नेभिगेशन
समाज

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

गण्डकी । पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धनको साझा पहल अघि बढाइएको छ । पर्यटन विकास, प्रचारप्रसार र आपसी सहकार्यलाई प्रभावकारी बनाउन तीनवटै स्थानीय तहले विगतमा भएको समझदारी कार्यान्वयनमा अग्रसरता लिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।

Ncell
Extreme Energy

सोही समझदारी कार्यान्वयनका लागि भरतपुर महानगरपालिकाले सोमबार सरोकार भएका पक्षसँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ । कार्यक्रममा तीनै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा र पर्यटन व्यवसायीले तीनवटै गन्तव्यको पर्यटन विकासका लागि साझा प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने बताए । पर्यटन पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनमार्फत तीनै सहरको अर्थतन्त्र समृद्ध बनाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा अघि सारिएको बताए । गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारीअनुसार पोखरा महानगरले आफ्नो नीति, योजना तथा कार्यक्रममा यसलाई समेटेको उनले जानकारी दिए ।

“अब व्यवसायदेखि व्यवसाय (बीटूबी) र सरकारदेखि सरकार (जीटूजी) सहकार्यलाई ठोस र मूर्त रूपमा अगाडि बढाउनुपर्छ”, आचार्यले भने, “नेपाल भित्रिने पर्यटकले पोखरा, चितवन र लुम्बिनी एकैपटक घुम्ने गरी यातायात सम्पर्कदेखि पर्यटकीय सेवासुविधा विस्तारमा जोड दिनुपर्छ ।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहित गर्नुपर्ने बताइन् । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न पनि सबै पक्षले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । प्राकृतिक विपद्का कारण पछिल्लो समय पर्यटन क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वभर पुर्‍याउनुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी योजना बनाउनुपर्ने बताए । चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक सञ्जाल विस्तार र संयुक्त प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल माध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गन्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी आवश्यक रहेको बताए । उनले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गरिने जानकारी दिए ।

गत जेठ २६ गते तीन स्थानीय तहबीच भएको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला आयोजना गर्ने, आवश्यकताअनुसार बीटूबी तथा जीटूजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान चलाउने उल्लेख छ ।

समझदारीअनुसार तीनवटै गन्तव्यको प्रवर्द्धनका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिनेछ । पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउन डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि समेटिएको छ । सोही योजनाअन्तर्गत भरतपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिएको डिजिटल सूचना बोर्डको सोमबार शुभारम्भ गरिएको छ ।

समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समावेश छन् ।

तीनवटै गन्तव्यलाई समेटेर एकीकृत पर्यटकीय प्याकेज विकास गर्ने योजना रहेको जनाइएको छ । यसबाट पोखराको साहसिक पर्यटन, चितवनको प्राकृतिक सम्पदा र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई एउटै पर्यटकीय यात्रामा जोड्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मंगलबार साधारणतया बादल लाग्नेछ ।
सीमापारि जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारि जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यसपटक दसैंको किनमेलका लागि सीमापारिको भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ ।