धरान । बिहानैदेखि यात्रुको चहलपहलले व्यस्त रहने धरानको भानुचोक साँझपख भने फरक रौनकमा देखिन्छ। चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीड बढेको छ भने साँझ पर्दै जाँदा सडकछेउका ठेला, खाजा पसल र चिया पसलमा ग्राहकको चहलपहल थपिन्छ। झिलीमिली बत्तीले उज्यालिएको चोकमा खाजा खाने, चिया गफ गर्ने र भेटघाटमा रमाउनेहरूको भीडले साँझको माहोललाई जीवन्त बनाउँछ।
खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने–आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख ठूला सवारीसाधनको चाप केही घट्छ। त्यसपछि सडकछेउमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोल बेच्ने व्यापारीको व्यस्तता बढ्छ। खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकलाई थप रौनकपूर्ण बनाउँछ।
धरान–८ की अनिता राई विगत १० वर्षदेखि भानुचोकमा ठेलामा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन्। दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उनी साँझ ५ बजे ठेला लिएर भानुचोक पुग्छिन् र राति साढे ९ बजेसम्म व्यापार गर्छिन्। उनकी छोरीले पनि व्यापारमा सघाउँदै आएकी छन्।
“दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु। साँझ ५ बजे भानुचोक आएर साढे ९ बजेसम्म व्यापार गर्छु। छोरीले पनि सहयोग गर्छिन्,” राईले भनिन्।
पहिले मःम र चाउमिन प्रतिप्लेट ३५–४० रुपैयाँमा बेच्ने गरेकी राईले अहिले प्रतिप्लेट ७० रुपैयाँ लिने गरेकी छन्। यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च धान्न सहज भएको उनले बताइन्।
राईजस्तै धरान–१५ की निरा मगर पनि नौ वर्षदेखि भानुचोकमा साँझपख खाजाको व्यापार गर्दै आएकी छन्। मःम, चाउमिन र अण्डारोल बेच्नुअघि उनले चार वर्षसम्म मकै पोल्ने र आलु चप बेच्ने काम गरेकी थिइन्। त्यसबाट सोचेअनुसार आम्दानी नभएपछि खाजाको व्यापार सुरु गरेको उनले बताइन्।
“महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो। अहिले बानी परिसक्यो। चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,” मगरले भनिन्।
दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ बजेतिर भानुचोक पुग्ने उनी राति १० बजेसम्म व्यापार गर्छिन्। चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्ने भएकाले आम्दानी पनि राम्रो हुने गरेको उनको अनुभव छ।
खाजा पसलमा भीड, ट्राफिक व्यवस्थापनमा चुनौती
साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ। युवाहरूको जमघट पनि बढ्छ। कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन्।
तर, बढ्दो चहलपहलसँगै ट्राफिक व्यवस्थापनमा चुनौती पनि थपिने गरेको छ। साँझपख ठूला सवारीसाधनको चाप घटे पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङका कारण सडक साँघुरिने समस्या छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ लिम्बूले चाडपर्व नजिकिएसँगै भानुचोकमा यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
“चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौँ,” उनले भने।
गाउँ फर्किने यात्रुले टिकट पाए–नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उनले जानकारी दिए। ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय र नगरपालिकासँग समन्वय भइरहेको पनि उनले बताए।
इतिहास बोकेको व्यापारिक केन्द्र
धरान उपमहानगरपालिका–२ मा पर्ने भानुचोक सहरको मुख्य बजार तथा यातायातको प्रमुख केन्द्र हो। यो व्यापारिक चहलपहलको केन्द्र मात्र नभई ऐतिहासिक महत्त्व बोकेको स्थान पनि हो। चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक रहेकाले यसको नाम भानुचोक रहन गएको स्थानीय बिर्खलाल तामाङ बताउँछन्।
उनका अनुसार विगतमा भानुचोक आसपास टिनले बेरेका साना घर र चिया पसल मात्रै थिए। चिया पसलमा बसेर राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो। जनआन्दोलनका बेला नाराबाजी, र्याली तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि पनि यो चोक प्रमुख स्थलका रूपमा परिचित थियो।
“केही दशकअघिसम्म भानुचोक आसपास क्षेत्रमा टिनले बेरेका साना घर मात्रै थिए। त्यहाँ चिया पसल थिए। चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो। त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने प्रचलन नै थिएन,” तामाङले सम्झिए।
समयक्रमसँगै भानुचोकको स्वरूप पनि बदलिँदै गएको छ। धरानमा लामो समयदेखि पत्रपत्रिका बिक्री गर्दै आएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठका अनुसार पहिलेको तुलनामा अहिले चोकमा ठूला भवन बनेका छन् भने मानिस र सवारीसाधनको चाप पनि उल्लेख्य बढेको छ।
विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा ५६ लाख रुपैयाँको लागतमा भानुचोकछेउ घण्टाघर निर्माण सुरु गरिएको थियो। विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले धरानको पहिचान थप स्थापित गर्न सहयोग पुर्याएको श्रेष्ठ बताउँछन्।
घण्टाघर बनेपछि चोकको रौनक बढ्दै गएको र वरपर व्यापारिक गतिविधि विस्तार हुँदै गएको उनको भनाइ छ। सहरको चहलपहल पनि क्रमशः यही क्षेत्रमा केन्द्रित हुन थाल्यो।
“पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपर्थ्यो। अहिले बिहानदेखि साँझसम्म भानुचोकमै ग्राहक भेटिन्छन्। पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ,” श्रेष्ठले भने।
सानो व्यापार, धेरैको जीविकोपार्जन
दैनिक हजारौँ मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनको प्रमुख केन्द्र हो। यात्रुको यही आवतजावतले चोक आसपासका साना व्यवसायलाई पनि चलायमान बनाएको छ।
साँझपख ठेला तथा साना पसलमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउनुका साथै साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पुर्याएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्के बताउँछन्।
दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि साँझपख भानुचोक भेटघाट गर्ने, साथीभाइसँग गफिने र खाजा खाँदै समय बिताउने ठाउँ बनेको छ। सडकछेउका चिया पसल र फुटपाथमा राखिएका कुर्सीमा बसेर गफिने सर्वसाधारणको दृश्य साँझपख सामान्य बनेको छ।
यात्रुको आवागमन, साना व्यवसायीको मेहनत, युवाको जमघट र झिलीमिली बत्तीले भानुचोकको साँझलाई छुट्टै पहिचान दिएका छन्। दिनभर यातायातको चापले व्यस्त रहने यो चोक साँझपख भने धरानवासीको भेटघाट र रमाइलोको साझा थलोका रूपमा चम्किने गर्छ।