नेभिगेशन
समाज

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिको । मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। वर्षौंदेखि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई उपकरण विकास भइरहेका छन्। तीमध्ये एउटा उपकरणले बाल्यावस्थामा बेपत्ता भएका व्यक्तिको अहिलेको सम्भावित अनुहारको तस्बिर तयार गर्न सघाउनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेक्सिकोमा आपराधिक समूहबीचको हिंसात्मक द्वन्द्वका कारण हजारौँ मानिस बेपत्ता भएका छन्। आफन्तको खोजीमा रहेका परिवारले सरकारी निकायबाट प्रभावकारी अनुसन्धान नभएको भन्दै वर्षौंदेखि गुनासो गर्दै आएका छन्।

Ncell
Extreme Energy

भेरोनिका रोसास पनि त्यस्तै एक आमा हुन्। उनका छोरा डिएगो सन् २०१५ को सेप्टेम्बरमा साथीहरूलाई भेट्न घरबाट निस्किएपछि मध्य मेक्सिकोको इकोटेपेक सहरबाट बेपत्ता भएका थिए। त्यसबेला डिएगो १६ वर्षका थिए।

राज्यको अभियोजन कार्यालयले डिएगोलाई आपराधिक समूहले अपहरण गरेको जनाएको थियो। तर, कुन समूहले र किन अपहरण गर्‍यो वा उनी जीवित छन् कि छैनन् भन्ने विषय अझै स्पष्ट भएको छैन।

“११ वर्ष बितिसक्यो, तर डिएगो कहाँ छन् भन्ने मलाई अझै थाहा छैन। मेरो छोरालाई के भयो भन्ने पत्ता लगाउन मद्दत गर्ने कुनै अनुसन्धानको बाटो देखिएको छैन,” ५२ वर्षीया रोसासले मेक्सिको सिटीमा न्यायको माग गर्दै आयोजित प्रदर्शनका क्रममा भनिन्।

यस्तै घटनाले मेक्सिकोका दुई विश्वविद्यालयलाई बेपत्ता व्यक्तिको खोजीमा सहयोग गर्ने एआई उपकरण विकास गर्न प्रेरित गरेको छ।

मेक्सिकोको प्रमुख सार्वजनिक विश्वविद्यालय राष्ट्रिय स्वायत्त विश्वविद्यालय (युएनएएम) ले ‘रेग्रेसा’ अर्थात् ‘फर्क’ नामक उपकरण विकास गरेको छ। यसले मानव शरीरको मापनसम्बन्धी विज्ञानको प्रयोग गरी बाल्यावस्थामा बेपत्ता भएका व्यक्तिको उमेर बढ्दै जाँदा अनुहार कस्तो देखिन सक्छ भन्ने अनुमानित तस्बिर तयार गर्छ।

अनुसन्धान वर्षौंसम्म लम्बिने गरेका कारण बेपत्ता व्यक्तिको हालको उमेरअनुसारको तस्बिर उपलब्ध गराउन परिवारले लामो समयदेखि माग गर्दै आएका छन्। अमेरिका, भारत र चीनलगायत देशमा अपहरणमा परेका बालबालिकाको खोजीका लागि अनुहार पहिचान र उमेरअनुसार अनुहारमा आउने परिवर्तनको अनुमान गर्ने सफ्टवेयर प्रयोग भइसकेको छ।

मेक्सिकोका केही अभियोजन कार्यालयले पनि यस्ता प्रविधि प्रयोग गर्दै आएका छन्। तर, अधिकांश सफ्टवेयर खुला स्रोतका तस्बिर सङ्ग्रहमा निर्भर छन्। ती सङ्ग्रहमा मेक्सिकन नागरिकका सामान्य शारीरिक विशेषता पर्याप्त रूपमा समेटिन नसक्ने समस्या छ।

रेग्रेसाका विकासकर्ताले भने सयौँ तस्बिर र ७५ जना मेक्सिकन स्वयंसेवकबाट प्राप्त तथ्याङ्क प्रयोग गरी आफ्नै तस्बिर सङ्ग्रह बनाएका छन्। यसबाट मेक्सिकन नागरिकका अनुहारका विशेषता झल्किने तस्बिर तयार गर्न सहज हुने उनीहरूको अपेक्षा छ।

परियोजनाकी संस्थापक मानवशास्त्री आना जुआरेजका अनुसार यो उपकरणले अनुहारको बाहिरी आकार परिवर्तन गर्ने वा चाउरी थप्ने सामान्य विधिभन्दा वैज्ञानिक दृष्टिकोण अपनाएको छ। यसले मानिसको खप्पर र अनुहारको संरचना उमेरसँगै कसरी विकास हुन्छ भन्ने आधारमा सम्भावित तस्बिर तयार गर्ने प्रयास गर्छ।

यसैबीच, सरकारी अनुसन्धानको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएका परिवारलाई सहयोग गर्न निजी इबेरो–अमेरिकी विश्वविद्यालयका मानवशास्त्री एमिलियानो जोला पनि एआईको प्रयोग गरिरहेका छन्। उनले बेपत्ता व्यक्तिको लिङ्ग, उमेर र बेपत्ता हुँदाको परिस्थितिसम्बन्धी तथ्याङ्कको नक्साङ्कन गरिरहेका छन्। यसबाट परिवारले खोजीलाई थप केन्द्रित गर्न सक्ने उनको अपेक्षा छ।

मेक्सिकोको सबैभन्दा बढी जनसङ्ख्या भएको मेक्सिको राज्यका तथ्याङ्क अध्ययन गर्दा विद्यालय वा कामबाट घर फर्कने क्रममा बेपत्ता हुने युवतीको सङ्ख्या उल्लेख्य रहेको उनले पत्ता लगाएका छन्।

रेग्रेसाबारे एएफपीबाट जानकारी पाएपछि रोसासले एआईको प्रयोगले बेपत्ता व्यक्तिको खोजीमा ठूलो परिवर्तन ल्याउन सक्ने बताइन्।

“यो पहल निकै महत्त्वपूर्ण छ, किनभने बेपत्ता हुँदा बालबालिका रहेका उनीहरू अहिले त्यही उमेरमा छैनन्,” उनले भनिन्।

रोसासले छोरा डिएगो १६ वर्षको हुँदा खिचिएको तस्बिर राखेर मेक्सिको सिटीको प्रमुख सडकमा अस्थायी सन्देश बाकससमेत स्थापना गरेकी छन्। छोराको जन्मदिनका अवसरमा उनको अवस्थाबारे जानकारी वा शुभकामना सन्देशमार्फत कुनै सुराक प्राप्त हुने आशा उनले गरेकी छन्।

कार्ला लेचुगाले पनि सन् २०२५ मा आफ्ना १९ वर्षीय छोरा जेसुआ सिस्नेरोस बेपत्ता भएपछि खोजी समूह स्थापना गरेकी थिइन्। उनीजस्ता परिवारले देशभरका चर्चमा दर्जनौँ ‘शान्ति बाकस’ राखेका छन्। ती बाकसमा बेपत्ता व्यक्तिबारे जानकारी सङ्कलन गरिन्छ। परिवारले सार्वजनिक स्थानमा आफन्तका तस्बिर टाँस्दै आपराधिक समूहलाई गोप्य रूपमा सूचना दिनसमेत आग्रह गर्दै आएका छन्।

“हामीले केही मानिसलाई जीवितै फेला पारेका छौँ, तर दुर्भाग्यवश अरूलाई फेला पार्न सकेका छैनौँ,” लेचुगाले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।