नेभिगेशन
समाज

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

काठमाडौँ । दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो। मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले दसैँलाई पूजाआजामा मात्र सीमित राखेको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेषगरी माइती, मावली र अन्य आफन्तबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका नातेदारलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा दसैँको विशेष महत्त्व छ। तर सहरीकरण, बसाइँसराइ, वैदेशिक रोजगारी र प्रविधिको विस्तारसँगै दसैँ मनाउने शैली बदलिएको छ। शैली फेरिए पनि पारिवारिक आत्मीयता र सम्बन्धको महत्त्व भने उत्तिकै छ।

Ncell
Extreme Energy

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक नेपालमा दसैँ विभिन्न समुदायले आ–आफ्नै परम्परा र शैलीमा मनाउँछन्। असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र शक्तिको आराधनासँग जोडिएको यस पर्वले आपसी सद्भाव, सम्मान र सामाजिक एकताको सन्देशसमेत दिन्छ।

धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग दसैँ जोडिएको छ। घटस्थापनाबाट सुरु हुने नवरात्रका धार्मिक अनुष्ठान र विजयादशमीमा टीका तथा जमरा ग्रहण गर्ने परम्पराले यसको धार्मिक र सांस्कृतिक महत्त्व उजागर गर्छ। घटस्थापनाका दिन जौलगायत अन्नका बीउ छरेर जमरा उमार्ने चलनले कृषि जीवन, प्रकृति र उर्वरतासँगको सम्बन्धलाई पनि अभिव्यक्त गर्छ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा. सोमप्रसाद खतिवडा दसैँ नेपाली समाजको पहिचानसँग जोडिएको राष्ट्रिय पर्व भएको बताउँछन्। उनका अनुसार चाडपर्वका आफ्नै सांस्कृतिक र वैज्ञानिक पक्ष हुन्छन्। समयसँगै मनोरञ्जनका साधन र पर्व मनाउने शैली फेरिए पनि परम्पराले समाजलाई जोड्ने काम गरिरहेको छ।

“नेपाली भनेर चिन्ने आधारमध्ये चाडबाड पनि हो। दसैँ नेपालीको पहिचानसँग जोडिएको छ। राज्यका तर्फबाट पनि यस पर्वमा ठूलो लगानी हुन्छ। शक्तिपीठमा पूजा तथा बलि दिने र गुठीबाट अनुदान प्रदान गर्ने परम्परा यससँग सम्बन्धित छन्,” डा. खतिवडाले भने।

उनका अनुसार अहिले मनोरञ्जनका माध्यम र साधन थपिएका छन्। दसैँ मनाउने शैली र सहभागितामा परिवर्तन आए पनि यस पर्वको सांस्कृतिक महत्त्व कायम छ। कृषि जीवनको प्रभाव पनि दसैँको परम्परामा देखिन्छ।

परम्परागत नेपाली समाजमा खेतीपातीको काम सकेपछि चाडपर्व मनाउने चलन थियो। अन्न उत्पादन, सामूहिक श्रम र प्रकृतिप्रतिको निर्भरताले मानिसको जीवनशैली निर्धारण गर्ने समयमा दसैँले परिवार र समुदायलाई एकै ठाउँमा ल्याउँथ्यो। अहिले कृषि जीवनको स्वरूप फेरिए पनि जमरा राख्ने र विजयादशमीमा त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्पराले पुरानो सांस्कृतिक स्मृतिलाई निरन्तरता दिएको छ।

भाषाविद् तथा साहित्यकार डा. बलदेव अधिकारीका अनुसार दसैँले विशेषगरी माइती, मावली र अन्य नातेदारबीचको सम्बन्धलाई जीवन्त राख्छ। विगतमा रोजगारीका लागि लाहुर गएकाहरू पनि दसैँ मनाउन घर फर्कने गरेको स्मरण गर्दै उनी विभिन्न समुदायमा टीका लगाउने र आशीर्वाद दिने चलन फरक भए पनि पारिवारिक सम्बन्धको महत्त्व समान रहेको बताउँछन्।

“दसैँ सबै जातिको पर्व हो। यसले माइती र मावलीको सम्बन्धलाई प्रगाढ बनाउँछ। पहिले लामो समय तयारी गरेर सरसामान जुटाई दसैँ मनाइन्थ्यो। आफन्तकहाँ जाने, टीका लगाउने र आशीर्वाद लिने चलनले कुटुम्ब सम्बन्धलाई निरन्तरता दिन्थ्यो,” डा. अधिकारीले भने।

उनका अनुसार पहिले बरखी बार्ने परिवारका सदस्यबाहेक अन्य छोराछोरीसमेत मामाघर गएर टीका लगाउने गर्थे। अहिले भने नातागोतामा जुठो वा सुतक परेका विषयलाई लिएर कतिपयले चाडपर्व मनाउनै छाड्ने गरेका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि आफन्तकहाँ जाने र टीका लगाउने परम्परालाई झन्झट मान्ने प्रवृत्ति बढेको उनको भनाइ छ।

दक्षिणा र खर्चको प्रतिस्पर्धाले चाडपर्वको आत्मीय पक्ष कमजोर हुन सक्नेमा उनी चिन्ता व्यक्त गर्छन्।

“पहिले दसैँका लागि लामो समयदेखि तयारी गरिन्थ्यो। अहिले पैसा भए रोजै मासु खाने र दक्षिणामा प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ। दसैँको वास्तविक महत्त्व खर्च र प्रदर्शनमा होइन, सम्बन्ध र परम्परामा छ,” उनले भने।

डा. अधिकारीका विचारमा सहरीकरण र बसाइँसराइका कारण परिवारका सदस्य विभिन्न स्थानमा छरिनु, कोही विदेशमा रहनु र कोही गाउँमै बस्नुले पारिवारिक भेटघाटको स्वरूप बदलिएको छ। दसैँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व नयाँ पुस्तालाई बुझाउन शिक्षा प्रणालीमा यस विषयलाई समेट्नुपर्ने उनको सुझाव छ।

परम्परागत नेपाली समाजमा दसैँ सामूहिक सहभागिताको पर्व पनि थियो। गाउँघरमा पिङ हाल्ने, छरछिमेकसँग भेटघाट गर्ने, सामूहिक मनोरञ्जन गर्ने र स्थानीय मेलामा सहभागी हुने अभ्यासले सामाजिक सम्बन्धलाई बलियो बनाउँथ्यो। ज्येष्ठ सदस्यको सम्मान, बालबालिकाप्रतिको स्नेह र आफन्तबीच सहयोग आदानप्रदान गर्ने परम्पराले समुदायमा अपनत्वको भावना विकास गर्थ्यो।

तर संयुक्त परिवारको स्थानमा एकल परिवारको विस्तार, रोजगारी तथा अध्ययनका लागि विदेश जाने प्रवृत्ति र सीमित बिदाका कारण दसैँ मनाउने समय र तरिका फेरिएको छ। पहिले लामो समय आफन्तसँग बसेर मनाइने पर्व अहिले कतिपय परिवारमा छोटो भेटघाटमा सीमित हुन थालेको छ। यद्यपि, विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्ने र सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्ने चलनले भौगोलिक दूरीका बाबजुद सम्बन्ध कायम राख्न सहयोग पुर्‍याएको छ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका महासचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) संस्कृतिका सकारात्मक पक्ष संरक्षण गर्दै समयअनुकूल सुधार गर्नुपर्ने बताउँछन्। उनका अनुसार चाडपर्वलाई अनावश्यक खर्च, ऋणको बोझ र देखावटी प्रतिस्पर्धाको माध्यम बनाउनुको सट्टा आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अवसरका रूपमा विकास गर्नुपर्छ।

प्रगतिशील लेखक सङ्घका कोषाध्यक्षसमेत रहेका डा. सुवेदी सांस्कृतिक विविधतालाई विभाजनको आधार नभई आपसी सम्मान र साझा समृद्धिको स्रोतका रूपमा लिनुपर्ने धारणा राख्छन्। संस्कृतिका नाममा हुने विभेद र अमानवीय अभ्यास हटाउँदै समानता, सहअस्तित्व, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ।

दसैँको स्वरूपमा उपभोक्तावादी जीवनशैलीको प्रभाव पनि देखिएको छ। नयाँ लुगा, मीठा परिकार र उपहार आदानप्रदान परम्परागत रूपमा चाडपर्वका हिस्सा भए पनि महँगो किनमेल र अरूको देखासिकीले कतिपय परिवारमा आर्थिक दबाब सिर्जना गरेको छ। चाडपर्वको खुसी खर्चको आकारमा नभई सम्बन्धको न्यानोपन, सहयोग र पारिवारिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने चेतना आवश्यक छ।

पशुबलि, जुवातास, मदिराको अत्यधिक प्रयोग र अनावश्यक खर्चजस्ता विषयमा पनि समाजमा बहस हुने गरेका छन्। धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै जिम्मेवार व्यवहार अपनाउनु तथा चाडपर्वलाई सामाजिक हितसँग जोड्नु आवश्यक छ। घरको सरसफाइ, परिकार तयारी र पाहुनाको सत्कारमा महिलामाथि मात्रै बढी जिम्मेवारी पर्ने अवस्थालाई पनि परिवर्तन गर्नुपर्छ। परिवारका सबै सदस्यको सहभागिता र घरायसी कामको न्यायोचित बाँडफाँटले पर्वलाई अझ समावेशी र उल्लासमय बनाउन सक्छ।

दसैँको सांस्कृतिक महत्त्व जोगाउन यसको अर्थ र परम्पराबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक छ। टीका र जमराको महत्त्व, देवी आराधनाको परम्परा, मान्यजनको सम्मान र माइती–मावलीसँगको सम्बन्धको मूल्यबारे परिवारमै संवाद गर्न सकिन्छ। स्थानीय कला, लोकगीत, मौलिक परिकार, पिङ र सामुदायिक भेटघाटलाई निरन्तरता दिँदा सांस्कृतिक मौलिकता संरक्षण गर्न सहयोग पुग्छ।

दसैँले सिकाउने आत्मीयता, पारिवारिक एकता, आपसी सम्मान र सहयोगका मूल्य कुनै एउटा समुदायमा मात्र सीमित छैनन्। आर्थिक रूपमा कमजोर परिवार, ज्येष्ठ नागरिक र एक्लो जीवन बिताइरहेका व्यक्तिलाई सहयोग गर्ने अभ्यासले पर्वको सामाजिक महत्त्वलाई अझ गहिरो बनाउन सक्छ। आफ्ना परम्पराको संरक्षणसँगै अन्य समुदायका चाडपर्व र विश्वासप्रति सम्मान व्यक्त गर्न सके सामाजिक सद्भाव र राष्ट्रिय एकता पनि बलियो बन्न सक्छ।

दसैँलाई धार्मिक अनुष्ठान र औपचारिक भेटघाटमा मात्र सीमित नराखी पारिवारिक सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जोगाउने र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा लिन आवश्यक छ। माइती, मावली र आफन्तबीचको आत्मीयता कायम राख्दै परम्पराका सकारात्मक पक्ष नयाँ पुस्तामा हस्तान्तरण गर्न सके दसैँको मौलिकता र सामाजिक महत्त्व पुस्तौँसम्म जीवन्त रहन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।