नेभिगेशन
समाज

बाढीपहिरोले बन्द भएको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि खुल्यो

म्याग्दी । बाढीपहिरोले क्षति पुर्‍याएपछि बन्द भएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले कुण्डका संरचनामा क्षति पुर्‍याउनुका साथै पोखरीमा हिलो, बालुवा र गेग्रान थुपारेपछि स्नान सेवा बन्द गरिएको थियो ।

Ncell
Extreme Energy

मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नान गर्न मिल्ने बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिए ।

‘पुनःसञ्चालन भएको पहिलो दिन २० देखि २५ जनाले स्नान गरेका छन्,’ उनले भने, ‘दसैँपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।’

असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो । यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो ।

कुण्डमा तीनवटा पोखरी छन् । तीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको थियो । पर्यटकका लागि बनाइएको सानो पोखरी बाढीले भत्काएको छ ।

कुण्ड परिसरका अन्य संरचनामा समेत क्षति पुगेको छ । पहिरोले कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्याङ्की रहेको भवन भत्काएको छ भने खुला स्नानस्थल पुरिएको छ । मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो श्रमदानबाट हटाएर सञ्चालनमा ल्याइए पनि अन्य पोखरी र क्षतिग्रस्त संरचना मर्मत गर्न समितिले आर्थिक स्रोत खोजिरहेको छ ।

कुण्डको पुनर्निर्माण र संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । उनका अनुसार बाढीपहिरोबाट दुई करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।

‘सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्,’ उनले भने, ‘दाता तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनर्निर्माण गरिएको हो ।’

पुनर्निर्माण अभियानमा एक हजार ३०० भन्दा बढी स्थानीयवासी, सुरक्षाकर्मी र सङ्घसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए ।

गत आर्थिक वर्ष २०८२/८३ मा २१ हजारभन्दा बढीले यस कुण्डमा स्नान गरेका थिए । नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत प्राकृतिक उपचारका लागि मानिस यहाँ आउने गरेका छन् ।

म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी सङ्कलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ ।

तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास छ । असोजदेखि वैशाखसम्मको समय कुण्डमा स्नान गर्न उपयुक्त मानिन्छ । यहाँ नौ दिन स्नान गर्न ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

देशका हिमाली र पहाडी भूभागमा बिहीबार साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।