नेभिगेशन
समाज

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

काठमाडौँ । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन गरिएको छ ।

Ncell
Extreme Energy

चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये एक सय जना सादा पोसाकमा छन् । उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याउने छन् ।

प्रहरीले परम्परागत सुरक्षा गस्तीका अतिरिक्त प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको परिसरले जनाएको छ । प्रविधि र जनशक्तिको समन्वयबाट शङ्कास्पद गतिविधिको पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने उपरीक्षक थापाले बताए । 

भीडभाड हुने क्षेत्र सुरक्षाको प्राथमिकतामा

चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिकस्थल, बसपार्क, वित्तीय संस्था तथा तिनका आसपासका क्षेत्र, सरकारी कार्यालय र चाडपर्व लक्षित बजारमा विशेष निगरानी बढाइएको छ । नागरिकको बढी भीडभाड हुने स्थानमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रवक्ता थापाले जानकारी दिए । 

दसैँ तथा तिहारका समयमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जाने सर्वसाधारणको सङ्ख्या बढ्ने हुँदा बजार तथा यातायातका केन्द्रमा सुरक्षा चुनौतीसमेत बढ्न सक्ने प्रहरीको आकलन छ । त्यस्ता क्षेत्रमा चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीलाई सक्रिय बनाइएको प्ररिसरले जनाएको छ ।

त्यस्तै वित्तीय संस्था तथा आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा पनि ध्यान दिइएको छ । चाडपर्वका समयमा सर्वसाधारणले किनमेल तथा अन्य प्रयोजनका लागि रकम बोकेर हिँड्ने भएकाले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

चौध सेक्टरमा सुरक्षा योजना लागू

चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौँ उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार ती सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई परिचालन गरी सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

उनले भने, “हामीले उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरेका छौँ । ती सेक्टरमा प्रहरी वृत्त प्रमुख खटिनेछन् भने त्यसको निगरानी परिसरले गर्नेछ । परिसर प्रमुख र सिनियर अधिकृत पनि उक्त सुरक्षा योजनाअनुसार खटिनुहुनेछ ।”

सेक्टरगत रूपमा जिम्मेवारीले सम्बन्धित क्षेत्रमा प्रहरीको उपस्थितिलाई प्रभावकारी बनाउन र घटनाको सूचना प्राप्त भएपछि तत्काल परिचालन हुन सहज हुने प्रहरीको भनाइ छ । प्रहरी वृत्तका प्रमुखले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे निगरानी गर्ने तथा जिल्ला प्रहरी परिसरले समग्र सुरक्षा व्यवस्थाको अनुगमन गर्नेछ ।

सुरक्षा योजनाअन्तर्गत प्रहरी जनशक्तिको परिचालन, नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी तथा आवश्यकताअनुसार तत्काल प्रहरी टोली परिचालन गर्ने व्यवस्थालाई प्राथमिकता दिइएको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन परिसर प्रमुखसहित वरिष्ठ प्रहरी अधिकृत पनि योजनाको अनुगमन तथा कार्यान्वयनमा संलग्न हुनेछन् ।

चाडपर्व ढुक्कसँग मनाउने वातावरण बनाउँदै प्रहरी

आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइएकाले नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन सक्ने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दसैँ, तिहार र छठका अवसरमा बजारमा किनमेल गर्नेको चाप, सार्वजनिक यातायातमा बढदो यात्रुको आवागमन तथा विभिन्न स्थानमा धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । त्यस अवधिमा सार्वजनिक स्थानको निगरानीदेखि शङ्कास्पद गतिविधिको पहिचानसम्मका काममा प्रहरीलाई परिचालन गरिएको छ ।

प्रहरीले जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग र विभिन्न निकायसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । सादा पोसाकका प्रहरी, ड्रोन क्यामेरा तथा तालिमप्राप्त कुकुरको प्रयोगले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, चाडपर्वमा हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ । आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...