काठमाडौं । दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवन बढ्दा मुटुरोगको जोखिम पनि बढ्न सक्ने भएकाले खानपानमा सन्तुलन र शारीरिक सक्रियतामा ध्यान दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालले सुझाव दिएका छन्।
चाडपर्वका नाममा आवश्यकताभन्दा बढी खाने, व्यायाम नगर्ने र नियमित औषधि सेवनमा लापरबाही गर्ने बानीले मुटुको स्वास्थ्यमा असर पार्न सक्ने उनको भनाइ छ। विशेषगरी उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढी भएका र मुटुरोग लागिसकेका व्यक्तिले दसैँमा खानपान तथा जीवनशैलीमा थप सावधानी अपनाउनुपर्ने उनले बताए।
राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता प्रगति ढकालसँगको कुराकानीमा डा. लम्सालले दसैँमा मासु खाँदैमा तत्काल ठूलो जोखिम नहुने भए पनि अत्यधिक सेवन र अस्वस्थकर पकाउने तरिकाले स्वास्थ्यमा असर पार्ने बताए।
उनका अनुसार धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ र चिसो पेय पदार्थको सेवनले शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल बढ्ने जोखिम निम्त्याउन सक्छ। शारीरिक गतिविधि कम भएमा जोखिम थप बढ्छ।
रातो मासु कम, माछा र कुखुरालाई प्राथमिकता
डा. लम्सालले मासु आफैँमा अस्वस्थकर नभए पनि यसको मात्रा, गुणस्तर र पकाउने तरिकामा ध्यान दिनुपर्ने बताए। रातो मासुको अत्यधिक सेवनले कोलेस्ट्रोल तथा युरिक एसिड बढ्ने र अन्य स्वास्थ्य समस्या निम्तिन सक्ने उनको भनाइ छ।
उनले धेरै तेलमा तारिएको तथा अत्यधिक पोलेको मासु कम खान सुझाव दिए। मासु किन्दा वा तयार पार्दा सफाइमा ध्यान दिनुपर्ने भन्दै उनले अस्वच्छ मासुका कारण खाद्य विषाक्तता र झाडापखालाको जोखिमसमेत रहने बताए।
मासुको विकल्पमा माछा र कुखुराको मासु उपयुक्त हुन सक्ने उनको सुझाव छ। तर माछा खाँदा पनि धेरै तेलमा तारेर खान नहुने उनले बताए। मधुमेह, उच्च रक्तचाप वा मुटुरोग भएका व्यक्तिले चिल्लो पदार्थ धेरै भएका परिकारबाट सकेसम्म टाढा रहनुपर्ने उनको भनाइ छ।
एउटै तेल पटक–पटक प्रयोग गरेर खाना तार्दा तेलको गुणस्तर बिग्रने र स्वास्थ्यलाई हानि पुर्याउने पदार्थ बन्न सक्ने भएकाले यस्तो तेलमा पकाइएका परिकार कम खान उनले सुझाव दिए।
औषधि नछुटाउन र लक्षण देखिए तत्काल अस्पताल जान आग्रह
दसैँमा रमाइलो र भोजभतेरका कारण नियमित औषधि सेवन छुट्न सक्ने भएकाले दीर्घरोग भएका व्यक्तिले त्यसमा विशेष ध्यान दिनुपर्ने डा. लम्सालले बताए। परिवारका सदस्यले पनि उनीहरूको खानपान, औषधि सेवन र स्वास्थ्य अवस्थाबारे ध्यान दिनुपर्ने उनको सुझाव छ।
उनका अनुसार हृदयाघात हुँदा छातीको बीच भागमा दुख्ने, भारी हुने वा कुनै वस्तुले थिचेजस्तो महसुस हुने प्रमुख लक्षण हुन्। यसबाहेक मुटुको धड्कन बढ्ने, धेरै पसिना आउने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने वा बेहोस हुनेजस्ता लक्षण पनि देखिन सक्छन्।
सबै व्यक्तिमा एउटै प्रकारका लक्षण नदेखिन सक्ने भएकाले छातीमा असहजता वा हृदयाघातको शङ्का लाग्ने लक्षण देखिएमा सामान्य ठानेर बस्न नहुने उनले बताए। यस्तो अवस्थामा तत्काल नजिकको अस्पतालको आकस्मिक कक्षमा पुग्नुपर्ने उनको सुझाव छ।
अस्पतालमा इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) र आवश्यक रगत परीक्षण गरेर हृदयाघात भए–नभएको जाँच गरिने र त्यसपछि अवस्थाअनुसार उपचार अघि बढाइने उनले बताए।
कम उमेरमै हृदयाघात देखिन थालेको चिन्ता
डा. लम्सालका अनुसार उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम बढ्ने भए पनि अहिले कम उमेरका व्यक्तिमा समेत हृदयाघात देखिन थालेको छ। पहिले ५०–६० वर्षको उमेरमा बढी देखिने हृदयाघात अहिले ३०–३५ वर्षका व्यक्तिमा पनि देखिन थालेको र २०–२५ वर्षका व्यक्तिमा समेत यस्ता घटना अभिलेखमा रहेको उनले बताए।
उनले जङ्क फुडको अत्यधिक सेवन, शारीरिक गतिविधिमा कमी, धूमपान र बदलिँदो जीवनशैलीलाई कम उमेरमै हृदयाघात देखिनुका सम्भावित कारणका रूपमा औँल्याए। लामो समय मोबाइल वा कम्प्युटर प्रयोग गर्दै बस्ने र शारीरिक श्रम कम गर्ने प्रवृत्तिले पनि जोखिम बढाउन सक्ने उनको भनाइ छ।
बालबालिकामा समेत जङ्क फुडको सेवन बढ्दै गएकाले परिवार, स्वास्थ्य संस्था र राज्यका विभिन्न तहबाट स्वस्थ खानपान तथा सक्रिय जीवनशैलीबारे सचेतना बढाउन आवश्यक रहेको उनले बताए।
दैनिक ३० देखि ४५ मिनेट सक्रिय रहन सुझाव
मुटुको स्वास्थ्य जोगाउन दिनमा कम्तीमा ३० देखि ४५ मिनेट छिटो हिँड्ने, दौडिने, पौडी खेल्ने वा आफूलाई अनुकूल हुने शारीरिक गतिविधि गर्न डा. लम्सालले सुझाव दिए। सबैले एउटै प्रकारको व्यायाम गर्नुपर्ने नभई हिँडडुल, खेलकुद वा खेतीपातीमार्फत पनि शरीरलाई सक्रिय राख्न सकिने उनले बताए।
उनका अनुसार सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण, रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको नियमित जाँच तथा नियन्त्रण मुटुरोगको जोखिम घटाउन महत्त्वपूर्ण छन्। चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र धूमपान तथा मदिराबाट टाढा रहने बानी पनि आवश्यक रहेको उनले बताए।
दसैँलाई खानपानमा मात्र केन्द्रित नगरी परिवारसँग भेटघाट गर्ने, आफन्तसँग समय बिताउने, घुमघाम गर्ने र शारीरिक रूपमा सक्रिय रहने अवसरका रूपमा लिनुपर्ने उनको सुझाव छ।
‘औषधि र उपचारको आफ्नै भूमिका हुन्छ, तर आफ्नो स्वास्थ्यको हेरचाह गर्ने जिम्मेवारी सबैभन्दा पहिले आफ्नै हो,’ डा. लम्सालले भने, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो। चाडपर्व मनाउँदा पनि खानपान र मुटुको स्वास्थ्यमा आउन सक्ने जोखिमलाई विशेष ध्यान दिऔँ।’