नेभिगेशन
समाज

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

काठमाडौं । शारदीय पर्व घरआँगनमा आइपुगेको छ। खेतमा धानका बाला झुलेका छन्, कोदोका बाला फुलेका छन्। बोटमा अम्बा अर्थात् बेलौती लटरम्मै फलेका छन्। प्रकृतिले दसैं आएको संकेत गरिरहेको छ। न ठूलो वर्षा, न हिलो। उघारो मौसमले दसैंको स्वाद बोकेर ल्याउँछ। काम, पेसा र व्यवसायका सिलसिलामा घरबाहिर रहेकाहरू धमाधम फर्कन्छन्। वर्षभरि भेट्न नपाएका आफन्तसँग भेट्ने, घरपरिवारसँगै बसेर खाने र दुःखसुख साट्ने अवसर हो, दसैं।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर यसपालि दसैंको उल्लासमा विपत्तिको छाया परेको छ। उमंगलको हावा त्यति चलेको छैन। डेढ महिनाको अवधिमा देशले तीन ठूला विपत्ति झेल्नुपर्‍यो। भोटेकोशीको बाढीले साढे १४ सय मानिसको ज्यान लियो, ६ हजार बेपत्ता छन्। हजारौं परिवार घरबारविहीन भएका छन्।

Ncell
Extreme Energy

त्यसपछि कालीगण्डकीको भेलबाढीले उस्तै पीडा थप्यो। नदीको रौद्र रूपले सयौं घरपरिवारलाई बेघरबार बनायो। बाढीले उजाडिएका घरआँगनमा चाडपर्वको रौनक छैन। जहाँ शोक छ, जहाँ आफन्तको पर्खाइ छ, जहाँ बेपत्ताको खोजीमा दिनरात बितिरहेको छ, त्यहाँ दसैंको उल्लास कसरी छाओस्?

प्रियजन गुमाएका, आफन्त बेपत्ता भएका र विपत्तिले घरखेत उजाडेपछि सहाराको खोजीमा रहेका परिवारका लागि दसैंको अर्थ फेरिएको छ। उनीहरूका लागि चाडपर्वभन्दा ठूलो कुरा आफ्ना मान्छेको खबर पाउनु, सुरक्षित ओत पाउनु र फेरि सामान्य जीवनमा फर्कन सक्नु हो।

विपत्तिको असर पीडित परिवारमा मात्रै सीमित छैन। देशैभरि त्यसको छाया परेको छ। शृंखलाबद्ध विपत्तिले गर्दा यसपालि उत्सवको तामझाम घटाउनेहरू धेरै छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सादगीपूर्वक दसैं मनाउने भएका छन्। राजनीतिज्ञहरूले समेत पर्वको उल्लास कटौती गरेका छन्।

तर पर्व त पर्व हो। दुःखका बीच पनि आफन्त भेट्ने, घरपरिवारसँगै बस्ने र जे छ, त्यही बाँडेर खाने अवसर हो। यही आशामा मानिसहरू घर फर्किरहेका छन्। कोही यात्रामै छन्, कोही घर जान पोकापन्तुरा कस्दैछन्।
मनमा दसैंको रौनक छ, तर बाटोमा भय छ। घर पुग्ने हतारो छ, तर बाटाघाटाको अवस्था सम्झँदा मनमा त्रास उठ्छ। सडकका भत्किएका खण्ड, पहिरोको जोखिम र बाढीले बगाएका पुल सम्झँदा सुरक्षित घर पुग्ने चाहनासँगै अनिश्चय पनि बढ्छ।

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक सुक्न पाएका छैनन्। पहिरोको जोखिम पनि टरिसकेको छैन।

मनसुन विभागले यस वर्ष औसतभन्दा कम वर्षा हुने आकलन गरे पनि देशका अधिकांश स्थानमा सरदरकै हाराहारीमा पानी पर्‍यो। भोटेकोशी र बुढीगण्डकीमा वर्षा नभएकै बेला ठूलो भेलबाढी आयो। पृथ्वी राजमार्ग, पासाङ ल्हामु राजमार्ग र गल्छी–स्याफ्रुबेँसी सडकका विभिन्न खण्ड खण्डहर बने।

मनसुनको पानीले बिपी राजमार्ग, कान्ति लोकपथ, सूर्यविनायक–धुलिखेल, अरनिको राजमार्ग, कर्णाली र कोसी करिडोर, बेनी–जोमसोम तथा बेँसीसहर–चामे सडकका धेरै खण्ड जीर्ण बनाएको छ। त्रिशूली नदीको भेलबाढीले रसुवा र नुवाकोटका धेरै गाउँको सडक सम्पर्क टुटेको छ। बाटो छैन, पुल छैन। कतिपय ठाउँमा झोलुंगे पुलसमेत बगेपछि मानिसहरू तुइनको सहारा लिन बाध्य भएका छन्।

बुढीगण्डकीमा आइतबार बिहान आएको भेलबाढीले धादिङ र गोरखा जोड्ने मोटरेबल पुलसमेत बगायो। त्यसपछि धादिङका धेरै भेग सडक सम्पर्कबाट टाढिएका छन्। बाढीले भौतिक संरचना मात्रै बगाएको छैन, मानिसहरूको आवतजावत, जीविकोपार्जन र चाडपर्वको तयारीसमेत बिथोलेको छ।

बर्खा नसकिएकाले बाढीपहिरोले क्षतिग्रस्त सडक पूर्णरूपमा मर्मत हुन सकेका छैनन्। कतै अस्थायी डाइभर्सन बनाइएको छ, कतै नयाँ ट्र्याक खनिएको छ। बिपी र पृथ्वी राजमार्गको कृष्णभीर तथा गल्छी सडक खण्डमा बनाइएका नयाँ बाटोले तत्कालका लागि आवागमन सहज बनाउने प्रयास गरिरहेका छन्। तर ती खण्डमा जोखिम कायमै छ।

यसैले यसपालिको दसैं यात्रा सहज छैन। घर पुग्ने उत्साहसँगै बाटोमा के हुने हो भन्ने चिन्ता पनि छ। पृथ्वी राजमार्ग आइतबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो। गजुरीमा सडक भासिएपछि तीन दिन अवरुद्ध भएको सडक खुल्दा लामो जाम लागेको थियो। यात्रुहरूले घण्टौं सास्ती बेहोर्नुपर्‍यो। घर पुग्ने हतारोमा निस्किएका मानिसहरू बाटोमै रोकिन बाध्य भए। 

कृष्णभीरको अवस्था पनि उस्तै छ। यसको विकल्पका रूपमा बेनीघाट–फिस्लिङ वैकल्पिक सडक करिडोर स्तरोन्नतिको काम भइरहेको छ। कृष्णभीरमा विपद्का कारण पृथ्वी राजमार्ग अवरुद्ध भए साना सवारीसाधन चलाउन सकिने गरी सडक निर्माण अघि बढाइएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागले करिब दुई किलोमिटर सडकमा दुई लेनको ट्र्याक खोलिरहेको छ। प्रदेश र स्थानीय तहबाट सडक कालोपत्रे तथा निर्माणका काम भइरहे पनि मन्त्रालयले अघि बढाएको ट्र्याक तत्काल सञ्चालनमा आउने अवस्था छैन। त्यसैले यात्रुको चाप अझै कृष्णभीरले नै थेग्नुपर्नेछ।

बिपी राजमार्गको पीडा पनि कम छैन। दुई वर्षअघि रोशी खोलाले कटान गरेको झन्डै १३ किलोमिटर सडक पूर्णरूपमा बनिसकेको छैन। त्यहाँ अस्थायी डाइभर्सन बनाइएको छ। कतै खोलाको बगरबाट, कतै खेतीयोग्य जमिन हुँदै बाटो निकालिएको छ। पानी नपर्दा पनि यात्रा सहज छैन, पानी परेपछि झन् कठिन हुन्छ।

आइतबार र सोमबार बिपी राजमार्गमा लामो सवारी जाम भयो। गाडीहरू घण्टौं रोकिए। दसैं मनाउन घर हिँडेका यात्रुहरू निर्धारित समयमा गन्तव्यमा पुग्न पाएनन्। सडकको अवस्थाले उनीहरूको यात्रा मात्र लम्ब्याएन, घरमा पर्खिरहेका आफन्तको प्रतीक्षासमेत लम्ब्यायो।

सडक विभागका प्रवक्ता शुभराम न्यौपानेका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रबाट बाहिरिने सडकमा सवारीको चाप अत्यधिक छ। पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ, बल्खु–हेटौंडा, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा बढी चाप छ।

यो समाचार तयार पार्दासम्म यी सडकमा यातायात अवरुद्ध छैन। दोहोरो आवागमन भइरहेको छ। तर जोखिमरहित भने छैनन्। न्यौपानेका अनुसार बर्खा नसकिँदै चाडपर्व आएकाले र एकपछि अर्को विपत्ति थपिएकाले सडकको अवस्था जीर्ण छ। रातदिन उपकरण परिचालन गरेर यातायात पूर्ववत् सञ्चालन गर्ने प्रयास भइरहेको छ। कतिपय ठाउँमा रोकेर, पर्खिएर मात्रै अघि बढ्नुपर्ने अवस्था छ।

तर सडकमा सबैलाई हतारो हुन्छ। चालकहरू एकअर्कालाई उछिन्न खोज्छन्। चाडपर्वका बेला दुई जना बढी यात्रु राखेर भए पनि कमाइ बढाउने लोभ हुन्छ। यस्तो प्रवृत्तिले सडक अनुशासन र ट्राफिक नियम उल्लंघन हुने गरेको न्यौपाने बताउँछन्। साना तथा हलुका सवारीसाधन र दुईपांग्रे सवारीसाधन जहाँ पायो त्यहीँबाट छिर्न खोज्दा जाम थपिने गरेको उनको भनाइ छ।

विपत्तिले सडक साँघुरिएका बेला यात्रुको हतारो र चालकको लापरबाही थपिए दुर्घटनाको जोखिम बढ्छ। घर पुग्ने हतारोले घरै नपुग्ने अवस्था ननिम्त्याओस् भन्ने चिन्ता यसपालिको यात्रामा झन् महत्त्वपूर्ण छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बसपार्कहरूमा यात्रुको चाप अत्यधिक छ। नयाँबसपार्कलगायत विभिन्न बसपार्कमा घर फर्किने यात्रुको घुइँचो छ। यसपालि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको थियो।

तर बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात व्यवस्थापन प्रभावित भएको छ। त्यसैले टिकट काट्न आउनेहरूको चाप पनि बढेको छ। नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्।

उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका थिए।

यी अंकमा घर फर्किनेहरूको ठूलो लहर देखिन्छ। हरेक यात्रुसँग एउटा गन्तव्य छ, घरमा पर्खिरहेको परिवार छ र चाडपर्व सँगै मनाउने चाहना छ। तर सडकको अव्यवस्थाले त्यो चाहनालाई सहज यात्रामा बदल्न सकेको छैन।
दसैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई व्यवस्थापन गर्न कठिन भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाटोको अवस्थाले यातायात सञ्चालनमा समस्या भएको छ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध भयो। धेरै सवारीसाधन काठमाडौंमै रोकिए। त्यसले यातायात व्यवस्थापनमा थप समस्या निम्त्याएको गौतमले बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट ५२ हजार ८२७ यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएका छन्। तीमध्ये २० हजार ५९८ महिला र ३२ हजार २२९ पुरुष छन्। यही अवधिमा ४२ हजार ११४ यात्रु उपत्यका भित्रिएका छन्।

फूलपातीसम्म यात्रुको चाप अझै बढ्न सक्ने अनुमान छ। त्यसैले सडकको जोखिम र सवारीको चाप व्यवस्थापन गर्नु थप चुनौतीपूर्ण हुनेछ। नेपाल प्रहरीका अनुसार बाढीपहिरोका कारण धादिङ, म्याग्दी, नवलपरासी पूर्व र मनाङका सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

धादिङको धुनिबेंसी नगरपालिका–९ खत्रीपौवामा असोज २१ गते राति ९ः५० बजे पहिरो खसेपछि अवरुद्ध त्रिभुवन राजपथ अहिले एकतर्फी सञ्चालनमा छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५ः५० बजे पहिरो खसेपछि अवरुद्ध बेनी–जोमसोम सडक खण्ड पनि एकतर्फी सञ्चालनमा आएको छ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी करिडोर पनि अहिले एकतर्फी सञ्चालनमा छ। तर उक्त सडकमा ठूला सवारीसाधन चल्न नसक्ने जनाइएको छ।

मनाङमा असोज १८ गते दिउँसो ४ बजे बाढीले अवरुद्ध बनाएको बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालनमा आएको छ। यता, गोरखामा असोज २५ गते बिहान ५ः३० बजे बाढीका कारण सडक अवरुद्ध भएको छ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने प्रशासनले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सोमबार सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि आवागमन बन्द गर्न लागिएको बताएकी छन्।

गत असोज २३ गते शुक्रबार सडक भासिएपछि उक्त राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि खुलेको सडक थप मर्मत गर्नुपर्ने भएपछि फेरि रातभर बन्द गर्न लागिएको हो। दसैंको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा यात्रुको यात्रा थप कठिन भएको छ। हजारौंले अग्रिम टिकट काटिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायी र सर्वसाधारण दुवैलाई समस्या परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले बताएका छन्।

उनले भनेका छन्, ‘दसैंको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ।’ दसैं घर फर्किनेहरूको लर्को बसपार्कदेखि राजमार्गसम्म फैलिएको छ। कसैलाई घरमा बूढा आमाबुबाले पर्खिरहेका छन्, कसैलाई छोराछोरी र परिवारले। कसैको घरमा दसैंको टीका लगाउने तयारी छ, कसैको आँगनमा प्रियजनको प्रतीक्षा।

तर यही बेला देशका धेरै बाटा बाढीपहिरोले चिरिएका छन्। पुल बगेका छन्, सडक भासिएका छन्, कतै डाइभर्सन छन्, कतै घण्टौंको जाम। यात्रा गर्नेहरूका लागि घर पुग्ने बाटो यसपालि सहज छैन। विपत्तिले कसैको घर उजाडेको छ, कसैको परिवार खोसेको छ। बाँकी रहेकाहरूका लागि पनि यसपालिको दसैं विगतजस्तो छैन। त्यसैले यो पर्वमा उल्लासभन्दा बढी संवेदना, तामझामभन्दा बढी संयम र हतारोभन्दा बढी सावधानी आवश्यक छ।
दसैंको असली अर्थ सँगै बस्नु, दुःखसुख बाँड्नु र आफ्ना मान्छेको साथ पाउनु हो। त्यसैले घर पुग्ने हतारोमा जोखिम नमोलौं। सडकमा धैर्य गरौं, ट्राफिक नियम पालना गरौं। चाडपर्व मनाउन निस्किएको यात्रा सकुशल घरसम्म पुगोस्—विपत्तिले थलिएको यो समयको सबैभन्दा ठूलो कामना यही हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।