण्डविपरीत सञ्चालन भइरहेका काभ्रेपलाञ्चोकका क्रसर तथा खानी उद्योगलाई कानुनी मापदण्ड पूरा गर्न मङ्सिर ७ गतेसम्मको समयसीमा तोकिएको छ । उक्त अवधिमा मापदण्ड पूरा नगर्ने उद्योगलाई शिलबन्दी गरी सञ्चालनमा रोक लगाइने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाभित्र सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगलाई कानुनी दायरामा ल्याउन जिल्लास्तरीय अनुगमन समितिले नौबुँदे निर्णय गरेको हो ।

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार मङ्सिर ८ देखि १० गतेसम्म पुनः स्थलगत अनुगमन गरिनेछ । त्यसक्रममा तोकिएका आधारभूत सर्त पूरा नगरेका उद्योगलाई शिलबन्दी गरी हदैसम्मको कानुनी कारबाही गरिनेछ ।

प्राकृतिक स्रोतको अवैध दोहन, सडकमा हुने क्षति र वातावरणीय जोखिम नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने उनले बताए ।

समितिले उद्योगलाई स्वीकृत क्षेत्र र परिमाणभित्र रहेर मात्र उत्खनन गर्न, उद्योग परिसरमा घेराबार वा सेड निर्माण गर्न, धुलो तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न र फोहोर तथा खेर जाने सामग्रीको वैज्ञानिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउन, उद्योगसम्बन्धी कागजात कार्यस्थलमै राख्न तथा साँधसधियार र स्थानीय समुदायसँग समन्वय एवं सहमति कायम गर्नुपर्ने निर्णय गरिएको छ ।

कानुनबमोजिम दर्ता, वातावरणीय स्वीकृति र आवश्यक इजाजत नलिई सञ्चालन भइरहेका खानी तथा क्रसर उद्योग तत्काल बन्द गराइनेछ । काभ्रेपलाञ्चोकमा करिब पाँच दर्जन खानी तथा क्रसर उद्योग सञ्चालनमा छन् ।

बन्द गरिएका उद्योग पुनः सञ्चालनमा नरहेको सुनिश्चित गर्न सम्बन्धित स्थानीय तहले स्थलगत प्रमाणीकरणसहितको प्रतिवेदन समितिमा पेस गर्नुपर्नेछ । रोक लगाइएका उद्योगले तोकिएका सर्त पालना गर्ने लिखित प्रतिबद्धता जनाएपछि मात्र सञ्चालन अनुमति पाउनेछन् ।

समितिले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका नदीजन्य तथा खानीजन्य उद्योगलाई ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ अनुसार सञ्चालन गराउन आवश्यक सर्त प्रस्ताव गरी समितिमा पठाउन पनि अनुरोध गरेको छ ।

उद्योगले स्वीकृत ‘माइनिङ स्किम’ र नक्साअनुसार क्वारी क्षेत्रको स्पष्ट सीमाङ्कन गर्नुपर्नेछ । तोकिएको सीमाभन्दा बाहिर अवैध उत्खनन गरेको पाइए छुट्टै अभिलेख राखेर प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।

उद्योग सञ्चालन तथा सामग्री ढुवानी गर्दा सडक, खोलानाला, नदी किनार, मानव बस्ती, खानेपानीका मुहान र सिँचाइ संरचनामा प्रतिकूल असर पार्न पाइने छैन । सार्वजनिक संरचना वा वातावरणमा क्षति पुगेमा सम्बन्धित उद्योगले आफ्नै खर्चमा तत्काल क्षति न्यूनीकरण र सुधारका काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उत्खनन, बिक्री तथा ढुवानीको परिमाण र राजस्व दाखिलाको अवस्थाबारे स्थानीय तहले नियमित निगरानी गर्नेछन् ।

यसैबीच, सडकमा क्षति पुर्‍याउने गरी हुने ओभरलोड ढुवानी, अवैध उत्खनन तथा ढुवानी र राजस्व चुहावट नियन्त्रण गर्न काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर र भक्तपुरका जिल्ला अनुगमन समिति तथा सरोकारवाला निकायको संयुक्त बैठक आयोजना गरिने भएको छ ।

समितिका संयोजक दीपककुमार गौतमका अनुसार बैठकबाट साझा कार्ययोजना तयार गरिनेछ । भारवहन क्षमतासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउन स्थानीय तह र सुरक्षा निकाय संयुक्त रूपमा परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।